breaking news

    हाम्रा ‘अन्धा धृतराष्ट्र सभासद्का नाममा – अमृता लम्साल

    March 20th, 2017 | by Weekly Nepal
    हाम्रा ‘अन्धा धृतराष्ट्र सभासद्का नाममा  – अमृता लम्साल
    विचार विश्लेषण
    0

    थाहा छैन वेद व्यासले महाभारतका कथाहरू कसरी कथे ? एकै घटनालाई लिएर लेखे वा अनुमान गर्दै लेखे ! तर, लेखे ?  किन कि, उनले लेखेको भनिएको कथा यसै गरी भनिन्छ्र कल्पना यसै गरी गरिन्छ । उनले लेखे कौरव र पान्डवको सभामा द्रौपदीको चीरहरण भयो । चीरहरण भयो: राजनीतिको निहुँमा † कसैको झुठो ‘अहं’ तृप्त गराउने नाउँमा । महिलालाई ‘वस्तु’ ठहर्‍याउने प्रयासमा । स्वतन्त्र अस्तित्व बोकेर ‘आगो’बाट जन्मिएकी द्रौपदीलाई विवाहको नाममा समेत पाँच जना ‘पति’को भाग लगाईयो । भाग मात्रै लगाएर पुगेन । उनलाई आफ्नो ‘सम्पत्ति’ ठानेर ती मध्ये एउटाबाट जुवाको खालमा थापियो ।

    त्यसैले आफ्नो छुट्टै ‘अस्तित्व’ हुँदाहुँदै पनि द्रौपदीले जुवाको खालमा जितिएको सम्पत्तिको रुपमा उनी रजस्वाला भएको समयको समेत ख्याल नगरी कपालमा समातेर तान्दै, घिस्याउँदै ठूलठूला ब्यक्तित्वको जमघट भएको सभामा ल्याईयो । हामीले यो कथा वा ‘मिथक’ यसैगरी सुन्दै आयौं ।उनी अथाह अपमानको पीडामा चिच्याइ रहेकी थिइन । गुहारी रहेकी थिइन:

    पितामह भिष्म मेरो रक्षा गर्नुहोस् 
    गुरु द्रोण, मेरो लज्जालाई ढाक्नुहोस 

    महाराज धृतराष्ट्र मेरो अपमान रोक्नुहोस्  तर…विद्वानहरूको त्यो सभामा कसलाई के खाँचो द्रोपदीलाई बचाउन ? त्यसबाट उनीहरूको विद्वता नापिने होईन † शक्ति बढ्ने पनि होइन । त्यसैले, कसैले नदेखेको बहाना गरे । कसैले ती सभाका राजा र युवराजको चाकरीमा असर पर्ने तर्क गरे ।

    कसैले तिघ्रा ठोक्दै आत्म–सन्तुष्टीको स्वाद फेरे । कसैले ‘दम्भ’ को अट्ठहास भरे । कसैले शरमले भरिएको मसिनो स्वर भरे । धन्न उनको बचाउमा त्यहाँ कृष्ण फेला परे । उनले द्रौपदीको ‘लाज’को रक्षा गरे । बरा ! द्रौपदीले कसैको ‘अहं’लाई तृप्त पार्ने क्रममा नाङ्गिनु परेन ! त्यो नाङ्गिनुको ‘लाज’ मानौं द्रौपदीकै मात्र थियो । उनलाई नङ्ग्याउँदा हुने अपमानको पीडाको रापले उनलाई मात्रै पोल्दथ्यो । त्यो परापूर्वकालको कथा थियो । सत्य थियो वा असत्य थियो, यसै गरी पढिन्थ्यो र पढाईन्थ्यो ।

    तर, आज ? आज पनि कथा यस्तै गरी कथिन्छ्र यसै गरी भनिन्छ्र यसरी नै ब्यवहारमा उतारिन्छ । अपितु, माध्यम फरक छन् । हिजोका कथाहरू ‘एक्सन’मा आधारित हुन्थ्यो भने आजका कथाहरू ‘शब्द–वाण’मा आधारित हुन्छन् । आज पनि सभाहरू त्यस्तै हुन्छन् । सभासदहरूका ब्यवहार ‘रौं’ बरावरले फरक देखिए पनि उद्देश्य उस्तैउस्तै देखिन्छन् । सभा र सभासदहरू फरक होलान ? सभाहरू जतासुकै बस्न सक्लान् । तप्का र तह विविध हुन जालान् । आजका सभामा नारी जातिकै अपमान गर्ने शब्दहरूको बर्षा हुँदा केही सभासदहरू शिर ठाडो पारेर ‘क्यावात !’ भन्दै मनोरञ्जन लिइरहन्छन् ।

    केही शुतूर:मुर्गले वालुवामा टाउको लुकाएर नसुनेको/नदेखेको वहाना गरेझैँ गरिरहन्छन् । केही ‘अनौपचारीक’ रुपमा जे जस्तो बोले पनि केही गर्न नमिल्ने स्पष्टिकरण दिइरहन्छन् । कोही, त्यस्ता शब्दहरूले बौद्धिक भन्डार भर्नेको कस्तो बौद्धिकस्तर होला र उनीहरूको मुख लाग्नु ? भनेर तर्की रहन्छन् । कोही, केही सुनेकै छैन जस्तो गरी कानमा तेल हालेर बसिरहन्छन् । कोही, त्यस्ता कुरामा बिरोध जनाउने कार्य त सभामा पाँच प्रतिशतको संख्यामा पनि मुस्किलले उपस्थित हुने ‘ठेकेदार महिलाहरू’ को हो भन्ने दावी गरिरहन्छन् । त्यसैले उनीहरू ‘चित्त नबुझे तपाईहरूले किन बिरोध जनाउनु भएन त ?’ भनेर उल्टै, महिलाहरूलाई नै प्रतिप्रश्न गरिरहन्छन् मानौं, त्यस्ता अपमानजनक ब्यवहारहरूले उनीहरूलाई कुनै फरक नै पार्दैन् । त्यो उनीहरूको सरोकारको विषय नै होइन ।

    त्यसैले द्रौपदीहरूलाई नङ्ग्याई रहन्छन…नङ्ग्याई रहन्छन् । चाहे चीरहरण गरेर होस् या शब्द–वाणको माध्यमले होस † उनीहरूलाई नङ्ग्याई रहन्छन् । त्यसैले द्रौपदीहरूले आफ्नो अस्तित्व र मानलाई पैताला मुनि राखेर नाङ्गिन तयार भैरहनु पर्दछ । अपमान सहन सिकिरहनु पर्दछ ।

    बरा हामीहरू, कुरै नबुझ्ने !त्यहाँ द्रौपदीको लाज बचाएर नारी जातिकै सम्मान गर्ने ‘ती कृष्ण’ फेला पर्दैनन् । भला कृष्णका लीलाहरू अन्य समयमा फरक फरक होलान ।

    तर म ‘ती कृष्ण’ नामक रक्षकको सिला खोज्दै रहन्छु, बालककालमा बदाम वारीमा सिला खोज्दा पाएको एक कोसो बदाम जस्तै ‘ती कृष्ण’ भेटिए खुसीले रमाऊने थिएँ भन्ने आशै आशामा । त्यही आशाले कोठा भरिरहेका सभासदहरूमा सर्सर्ती नजर दौडाउँछु । मेरा दाजु सरहका ब्यक्तिको अनुहार हेर्दै भाव बुझ्न अनुहार हेर्दछु ।

    पिता सरहका ब्यक्ति त्यहाँ भैदिएका भए कसरी लिन्थे होलान ? भनेर सोच्ने जमर्को   गर्दछु । भाईका छविहरूमाथि आशाको दियो जलाउने कोसिस गर्दछु । समकक्षीहरूको ‘सोच’माथि मनैमन प्रश्नवाचक चिन्ह तेस्र्याउँछु । तर, मेरा आशाहरू शिशाका महलमाथि बज्रको चोट परे झैं चकनाचूर हुन्छन् । तासको महल झैं गर्ल्याम्मगुर्लुम्म ढल्छन् । म, अपमानको पीडाले जल्दै रगतको आसु घुटुक्क निल्छु ।

    यस्ता अपमानहरू ‘सभासद’हरूको प्राथमिकताभित्र नपरेको सम्झिएर लज्जावोधले शिर झुकाउँछु । ‘अन्धा धृतराष्ट्र’को सभामा अपमानित भएकी द्रौपदीको रुपमा आफूलाई पाउँछु । त्यसैले यो अनुभूति ती सम्पूर्ण सभासदहरूलाई समर्पण गर्दछु । मैले अझै पनि बुझेको छैन, ‘वस्त्रविहीन’ पारेर नङ्ग्याइएको पीडा ठूलो हो कि, शब्द–वाणले गरिएको अपमानले गरिएको पीडा ठूलो ?

    हुन त, दुवै उत्तिकै पीडादायक हुन नै, दुवैले आफ्नो अस्तित्व आफैंले दुत्कार्नु पर्ने मनस्थितिमा पुर्‍याइदिन समेत बेर लाउँदैनन् । तर, त्यस्ता कुराहरूले सभासदहरूलाई फरक पार्दैन । किन कि, त्यहाँ उनीहरूको आमा, दिदी, बहिनी, पत्नी आदिका नाम लिइएको छैन । त्यहाँ त केवल ‘नारी’ जातिको अपमान गरिएको छ ।

    सायद, उनीहरूको बिचारमा ‘ती नाता’हरूलाई ब्याख्या गर्ने नामहरू र समग्रमा जातिलाई नै सम्बोधन गर्ने नाम ‘नारी’ को बीचमा कुनै सम्बन्ध नै छैन भन्ने लाग्दो रहेछ कि ?

    तर, म निष्पट्ट अन्धकारमा कतै धिपधिपाएको ज्योतिको कल्पना गर्दै एकनासले लम्किरहन्छु । अपमानले छियाछिया पारेको स्वाभिमानलाई थामपुरो लगाउँदै सुस्तरी नै किन नहोस, पाईलाहरू चालिरहन्छु….चालिरहन्छु । (यहाँ ‘सभासद’को अर्थ कुनै राजनैतिक पद होइन, समाजका ‘कथित बौद्धिक’ वर्ग हुन् ।

     

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *