breaking news

    सात महिनादेखि भारतीय जेलमा बीस नेपाली

    January 10th, 2017 | by Weekly Nepal
    सात महिनादेखि भारतीय जेलमा बीस नेपाली
    प्रवास
    0

    कञ्चनपुर, २६ पुस । भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमा कार्यरत २० जनाभन्दा बढी कञ्चनपुरका मजदुरी गर्न गएका नेपाली सात महिनादेखि जेलमा रहेका छन् ।

    मजदुरीे गरेको पैसा बढाउनु पर्ने भन्दै मजदुर युनियन सि दुईमा लागेको आरोप लगाउँदै कम्पनी प्रशासनले उनीहरुलाई असार महिनादेखि उनास्थित जेलमा राखेको हो ।

    जेलमा पर्नेमा कञ्चनपुरका बहादुरसिंह भण्डारी, नैनसिंह साउद, नरबहादुर साउद, रणबहादुर साउद, तुला साउद, नरे साउद, टिकेन्द्र साउद, जैदेव ढुङ्गाल, रमेश साउद, गणेश चन्द, गोपाल साउद, भिम साउदलगायत २० जना भन्दा बढी रहेका छन् ।

    भारतीय जेलमा रहेका आफन्तलाई भेटेर फर्केका कर्णबहादुर साउदले मजदुरीको पैसा बढाउनु पर्ने माग राखेकै आरोपमा उनीहरुलाई हडताल गर्न खोजेको आरोपमा जेलमा राखिएको बताउनुभयो ।

    जेलमा राखिएका सबै नेपाली निर्दोष रहेकाले उनीहरुको रिहाइका लागि नेपाल सरकार र भारतमा रहेको नेपाली राजदूतावासले यथाशीघ्र पहल गर्नुपर्ने उहाँले बताउनुभयो । भारतीय जेलमा पर्नेमा कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका र देखतभूली गाविसका बासिन्दा रहेका छन् ।

    आश्वासन लिएर फर्किए मृतकका परिवार
    गत बुधबार भारतको हिमाञ्चल प्रदेशमा बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर मृत्यु भएका चारजना नेपालीका परिवार राहत पाउने आश्वासन लिएर भारतबाट घर फर्किएका छन् ।

    हिमाञ्चलको सिमला जिल्ला तहशिल रामपुर भन्नेस्थानमा बाटो खन्ने क्रममा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ दिपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बमको मृत्युपछि त्यहाँ पुगेका मृतकका आफन्तलाई हिमाञ्चल प्रदेश सरकारले प्रतिव्यक्ति तीनलाख ९० हजार भारतीय रुपैयाँ दिने आश्वासन दिएको छ ।

    “पीडाका बीच हामी चारजनाको हरिद्वारमा दाहसंस्कार गरेर घर फर्किएका छौँ”, मृतक लोकेन्द्र विष्टका बुबा महेन्द्र विष्टले भन्नुभयो– “काजक्रिया सकिएपछि पुनः सिमला गएर क्षतिपूर्तिका लागि पहल गर्छौं ।”

    सरकारी बाटो खन्ने काम भएकाले प्रदेश सरकारले मृतकका आफन्तलाई क्षतिपूर्ति दिने प्रावधान रहेको बताइएको छ । “चारजना ठेकेदार कम्पनीमार्फत सडकमा काम गरिरहेका थिए,” महेन्द्र विष्टले भन्नुभयो– “हिमाञ्चल प्रदेश सरकारले पनि नाता प्रमाणित, मृत्यु दर्ता प्रमाणपत्रसहित क्षतिपूर्तिका लागि प्रक्रियागत ढङ्गबाट आउन भनेको छ ।”

    उहाँले ठेकेदार कम्पनीले पनि केही राहत दिने आश्वासन दिएको मृतकका आफन्तले बताएका छन् । “काजक्रिया सकेर त्यहाँ गएर प्रक्रियाअघि बढाउने सोचमा छौँ ।” विष्टले भन्नुभयो । दाहसंस्कार गरी आइतबार मृतकका परिवार नेपाल फर्किएर काजक्रिया गरिरहेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *