breaking news

    सम्झनामा दादाजी– बबिता बस्नेत

    January 8th, 2017 | by Weekly Nepal
    सम्झनामा दादाजी– बबिता बस्नेत
    विचार विश्लेषण
    0

    ०६५ मङ्सिर २९ गतेको कुरा हो । प्रज्ञा भवन कमलादीमा मैले लेखेको कथासङ्ग्रह ‘सम्बन्धहीन सम्बन्धहरू’को विमोचन थियो । प्रायः आफ्नो कार्यक्रममा समयमै मान्छे आउलान्–नआउलान्देखि लिएर व्यवस्थापनका सानातिना तनाव भइनै रहेका हुन्छन् । सहभागी आउनेक्रमको सुरुवातमै वरिष्ठ साहित्यकार कमलमणि दीक्षितलाई देखेर म छक्क परेँ, एकछिन त के गरूँ के गरूँ भयो, स्वागत गर्दै अगाडि लगेर राखेँ । उहाँको गरिमामय उपस्थितिले मलाई छक्क पार्नुका दुई कारण थिए । प्रथम, मैले उहाँलाई निम्ता पठाएकी थिएँ, तर आउनका लागि समय होला–नहोला वा के आउनुहोला र ? भनेर अन्य कतिपय निम्तालुलाई झैँ फलो अप गरेकी थिइनँ । दोस्रो, उहाँ निमन्त्रणा गरिएको समयभन्दा एक मिनेट पनि तलमाथि नगरी ठ्याक्कै ११ बजे त्यहाँ आइपुग्नुभएको थियो । त्यति ठूलो साहित्यकार र आफूले आदर गरेको व्यक्तित्व आफ्नो पुस्तकको विमोचनमा आउनुभएपछि ड्यासमा बसिदिनका लागि आग्रह गर्नु स्वाभाविक थियो, गरियो । तर, ‘आई एम फाइन’ भन्ने स्टायलमा हातले इसारा गरेर होइन, म यहीँ बस्छु भनी उहाँ ड्यासमा बस्न मान्नुभएन । कार्यक्रम छोटो थियो, पूरै समय बस्नुभयो । हिँड्ने बेलामा ‘तपाईंलाई बधाई छ’ भनेर निस्कनुभो । त्यसको एक वर्षपछि सन् २००९ को जुलाई ३० गते उहाँको नामबाट एउटा इमेल आयो, (जुन अहिले पनि सुरक्षित छ) जसमा लेखिएको थियो, ‘बबिताजी, तपाईंले पठाउनुभएको इमेलमा आएका जेपीजीहरू मैले केही पनि बुझिनँ, के थिए ती थाहा दिनुहोला ।’

    खासमा त्यतिबेला मेरो इमेलबाट तस्बिरका फाइलझैँ लाग्ने एट्याच्मेन्ट सबैतिर गइरहेको थियो । यसअघि मैले दुईजना विदेशी साथीहरूबाट त्यसप्रकारको इमेल मेरो नामबाट गएको थाहा पाएकी थिएँ । खासमा त्यो के भइरहेको थियो मलाई पनि थाहा थिएन । अरूकहाँ पनि गएको थियो होला, तर कसैले रेस्पोन्स गरेका थिएनन्, उहाँको रेस्पोन्स देखेर छक्क परेँ । लाग्यो– लौन, प्रविधिमा पनि त्यत्तिकै अपडेट पो हुनुहँुदोरहेछ । तुरुन्तै जवाफ लेखेँ, ‘सरी हजुर, मैले इमेलबाट फोटोहरू पठाएकै छैन, खै के भइरहेको छ, मैले पनि बुझेको छैन, भाइरस हुन सक्छ, कृपया नखोल्नुहोला ।’ एकछिनपछि जवाफ आयो, ‘बबिताजी, धन्दा नमान्नुस् । मैले ‘डिलिट’ गरिदिसकेँ ।’ उहाँले युनिकोडमा पठाउनुभए पनि मैलेचाहिँ रोमनमा उक्त इमेल लेखेकी थिएँ । त्यतिबेलासम्म मलाई प्रीतिबाट युनिकोडमा कसरी कन्भर्ट गर्ने या युनिकोड कसरी प्रयोग गर्ने भन्ने थाहा थिएन होला, नत्र त त्यसरी नलेख्नुपर्ने जस्तो अहिले लागिरहेको छ । प्रविधिमा उहाँको ‘स्मार्टनेस’ले मलाई चकित बनाएको थियो ।

    मामु, हाम्रो दादाजीलाई हजुरले कसरी चिनेको ? ०६१ सालमा तीन कक्षामा पढ्दै गरेको छोराको प्रश्नको जवाफमा भनेकी थिएँ, ‘तिमीहरूको दादाजीलाई जसले पनि चिन्छ नि बाबा, उहाँ साहित्यकार हो, मदन पुरस्कार उहाँले नै राखेको त हो नि ।’ आफ्ना बुहारीहरूले सञ्चालन गरेको रातो बंगला स्कुलमा कमलमणि दीक्षितले छन्दका कवितालगायत नेपाली भाषाको ज्ञान बालबालिकालाई दिनुहुन्थ्यो । रातो बंगलाका सबै विद्यार्थी र शिक्षकले उहाँलाई दादाजी भनेर बोलाउने कुरा बच्चा त्यहाँ पढ्न थालेपछि थाहा पाएकी हुँ । एक दिन नारद सत्य लोक पुगिगया लोकको गरौँ हित भनी…देखि लिएर लय मिलाइमिलाई बच्चाले छन्दका कविता कण्ठ पारेको अहिलेझैँ लाग्छ । दादाजीको स्यावासी पाएको दिन बच्चाको मनोबल नै फरक देखिन्थ्यो । अङ्ग्रेजी स्कुल पढ्ने धेरै बालबालिकाले नेपालीमा राम्ररी लेख्न नजान्दा गौरव गर्ने कतिपय बाबुआमाका अगाडि आफ्नो बच्चाले ह्रस्व दीर्घ सबै मिलाएर लेख्ने गरेको र छन्दका कविता प्रतिस्पर्धामा अगाडि आएको बडो गर्वका साथ सुनाउँथे । रातो बंगला स्कुल पढ्ने विद्यार्थीलाई नेपाली भाषाप्रति गौरव महसुस गराउनमा दादाजीको भूमिका कति थियो भन्ने कुरा वर्णन गर्नै सकिन्न । ती विद्यार्थीहरू विश्वको जतिसुकै ‘टप कलेज’मा पुगे पनि–कोही नेपालीभाषीसँग बोल्दा नेपाली भाषा बिगारेर बोल्दैनन् । त्यसो त, सीमित विद्यार्थीका लागि मात्र नभएर सिङ्गो मुलुकलाई नै नेपाली भाषाका प्रति उहाँको ठूलो योगदान छ । स्कुलका कार्यक्रममा दादाजीको उपस्थिति सधैँ ओजिलो लाग्थ्यो ।

    सफा दौरा, सुरुवाल, कोटमा सधँै चिटिक्क परेर हिँड्ने कमलमणि दीक्षितको ‘आउट लुक’ साहित्यकारहरूका प्रति मानिसको धारणा नै परिवर्तन हुने प्रकारको थियो । सधै ‘टिपटप’ । उहाँले लेखेका कुराहरू नेपालको इतिहास बुझ्न मद्दत पुग्ने प्रकारका हुने भएकाले नछुटाई पढिन्थ्यो । हुनत, मानिसको जीवनको कुनै भरोसा छैन भन्ने सबैलाई थाहा छ, कुनै पनि बेला जे पनि हुन सक्छ । तर, उहाँको मृत्युको खबर अति नै अप्रत्यासित लाग्यो । ०७३ पुस १४ गते बिहान ओछ्यानमै मोबाइल चलाउँदै गर्दा कसैको फेस बुकमा उहाँको फोटो देखेँ । फोटोमाथि लेखिएको श्रद्धाञ्जली शब्दले झसङ्गै बनायो । लौन, के हो यो ? भनेर मनमनमा प्रश्न गर्दै सामाजिक सञ्जाल हेर्दा धेरैको स्टाटस उहाँकै बारेमा थियो । बिरामी परेको नै थाहा छैन, के भएको होला यस्तो ?

    के भएको थियो ? प्रश्नहरूको जवाफ खोज्दै जाँदा समाचार लिङ्कहरू फेलापरे । बिरामी भएको खबर नै नपाई एक्कासि मृत्युको समाचार धेरै नै आश्चर्यजनक हुँदोरहेछ । बिहान ७ बजे पशुपतिमा अन्त्येष्टि गरिने भन्ने समाचार पढ्दा ८ बजिसकेको थियो । नेपाली भाषा र साहित्यलाई उच्च योगदान दिएको व्यक्तित्व भएका कारणले मात्र नभएर छोराको स्कुलको अभिभावक भएका कारणले बढी छटपटी भएको थियो भनेर आफ्नोबारेमा बुझ्न गाह्रो थिएन । अमेरिकाको म्यासाचुसेस्टमा कलेज पढिरहेको छोरालाई भाइबरमा लेखेँ–दादाजी इज नो मोर बाबा । जवाफमा उसले निश्चित गरेको हो ? के भएको थियो ? भनेर सोध्यो । उससँगको कुराकानीपछि आफैँसँग बोलेँ– हो, जिन्दगीको कुनै भरोसा छैन, यो अनिश्चित छ, तर यो मृत्यु भने निश्चित हो । समाचार लेख्दै गर्दा कुनै कुरा ‘भेरिफाई’ हुँदा खुसी मान्ने यो मन यस घटनाको ‘भेरिफिकेसन’बाट धेरै नै दुःखी बन्यो । हार्दिक श्रद्धाञ्जली दादाजी !!

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *