breaking news

    सत्तामा ‘राम’ र ‘हराम’ हुँदाको अन्तर – देवप्रकाश त्रिपाठी

    April 13th, 2017 | by Weekly Nepal
    सत्तामा ‘राम’ र ‘हराम’ हुँदाको अन्तर – देवप्रकाश त्रिपाठी
    विचार विश्लेषण
    0

    आममानिसले प्रयोग गर्ने शब्दमाथि सामान्यतया कुनै जातीय, क्षेत्रीय या राजनीतिक समूहको स्वामित्व नहुनुपर्ने हो, तर वामपन्थी कम्युनिस्टहरू ‘क्रान्तिकारी’ शब्दलाई आफ्नै पेवा ठान्छन्, अरू कसैले उक्त शब्दको प्रयोग गरेमा अप्ठ्यारो मान्छन् । कम्युनिस्टको क्रान्तिकारिता धर्म, संस्कृति, परम्परा, सामाजिक मूल्य र प्रचलित प्रजातान्त्रिक मान्यता भङ्ग गरी साम्यवादसम्मत प्रणाली र प्रथा स्थापना गर्ने उद्देश्यसँग सम्बन्धित हुन्छ । स्थापित मूल्य–मान्यतासहितको समृद्धि प्राप्तिमा उनीहरू विश्वास गर्दैनन् र पुराना सबै संरचना ध्वस्त बनाएर साम्यवादी अवधारणाअनुरूप राजनीतिक, सामाजिक र आर्थिक व्यवस्था स्थापना गर्नु मात्र कम्युनिस्टको विचारमा क्रान्ति या क्रान्तिकारिता हो । साम्यवादप्रतिको प्रतिबद्धता र व्यक्तिको विचार तथा अभिव्यक्तिमा प्रकट हुने उग्रतालाई मापदण्ड बनाएर क्रान्तिकारिता मापन गर्ने परम्परा कम्युनिस्ट आन्दोलनभित्र हुन्छ । विश्वभरिका कम्युनिस्टका विचारमा साम्यवाद प्राप्तिका लागि माक्र्सवादी, लेनिनवादी, माओवादी, स्टालिनवादी र जुछे विचारधारा अवलम्बन गर्नेहरू मात्र वास्तविक क्रान्तिकारी हुन् ।

    सामान्यतः मानिस सधैँ असन्तुष्ट प्राणी हुन् र जो जहाँ जुन अवस्थामा छन् ती त्यहीँ असन्तुष्ट रहने गर्दछन् । भोगिरहेको वर्तमानबाट मुक्त भई अझै राम्रो अवस्था–व्यवस्था प्राप्तिको चाहना मानिसमा हुन्छ । हो, मानिसको यही कमजोरीमा टेकेर बेग्लै प्रकारले आशा जगाउने, तिनको भावना भड्काउने र त्रास पैदा गरेर परिस्थिति आफूअनुकूल बनाउने काम वामपन्थी कम्युनिस्टहरूबाट निरन्तर भइरहेको हुन्छ । गरिबी, अशिक्षा र कमजोर चेतनास्तर रहेको समाजलाई कम्युनिस्टका चर्का कुराले क्षणभरमा प्रभाव पार्ने गर्दछ । खासमा कम्युनिस्टका विचार अभिव्यक्ति वितण्डतावादमा आधारित हुन्छ । चार्वाक दर्शनका अनुसार वितण्डतावादीको आफ्नै मौलिक र स्वतन्त्र विचार हुँदैन । भिन्नमतको आलोचना या अपमान गर्नु, निच देखाउनु र फरक मतप्रति कहिल्यै सहिष्णु नहुनु नै वितण्डतावाद हो । माक्र्सवादभन्दा हजारौँ वर्षअघि नै चार्वाक दर्शन पादुर्भाव भएको हो र चार्वाकमा वितण्डावादको व्याख्या जसरी गरिएको छ, त्यो ठ्याम्मै कम्युनिस्टहरूको विचार र व्यवहारअनुरूप देखिन्छ । कम्युनिस्टहरू आफ्नै स्वतन्त्र अभिमत र सिद्धान्त ग्रहण गर्दैनन्, फरक मतको निन्दा, आलोचना र अपमानमा उनीहरूको अभिव्यक्ति केन्द्रित रहने गर्दछ ।

    सुख देहसँग र खुसी आत्मा या भावनासँग सम्बन्धित विषय भएको जानकारी हामी सबैमा छ । तर, संसारका अधिकांश मानिस खुसीभन्दा बढी सुख प्राप्तिका निम्ति लालायित छन् । शास्त्रहरूमा उल्लेख भएअनुसार ‘सु’ को अर्थ अनुकूलता र ‘ख’को अर्थ आकाश अर्थात् समस्त विश्व हो । यसर्थमा ‘सुख’ शब्दलाई सिङ्गै संसार आफूअनुकूल बनाउने चाहनाका रूपमा बुझ्न सकिन्छ । द्वन्द्वात्मक भौतिकवादी सोच राख्ने अर्थात् उक्त अवधारणाबाट पे्ररित कम्युनिस्टहरू देहसुखप्रति सधैँ लालायित हुन्छन्, नानाभाँतीका सपना पनि सुखकै देखाउँछन् र उनीहरू इसाई र इस्लाम धर्मावलम्बीहरूझैँ आत्माको स्वतन्त्र अस्तित्वमा विश्वास पनि गर्दैनन् । इस्लाम र इसाई धर्मावलम्बीका विचारमा परमेश्वरको अस्तित्व छ, तर शरीरभन्दा बेग्लै आत्माको अस्तित्व हुन्छ भन्ने सनातनी मान्यताप्रति उनीहरू असहमत छन् । त्यसैले प्राचीन कालमा मिश्र (इजिप्ट) का इसाई र मुसलमानहरूले मानिस मरेपछि शरीरलाई कफिनमा बन्द गरेर जमिनमुनि सुरक्षित राख्ने चलन चलाएका हुन् । ती इसाई र इस्लाम धर्मावलम्बीहरूले सुदूर भविष्यमा अन्तिम विचारका दिन (Last day of Judgment) ईश्वरको सिंहासनका दुवैतर्फ कफनमा राखिएका शव उठेर खडा हुन्छन् र तिनका बारेमा ईश्वरले फैसला सुनाउनेछन् भन्ने विश्वासका आधारमा लासलाई नष्ट नगरी सुरक्षित राख्ने परम्परा बसाएका हुन् । लास नष्ट भएपछि आत्माको पनि नास हुन्छ भन्ने विश्वासमा रहेका उनीहरू अन्तिम विचारका दिन (Last day of Judgment) ईश्वरको सिंहासनको दाहिनेतर्फ धार्मिक र बायाँतर्फ पापीहरू खडा हुन्छन् भन्ने ठान्दथे । युरोप आधुनिक युगमा प्रवेश गरेपछि ब्रिटिस राजाले पनि यही सांस्कृतिक मान्यतामा टेकेर संसदमा आफ्ना बायाँतर्फ आलोचकहरू र दायाँतर्फ समर्थकहरूलाई राख्ने परम्परा सुरु गरेका हुन् । राजाको विचारमा सम्भवतः आफूलाई आलोचना गर्नेहरू पापी थिए र समर्थन गर्नेहरू धर्मात्मा । फ्रान्सका राजाले पनि आलोचकहरूलाई बायाँ हाततर्फ र समर्थकलाई दायाँ हाततर्फ राख्ने गर्दथे । कालान्तरमा आलोचनात्मक, नकारात्मक र विद्रोही सोच राख्नेहरूलाई वामपन्थी तथा धर्म, संस्कृति, परम्परा, अनुशासन र प्रचलित व्यवस्थाको अनुशरण गर्नेहरूलाई दक्षिणपन्थीका रूपमा बुझ्न थालिएको हो । वास्तवमा हरेक कम्युनिस्ट वामपन्थी भए पनि हरेक वामपन्थी कम्युनिस्ट हुँदैनन् । तर, आधुनिक विश्व राजनीतिमा वामपन्थी र कम्युनिस्टलाई एउटै रूपमा बुझ्न थालिएको छ ।

    भौतिकवादी भएकैले कम्युनिस्टहरू देहसुखमा लटपटिएका हुन् र त्यस्तो सुख पनि संसारमा जीवित सबै मानिसलाई प्राप्त हुनुपर्छ भन्ने मान्यता उनीहरूको छैन । मानिसमध्येमा पनि एउटा वर्गले मात्र सुख पाउनुपर्ने वैचारिक अवधारणा उनीहरूमा निहित छ । संसारका सबै मानिस बराबर रहेको विचार दर्शन बोक्ने कम्युनिस्टहरू मानिसका बीच मारियाना टे«न्चभन्दा गहिरो खाडल पैदा गर्छन् र एकथरीका विरुद्ध अर्काथरीलाई प्रयोग गर्ने गर्दछन् । वर्गीयबाहेक जाति, भाषा, धर्म, क्षेत्र आदिका नाममा अन्तरविरोध पैदा गर्ने–गराउनेमा पनि कम्युनिस्टकै अग्र भूमिका रहेको विश्व–इतिहासले स्पष्ट दर्शाउँछ । मध्ययुग र त्यसको आसपासमा बीभत्स हिंसात्मक सङ्घर्षका कारण र पात्र अन्य भए पनि माक्र्स र लेनिनको उदयपश्चात् राजनीतिक उद्देश्यपे्ररित बीभत्स हिंसात्मक द्वन्द्वको प्रादुर्भाव कम्युनिस्टहरूबाट नै हुने गरेको विघटित सोभियत सङ्घमा स्टालिनले, क्रान्ति र सांस्कृतिक क्रान्तिका नाममा चिनियाँ कम्युनिस्ट नेता माओ त्से तुङले, जनयुद्धको नाममा पोलपोट र चारु मजुमदारदेखि गोञ्जालोसम्मले पुष्टि गरेका छन् ।

    नेपालमा पनि प्रचण्ड–बाबुरामले सत्ताप्राप्तिका निम्ति रचेको कथित जनयुद्धका क्रममा हजारौँ निर्दोष नेपालीले ज्यान गुमाउनुपरेको र राज्यले खर्बौं रुपैयाँबराबरको क्षति व्यहोर्नुपर्ने पीडादायी अवस्था पैदा भएको घटना इतिहास स्मरणीय छ । जुनसुकै कारणले मानिस कम्युनिस्ट बन्ने गरेका भए पनि नेपाली समाज र नेपालको परम्परागत मूल्य–मान्यतालाई भङ्ग गर्ने तथा राजनीतिक उद्देश्यका निम्ति साधारण निहत्था नागरिकको नृशंस हत्या हुने कारणचाहिँ कम्युनिस्ट नै बनेका छन् । गरिब, अशिक्षित र शिक्षित बेरोजगारहरूमा नाजायज महत्वाकाङ्क्षा पैदा गराएर अराजकता र अन्योल निम्त्याउने कर्म गरिरहँदा कम्युनिस्टहरू क्रान्तिकारी सङ्घर्ष गरिरहेको ठान्थे– अझै ठान्दै छन् । यसअघिका कुनै पनि अवस्था, व्यवस्था र पात्रले केही गर्न नसकेको, बरु जनतालाई सास्ती दिने काम मात्र गरेको प्रचार गर्दै ‘नयाँ नेपाल’ बनाउने सपना बाँडेर हिंसात्मक सङ्घर्षमा उत्रिएका माओवादी कम्युनिस्टहरू राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आएको दशक नाघिसकेको छ । यस अवधिमा प्रचण्ड र बाबुरामहरूले पटक–पटक मन्त्री र प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका पनि छन् । वर्ग शत्रु खत्तम गर्ने भन्दै व्यक्तिहत्यालाई राजनीतिक आवरण दिने कुकर्मको प्रारम्भकर्ता अर्को कम्युनिस्ट समूहका नेताहरू पनि पालैपालो पटकपटक मन्त्री र प्रधानमन्त्री बनिसकेका छन् । यसरी क्रान्तिकारी शब्दमा एकलौटी हक–भोगको दाबी गर्ने वामपन्थी कम्युनिस्टहरूको प्रभाव र भूमिका बढ्दै जाँदा नेपाल र नेपालीको स्थिति भने इतिहासमै सर्वाधिक सङ्कटग्रस्त र पीडादायी हुन पुगेको छ । राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सार्वभौमिक स्वतन्त्रता, औद्योगिकीकरण, आर्थिक विकास, शान्ति, सुरक्षा, स्थायित्व, रोजगारी प्रवद्र्धन र सुशासनलगायत राष्ट्रिय जीवन अङ्गका हरेक विधालाई नकारात्मक परिणाममुखी बनाउने जुन काम यो देशमा भयो त्यो वामपन्थी कम्युनिस्टहरूबाट नै भयो, क्रान्ति र क्रान्तिकारिताकै भयो । हरेक नेपाली युवाले आज देशभन्दा परदेश रोज्नुपर्ने जुन स्थिति बनेको छ त्यसका निम्ति काङ्गे्रस र अरूहरूको अकर्मण्यतालाई पनि जिम्मेवार ठहर गर्न सकिएला, तर कम्युनिस्टको भूमिका र क्रियाकलाप मुख्य रूपले जिम्मेवार छ, नेपाल र नेपालीलाई अनिश्चित भविष्यको भुमरीमा फसाउने काम कुनै न कुनै नाम विशेषणका कम्युनिस्टहरूबाट नै हुँदै आएको छ ।

    ‘क्रान्तिकारी’ शब्दमाथि शतप्रतिशत स्वामित्व दाबी गर्ने वामपन्थी कम्युनिस्टले हाम्रो देशमा दश वर्षभित्र के–कति गरे हाम्रा अघिल्तिर छर्लङ्ग छ । छिमेकी मित्रराष्ट्र भारतमा दक्षिणपन्थी, परम्परावादी, धर्मान्ध आदि विशेषणप्राप्त भारतीय जनता पार्टी र तिनका नेताले सम्पूर्ण सत्ताप्राप्तिको तीन वर्षभित्र र नेपालभन्दा कैयन गुणा ठूलो एउटा राज्य उत्तर प्रदेशको सत्ता हासिल गरेको दश दिनभित्र के–कति काम भए त्यो पनि आमनेपालीका अघिल्तिर स्पष्ट छ । माओवादी, जो आफूलाई सर्वाधिक क्रान्तिकारी ठान्दछन्, जसले जनताको दैनिक जीवनमा चामत्कारिक र सकारात्मक परिवर्तन ल्याउने दाबी गर्दै हजारौँ मानिसको हत्या गरे र दश वर्षसम्म हिंसा र आतङ्कको आडमा तवाही मच्चाए, सत्ता–राजनीतिमा सामेल भएको एघार वर्षमा यिनले देशलाई कहाँ पु¥याए ? अनि धर्म, संस्कृति र परम्पराका पुजारी, राजनीतिक शब्दावलीमा अति दक्षिणपन्थी, रुढीवादी र अन्ध राष्ट्रवादी भनिने भाजपा र तिनका नेताले भारतमा के गरे–गर्दै छन् ? दक्षिणपन्थी परम्परावादीलाई गलत र वामपन्थी क्रान्तिकारिता सही देख्ने नेपाली आँखाले उल्लिखित प्रश्नको जवाफ अब खोज्नैपर्ने हुन्छ । माओवादी तवाहीलाई वैधता दिँदै तिनको विचार–पथमा बुर्कुसी मार्ने दल र तिनका नेतामा यस्ता प्रश्नको जवाफ दिने सामथ्र्य खोज्नु व्यर्थ छ, हामी नेपाली जनताले पनि आफ्नो लाचारीमाथि प्रश्न उठाउन अबेर भइसकेको छ । वामपन्थी कम्युनिस्टका दृष्टिमा अमेरिकाका डोनाल्ड ट्रम्प, रसियाका भ्लादिमिर पुटिन, चीनका सी जिनपिङ र भारतका नरेन्द्र मोदी सबै दक्षिणपन्थी हुन् । तर, आफ्नो देशको उन्नति, प्रगति, स्वाभिमान र प्रतिष्ठा बढाउने काम भने यिनै ‘दक्षिणपन्थी’हरूले गरेका छन् । जनसङ्ख्याका दृष्टिले नेपालभन्दा करिब सात गुणा ठूलो र क्षेत्रफलका हिसाबले करिब तीन गुणा ठूलो भारतको एउटा राज्य उत्तर प्रदेशमा गेरुवस्त्रधारी योगी मुख्यमन्त्री बने ।

    योगी आदित्यनाथले पदीय जिम्मेवारी सम्हालेको दश दिनभित्र दुई करोड दश लाख गरिब किसानलाई ऋणमुक्त गराए, सात वर्षदेखि क्षतविक्षत सडक मर्मतसम्भार तथा सुधारको काम विद्युतीय गतिमा सुरु गराए, सार्वजनिक स्थानमा गुट्खा, पानलगायतका हानिकारक वस्तुको बिक्री–वितरणमा रोक लगाए, महिलाको सुरक्षाका निम्ति एन्टिरोमियो स्क्वाड परिचालनमा ल्याए, गो हत्या र गाईगोरुको तस्करीमा प्रतिबन्ध लगाए, कैलाश मानसरोवर तीर्थयात्रामा जानेहरूलाई एक लाख रुपैयाँ अनुदान दिने निर्णय गरे, कामचोर कर्मचारीलाई एउटै निर्णयबाट तह लगाए, कर्मचारी प्रशासनलाई क्रियाशील र जनमुखी बनाए, नयाँलाई अवसर दिनका लागि अवकाश प्राप्त भएर पनि शक्तिको प्रयोग गरी सेवाका विभिन्न क्षेत्र कब्जा गरेर बस्नेहरूलाई बिदाइ गरे, राजनीतिकर्मीहरूलाई दिएको जथाभावी प्रहरी सुरक्षामाथि पुनरावलोकन गराए, प्रहरी कार्यालय अर्थात् थानाहरूको रिसेप्सनमा एक महिला तथा एक पुरुष प्रहरी अनिवार्य रूपमा रहनुपर्ने व्यवस्था मिलाए र उनी गरिब, किसान एवम् पिछडिएको समुदायलक्षित अनेकौँ प्रभावकारी कार्यक्रम तर्जुमा गर्दै छन् । आरक्षणलाई जात, क्षेत्र या समुदायआधारित नभई गरिब र शिक्षाआधारित बनाउने अठोट योगीले लिएका छन् । अल्पसङ्ख्यकको कब्जामा बहुसङ्ख्यकले रहनुपर्ने स्थितिलाई अप्राकृतिक भन्दै आदित्यनाथले बहुसङ्ख्यकको भावनाअनुरूप देश र राज्य चल्नुपर्ने स्पष्ट गरेका छन् र समग्रमा उनले आफ्ना जनतालाई सुशासन तथा सुखद एवम् खुसद भविष्यका प्रति आशावादी बनाएका छन् । प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले सिङ्गै भारतीय जनतामा जुन स्तरको आशा जगाएका छन् त्यसमाथि आदित्यनाथको कर्मले अर्को ऊर्जा थपेको छ ।

    परब्रह्म परमेश्वरसँग साक्षात्कार गर्ने मुक्ति साधनामा रमाएका, जगत् मिथ्या, सुख मिथ्या र ईश्वर मात्र सत्य भन्ने सन्देश दिँदै वैराग्य मार्गमा हिँडेका धर्मभीरू अध्यात्मवादी साधुहरू आफैँले त्यागेका सुख–सुविधा जनतालाई दिलाउन कटिबद्ध देखिन्छन् र परिणाममुखी कार्यका अगुवा बनेका छन् । तर, भौतिकवाद र क्रान्तिकारितामा मात्र विश्वास भएका, जनता शब्दको प्रयोग निरन्तर गरिरहन रुचाउने वामपन्थी कम्युनिस्टहरू जनतालाई सुविधा दिलाउनभन्दा आफैँ ग्रहण गर्न लालायित देखिएका छन् । नेपालमा वामपन्थी क्रान्तिकारी कम्युनिस्टहरूले जे गरे, गरिरहेका छन्, भारतका दक्षिणपन्थी राष्ट्रवादीहरूसँग यिनको तुलना मात्र गर्दा पनि नरेन्द्र मोदी र आदित्यनाथहरूको अपमान गरेजस्तो हुने भयो । प्रचण्ड–बाबुराम या अरू कोहीजस्ता वामपन्थी कम्युनिस्ट क्रान्तिकारी हुनुभन्दा नरेन्द्र मोदी र योगी आदित्यनाथजस्ता अति दक्षिणपन्थी धर्मभीरू सन्त नै देश, जनता र उन्नति–प्रगतिका लागि उपयोगी हुँदारहेछन् भन्ने तथ्य परिणामसिद्ध भएको छ । प्लेटोले कल्पना गरेको आदर्श राज्यमा शासकीय जिम्मेवारी लिने व्यक्ति दार्शनिक स्वभावको र परिवारमुक्त हुनुपर्छ भन्ने जुन विचार प्रकट गरेका छन्, उक्त विचार सही हो भन्ने पुष्टि भारतीय नेताहरू नरेन्द्र मोदी र योगी आदित्यनाथलगायतले गरेका छन् । देशका लागि द्वन्द्वात्मक भौतिकवादी, क्रान्तिकारी, वामपन्थी कम्युनिस्टभन्दा अध्यात्मवादी, दक्षिणपन्थी, परम्परा र धर्म–संस्कृतिका पक्षधर व्यक्ति र शक्ति नै उपयोगी हुने सन्देश मोदी र योगीले दिएका छन् । परम्परावादी दक्षिणपन्थीहरूले भारतीय सत्ताको नेतृत्वदायि अङ्गमा रहेर निर्वाह गरेको भूमिकाले नेपालका क्रान्तिकारी वामपन्थी कम्युनिस्टहरूलाई वास्तवमा गिज्याइरहेको छ । तर, धर्मविरोधी, बहुसङ्ख्यक जनताको भावनाविरोधी, सबल राष्ट्रियता र राष्ट्रिय एकताका विरोधी भूमिकामा रमाइरहेका कम्युनिस्टहरू अझै पनि क्रान्तिकारिता र वामपन्थको पक्षपोषण गर्ने धृष्टता गर्दै छन् ।

    ‘एमाले’ नाम विशेषणमा सङ्गठित कम्युनिस्ट पार्टी र त्यसका नेताहरूले राष्ट्रियता र राष्ट्रवादको अर्को अनौठो ‘खेती’ गरिरहेका छन् । लेनिनद्वारा रचिएका राज्य बिलोपसम्बन्धी ग्रन्थले कुनै पनि कम्युनिस्ट देशभक्त हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट पारिदिएको छ । देशहरूको अस्तित्व समाप्त नगरेसम्म साम्यवाद स्थापना हुन नसक्ने भएकोले राज्य विघटन गर्नकै निम्ति कम्युनिस्टहरूले सत्तामा सम्पूर्ण नियन्त्रण राख्नुपर्ने विचार लेनिनले राज्य विलोपसम्बन्धी आफ्नो ग्रन्थमा उल्लेख गरेका छन् र नेपालका एमाले कम्युनिस्ट तिनै लेनिनको मार्गदर्शनअनुरूप परिचालित भएकोमा गौरवानुभूति गर्दछन् । लेनिनवादलाई आत्मसात् गरिरहँदासम्म एमालेलाई राष्ट्रवादी या देशभक्त स्वीकार गर्न सैद्धान्तिक रूपमै सकिँदैन । एमाले नेतृत्वले सत्ता र प्रतिपक्षमा रहँदा लिएका कैयन निर्णय राष्ट्रहित प्रतिकूल नभएको तथ्य अझै विस्मृतिमा गइसकेको छैन । राज्यसत्ताको दोहन गरेर पार्टी र पार्टीका कार्यकर्तालाई धनाढ्य बनाउने सोच र पद्धतिकेन्द्रित एमाले जसले देशलाई थप तनाव र अन्योलको अवस्थामा पु¥याउने संविधान जारी गर्नसमेत मुख्य भूमिका निर्वाह ग¥यो, यसकोे देशभक्ति र राष्ट्रवादमा कसरी विश्वास गर्नु ? एमाले कम्युनिस्ट र माओवादी कम्युनिस्टबीचको अन्तर ब्वाँसो र स्यालको जति मात्र हो । प्राप्त गर्ने, ग्रहण गर्ने र हजम गर्ने तरिकाको अन्तर मात्र दुई पक्षमा देखिन्छ । स्वर्गमा इन्द्रको राज्य हुँदा र कहिलेकाहीँ दानवहरू बलपूर्वक राज्यसत्ताको मालिक बन्दा जुन स्तरको अन्तर रहने वर्णन शास्त्रहरूमा पाइन्छ, हामीले भारत र नेपालका वर्तमान शासकहरूमा त्यही स्तरको अन्तर महसुस गरिरहेका छौँ ।

    परापूर्वकालमा इसाई र इस्लामहरूले धार्मिकजति ईश्वरको सिंहासनको दायाँतर्फ तथा पापीहरू बायाँतर्फ लामबद्ध रहने परिकल्पना गर्नु र युरोपका राजाहरूले नकारात्मक दृष्टिकोण राख्नेहरूलाई बायाँ तथा सकारात्मक सोच भएकाहरूलाई दायाँपट्टि रहने व्यवस्था गरेको पृष्ठभूमिमा आधुनिक विश्वका वामपन्थी कम्युनिस्ट क्रान्तिकारीहरूको क्रियाकलाप तथा भूमिकालाई अध्ययन गर्ने हो भने यिनले देश, समाज, धर्म, परम्परा, संस्कृति, एकता र राष्ट्रियताप्रतिकूल कार्य गर्नुलाई ‘स्वाभाविक’ मान्नुपर्ने हुन्छ । अन्यत्रझँै नेपालका कम्युनिस्टहरूले पनि वामपन्थी क्रान्तिकारितासँग शान्ति, स्थायित्व र समृद्धिको साइनो हुन सक्दैन भन्ने पुष्टि गरिदिएका छन् । यसर्थमा नेपालका कम्युनिस्टहरूले पु¥याएको सबैभन्दा महत्वपूर्ण योगदानका रूपमा ‘दक्षिणपन्थी सोचभन्दा वामपन्थी क्रान्तिकारिता अतुलनीय रूपमै खराब हुन्छ’ भनी पुष्टि गर्नुलाई लिन सकिन्छ । वामपन्थी क्रान्तिकारी भोगी प्रचण्डहरूभन्दा दक्षिणपन्थी, अध्यात्मवादी योगी आदित्यनाथहरू नै देश र जनताका निम्ति उपयोगी हुन्छन् भन्ने पुष्टि भइसकेको यस अवस्थामा नेपाली जनताले मात्र अनेकौँ आकार–प्रकारका क्रान्तिकारी कम्युनिस्टहरूको दूषित प्रभावबाट मुक्तिको विकल्प किन नखोज्ने भन्ने प्रश्न उठेको छ । ‘हराम’हरूको राजबाट देशलाई मुक्त गरी ‘रामराज’ निर्माण गर्ने अभियानमा सामेल हुन विलम्ब गर्नु भनेको अब आफैँलाई ठग्नु मात्र हो । ‘राम’ र ‘हराम’हरूको सोच, व्यवहार, शैली, इमानदारी र उद्देश्यमा देखिएको भारी अन्तरलाई बुझ्ने कोसिस अब पनि गर्न खोजिँदैन भने आफूलाई धिक्कार्दै भन्नुपर्ने हुन्छ, ‘हामी जन्मिएकै सास्ती र सङ्कट पाउनका लागि हो ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *