breaking news

    श्रीपेच त कुच्चिएछ सरकार

    January 11th, 2017 | by Weekly Nepal
    श्रीपेच त कुच्चिएछ सरकार
    फिचर
    0

    काठमाडौं । राणाहरुको दृष्टान्त पेश गर्दै ज्ञानेन्द्र शाहले ‘राजा’ को रुपमा नारायणहिटीबाट बहिगर्मनपूर्व आफ्नो बंशले पहिरिएको श्रीपेच साथमा लैजाने इच्छा व्यक्त गरेका थिए । तर, तत्कालिन सरकारले उनको इच्छा पूरा गरेनमात्र हैन, अहिले ज्ञानेन्द्रलाई लैजान नदिइएको त्यही श्रीपेचको कथा सुन्यो भने इतिहास र सम्पदलाई माया गर्नेहरु धुरु–धुरु रुने छन् ।

    शाहवंशीय श्रीपेचलाई बुलेटप्रुफ सिसाभित्र हालेर प्रदर्शन गर्ने गरी ०६९ सालमै एउटा प्रतिवेदन पेश भएको थियो । राजदरबारबाट ‘दरबार संग्रहालय’ मा परिणत भएपछि संस्कृति मन्त्रालयका सहसचिव नारायण रेग्मीसहित त्यहाँका प्रमुखको रुपमा काम गरेका लेखबहादुर कार्कीहरुले तत्कालिन सचिव सुशील घिमिरेसमक्ष पेश गरेको प्रतिवेदनअनुसार सार्वजनिक प्रदर्शनीको व्यवस्था मिलाउनुको सट्टा चरम लापरवाही गरिँदा श्रीपेच हेर्नै नहुने हालतमा पुगेको हो ।

    ०६९ भदौमा रुपन्देही र सुर्खेत कक्षका झ्यालको पुराना सिसा विस्थापित गरी बुलेटप्र्रुफ सिसा जडान गरेर श्रीपेच राखिएको थियो । तर, अहिले त्यो त्यहीँको सैलुनमा छ । ज्ञानेन्द्रले दरबार छाड्नासाथ सेनाको एउटा टुकडीले पहरा दिएर श्रीपेच सुरक्षित राखेको थियो । सैनिक पहरा त अहिले पनि छ, तर सेनाका तीन जवानमात्र खटिएका छन् । उक्त श्रीपेचमा सात सय ५० वटा हीराका टुक्रा छन् । टायरामा दुई हजार सात सय टुक्रा छन् । श्रीपेचको पछिल्तिर झुण्डिने कल्की बर्ड अफ प्याराडाइज नामको चराको पुच्छर हो, जो संसारमै दुर्लभ मानिन्छ । कल्कीबाहेकका भागमा हीरा–मोति, माणिक, नवरत्न, सुन जडित छन् । राजदण्ड र चमरमा पनि सुनजडित छन् । त्यसमा चाँदीको मात्रा बढी रहेको बताइन्छ ।

    श्रीपेचलाई एक विशेष किसिमको तेल लगाएर नियमित रुपमा सफा गरेन भने चमक घट्दै जान्छ । सरकारले सुरक्षा त दिएको छ, तर सरसफाई भएको छैन । त्यसमाथि अहिले नारायणहिटी संग्रहालय प्रमुखको जिम्मेवारीमा रहेका रोहित ढुंगानाले बताएअनुसार, गत वर्षको भूकम्पका कारण क्ष्तिग्रस्त भएको श्रीपेच पुनःनिर्माणको बजेट अहिलेसम्म सरकारले निकासा दिएको छैन । कति र कस्तो क्षति भएको हो ? यसबारे ढुंगानाले केही बताएनन् । अचम्मको कुरा त के भने, हजार डिग्री तापक्रमले पनि नबिगार्ने डिजिटल पासवर्ड प्रणालीको अत्याधुनिक दराजमा राखिएको उक्त श्रीपेचमाथि भूकम्पले क्षति पु¥यायो कसरी ? वा, ०६९ सालमै त्यति जतन गरेर राखिएको श्रीपेच पछि किन त्यस्तो कच्ची भवनमा सारियो ? यसको जवाफ दिने अधिकारी भेटिएनन् ।

    नारायणहिटीस्रोत भन्छ, भूकम्पले सैलुनको छाना थिचिँदा श्रीपेच कुच्चिएको छ । त्यसमा रहेका केही मोति दाना चुँडिएका छन् । थाहा छैन, त्यसमा जडित सुन पहिलाकै नम्बरी छ कि, त्यसमा कुनै बदमासी भइसक्यो ? नारायणहिटी प्रमुख ढुंगानाका अनुसार, सरकारले यथेष्ट बजेट निकासा दिएमा सकेसम्म ०७४ साल नलाग्दै श्रीपेच सार्वजनिक प्रदर्शनका लागि खुला गर्न सकिनेछ ।

    अर्को दुःखलाग्दो कुरा छ, कम्तिमा पनि राजा त्रिभुवनको पालादेखि जम्मा पारेर राखिएका बन्यजन्तुका शिकारको अवशेष सरकारले अनुमति दिएमा आजभोलि नै नष्ट गरिँदैछ । पञ्चायत व्यवस्था रहँदासम्म देशका कुनै पनि जंगलमा बन्यजन्तुको शिकार भए वा मरेमा तिनका अवशेष सोझै नारायणहिटी दाखिला हुन्थे । अहिले पनि त्यहाँको फारिसखानामा बाघ, चितुवा, हात्ती, गैँडाका छाला, सिंग, नङ्ग्राजस्ता पुरातात्विक महŒवका शिकार छन् । तर, स्याहार नपुग्दा बाहिरैबाट डुङ्डुङ गन्हाउने भइसकेका छन् । यसैकारण, त्यसको सार्वजनिक प्रदर्शन हैन, नष्ट गर्ने तयारी भइरहेको प्रमुख ढुंगानाले बताए ।

    सरकारी सम्पत्ति भएका कारण त्यसलाई नष्ट गर्नुअघि अनुमति लिनुपर्ने छ । सरकार कति लापरवाह भएछ भने, दरबारले वर्षौंदेखि विभिन्न रसायनको प्रयोग गरी सुरक्षित राखेका ती छाला, सिंग र नङ्ग्राहरु देशमा गणतन्त्र आएर, ती सामानको जिम्मा सरकारले लिएपछि १० वर्ष पनि टिकेनन् । क्याबिनेटकोे तर्साउने मात्रै हो काम ? पूर्वराजा ज्ञानेन्द्रले विज्ञप्ति निकालेपछिको क्याबिनेट बैठकमा गृहमन्त्री विमलेन्द्र निधिले ०५८ सालको दरबार हत्याकाण्डसम्बन्धी छानबिन हुनुप¥यो भन्ने कुरा उठाए । १४ वर्षअघिको उक्त घटनामा पनि संयोगवश गृहमन्त्री नेपाली कांग्रेसकै नेता रामचन्द्र पौडेल थिए र क्याबिनेट बैठक त्यतिबेला पनि बसेकै हो । के त्यसबेला पनि यसरी कुरा उठेको थियो त ? विगत सम्झँदै पौडेल भन्छन्, ‘धेरै खाले आशंका थिए तर दीपेन्द्रले नै बाउ मारेकोमा सबै विश्वस्त देखिन्थे ।’

    आलो घटना हुनाले धेरै सोचिएन र गिरिजाबाबुको पनि धेरै नबोल्ने स्वभावका कारण केही भन्नु भएन । यहाँनेर छलफल हुनैपर्ने के देखिन्छ भने के दरबार हत्याकाण्ड कसैलाई तर्साउन मात्रै राख्ने घाउ हो ? २४० वर्षको इतिहास बोकेको राजतन्त्र हटाउने पृष्ठभूमि बनाएको उक्त घटनालाई किन मनको तुष्टि पोख्ने र पूर्वराजालाई तर्साउने उपायका रूपमा मात्र प्रयोग गरिन्छ ? के यसको न्यायोचित छानबिन जरुरी छैन ?
    जाअास्था साप्ताहिक

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *