breaking news

    ‘लम्पसारवाद’ का विरुद्ध सङ्घर्ष गरौँ – खेम थपलिया

    January 3rd, 2017 | by Weekly Nepal
    ‘लम्पसारवाद’ का विरुद्ध सङ्घर्ष गरौँ – खेम थपलिया
    विचार विश्लेषण
    0

    कमान्डर कमरेडहरूको तथ्याङ्कअनुसार जनयुद्धमा लडिएका युद्धहरूमा ८५ प्रतिशत युद्धहरू माओवादीले जितेको थियो । १५ प्रतिशत युद्धहरू मात्र असफल भएका थिए । युद्धमा भएको हताहति हेर्दा पनि सर्वसाधारण नागरिकलाई छोड्ने हो भने जनमुक्ति सेनातर्फ निकै कम क्षति पुगेको छ । ८० प्रतिशत भू–भाग माओवादी सत्ताको नियन्त्रणमा थियो । जनयुद्धकालमा माओवादी सैन्यमोर्चामा ८५ प्रतिशत र भूगोलमा ८० प्रतिशत भूभाग हावी थियो । यो माओवादी जनयुद्धको गौरवशाली पुँजी हो । यस्तो गौरवशाली पुँजीलाई पुँजीकृत गर्नुको सट्टा माओवादी केन्द्र र सो पार्टीका अध्यक्ष भारतीय विस्तारवादसामु लम्पसार परेका छन्, केवल कुर्सीका लागि, केवल आफ्नो छालाको रक्षाको लागि । आखिर किन ? प्रश्न सामान्य छैन । अहिले नेपालमा लम्पसारवाद निकै चर्चामा छन् । पछिल्लो चरणमा यसका प्रवर्तक प्रचण्ड हुन् । लम्पसारवादसित सान्दर्भिक हुने एउटा आहान यहाँ प्रस्तुत गर्न उपयुक्त हुन्छ ।

    एकादेशमा एउटा राजा थिए, जसको हरेक निर्णय प्रजाहरूले चुपचाप स्वीकार गर्दथे । धेरै मान्छेहरूले कोसिस गरे कि त्यहाँका जनताहरू जागरुक होऊन् । यदि कुनै गलत काम भइरहेको छ भने त्यसको विरोध गरून् । आपत्ति गरून् तर त्यहाँका जनताहरूलाई केही फरक पर्दैनथ्यो । कसैले पनि राजाको निर्णयको विरोधमा बोल्ने साहस गर्दैनथे । राजाले तेलको मूल्य बढाइदिए, प्रजाहरू चुप लागे । हरेक कुरामा दोब्बर ट्याक्स लगाइदिए तर पनि प्रजा चुपै लागे । राजाले मनोमानी गर्न थाले, फेरि पनि प्रजा चुपै लागे ।

    एकदिन राजाको दिमागमा खुराफाती आइडिया आएछ । उनले राम्रो चौडा सडक भत्काएर पुल बनाए, जब कि त्यहाँ पुलको कुनै आवश्यकता नै थिएन । प्रजा फेरि चुपै लागे, कसैले आवाज उठाएनन् । यहाँ पुल आवश्यक छैन भनेर कसैले बोलेनन् । राजाले पुलमा सैनिकहरू राखिदिए र पुलबाट आवतजावत गर्नेहरूबाट पैसा असुल गर्न थाले तर पनि कसैले विरोध गरेनन् । फेरि राजाले आफ्ना सैनिकहरूलाई हुकुम दिए, “पुलबाट आउने जानेहरूलाई पालैपालो ‘चार–चार लात्ती’ पनि हिर्काउनू ! र कसैलाई कुनै आपत्ति भए केही लेखेर पुलको छेउमा रहेको ‘कमेन्ट बक्स’ मा हाल्दिन भन्नू !” तर प्रजा फेरि मौन नै थिए ।

    राजाले दिनदिनै ‘कमेन्ट बकस’ खोलेर हेर्थे । सायद कसैले विरोध पो ग¥या’छन् कि भनेर तर कुनै चिठी हुँदैनथ्यो, सधैँ खाली हुन्थ्यो । केही दिनपछि ‘कमेन्ट बकस’ मा राजाले अचानक एउटा चिठी भेट्टाए । राजा खुसी भए, कम्तिमा एउटा मान्छेले त विरोध गर्ने हिम्मत देखायो भनेर । राजाले चिठी खोलेर पढे, त्यसमा लेखिएको थियो, “सरकार ! लात्तीले हिर्काउने सैनिकहरूको सङ्ख्या बढाइयोस् । लात्ती खान पनि लामो लाइन बस्नुपर्छ, त्यसैले हामीलाई घर आउन जान ढिला हुन थालेको छ ।”

    १० वर्ष भीषण सङ्घर्ष गरेर माओवादी रोल्पाबाट काठमाडौँमा मूलत तीन उद्देश्य बोकेर आएको थियो । ती तीन उद्देश्य यस्ता थिए ः (१) जनयुद्धलाई जनविद्रोहमा बदल्ने (२) क्रान्तिलाई पूर्णता दिने र (३) काठमाडौँको सत्तालाई जनवादी सत्तामा बदल्ने । परन्तु लामो सङ्क्रमणकाल र माओवादीहरूको काठमाडौँ बसाइपछि कल्पनै नगरेको परिणामस्वरूप काठमाडौँलाई जनवादी सत्तामा बदल्ने नभई जनसत्तालाई काठमाडौँ संसदीय सत्तामा बदलियो । काठमाडौँको पुँजीवादीवर्गलाई माओवादीमा बदल्ने होइन कि काठमाडौँको पुँजीवादीवर्गले माओवादीको एउटा हिस्सा (प्रचण्ड–बाबुराम) लाई पुँजीवादीवर्गमा बदलिदियो । यसको सबैभन्दा ठूलो प्रभाव प्रचण्ड–बाबुराम र उनीहरू वरिपरिको समूहमा देखाप¥यो । माओवादी राजनीति, दर्शन, सिद्धान्त र विचारबाट उनीहरू पूर्णतः विचलित र विघटित हुँदै पूरै संसद्वादी र बुर्जुवाकृत भए । उनीहरू लम्पसारवादमा डुब्न पुगे । अहिले भारतीय विस्तारवादका दैनिक चार–चार लात्तीले पनि प्रचण्डलाई नपुगेर अरू लात्तीको माग गरिरहेका छन् । यो बडो उदेकलाग्दो कुरा छ ।

    माओवादी हुनुको आफ्नै गौरव छ । यसका राजनीति, दार्शनिक, वैचारिक तथा सैद्धान्तिक सार्वभौम आधारहरू रहेका छन् । त्यसैले त महान् माओ त्से तुङले भन्नुभएको छ, “एउटा कम्युनिस्टका लागि, पार्टीको सर्वहारा वर्गचरित्रको रक्षा गर्न आवश्यक पर्ने महत्वपूर्ण कुरा उसको सर्वहारावर्गीय जाँंगरलाई मजबुत गराउनु हो । हामीले बुझ्नुपर्दछ कि माक्र्सवादी–लेनिनवादी राजनीतिक पार्टी निर्माण गर्ने र यसको सर्वहारावर्गीय चरित्र रक्षा गर्ने कुरा हरेक पार्टी सदस्यको कार्यभार हो । पार्टी एउटा जीवित वस्तुजस्तै हो र यसका सदस्यहरू जीवित वस्तुका कोषहरूजस्तै हुन् । प्रत्येक पार्टी सदस्यहरूमा जति धेरै उत्साह हुन्छ, त्यति नै उसले उदाहरणीय भूमिका पूरा गर्न सक्दछ र त्यति नै राम्रोसँग पार्टीको सर्वहारावर्गीय चरित्रको रक्षा हुनेछ ।” लम्पसारवादले सर्वहाराको वर्गीय चरित्रको रक्षा हुन सक्तैन ।
    आजको दुनियाँमा सर्वहारावर्गको वैचारिक तथा अपराजेय हतियार भनेको माओवाद नै हो । यसलाई हामी मालेमावाद पनि भन्न सक्तछौँ ।

    यसका निम्न विशेषता रहेका छन् ः
    १. अन्तर्विरोधहरूको सिद्धान्त, ज्ञानको सिद्धान्त र जनदिशाबारे वैज्ञानिक सूत्रीकरण । २. नयाँ जनवादको सिद्धान्त, औपनिवेशिक तथा नवऔपनिवेशिक देशका लागि क्रान्तिमार्गको सूत्रबद्ध र क्रान्तिका तीन जादुगरी हतियार (पार्टी, जनसेना र संयुक्त मोर्चासम्बन्धी वैज्ञानिक अवधारणा । ३. दीर्घकालीन जनयुद्धको सिद्धान्तको विकास र फौजीयुद्ध–सिद्धान्तको विकास । ४. दुईलाइन सङ्घर्षमा सर्वहारा पार्टीको सङ्गठनात्मक सिद्धान्तको विकास, शुद्धीकरण अभियान र आलोचना–आत्मालोचनाको विधिमा जोड । ५. चिनियाँ र सोभियत अनुभवको आधारमा समाजवादको राजनीतिक अर्थशास्त्रको विकास र समाजवादी रूपान्तरणको प्रक्रियामा अन्तर्विरोधहरूको सही सञ्चालनद्वारा समाजवादी निर्माणको प्रक्रियाको द्वन्द्वात्मक बुझाइ । ६. समाजवादलाई मजबुत बनाउन, आधुनिक संशोधनवादविरूद्ध लड्न र पुँजीवादको पुनस्र्थापनालाई रोक्न सर्वहारावर्गको अधिनायकत्वको आधारमा सर्वहारा सांस्कृतिक क्रान्तिअन्तर्गत निरन्तर क्रान्तिको पक्षपोषण । यी विशेषताहरूलाई क्रान्तिकारीहरूले गहिरोगरी बुझ्नु र व्यवहारमा प्रयोग गर्न आवश्यक छ । लम्पसारवादीहरू यसबाट निकै टाढा पुगिसकेका छन् । उनीहरूबाट यस्तो आशा गर्नु केवल मूर्खता मात्र हुनेछ ।

    महान् लेनिनले भन्नुभएको छ, “हामीलाई एउटा क्रान्तिकारी सङ्गठन देऊ, हामी रुसलाई पल्टाइदिन्छौँ ।” यो कुरा निकै मननीय रहेका छन् । लेनिनले लेखेका छन्, “सत्ता प्राप्त गर्ने सङ्घर्षमा सर्वहारासित सङ्गठन सिवाय अर्को कुनै हतियार छैन । पुँजीवादी जगतमा अराजक होडबाजीको शासनबाट छिन्नभिन्न रहेको, पुँजीको निमित्त वाध्य भएर गरिने मिहिनेतबाट थिचिएको बृहत् अभाव, बर्बरता, पतनको गहिरो खाल्डोमा जाकिएको सर्वहारावर्ग तब मात्र एउटा अजेय शक्ति बन्न सक्छ र अनिवार्य रूपमा बन्नेछ, जब माक्र्सवादका सिद्धान्तहरूको आधारमा हुने त्यसको विचारधारात्मक एकतालाई सङ्गठनको भौतिक एकताद्वारा दरिलो बनाइनेछ । यस सङ्गठनले लाखौंलाख श्रमिकहरूलाई मजदूर सेनामा एकगठ पार्नेछ । यस सेनाको सामु न रसियाली जारशाहीको थोत्रिसकेको शासन टिक्न सक्छ न अन्तर्र्रािष्ट्रय पुँजीको जीर्ण शासन नै टिक्न सक्छ । … बोल्सेभिक पार्टी भनेको एउटा यस्तो जीव तत्व हो, जसमा पेसेवर क्रान्तिकारीले, समाजवादी भविष्यका मानिसहरूको आदर्श नमूनाले नयाँ सामाजिक व्यवस्थाको निमार्ण गर्ने वस्तुगत रूपले जिम्मेवारी बोकेका तर सो उद्देश्यप्रति मनोगत रूपले अझसम्म सजग नरहेका शोषित जनतासित, करोडौं जनतासित आफ्नो भाग्यलाई गाँसिदिन्छ । बोल्सेभिक पार्टीको संस्थापनसँगै ‘राजनीति’ बरारिएको जालझेल र चुनावी षड्यन्त्रको धरापबाट बाहिर निस्केको छ र त्यो मानिसको सामाजिक क्रियाकलापको सबभन्दा उच्च, सबभन्दा शुद्ध र सबभन्दा उदात्त रूप बनेको छ ।”

    विचार, व्यवहार र नेतृत्वदायी भूमिकामा रहेका खास–खास बेलामा खास–खास नेताहरूको खास–खास पहलकदमी हुने गरेको पनि छ तर नेपालमा यस्तो कुरा बिरलै देख्न र पढ्न पाइन्छ । पछिल्लो चरणमा मोहन वैद्य ‘किरण’ को एउटा विषाक्त भनाइ निकै चर्चामा रहेका े छ । आन्तरिक रूपमा प्रचण्डसित साँठगाँठ गरिरहनुभएका र उतैको खर्चपर्चले चलिरहनुभएका मोहन वैद्य ‘किरण’ ले एक कार्यक्रममा भन्नुभएछ, “क्रान्ति गर्छु भनेर हिँडेका विप्लवहरू पनि अहिले आएर सङ्घीयता, धर्मनिरपेक्षताजस्ता उपलब्धिलाई किनारा लगाउँदै राजतन्त्रमा पुगेका छन् ।” के यो कुरालाई किरणले प्रमाणित गर्न सक्नुहुन्छ ? के यस्तो छुद्रता र केटाकेटीपन उहाँलाई सहाउँछ ? यो कुरा सामान्य छैन । कमरेड किरणको यो कुरा असमान्य मनोविज्ञानको द्योतक हो । यसको प्रतिवाद गर्न आवश्यक छ । यसको कमरेड किरण खण्डन गर्नुभएन भने यसको सशक्त प्रतिवाद गर्नुपर्छ र गरिन्छ पनि । कमरेड किरणको यस्तो भनाइले लम्पसारवादी संस्कृतिलाई नै मद्दत गर्दछ ।

    क्रान्तिलाई, क्रान्तिकारी पार्टीलाई, क्रान्तिकारी सौन्दर्यलाई, क्रान्तिकारी विचारलाई बचाउँदै ऐतिहासिक दायित्व पूरा गर्नु हामी सबैको अहिलेको अहम् कार्यभार हो । हामी कुनै पनि हालतमा आदर्शलाई मर्न दिनेछैनौँ, सहिदका सपना मर्न दिनेछैनौँ, क्रान्तिकारी बिम्ब ढल्न दिनेछैनौँ । हामी कुरूप संस्कृतिविरुद्ध, गणेश प्रवृत्तिविरुद्ध, प्रतिक्रान्तिकारी सबै किसिमका हर्कतविरुद्ध, धूर्त–षड्यन्त्रकारी–अराजकताविरुद्ध, पद्धतिविहीन–दादागिरी संस्कृतिलगायत सबै किसिमका गैर–सर्वहारा संस्कृतिको घोर विरोध गर्दछौँ । हामी विचारको आधारमा एकता हुने कुरामा विश्वास गर्दछौँ । एकीकृत जनक्रान्तिको कार्यदिशाबाट विचलित हुने, मुक्तिको सपना छोड्दै सुधारवाद र आत्मसमर्पणवाद अपनाउने, क्रान्ति असम्भव ठान्ने, विस्तारवाद र साम्राज्यवादको शक्तिलाई अपराजेय देखाउने तथा त्यसको अतिशयोक्तिपूर्ण बयान गरी क्रान्तिकारी मन–मष्तिस्कमा भ्रम सिर्जना गरी राष्ट्रिय आत्मसमर्पणवादको बाटो पक्रने, दासता र दलाली गर्नेहरूप्रति घोर असहमति जाहेर गर्दछौँ । साथै, आस्था–आदर्श–विचारलाई मारेर आत्मिक मृत्यु रोज्ने यो प्रवृत्ति मूलतः क्रान्तिलाई तोडफोड र विसर्जन गर्ने, फुट र विभाजन ल्याउने, विखण्डनद्वारा विसर्जनमा पु¥याउने संस्कृति हो । यस्तो प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्नु हामी हाम्रो कर्तव्य ठान्दछौँ । तत्कालीन माओवादी नेतृत्वले बाटोको धूलोमा फ्याँकेको रातोझन्डालाई पुनः माथि उठाउने साहस हामीले गरेकै हो । हामीले सपनालाई कुनै पनि हालतमा मर्न दिनुहुन्न ।

    माओ त्से तुङको ‘बमवार्ड द बुर्जुवा हेडक्बार्टर’ को अन्तर्यलाई आत्मसात् गर्दै रातोझन्डा ओडेर रातोझन्डालाई नै समाप्त पार्न खोज्नेहरू अर्थात् लम्पसारवादीहरूको असलियत जनताको माझमा छर्लङ्ग पार्नु आजको संस्कृतिकर्मीको दायित्व हो । यसले त्याग–तपस्या–बलिदान एवम् शौर्यका साथ कथनी र करणीको एकत्वरूपी अग्निगर्भ बोकेर सफलताको शिखर चुम्न सक्नुपर्छ । मुख क्रान्ति र घाँटीघाँटी प्रतिक्रान्तिको सम्मुखमा उभिएको यतिबेला हाम्रा सिर्जनाहरू क्रान्तिको रक्षा र विकासतिर उन्मुख हुनैपर्छ । क्रान्तिकारी विचारका साथ क्रान्तिकारी कार्यदिशाको सफल कार्यान्वयनले मात्र महान् सहिदहरूका सपना साकार हुनेछन् । दलाल पुँजीवादी संसदीय व्यवस्था खारेज गर्दै वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनार्थ एकतावद्ध बनौँ । जनताको जित अवश्यम्भावी छ । नेपालका प्रायः सबै संसद्वादी पार्टी र तिनका नेताहरू लम्पसारवादद्वारा ग्रसित छन् । तिनको मूल नेतृत्व अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरिरहेका छन् । लम्पसारवाद खतरानाक संस्कृति हो । यसको दार्शनिक आधार दलाल पुँजीवादमा आधारित रहेको छ । यो त्यस्तो कठपुतली हो, यसले आफूलाई पनि विश्वास गर्दैन गर्दैन, यसले जनतालाई पनि पटक्कै विश्वास गर्दैन । यो घरमा पालिएको कुकुरजस्तै हो । मालिकले जे आदेश ग¥यो, उसले त्यही आदेशको पालना गर्ने हो । त्यसैले आउनुहोस्, एकढिक्का भएर देशद्रोही, राष्ट्रघाती, वर्गघाती तथा दलाल लम्पसारवादका विरुद्ध सङ्घर्ष गरौँ । समवेत स्वरमा भनौँ– लम्पसारवाद मूर्दावाद ! एकीकृत जनक्रान्ति जिन्दावाद !!

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *