breaking news

    रियल मड्रिड र बार्सिलोनाको उपाधि होड रोमाञ्चक

    May 15th, 2017 | by Weekly Nepal
    रियल मड्रिड र बार्सिलोनाको उपाधि होड रोमाञ्चक
    खेल
    0

    काठमाडौं, १ जेठ । स्पेनिस ला लिगा फुटबलको उपाधि होड लिगको अन्तिम तिर आइपुग्दा थप रोमाञ्चक बनेको छ । लिग अन्तर्गत आइतबार राति भएका खेलमा शीर्ष स्थानका बार्सिलोना र रियल मड्रिड दुवैले प्रभावशाली जित दर्ता गरेपछि उपाधि होड थप रोमाञ्चक बनेको हो ।

    घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले सेभिल्लालाई ४–१ ले हरायो । रियलको जितमा क्रिष्टियानो रोनाल्डोले दुई तथा नाचो तथा टोनी क्रसले एक एक गोल गरे । रोनाल्डोले २३ र ७८ औं मिनेटमा गरी दुई गोल गरे । नाचोले १० औं तथा क्रसले ८४ औं मिनेटमा गोल गरेका हुन् । सेभिल्लाका लागि जोभेटिकले ४९ औं मिनेटमा एक गोल फर्काए । जितपछि दोस्रो स्थानको रियलको लिगका दुई खेल बाँकी हुँदा ८७ अंक भएको छ ।

    बार्सिलोनाको शानदार जित
    त्यस्तै बार्सिलोनाले अवे मैदानमा भएको खेलमा लास पालमसलाई ४–१ ले हरायो । बार्सिलोनको जितमा नेइमारले तीन तथा लुइस स्वारेजले एक गोल गरे ।

    लास पालमसका लागि बिग्यासले एक गोल फर्काए । नेइमारले २५ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।त्यसको दुई मिनेटपछि स्वारेजले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २–० को अग्रता दिलाए । बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्‍यो । ६३ औं मिनेटमा लास पालमसका लागि बिग्यासले गोल फर्काए । तर नेइमारले ६७ र ७१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि बार्सिलोना ४–१ ले विजयी भयो ।

    जितपछि शीर्ष स्थानको बार्सिलोनाको लिगको एक खेल बाँकी हुँदा ८७ अंक भएको छ । यस्तै दुई खेल बाँकी रहेको रियलको पनि समान ८७ अंक नै छ । गोल अन्तरका आधारमा रियल दोस्रो स्थानमा छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *