breaking news

    राजाले विगतमा गल्ती गरे : अब राजा सुध्रिन्छन् – देवेन्द्र नेपाली, नेविसंघका संस्थापक तथा नेपाली कांग्रेसका नेता

    March 14th, 2017 | by Weekly Nepal
    राजाले विगतमा गल्ती गरे : अब राजा सुध्रिन्छन् – देवेन्द्र नेपाली, नेविसंघका संस्थापक तथा नेपाली कांग्रेसका नेता
    अन्तरबार्ता
    1

    (देवेन्द्र नेपाली(७५) प्रजातान्त्रिक आन्दोलनका एक चर्चित अगुवा हुन् । निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध उनी निरन्तर लडिरहे र बदलामा जेलनेलका अनेक भुक्तमान खेपे । कार्यकर्ता उत्पादनका लागि कहिले नेविसंघको स्थापना गरेर त कहिले नेपाली कांग्रेसको ‘सेन्ट्रल स्ट्यान्डिङ कमिटी’ मा सक्रिय भएर वीपी कोइरालासंगै ऐतिहासिक काम गरेका नेपालीले कहिल्यै लाभको लालसा देखाएनन् । नेपाल र नेपाली कंग्रेसको दुर्भाग्य, पद, पैसा र अवसरका लागि हुने कांग्रेसको राजनीतिमा उनको त्याग र इमान्दारिता काम लागेन । भन्छन्, ‘देश र कांग्रेसका लागि जीवनभर लागिपर्दा समेत कांग्रेसभित्रैबाट पाखा पार्ने, दबाउने काम भयो ।’ जीवनको उत्तरार्धमा समेत देश र जनताप्रति उत्तिकै चिन्तित र चिन्तनशील नेपालीसंग २०४७ सालको संविधान ब्यूँताउन उनीलगायत पुराना र चर्चित कांग्रेसी नेताहरूले चलाएको अभियान, कांग्रेस राजनीतिलगायत विषयमा केन्द्रित रहेर  गरेको कुराकानीको सम्पादित अंश: सम्पादक)

    ० नयाँ संविधान कार्यान्वनमा मुलुक अघि बढिरहेका बेला तपाईंहरूले केही दिनअघि राजनीतिक कोर्ष परिवर्तनको माग गर्दै वक्तव्यवाजी गर्नु भएको छ । यस्तो माग किन गर्नु’भा ?

    – गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको व्यवस्थाले देश नै नरहने अवस्था सिर्जना गरेको छ । विदेशी शक्तिहरू खासगरेर इसाईहरू नेपाल मात्रै समाप्त पार्न चाहिरहेका छैनन्, नेपाललाई खेल मैदान बनाएर छिमेकी देश चीन र भारतलाई समेत अप्ठ्यारो पार्न खोजिरहेका छन् । त्यसकारण आफ्नै देश र छिमेकीलाई समेत खतरा रहेकाले यो व्यवस्था हटाएर २०४७ सालको संविधान ब्युँताउनु पर्छ भनेर हामीले भनेका     हौं ।

    ० अग्रगामी संविधान जारी गरेका दलहरू त्यसको कार्यान्वयनका लागि अघि बढिरहेका बेला गरिएको यस्तो तर्कको खासै तुक छैन भन्छन् नि मान्छेहरू ?

    – यो सिस्टम नै योग्य छैन । एक्काइसौं शताब्दी एसियाको शताब्दी हो भनेर सुरुमा हामी भन्दै थियौं, अहिले सबै भन्न थाले । एसियाको शताब्दी भनेको मतलब यसको आर्थिक उन्नति मात्रै होइन, यसको दार्शनिक, अध्यात्मिक, सांस्कृतिक उन्नति पनि हो । एसिया अन्तर्गत नै चीन र भारत छ । यदि भारत र चीन विश्वको १ नम्बरको आर्थिक, सामाजिक, सांस्कृतिक र सामरिक व्यवस्था भएको मुलुकका रुपमा उदाउँछ भने त युरोप र अमेरिका ५–६ नम्बरमा पुग्छन् । त्यसैले उनीहरू अत्तालिएका छन् । उनीहरूले आफू पछि नपर्न चीन र भारतलाई अपासमा लडाएर द्वन्द्वको फाइदा लिन चाहन्छन् । त्यसका लागि नेपाल उर्बरभूमि भएको छ । उनीहरू नेपाललाई आफू अनुकूल चलाउन त्यही अनुसारको व्यवस्था भित्र्याइरहेका छन् । व्यवस्था नै द्वन्द्व सिर्जना गर्ने आशयका साथ भित्रिएकाले हामीले यसरी अघि बढ्न हुँदैन भनेका हौं ।

    ० विश्वका अरु मुलुकले पनि यस्तै अग्रगामी व्यवस्था अंगीकार गरिरहेका छन् । नेपाली जनताको चाहना पनि यही छ । अन्यत्र खतरा नहुने नेपालमा मात्र खतरा हुने ? यस्तो पनि तर्क हुन्छ ?

    – तपाईंहरू भ्रममा हुनुहुन्छ । जनताले यस्तो चाहेकै छैनन् । जनताको छोरो राष्ट्रपति हुन्छ भन्ने भ्रममा विदेशी शक्तिको एजेन्टलाई राष्ट्रपति बनाउने खेल सबैले बुझिसकेका छन् । कसले भन्यो यसलाई जनताले समर्थन गरेको छ भनेर ? अस्ति राजा ज्ञानेन्द्र वीरगन्ज आउँदा राजाको पक्षमा नारा लागेको तपाईंहरूले सुन्नु भएको छ । यसपालीको शिवरात्रीको दिनमा स्वत: स्फूर्त रुपमा हजारौं जनताले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाउनु जनताले व्यवस्था अस्वीकार गरे भन्ने प्रमाण हो । यहाँनिर बुझ्नु पर्ने कुरा के छ भने २०६२/०६३ को आन्दोलन राज संस्था फ्यााक्नका लागि नभएर राजाले चालेका गलत कदम सच्याउनका लागि थियो । राजाले त आफ्नो कदम सच्याएर गल्ती महसुस गरेका थिए । तर, विदेशी शक्तिको इशारामा अवैधानिक तरिकाले गणतन्त्र स्थापना गरियो । यही गल्ती गल्ती करेक्सन गर्न हामी भनिरहेका छौं ।

    ० तर, जनताले त राजा चाहने पार्टीलाई मत नदिएर आफू गणतन्त्रवादी भएको स्पष्ट सन्देश दिएका छन् । यस्तो बेला जनता गणतन्त्र चाहँदैनन् भन्नु बकबास भएन र ?

    – पञ्चायती व्यवस्थाको ३० वर्षसम्म जनताले पञ्चायतलाई भोट गरे कि गरेनन् ? त्यही जनताले पञ्चायतलाई सिध्याए कि सिध्याएनन् ? भोट त व्यवस्थाको परिबन्धनमा परेर गरेका मात्रै हुन् । जनताले समय आएपछि अहिलेको यो व्यवस्थालाई पनि पञ्चायत जसरी नै तिरस्कार गर्नेछन् ।

    ० तपाईंहरूले बक्तव्य निकालेर मुलुक खतरामा पर्‍यो भन्नु भएको छ । तपाईंहरूले देखेको खतरा चाहिं कहाँ–कहाँबाट हो, बताइदिनुहोस् न ?

    – वीपी, गणेशमान, कृष्णप्रसाद, सुवर्णशमशेरको सोच अनुरुप देश हिंडे बलियो हुन्छ भनेर माओवादी जस्तो कम्युनिष्टलाई आईएनजीओको पैसामा उठाएर हत्याहिंसाको माध्यमबाट देशलाई तहस नहस बनाउने काम भयो । यो हामी सबैले देखेको घाम जत्तिकै छर्लंग तथ्य हो । अहिले पनि तिनै विदेशी तत्वबाट देशलाई खतरा छ । त्यसैले देश बचाउन संवैधानिक राजसंस्था फर्काउनुको विकल्प हामीसंग छैन ।

    ० यति धेरै खतरा देशलाई रहेछ, यतिका वर्षसम्म नबोलेर किन सुतेर बस्नु भएको त ?

    – कहाँ सुतेका छौं ? देशलाई खतरा छ त्यहीबेला देखि भनिरहेका छौं, जबदेखि नेपाली कांग्रेस इसाईको पैसामा खरिद भएर बाटो बिराउन थाल्यो । रामबाबु प्रसाई, पीएल सिंह, प्रकाश कोइराला त्यहीबेलादेखि राजाले गल्ती गरे पनि हामीले गल्ती गर्नुहुँदैन भनेर भन्दै आइरहेका छौं । २०६२/०६३ सालदेखि नै २०४७ सालको संविधान हटाउन हुँदैन, यसले समस्या मात्र थोपर्छ भनिरहेका छौं ।

    ० तपाईंहरू राजतन्त्र… राजतन्त्र… भन्नु हुन्छ, राजतन्त्र फर्किएपछि चाहिं सबै ठीक हुन्छ भन्ने के ग्यारेन्टी छ ?

    – राजा फर्किने बित्तिकै सबै कुरा ठीक हुँदैन । गलत बाटोमा हिंडेको देश सही बाटोमा हिंड्ने पहिलो कदम यो हुनेछ । अब यहाँनिर विगतमा गल्ती गर्ने राजा सुध्रिएलान त भन्ने प्रश्न पनि उठ्न सक्छ । वास्तवमा राजाले विगतमा गल्ती गरेको महसुस गरिसकेका छन् । त्यसैले राजा अब सुध्रिन्छन् ।

    ० पूर्व राजा ज्ञानेन्द्र शाहसंग भेटघाट कत्तिको छ नि ?

    – देवेन्द्र नेपाली–मैले पूर्व राजा ज्ञानेन्द्र र हिमानीको चाहनामा उहाँहरूसंग केहीपटक राजनीतिक कुराकानी गर्ने अवसर पाएको छु । उहाँहरूमा हामीले कल्पनै नगरेको देश प्रेम छ । पूर्वराजा ज्ञानेन्द्र शाहको देशभक्तिबाट म चकित भएको छु ।

    ० अब तपाईहरूको नेपाली कांग्रेस राष्ट्रवादी कसरी अघि बढ्दै छ त ?

    – नेपाली कांग्रेस राष्ट्रवादी अब अहिंस्रक जनआन्दोलन गरेर बाटो बिराएको देशलाई सही दिशामा हिंडाउँछौं ।

    ० उल्टो गंगा बगाउने तपाईंहरूको यो यत्नलाई जनताले साथ देलान् त ?

    – देशलाई बचाउने हो भने जनताले मात्रै होइन, सबै राजनीतिक दलहरूले साथ दिनुपर्छ । जनता देश डुबाएर सुत्छन् भन्ने हामीलाई लाग्दैन ।

    ० तपाईंहरू अहिले एउटा अभियानमा हुनुहुन्छ । यसले दलको आकार लिने सम्भावना चाहिं कत्तिको छ नि ?

    ्– जनताले नेपाली कांग्रेस राष्ट्रवादी शक्तिशाली पार्टी बनोस् भन्ने चाहाना राखे भने यसले दलको आकार लिन बेर लाग्दैन । तर, नेपाली कांग्रेस राष्ट्रवादीको जन्म यो देश बचाउने अभियानका लागि भएको हो । यसमा सबै पार्टीका असल मानिस लागुन् भन्ने हाम्रो चाहना छ । इसाईको पैसा खाने र देशको मायाँ गर्नेबीच कित्ताकाट होस् भन्ने हामी चाहन्छौं । अब देश भक्तहरू एकजुट हुन्छन् भन्ने अपेक्षा हाम्रो रहेको छ ।

    ० नेपाली कांग्रेस लामो समयदेखि सत्तामा छ, तर कांग्रेसको जनमत घट्दै र कम्युनिष्टको पेल्दै गइरहेको देखिन्छ । यस्तो किन भइरहेको होला जस्तो लाग्छ ?

    – सत्तामा बसेर पार्टी असल र सही हुँदैन । सत्तामा बसेर असल काम गरे असल हुन्छ, नगरे गलत । सत्तामा त ३० वर्ष पञ्चायती व्यवस्था थिएन र ? तपाईंको प्रश्नले मलाई एउटा कथा याद आयो । यो कांग्रेस र कम्युनिष्टको कथा होइन । कथा के हो भने विदेशी शक्तिहरूले कसलाई बढी खरिद गरे, त्यही पार्टी बलियो बन्ने हो । इशाई शक्तिले कांग्रेसलाई खरिद गरेको छ भने त्यो बढ्छ, कम्युनिष्टलाई खरिद गरेको छ भने त्यो पनि बढ्छ । वास्तवमा देशले अहिले गरेको निर्वाचनको अभ्यासले वास्तविक जनमत प्रकट हुँदैन । जनताले त पञ्चायती व्यवस्थामा ३० वर्ष भोट गरेका थिए, तर तिनैले पञ्चायतलाई सिध्याए नि † पञ्चायत अजम्बरी भयो भनेर कल्पना गर्ने महापञ्चहरू कालान्तरमा मूर्ख सावित भए । यसर्थ अहिलेको निर्वाचन पद्धति हेरेर को बलियो र कमजोर भनेर निष्कर्ष निकाल्नु सही हुँदैन ।

    ० कांग्रेसले बीपीको विचार छाड्यो, बाटो बिरायो भन्नु भयो । कांग्रेस यो अवस्थामा पुग्नुको दोष कसलाई जान्छ ?

    – यसको दोष हामी सबैलाई जान्छ । नेपाली जनता, राजा, नेपाली कांग्रेसका पदाधिकारी, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालालाई जान्छ । २०४६ सालको जनआन्दोलन सफल भएपछि गिरिजा, गणेशमान, कृष्णप्रसाद आपसमा झगडा गरेर बस्नुभयो, त्यसको प्रतिफल हो यो । सबैभन्दा बढी पाप त गिरिजाप्रसाद कोइरालाले गर्नु भएको देख्छु, म । कृष्णप्रसाद भट्टराईले त मर्न लागेको बेला आफूलाई सच्याउनु भयो, तर गिरिजाप्रसाद कोइरालाले त सबैभन्दा बढी पाप गर्नुभयो । त्यसको परिणाम अहिले पार्टी र देशले झेलिरहेको छ ।

    ० तपाईं कांग्रेसको पुरानो नेता हुनुहुन्छ । उसो भए कांग्रेसको भविष्य अब के होला त ?
    – कांग्रेस २०४७ सालको संविधान पुन:स्थापना गर्न लागेन भने यसको भविष्य रहँदैन । कांग्रेस इतिहासमै मात्र सीमित हुनेछ । वीपी, गणेशमान, महेन्द्रनारायण निधि, सुवर्ण शम्सेर, सूर्यप्रसाद उपाध्यायले देखाएको बाटोमा आएन भने कांग्रेसको औचित्य समाप्त हुन्छ ।

    ० अब तपाईंको व्यक्तिगत पाटोबारे कुरा गरौं । कांग्रेस राजनीतिमा कसरी आइपुग्नु भयो ?

    – मेरो पुर्खा नै कांग्रेस हुनुहुन्थ्यो । पारिवारिक वातावरण कांग्रेसमय भएकाले मलाई पनि यो राजनीतिक वातावरणले तान्यो र कांग्रेस राजनीतिमा सुरु देखि नै लागो ।

    ० अहिले पनि कांग्रेसमा सक्रिय नै हुनुहुन्छ कि बिश्राम लिनु भयो ?
    – २०७३ पुस १३ गते मैले जीवनमा ठूलो लगानी गरेको पार्टी नेपाली कांग्रेस त्याग्ने निर्णय गरो । अब मेरो आशीर्वाद यो पार्टीलाई छैन ।

    ० जीवनभर परख गरेको पार्टी त्याग्ने निर्णयमा किन पुग्नु भयो ?

    – प्रशासनका पदहरू त राजनीतिक दलहरूले भागबन्डा गरे नै, न्यायापालिकामा राजनीतिक हस्तक्षेप गरेर कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलहरूले अंश लगाए जस्तो गरी मध्येरातमा भागबन्डा गरे । यसले मलाई असैह्य पीडाबोध भयो र कांग्रेस छाड्ने निर्णय गरें ।

    ० जिम्मेवारीचाहिं के पाउनु भएको थियो नि ?

    – पदकै कुरा गर्नु हुन्छ भने यिनले मलाई कहिल्यै पनि पद दिएनन् । न संसद्को टिकट दिए, न जिम्मेवारीको पद दिए । २०४७/०४८ सालमा जिल्ला विकास र नगरपालिकाको निर्वाचन हुँदा नेपाली कांग्रेसको घोषणापत्र लेख्ने जिम्मा दिएका थिए । तर, त्यसबाहेक कहिल्यै कुनै जिम्मेवारी दिएनन् । यद्यपि, देश र जनताप्रतिको दायित्वबोधले गर्दा मैले कांग्रेस बचाउने, देश बचाउने, कांग्रेसलाई सही सत्य बाटोमा हिंडाउन स्वच्छ, स्वस्थ पार्टी बनाउन, म संस्थापक रहेर नेविसंघ बनाएर कार्यकर्ता उत्पादन गर्ने जिम्मेवारी स्वविबेकले निर्वाह गरिरहें ।

    ० राजनीतिमा लागेपछि काम गर्न त अवसर पनि चाहिन्छ । तपाईंले त्यस्तो अवसर केही पनि खोज्नु भएन त ?

    – अहँ, मैले त्यस्तो अवसर कहिल्यै पनि खोजिन् । लोभीपापी र लालची भएर यो देऊ र ऊ देऊ भनेर पनि म कहिल्यै कसैलाई भन्न गइनँ । पार्टीको नाममा कमिशन, ठेक्कापट्टा, घुस असुली, कर्मचारी सरुवा बढुवा गरेर खल्ती भर्ने, भातभान्सा रमाइलो बनाउने काम पनि गरिन र अब पनि गर्ने छैन ।

    ० भनेपछि तपाईंलाई पार्टीमा अगाडि आउन नदिने षड्यन्त्र कांग्रेसभित्रैबाट भएको थियो ?

    – हो, हाम्रो पार्टीका केही नेताहरू म अघि बढो्स, कांग्रेस सही बाटोमा हिंडोस् भनेर देख्न चाहँदैनथे ।

    ० तपाईंप्रति कांग्रेसका नेताहरू अतिश्य पूर्वाग्रह हुनुको कारण के थियो त ?
    – विदेशीको इशारामा देवेन्द्र नेपाली चल्दैन, हाम्रो कुरा मान्दैन भन्ने पार्टीका साथीहरूलाई थाहा थियो । त्यसैले मलाई कहिल्यै पनि पार्टी र पार्टी बाहिर महत्वपूर्ण जिम्मेवारी दिइएन । मलाई पद नदिएर दबाएर के भयो ? यहाँ त नेपाली कांग्रेसकै कारण देशै पदमुक्त हुन थालिसक्यो †

    ० कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीमा पनि यस्तो फोहोरी अभ्यास पहिलेदेखि नै छिरेको रहेछ है ?

    – म बीपी छँदै नेपाली कांग्रेसको सेन्टल स्ट्यान्डिङ कमिटीको सदस्य थिएँ । तर, मलाई कहिल्यै पार्टीभित्रबाट सहयोग भएन । म जब अघि बढ्न खोज्थें, आफ्नै साथीहरू बार तेर्साइहाल्थे । निर्वाचनमा जहिले पनि मलाई हराउनु पर्छ भनेर केन्द्रबाटै योजना बनाइन्थ्यो ।

    ० तपाईंलाई अघि बढेको देख्न नचाहनेहरू को–को थिए, आज हाम्रा पाठकहरूलाई बताइदिनुहोस ् न ?

    – यो प्रश्न मलाई होइन, शेरबहादुर र रामचन्द्रलाई सोध्नुस् । सुशील कोइराला त मरिसके, तिनलाई त अब सोध्ने कुरा आएन, जिउँदो जाग्दो रहेका पीएल सिंह, प्रकाश कोइराला, रामबाबु प्रसाईहरूसंग बुझ्नुस् न कसले देवेन्द्रलाई पार्टीभित्र रोकेर राखे, उठ्नै दिएनन् भनेर ।

    ० यति लामो समयसम्म देश र प्रजातन्त्र बचाउने अभियानमा लाग्नु भयो, पछाडि फर्किएर हेर्दा कस्तो लाग्छ ?

    – साँच्चै भन्ने हो भने कहिलेकाहीँ असैह्य पीडा हुन्छ, सारै दु:ख लाग्छ । दु:ख किन लाग्छ भने देश बचाउने लडाइँमा म हिंड्दा मेरो घरको परिवार साथमा देख्दिनँ । मेरा पार्टीका साथीहरू मसंगै पाउँदिनँ, त्यतिबेला पीडा हुन्छ । सत्तामोहमा नेता फसेको विकृत दृश्यले त झन् असैह्य पीडाबोध हुन्छ । तर, सामान्य जनताले देशका राजनीतिक दलहरूले गरेका तमाम् गल्ती जब महसुस गर्छन्, त्यतिबेला आनन्द लाग्छ । दु:ख, पीडा र गर्व सबैको संयोजन छ ।

    ० बाँकी जीवन कसरी बिताउने सोचमा हुनुहुन्छ ?

    – अन्तिम श्वास रहेसम्म देश बचाउने अभियानमा लागिरहने छु ।
    धन्यवाद

    One Comment

    1. sudhir says:

      बरू छिटो मोरे हुन्छ

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *