breaking news

    ‘रअ’को चलखेलले निम्त्याएको तिक्तता – कमल कोइराला

    March 14th, 2017 | by Weekly Nepal
    ‘रअ’को चलखेलले निम्त्याएको तिक्तता  – कमल कोइराला
    विचार विश्लेषण
    0

    केही दिन अघिदेखि नेपालका अखबारहरूमा रञ्जित रे पछि नेपालका लागि भारतीय राजदूत को आउने सम्भावना छ भन्ने चर्चा चलिरह्यो । यही साँघु साप्ताहिकमा २०७३ फागनु ९ र फागुन १६ गतेमा दुई सोमबार यसै विषयमा छापिएको टिप्पणी पनि पढें । ती अनुसार, प्रीतिशरण, टीएस तिरुमूर्ति र पूर्व चीफ अफ आर्मी स्टाफ दलवीरसिंह सुहाग इत्यादिको नाम चर्चामा थियो । तर, सबैभन्दा पछि मंजीवसिंह पुरी नेपालका लागि भारतीय राजदूतमा नियुक्त भए । तुलनात्मकरुपले हामीले सोच्दा राम्रै लाग्यो । आखिर भारतीय राजदूतको नियुक्ति नेपालीहरूको चाहनाले होइन भारत सरकारको चाहनाले हुन्छ ।

    प्रीतिशरणको बारे पत्रकार, सरोज अधिकारीको पुस्तक जासुसीको जालोमा मैले वि.सं.२०६५ असोजमै ८ बर्ष अगाडि पढिसकेको थिएँ कि नेपालको तराईमा हिंसात्मक गतिविधि र बाहिरी आन्दोलन गरिरहेका समूहहरू र भारतीय गुप्तचरहरूको बैठकमा भारतीय मिनिस्ट्री अफ एक्सटर्नल अफेयर्सकी प्रीतिशरणको पनि उपस्थिति थियो । जो, सरोजराज अधिकारीको जासुसीको जालो नामक पुस्तकको पेज ४५ मा यस प्रकारले उल्लेखछ –‘तिहार लगत्तै २०६४ कात्तिक २९ गते बसेको मन्त्रिपरिषद्को बैठकमा मुलुकका तीन सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू समेत उपस्थित थिए । कारण थियो तराईमा क्रियाशील समूहहरूले असोज तेस्रो साता भारतको पटनामा गरेको बैठक ।

    राष्ट्रिय अनुसन्धान विभागले सरकारलाई बुझाएको एक गोप्य प्रतिवदेन अनुसार तराई केन्द्रित आन्दोलन कसरी अगाडि बढाउने भन्ने विषय केन्द्रित थियो, पटना बैठक । तराईमा सशस्त्र गतिविधि गरिरहेका जयकृष्ण गोइत, ज्वाला सिंह र विस्फोट सिंहका अतिरिक्त ‘शान्तिपूर्ण आन्दोलन’ गरिरहेका केही नेता समेत सो बैठकमा उपस्थित थिए । तराईमा अनेक समूहमा विभाजित आन्दोलनकारीहरूलाई एकजुट गरी शान्तिपूर्ण र सशस्त्र संघर्षलाई फरक फरक नेतृत्वमा तर समानान्तर ढंगले अगाडि बढाउने निर्णय गरिएको जासुसी प्रतिवेदनमा उल्लेख छ । एक उच्च गुप्तचर अधिकारीका अनुसार, आश्चर्यलाग्दो कुरा चाहिं के थियो भने सो बैठकमा भारतीय बाह्य गुप्तचर एजेन्सी ‘रअ’ (रिसर्च एण्ड एनालाइसिस विङ)का केही अधिकारी तथा भारतीय विदेश मन्त्रालयमा नर्थ डेस्क हेर्ने सहसचिव प्रीतिशरणको समेत उपस्थिति थियो ।
    त्यसैले नराम्रो चर्चा प्रकाशित प्रीतिशरणबारे ८ बर्ष पहिले विं.स. २०६५ मा पढिसकेको हुँदा चर्चित कूटनीतिज्ञ मञ्जीव सिंह पुरीको चाहिं कुनै पुरानो कुरा नसुनेको हुँदा राम्रै लाग्यो । भारतीय राजदूत नियुक्त भएका व्यक्तिहरूले नेपालमा मन नपराएर प्रधानमन्त्री हटाएर आफूले खेलाउन चलाउन सकिने कयौं पटक देखिएको छ । सुक्ष्म व्यवस्थापन अन्तर्गत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख र अन्य पदमा नियुक्ति पनि रअले म्यानुपुलेट गरेको देखिन्छ ।

    मञ्जीव सिंह पुरी क्यारिअर डिप्लोम्याट पनि भारतीय विदेश मन्त्रालय र ‘रअ’ को नेपाल नीतिभन्दा बाहिर जान सक्ने सोचाई राख्न हुँदैन । प्रधानमन्त्री जवाहरलाल नेहरूले सन् १९६२ मा चीनसँग भिड्ने नीति लिएर हारेपछि नेपाल र राजा महेन्द्रसँग राम्रो सम्बन्ध बनाउनुपर्ने अमेरिकन र ब्रिटीश गुप्त सल्लाह मान्न खोजे । उनको छिटो मृत्यु भएपछि भारतका प्रधानमन्त्री भएका लालबहादुर शास्त्रीले जसरी भएपनि महाराजा महेन्द्रलाई खुसी पार्ने नीति लिएका थिए । उनले आफ्नै वाराणशीका काशी नरेशलाई आरती उतार्ने पारिवारिक संस्कृति रहेका श्रीमननारायण अग्रवाललाई काठमाडौंमा राजदूत नियुक्त गरेर पठाए । सन् १९५४ कोशी सम्झौता मात्रिकाप्रसाद कोइरालाको पालामा भारतीय मन्त्री गुलजारीलाल नन्दा र नेपाली मन्त्री महावीर शमशेर हस्ताक्षर भएको सम्झौतामा कुनै लिजको अवधि तोकिएको थिएन । तर, कोशी सम्झौता एकपटक होइन, दुईपटक भएको सत्यतथ्य कमैलाई थाहा छ ।

    कोशीको बाँध एक बर्ष कम दुई सय बर्ष(१९९ बर्ष)लाई आफूलाई राष्ट्रवादी भन्ने राजा महेन्द्रका पालामा लालबहादुर शास्त्री स्वयम् कोशी बाँध स्थल पुगेर राजा महेन्द्र पनि त्यहाँ पुगी त्यो लिज थपिएको थियो । त्यसबखत वाक स्वतन्त्रता, प्रेस पनि कठोर नियन्त्रणमा हुँदा त्यस कुराको काठमाडौं गाईंगुईं मौखिक चर्चा भएपनि प्रकाशित र सार्वजनिक हुन सकेन । भएको भएपनि विरोधमा नारा जुलुस हुनसक्ने स्थिति कठोर तानाशाहीका कारण सम्भव थिएन ।

    लालबहादुर शास्त्रीका पालामा ‘रअ’ छँदै थिएन र भारतीय विदेश मन्त्रालयले नेपाल सम्बन्धी नीति बनाउँदै थियो । त्यसअघि स्वयम् प्रधानमन्त्री जवाहरलाल नेहरूले भारत स्वतन्त्र भएदेखि विदेश मन्त्रालय आफ्नै पोर्टफोलियोमा राखेका थिए । उनी आफैं व्यक्तिगत रुपले र तत्कालीन भारतीय राजदूतहरूमार्फत सोझै नेपाल नीति बनाउथे र लागू गर्दथे । हामीहरूले हेर्दा भारतको छिमेक नीति तय गर्ने काम कूटनीतिज्ञहरू र परराष्ट्र मन्त्रालयले भन्दा पनि इन्दिरा गान्धीको पालादेखि गुप्तचर एजेन्सीहरू र ‘रअ’ले गर्ने गरेको देखिन्छ । बीचमा मुरारजी देशाई र जनता सरकार बनेका बखत नेपाल र भारत सम्बन्ध एकपटक धेरै राम्रो भएको थियो । प्रधानमन्त्री मुरारजी देशाई स्वयम् ‘रअ’ माथि ठूलो अविश्वास गर्दथे र आफ्नै विदेश नीति निर्माण गर्दथे । यदाकदा वीपी सिंह, आईके गुजरालहरू अल्पकाललाई प्रधानमन्त्री हुँदापनि सम्बन्ध त्यति नराम्रो र नेपाली जनतामा कटुता उत्पन्न हुने रुपमा देखा परेन ।

    तर, नेपालका लागि जति नै राम्रो कूटनीतिज्ञ र जो ब्यक्ति भारतीय राजदूत नियुक्त भएर आएपनि भारत सरकारको विदेश मन्त्रालय, ‘रअ’ र ‘रअ’का विभिन्न रुपमा तैनाथ काठमाडांैस्थित भारतीय राजदूतावासका हाकिमहरूले नेपाल र छिमेकी देशहरू खासगरी नेपालसँग राम्रो सम्बन्ध स्थापित गर्ने नीति नअपनाएसम्म नेपाली जनतामा रहेको तिक्तता र कटुता कम हुने सम्भावना कमै हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *