breaking news

    यो संशोधन संविधानको आत्मा मार्ने खालको छ – भरतमोहन अधिकारी, नेता, नेकपा एमाले

    May 4th, 2017 | by Weekly Nepal
    यो संशोधन संविधानको आत्मा मार्ने खालको छ – भरतमोहन अधिकारी, नेता, नेकपा एमाले
    अन्तरबार्ता
    0

    (स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा दलहरूबीच असमझदारीहरू थप झाँगिँदै गइरहेका छन् । कांग्रेस–माओवादी, मधेसी मोर्चालगायतका दल संविधान संशोधनको पक्षमा देखिए पनि एमाले संविधान संशोधन कुनै पनि हालतमा हुन नहुने मत जाहेर गरिरहेको  छ । संशोधन राष्ट्रहित विपरीत भएको उसको ठहर छ । संविधान संशोधनको विषयले राजनीति तरंगित बनिरहेका बेला हामीले एमालेका नेता तथा पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीसँग संविधान संशोधनलगायत विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौं । प्रस्तुत छ, लामो कुराकानीको सम्पादित अंश: सम्पादक)

    0 देश राजनीतिको गोलचक्करमा फन्को मारिरहेको छ । यी सबै कुरालाई कसरी हेरिरहनु भएको छ ?

    – २०६४ सालमा पहिलोपटक सविधानसभा निर्वाचन भए पनि संविधान नै जारी गर्न नसकी त्यो विघटन हुन पुग्यो । ०७० सालमा दोस्रोपटक संविधानसभाको अर्को निर्वाचन भयो । र, ०७२ असोज ३ गते अनेक अवरोधहरू छिचोल्दै यसले नेपाली जनतालाई नयाँ संविधान दियो ।
    यो संविधान हामीले लरतरो संघर्षले होइन, ठूलो संघर्ष र बलिदानपछि प्राप्त गर्न सकेका हौं । ठूलो संघर्षपछि प्राप्त भएका गणतन्त्र, संघीयता, समावेशी लोकतन्त्रतालगायत एजेन्डाहरू महत्वपूर्ण उपलब्धि हुन् । यी प्राप्त उपलब्धिले सबैको हित गर्ने भएकाले संविधान कार्यान्वयन यतिबेलाको प्राथमिक विषय हो । त्यसका लागि तीन चरणको निर्वाचन अपरिहार्य जस्तै भएको छ । आवश्यक ऐन–कानून बनाएर देश यो दिशामा अघि बढिरहेको पनि थियो । देश राम्रो बाटोमा अघि बढिरहेका बेला नयाँ किचलो उब्जाइएको छ । त्यो नयाँ किचलो संविधान संशोधनको हो । निर्वाचन गर्ने बेला संशोधनमाथि अर्को संशोधन थोपर्नु देशलाई थप गोलचक्करमा फसाउन खोज्नु बाहेक केही होइन । निर्वाचन मिति आउन केही दिन मात्रै बाँकी हुँदा स्थानीय तह बढाउनेदेखि मतदाता थप गर्नेसम्मका कचिंगल झिकिएको छ । यो चुनाव हुन नदिएर अस्थिरता फैलाउने अभिप्रायबाहेक केही होइन ।

    0 अस्थितरता फैलाउनेहरूले चलखेल गरे भन्नुभयो । त्यस्तो अस्थिरता फैलाउन खोज्नेहरू चाहिँ को हुन् त ?

    – हेर्नुस्, ०७२ असोज ३ गते संविधान सजिलै जारी भएको थिएन । एउटा तत्व संविधान जारी गर्न नदिन ज्यान छाडेर लागेको थियो । तैपनि, अनेक अवरोधहरू पन्छाउँदै हाम्रा मुख्य दलहरूले संविधान जारी गरेका थिए । अहिले त्यही तत्व संविधान कार्यान्वयन हुन नदिन सक्रिय बनेको छ । २०७४ माघ ७ गते कटाएर संविधान असफल बनाउने र देशलाई फेरि प्रतिगमनतिर धकेल्ने तिनको चाहना छ ।

    0 यो अवस्था आउनुमा प्रतिगमनकारी तत्वहरूको मात्रै भूमिका छ कि हाम्रा नेताहरूको पनि कहिँकतै दोष छ ?

    – मैले अघि नै भने ०७२ असोज ३ गते संविधान जारी गर्दा एउटा तत्व यसलाई जारी हुनै नदिने खेलमा थियो । त्यतिबेला संविधान जारी हुन नदिने धेरै खेलहरू भएका पनि थिए । तर, ती सबै खेलहरू ठूला दल र तिनका नेताहरूको सुझबुझका कारण सफल हुन सकेको थिएन । त्यतिबेला मिलेका हाम्रा दलहरू पछि लोभ र पापमा फसे । कांग्रेस सरकारपछि एमाले र एमालेपछि माओवादीले सरकार बनायो । एमाले, कांग्रेस र माओवादीलाई देशी–विदेशी तत्वले फुटाएर यस्तो अवस्था आएको हो । नेताहरू राष्ट्रिय स्वार्थमा भन्दा पनि व्यक्तिगत स्वार्थमा फस्नु हाम्रा दुर्भाग्य हो ।

    0 मधेसमा एकखालको असन्तुष्टि छ । त्यो असन्तुष्टि सम्बोधन गर्न भएका प्रयासलाई यतिधेरै शंकाको दृष्टिले हेर्नु जायज हुन्छ र ?

    – जसरी अहिले संविधान संशोधनको कुरा आइरहेको छ, यसलाई हामीले विरोधका लागि विरोध गरेर अस्वीकार गरेको हुँदै होइन । यो अस्वीकार गर्नुका खास कारणहरू छन् । पहिलो त यो संशोधन प्रस्तावले शदियौंदेखिको राष्ट्रिय अखण्डतामा आँच ल्याउँछ । यो संशोधन प्रस्तावले देशलाई जोड्ने होइन, फुटाउँछ । त्यसैले यो संशोधन राष्ट्रघाती छ भनेर हामीले भनेका हौं । यहाँनिर कसरी विभाजन आउँछ ? भन्ने प्रश्न उठ्न सक्छ । जसरी हिमाल र पहाड अलग गरेर प्रदेश बनाउने कुरा आइरहेको छ, यसले अन्तत: राष्ट्रिय एकतामा खलल पुग्छ   नै । त्यसैले संविधान संशोधनको अहिले आएको प्रस्ताव अमान्य छ भनेर हामीले भनेका हौं ।

    अमेरिका, फ्रान्सजस्ता देशमा यतिबेला राष्ट्रवादको कुरा उठिरहेको छ, हामी भने राष्ट्रवादलाई आफ्नो स्वार्थसँग साटेर कमजोर पारिरहेका छौं । तराई र पहाड छुट्ट्याएर देशलाई नोक्सान पुर्‍याउन लाग्नेहरूलाई मेरो सुझाव छ–कम्तीमा यो मातृभूमि–आफ्ना पुर्खाले आर्जेको धर्तीलाई त मायाँ गरौं ।

    0 तपाईंले यसो भनिरहँदा एमालेको प्रतिशोधपूर्ण राजनीतिले समस्या खडा गर्‍यो भन्नेहरू उत्तिकै छन् । यसको जवाफ कसरी दिनुहुन्छ ?

    – भन्नलाई जे भने पनि हुन्छ । तर, एमालेले प्रतिशोधपूर्ण होइन, जिम्मेवार दलको भूमिका निर्वाह गरिरहेको छ । देशलाई अस्थिरता र अन्योलताको भूमरिमा हाल्ने प्रपञ्च कसैले गर्दा एमाले चुप लागेर बस्दैन, आफ्नो जिम्मेवारी पूरा गर्छ ।

    0 मोर्चा संशोधन नभइ जान्न भनिरहेको छ । अलि लचक भएर निर्वाचनमा जाँदा हुँदैन र ?

    – एमाले मधेसी दल निर्वाचनमा आओस् भन्ने सदीक्षा सबैभन्दा बढी राख्ने पार्टी हो । सबैले के बुझ्न जरुरी छ भने निर्वाचनबाट मधेसी दललाई लेखेट्न एमालेले खोजेकै छैन, हामी कति लचक हुनुपर्छ तयार छौं । तर, लचक हुने नाममा राष्ट्रलाई नै हानी हुने विषयमा एमाले कदापी सहमत हुन सक्दैन । तराई–पहाड छुट्ट्याउने, हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने कुरा हामीलाई कुनै पनि हालतमा मान्न हुन सक्दैन । देवनागरी लिपीको नेपाली भाषा केन्द्र सरकारको कामकाजी भाषा हुन्छ । नेपालमा बोल्ने भाषा राष्ट्र भाषा हुन् । प्रान्तले आफ्नो प्रान्तभित्रको कामकाजी कुनै एकलाई बनाउन सक्छ । यो भन्दा खुकुलो अन्त कहाँ छ ? तर यहाँ भाषा आयोगको सिफारिसमा हिन्दी भाषालाई नै केन्द्रको सरकारी कामकाजी भाषा बनाउन खोजिँदैछ । अब विदेशी भाषालाई केन्द्रीय सरकारको कामकाजी भाषा बनाउन त एमाले तयार हुनै सक्दैन नि ।

    0 भनेपछि यो संशोधन वास्तविक मधेसी जनताको होइन ?

    – हो, यो मधेसी जनताको माग नै होइन । विदेशी महिलाले नेपालीसँग बिहे गर्नेवित्तिकै नागरिकता पाउने रे । नढाँटी कुरा गर्ने हो भने रैथाने जनताको अधिकार खोसेर बाहिरकालाई दिन खोजिँदैछ । भारतकै कुरा गरौं, कुनै भारतीय नागरिकले विदेशी महिला बिहे गरेर ल्याएमा त्यो महिलालाई वैवाहिक अंगीकृत नागरिकता लिन ७ वर्ष कुर्नुपर्छ । ७ वर्ष नभई उसले नागरिकको मान्यता दिँदैन । भुटान जस्तो देशले समेत छोराछोरी नपाई विदेशबाट विवाह गरेर आएकी महिलालाई वैवाहिक अंगीकृत नागरिकता दिन नमिल्ने व्यवस्था संविधानमा गरेको छ । तर, हामी विवाह गरेर आउने वित्तिकै नागरिकता दिने कुरा गरिरहेका छौं । के यो वीरगन्जका महिलाले खोजेको हो ? होइन । वास्तविक नेपाली मधेसी महिलाको अधिकार खोसेर बाहिरबाट आउने विदेशी महिलालाई मन्त्री, प्रधानमन्त्री बनाउन यी सबै खेलहरू भइरहेका छन् ।

    अर्को पाटोबारे पनि चर्चा गरौं । मधेसमा विकास निर्माणको अवस्था कमजोर छ । मधेसका कैयन जिल्ला विकासको दृष्टिले पछि परेकै छ । म स्वयं महोत्तरीको हुँ । यो जिल्ला विकास निर्माणको दृष्टिले पछि छ । तर, मधेसी जनताको कुरा गर्ने त्यहाँका मधेसी दलले कहिल्यै यी कुरा उठाए ? उठाएनन् । मधेसको वास्तविक समस्या नउठाउने तर मधेसी जनताले जे खोजेका छैनन्, त्यो उठाउने काम मधेसी दलहरूले गरिरहेका छन् । यसबाट प्रष्ट हुन्छ उनीहरू आफ्नो देश र जनताका लागि भन्दा पनि विदेशीका लागि काम गरिरहेका छन् ।

    0  संशोधनको पछाडि यति ठूलो षड्यन्त्र लुकेको दाबी गर्नुभयो । अरु दल किन तपाईंहरूले जस्तो विरोध नगरेर किन पछाडि लागेका होलान् त ?

    – म अहिले ८१ वर्ष लागेँ । राजनीति गरेकै ६४–६५ वर्ष भयो । म नढाँटी भन्छु, यी सबैको कारण पद र पैसा हो । त्यही पद र पैसाका लागि हाम्रा नेताहरू बिकेका छन् । समस्या यही कारणले भइरहेको छ । हिन्दूस्तानले भन्दा पनि उनीहरूको प्रलोभनमा फसेर हाम्रा नेताहरूले बखेडा झिकिरहेका छन् । यही बखेडाका कारण देश अनिश्चियमा फस्दै छ । म यतिबेला आम नेपालीलाई यसमा संवेदनशील भएर प्रस्तुत भइदिन आग्रह गर्न चाहन्छु ।

    0 उसो भए हामी अनिश्चयतिर गइरहेको छौं हो ?

    –तराई र पहाड छुटाउने, हिन्दी भााषा ल्याउने, मधेसी दिदी–बहिनी अधिकार खोसेर विदेशी महिलालाई सुम्पने खेलले देश कहाँ पुग्ला ? सजिलै भन्न सकिन्छ –आर्थिक उन्नति र संवृद्धिको यात्रामा हिँड्नु पर्ने बेला फेरि हामी पाँच दशक देखिकै गोलचक्करमा फस्दै छौं ।

    0 अब यो संसद्मा पेस गरिएको संशोधन विधेयक के होला त ?

    –धेरै पार्टीमा असल मान्छेहरू छन् । कांग्रेस–माओवादीमा धेरै नेताहरू छन् जो देशको कुभलो होइन, भलो चाहन्छन् । मलाई पूर्ण विश्वास छ, तिनीहरूले विवेक प्रयोग गर्दै पार्टीभन्दा माथि उठेर संशोधनको विपक्षमा मत जाहेर गर्नेछन् र राष्ट्रघाती संशोधन विधेयकलाई असफल बनाउनेछन् ।

    0 कथंकदाचित संशोधन विधेयक पास भयो भने एमालेले के गर्छ ?

    – यो संशोधन संविधानको आत्मा मार्ने खालको छ । कथंकदाचित संविधान संशोधन भयो भने यसविरुद्ध कानूनी लडाइँ लड्नुपर्छ । म कानूनव्यवसायीहरूलाई यस विरुद्ध लड्न आग्रह गर्न चाहन्छु ।

    0 एमाले कुनै पनि हालतमा संविधान संशोधन गर्न हुँदैन भनिरहेको छ । मधेसी दल नगरे निर्वाचनमा आउँदैन भन्दैछ । समस्या समाधानको केही सूत्र छैनन् ?

    – वैशाख ३१ को निर्वाचन नजिकिएको छ । पहिले यो निर्वाचन गरौं । त्यसपछि मधेसका समस्या के के हुन ? बसेर छलफल गरौं । हामी मधेसको विकास र संवृद्धका लागि जस्तो सुकै त्याग गर्न पनि तयार छौं ।

    0 प्रसंग बदलौं, तपाईंले देशको अर्थतन्त्रको नशानाडी छाम्ने मौका पाउनु भयो । देश विकास नभएर किन रुमल्लिरहेको छ ?

    – देश विकासका लागि ‘आर्थिक भिजन’ जरुरी हुन्छ । तर, हाम्रो राजनीतिक नेतृत्वसँग देश विकासका लागि अपरिहार्य त्यस्तो ‘भिजन’ भएन । त्यसपछि राजनीतिक नेतृत्वमा समर्पण र इमान्दारिता आवश्यक हुन्छ । यो कुरा पनि हाम्रो राजनीतिक नेतृत्वसँग भएन । यही कारण हाम्रो देश विकास हुन नसकेर रुमल्लिएर बसेको छ । यदि राजनीतिक नेतृत्वसँग भिजन, समर्पण र इमान्दारिता हुने हो भने देश १० वर्षमा बन्छ ।

    0 भनेपछि हामीले अहिलेसम्म राम्रो राजनीतिक नेतृत्व नै पाएनौं ?

    – देशले भिजन भएको राजनीतिक नेतृत्व नपाएको भन्न त मिल्दैन । तर, हामीले भिजन भएका राजनीतिक नेतृत्व यदाकदा पाए पनि ती हाबी हुन नसकेर अरु नै भ्रष्ट तत्वहरू हावी भए । त्यसैले विदेशका विभिन्न देशहरूले राजनीतिक नेतृत्वकै कारण फड्को मारे पनि हामीले हामीले त्यस्तो नेता पाउन सकेनौं ।

    0 भिजनविहीन राजनीतिक नेतृत्वको अवस्था हामीले कहिलेसम्म झेल्नु पर्ने होला, केही अनुमान गर्न सकिन्छ ?

    – विगतमा धेरै असफलता भए, थोरै सफलता पनि हात परेका छन् । नयाँ पिढी, जो राजनीतिमा आउँदैछन् उनीहरूले विगतका सफलता र असफलताबाट पाठ सिकेर राजनीतिक नेतृत्व लिन अग्रसर हुनुपर्छ । म नयाँ नेतृत्व यसतर्फ अघि बढोस् भनेर आग्रह गर्न चाहन्छु । यदि तीनै तहको निर्वाचन समयमै हुने हो भने नयाँ नेतृत्वको मूल फुट्ने वाला छ ।

    0 पुराना नेतृत्वप्रति आशावादी हुने अवस्था छैन, उनीहरू असफल भए हो ?

    – त्यसो पनि नभनौं, आफ्नो ठाउँबाट यो नेतृत्वले पनि गरिरहेको छ ।

    0 अबको बजेट कस्तो हुनुपर्छ होला ?

    – अबको बजेट लगानी बढाउने, उत्पादन बढाउने, रोजगारी बढाउने र सामाजिक न्याया बलियो बनाउने खालको हुनुपर्छ । सुकुम्बासी, किसान, कमैया, महिलालाई पनि अब आउने बजेटहरूले छुटाउनु हुँदैन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *