breaking news

    यो प्रचण्ड माओवादीको प्रतिक्रियावादीकरणको कुरुप नमूना हो – मोहन वैद्य ‘किरण’, अध्यक्ष, नेकपा क्रान्तिकारी माओवादी

    July 4th, 2017 | by Weekly Nepal
    यो प्रचण्ड माओवादीको प्रतिक्रियावादीकरणको कुरुप नमूना हो – मोहन वैद्य ‘किरण’, अध्यक्ष, नेकपा क्रान्तिकारी माओवादी
    अन्तरबार्ता
    1

    (मोहन वैद्य किरण नेपाली कम्युनिष्ट आन्दोलनको चिरपरिचित नाम हो । कम्युनिष्ट आन्दोलनमा लागेका बहुसंख्यक नेता गर्विलो इतिहास जोगाउन नसकेर कालान्तरमा दागिलो बने पनि किरण मूल्य, निष्ठा र आदर्शको राजनीतिबाट विचलित देखिँदैनन् । ब्यक्तिगत स्वार्थ र सत्ताका लागि समकालीन नेताहरूले मरिहत्ते गरिरहे पनि किरण निष्ठाको यात्रामा अविराम अघि बढिरहेका    छन् । माओवादी आन्दोलन हात्तीबाट छावामा परिणत भए पनि किरण बिचलित बनेका छैनन्, बरु उर्जाका साथ लागिरहेका छन् । यिनै किरणसँग पहिलो स्थानीय तह निर्वाचनलगायत विषयमा केन्द्रित रहेर गरिएको कुराकानी: सम्पादक)

    ० स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ । यसमा तपाईंहरूले पनि भाग लिनुभयो ।तर, पहिलो चरण निर्वाचनमा तपाईंहरूको उपस्थिति निकै टिठलाग्दो देखियो । नामोनिसाना नै देखिएन भन्दा पनि हुन्छ, यस्तो किन भयो ?

    –  हाम्रो पार्टी नेकपा क्रान्तिकारीले २०७४ वैशाख ३१ मा देशका २८३ स्थानीय तहमा भएको पहिलो चरणको निर्वाचनमा भाग लिएको थियो । देशभक्त जनगणतान्त्रिक मोचा बनाएर हामीले हाम्रा उम्मेदवारहरू केही स्थानमा उठाएका थियौं ।  तर, हामी यो निर्वाचनमा जित्नका लागि सहभागी नै भएका थिएनौं । जित्नका लागि सहभागी नभएकाले हामी अहिलेको परिणामले निराश बनेका छैनौं ।

    ० दुनियाँमा निर्वाचनमा जाने जो कसैको चाहना जित्नु नै हुन्छ । तर, तपाईं जित्नका लागि गएका थिएनौं भन्ने अनौठो कुरा गरिरहनु भएको छ । निर्वाचनमा जानु भएको चाहिँ के–का लागि थियो ? जनताले बुझ्ने भाषामा बताइदिनुहोस् न उ

    – हाम्रो पार्टीले निर्वाचनमा भाग लिएकाले धेरैलाई अरु दल जस्तै यो पनि जित्नका लागि नै चुनावमा गएको हो भन्ने परेको छ, यस्तो बुझाइलाई म अस्वभाविक पनि ठान्दिनँ । वास्तवमा हामी जित्नका लागि यो निर्वाचनमा सहभागी भएका थिएनौं । सबैले के बुझ्न जरुरी छ भने निर्वाचनमा जित्नुभन्दा पनि यसको उपयोग गर्नु हाम्रो मुख्य लक्ष्य थियो । त्यसैले पार्टीले देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरूलाई समर्थन गर्ने निर्णय गर्‍यो ।

    ०स्थानीय तह चुनावलाई उपयोग गरेका हौं भन्नु भयो । कति सफल हुनु भयो त यसमा ?

    –  जहाँसम्म यसमा के कति सफलता प्राप्त भयो भन्ने प्रश्न हो, त्यसको निर्धारण हामीले लिएको लक्ष्य र त्यसको परिणामले निश्चित गर्छ । हाम्रो मूल लक्ष्य वर्तमान प्रतिगामी राज्यसत्ता, व्यवस्था र त्यसका पक्षधर राजनीतिक शक्तिहरूको भण्डाफोर गर्नु, जनताका बीचमा पुगेर जनाधार तयार पार्नु थियो । निर्वाचनलाई प्रयोग गरेर संगठन विस्तार गर्ने पनि हाम्रो सोच थियो । पहिलो चरणको निर्वाचन उपयोग गर्ने निर्णय गर्दा हामी केही हदसम्म आफ्ना लक्ष्यमा सफल भएका छौं । निर्वाचनमा विजय हासिल गर्नुलाई मूल लक्ष्य नबनाइएकाले अपेक्षा गरिए अनुसारकै उपलब्धि हामीले हासिल गरेका छौं । यो त हाम्रो आंशिक मूल्यांकन मात्रै हो । समग्र मूल्यांकन त दोस्रो चरणको निर्वाचन पछि नै गरिनेछ ।

    ० निर्वाचन उपयोगलाई कार्यनीतिक विषय भन्दै गर्दा कतिपयले यसलाई रणनीतिक अर्थमा बुझेको पनि देखियो नि ?

    – एकाध ठाउँमा यस्ता समस्या रहे, देखिए । समग्रमा भने होइन । तर पनि नीतिगत व्याख्यालाई अझै स्पष्ट पार्न जरुरी छ ।

    ०संविधान जनताको भएन भन्दै आइरहनु भएको छ । संविधानको खारेजी नै गरेको पार्टी निर्वाचनलाई उपयोग गर्ने भन्दै चुनावमा होमिनु भयो । असजिलो भएन ?

    – स्थानीय तह निर्वाचनलाई उपयोग गर्ने कार्यनीतिमा जाँदा दुई प्रकारका जटिलताको सामना हाम्रो पार्टीले गर्नु पर्‍यो । ती जटिलता बाह्य र आन्तरिक थिए ।

    ० आन्तरिक रुपमा र बाह्य रुपमा तपाईंहरूले भोगेको समस्या कस्ता छन्, बताइदिनुहोस् न ?

    – बाह्य पक्ष भनेको सरकारले खडा गरेका समस्या हुन् । सरकारले निर्वाचनमा जाने हाम्रो चाहनालाई छेकबार लगाउँदा हामीलाई धेरै अप्ठ्यारो भयो । हामीले नयाँ दल दर्ता चाहेका थियौं । तर, हामीलाई दल दर्ता गर्न दिइएन । अर्को कुरा चुनावमा हामीले आफ्नै चुनाव चिह्न चाहेका    थियौं । यसबाट पनि हामीलाई बञ्चित गरियो । हामीमाथि विश्वास राख्ने मतदाताहरूको नामावली दर्ता थिएन, त्यसैले मतदाताको नामावली दर्ता गर्ने समय चाहेका थियौं । तर, हामीलाई नाम दर्ता गर्नका लागि आवश्यक पर्ने समय उपलब्ध गराउन कसैले आवश्यक ठानेनन् । यो संविधान र लोकतन्त्रलाई उत्कृष्ट भन्नेहरूको लज्जा हो, तानाशाही चरित्र उदांगिएको उदाहरण हो ।

    ० सरकारी बाधा अड्चन बाहेक तपाईको आफ्नो कमजोरी पनि होलान नि त ?

    – निर्वाचनमा हाम्रा आफ्नै समस्याहरूले पनि काम गरेका छन् । जस्तो निर्वाचन तयारीका लागि हामीलाई केही समय आवश्यक हुन्थ्यो,  पर्दथ्यो । तर, हामीले निर्वाचनका लागि आवश्यक समय पाएनौं । समय अभाव हुँदा सांगठनिक परिचालन गर्न समस्या भयो । प्रचार–प्रसार गर्न पनि हामीले समयभावका कारण सकेनौं । आफ्नै कमी–कमजोरीबाट पनि हामीले यसपटक कैयौं शिक्षा प्राप्त गरेका छौं । यसबाट पाठ सिक्दै आगामी दिनमा हामी अघि बढ्ने छौं ।

    ०यसपटकको स्थानीय तह चुनावमा खासगरी माओवादी केन्द्र र कांग्रेस, एमाले–राप्रपा बीचको अपवित्र चुनावी तालमेल पनि देखियो । चुनावको यस्तो परिदृश्यलाई तपाईंले कसरी विश्लेषण गर्नु भएको छ ?

    – यस पटकको निर्वाचनमा अपवित्र तालमेलका दृश्य पनि देखिए । कांग्रेस र एमालेका बारेमा बुझिएकै र भनिएकै कुरा हुन् । थप भनिरहनु पर्ने आवश्यकता छैन । जहाँसम्म प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र कांग्रेसबीचको तालमेल छ, यो अपवित्र छ । यो प्रचण्ड नेतृत्वको माओवादीको तीव्र रुपमा भइरहेको प्रतिक्रियावादीकरणको कुरुप नमूना हो । यसलाई सबैले यसरी नै बुझेका छन् र बुझ्नु पर्छ भन्ने हाम्रो धारणा हो ।

    ० राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरूमा यो चुनावले केही अदल–बदल आउन सक्ने देख्नुहुन्छ ?

    –  मूलभूत रुपमा केही अदल बदल आउने कुरा अहिले देखिएको जस्तो लाग्दैन ।

    ० स्थानीय तहको पहिलो चरणमा भएको निर्वाचनको परिणाम एमाले, कांग्रेस र माओवादीको पक्षमा पर्‍यो । तपाईंको पार्टी अब कसरी अघि बढ्छ ?

    – प्रतिक्रियावादी संविधान बन्नु नै प्रतिक्रियावादी राज्यसत्ता र व्यवस्थालाई स्थापित गर्नु थियो । हामीले यसैविन्दुबाट नै अब अर्को प्रतिक्रियाकाल सुरु भयो भनेर भनेका थियौं । अनि यस खालको सत्ता, व्यवस्था र सरकारअन्तर्गत हुने वा गरिने चुनावहरूको परिणाम पनि तद्नुरुप हुने नै भयो । र, यसले प्रतिक्रियावादी सत्ता र व्यवस्थालाई नै बलियो बनाउँछ । तर, पनि अहिलेका सत्ता, व्यवस्था र तिनका पक्षधर राजनीतिक दलहरूबीच गम्भीर प्रकारका मत–मतान्तर र अन्तरविरोधहरू छन् ।

    ० अब यी दलको दबदबा भत्काउन त तपाईंहरूले सक्ने देखिँदैन नि ?

    – यतिबेला कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीचका अन्तरविरोध थप चुलिँदै गएका छन् । साम, दाम, दण्ड, भेदका पद्धति अवलम्बन गरेर गरिने चुनावी नौटंकीले अन्तत: प्रतिक्रियावादको आयुलाई कुनै पनि हालतमा लम्ब्याउन सक्दैन । हाम्रो उपयोग त त्यसलाई कमजोर पार्न कै लागि हो । जहाँसम्म पार्टीको अगाडिको कार्यनीतिक कदमको कुरा हो, त्यो स्थानीय निर्वाचनपछि बस्ने केन्द्रीय समितिले नै टुंगो लगाउने छ । तर पनि, सामान्य रुपमा भन्नुपर्दा हाम्रो आगामी कार्यनीतिक स्टेप संघीय जनगणतन्त्रको स्थापनाका लागि क्रान्तिको तयारी नै हो ।

    ० बेला–बेला तपाईंको पार्टी र प्रचण्ड नेतृत्वको पार्टीबीच एकताका विषयमा कुराकानी भएका खबरहरू बाहिरिन्छन् । केही अघि मात्रै तपाईंहरूकै पार्टीमा रहेका बादलगायतको समूह प्रचण्ड नेतृत्वको पार्टीमा गएको थियो । वास्तवमा तपाईंको पार्टी र प्रचण्डको पार्टीबीच मिलनको सम्भावना कति छ ?

    –  प्रचण्डले नेतृत्व गरेको पार्टी एकपछि अर्को प्रतिक्रियावादोन्मुख बन्दै गइरहेको छ । यस्तो पार्टी क्रान्तिकारी बन्ला भनेर हामीले अलिकति पनि सम्भावना देखेका छैनौं । बरु यो पार्टी आउँदा दिनमा योभन्दा अझै बढी चरम राजनीतिक तथा वैचारिक पतनको दिशामा जाने स्पष्ट नै छ । अब यस्तो पार्टीसँग हाम्रो एकीकरण हुने भन्ने कुरा त आउँदै आउँदैन ।

    ० विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग त तपाईंहरूको दूरी त्यति टाढिएको छैन नि होइन, यो पार्टीसँग एकताको सम्भावनाचाहिँ कत्तिको छ नि ?

    –  बहिस्कारपन्थी साथीहरूले रहस्यवादी राजनीति गर्दै आएका छन् । त्यो पनि सिंगो रुपमा सही दिशामा आउला जस्तो देखिँदैन । जहाँसम्म उनीहरूका गलत राजनीति र विचारका कारण ती संगठनभित्र रहेका क्रान्तिकारीहरूमा ध्रुवीकरण आउने वा ल्याउने कुरा हो, त्यो सम्भावना छ । हाम्रो प्रयत्न सच्चा कम्युनिष्टहरूलाई गोलबन्द गर्नेतर्फ नै हुनुपर्छ ।

    ० सरकार परिवर्तन, संविधान संशोधन र राजपाको आन्दोलनलाई चाहिं क्रान्तिकारी माओवादीले कसरी हेरेको छ त ?

    –  यी विषयलाई तीन अर्थमा ग्रहण गर्नु पर्दछ । पहिलो, प्रतिक्रियावादी तथा संसद्वादी कित्तामा त्यहाँका प्रमुख अभिनेता वा पात्रहरू पक्ष र प्रतिपक्षमा अनेकौं नौटंकीहरू खेल्ने गर्दछन् । अन्तमा ती सबै त्यही सत्ता र व्यवस्थाका संरक्षक नै बनेका हुन्छन् । यस्ता नाटकबाट ठूलै कुरा भयो भन्ने ठान्नु हुँदैन ।दोस्रो, संविधान संशोधन, राजपाको आन्दोलनलाई वर्तमान सत्ता, व्यवस्था र तिनका पक्षधरहरूबीच चुलिँदै गएको अन्तरविरोधलाई समाप्त पार्न पनि सक्छ । तेस्रो, यी सबै आन्तरिक मात्र होइन, मुख्यत: बाह्य चलखेलका, स्पष्ट रुपमा भन्ने हो भने साम्राज्यवादी तथा विस्तारवादी चलखेलका अभिव्यक्ति पनि हुन् । यस अर्थमा देशको राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्नमा थप खतरा पैदा हुँदै गइरहेको देखिन्छ ।

    ० अब फरक प्रसंगमा कुरा गरौं । कुनै बेला एउटै पार्टीमा रहेका प्रचण्ड १० महिना सरकार चलाएर बाहिरिएका छन् । उनको कार्यकाललाई कसरी मूल्यांकन गर्नु भएको छ ?

    – यो सामान्यत: औपचारिक नै रह्यो । भारत सरकारसित जुन २५ बुँदे सहमति गरियो, त्यो राष्ट्रघाती छ । संविधानको कार्यान्वयनमा जसरी प्रचण्डले जोड दिँदै आएका छन्, त्यसले दलाल, नोकरशाही पुँजीपति तथा सामन्तवर्गीय राज्यसत्ता र व्यवस्थाको संरक्षण गर्ने काममा ठूलो मद्दत पुर्‍याएको छ ।

    ०प्रचण्ड सरकारले चीनसँग पनि ओबीओआर सम्झौता गरेको छ । यसलाई चाहिँ कसरी हेर्नुभएको छ नि ?

    – चीनसँग ओबीओआर सम्झौता प्रचण्ड सरकारले गर्‍यो । बाध्यतावश प्रचण्ड सरकारले यस्तो सम्झौता गरेको भए पनि यो सकारात्मक नै छ । यो सकारात्मक किन छ भने यसले भारतीय एकाधिकारलाई केही हदसम्म कमजोर तुल्याएको छ ।

     

    One Comment

    1. Roshan sharma says:

      yo antarbartama MohanBaidhyako kurup jhalkinchha.

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *