breaking news

    यमबहादुरले नेपाल झरेसँगै भने- बल्ल नेपाली बोल्न पाएँ

    January 5th, 2017 | by Weekly Nepal
    यमबहादुरले नेपाल झरेसँगै भने- बल्ल नेपाली बोल्न पाएँ
    प्रवास
    0

    काठमाडौँ, २१ पुस । यमबहादुर सार्की उद्धार–सहयोगीको भरथेग पाएर मंगलबार राति काठमाडौं उत्रँदा निकै मुस्किलले नेपाली बोलिरहेका थिए । ‘एक सालसम्म जेलमा थिएँ, नेपाली बोल्नै मुस्किल परिरहेको छ,’ पुसे ठिहीमा समेत पातलो सर्ट, फाटेको पाइन्ट र प्लास्टिकको चप्पलका भरमा विमानस्थलमा भेटिएका सार्कीले एकै सासमा सुनाए, ‘कराँचीको ल्यान्डी जेलमा ५ सयभन्दा बढी कैदी थियौं, म एक जना मात्रै नेपाली थिएँ । यसरी अचानक घर फिर्न पाउँला भन्ने लागेकै थिएन ।’

    भारत–पाकिस्तान सीमावर्ती पञ्जाब प्रान्तको समुद्रमा पानी जहाजमा तैरिँदै माछा मार्ने काम गरिरहेका गुल्मी बडागाउँ ३ का सार्की सामुद्रिक सिमाना थाहा नपाई पाकिस्तान पुगेका थिए । मछुवारको भरिया मात्रै बनेर काममा गएका ३३ वर्षे सार्कीलाई ‘आफू नेपाली भएको’ पहिचान जुटाउनै एक वर्ष लागेको थियो ।

    इस्लामाबादस्थित नेपाली दूतावासले सार्की थुनामा रहेको ३ महिनाअघि थाहा पाए पनि घर फिर्ती टिकट उपलब्ध गराउन नसक्दा थुना अवधि लम्बिँदै गएको थियो ।

    आर्थिक अवस्था कमजोर रहेका र फिर्ती टिकटको रकमसमेत जुटाउन नसकिरहेका सार्कीका बारेमा थाहा पाएर झापा, दुधेका व्यवसायी सन्तोष थोप्रा लिम्बूले टिकटसहित गुल्मीसम्म जाने खर्च उपलब्ध गराएका थिए । सार्कीलाई ‘रिसिभ’ गर्न पनि लिम्बू मंगलबार विमानस्थल पुगेका थिए ।

    ‘काठमाडौं उत्रिएर पहिलोपटक बाबु अमरबहादुरसँग फोनमा कुरा गर्न पाएँ, म बाँचेर आएँ भनेर सुनाएँ,’ यमबहादुरले सुनाए, ‘भारतको पञ्जाबमा बसेर आसपासको समुद्रमा माछा मार्नर्े काममा जान थालेको १४ वर्ष भइसकेको थियो, पहिलोपटक दशा लागेर पाकिस्तानको जेलमा पुगेको थिएँ ।’

    अवैध रूपमा सीमा वारपारको घटना र अभियोग आफैंमा गम्भीर भए पनि अहिले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकासहितका मुलुकका जेलहरूमा एकअर्काको सामुद्रिक सीमा उल्लंघन गरेको अभियोगमा हजारौं नागरिक थुनामा छन् । यसअघि, सन् २०१२ को सेप्टेम्बरमा गुल्मी, बडागाउँकै २५ वर्षे मीनबहादुर सर्तुङ्गे मगर माछा–भरिया बनेकै हैसियतमा कराँचीको मलिर जेलमा २९ महिना थुनामा बसेका थिए ।
    कान्तिपुरबाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *