breaking news

    मेलौली नपाको बजेट ३० करोड ६२ लाख

    August 10th, 2017 | by Weekly Nepal
    मेलौली नपाको बजेट ३० करोड ६२ लाख
    अर्थ
    0

    बैतडी, २६ साउन। बैतडीको मेलौली नगरपालिकाले रु ३० करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।

    बुधबार नगरपालिकामा सम्पन्न नगर परिषद्मा रु ३० करोड ६२ लाख १२ हजार ४८४ को बजेट नगरप्रमुख कृष्णसिंह नायकले सार्वजनिक गर्नुभएको हो । यस्तै, नगरकार्यपालिकाबाट नगरसभामा पेश हुने नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

    नीति तथा कार्यक्रममा नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडकलगायतका विभिन्न विकास निर्माणलाई प्राथमिकतामा राखिएको छ । नगरपालिकाका सबै वडामा सडकको व्यवस्था गर्ने, नगरपालिकाको भवन निर्माण गर्ने, एम्बुलेन्स खरिद गर्ने, मेलौली प्राथमिक स्वास्थ्यकेन्द्रमा शव गृह निर्माण गर्नेलगायत कार्यक्रम समावेश गरिएका छन् । यसैबीच, बैतडी जिल्लाका विभिन्न स्थानीय तहमा पनि गाउँ परिषद् र नगरपरिषद् शुरु भएका छन् ।

    नेस्याङ गाउँपालिकाको बजेट १७ करोड
    मनाङ। मनाङ जिल्लाको नेस्याङ गाउँपालिकाको चालु आर्थिक वर्ष २०७४÷७५ का लागि रु १७ करोड १३ लाख २४ हजारको बजेट सार्वजनिक गरिएको छ ।

    बुधबार भएको पहिलो गाउँपालिका भेलाबाट गाउँपालिकाका उपाध्यक्ष मेङ्खु गुरुङले कृषि, जडीबुटी, पर्यटन र पूर्वाधारमा जोड दिँदै बजेट प्रस्तुत गर्नुभएको छ ।

    गाउँपालिकाको बजेटमध्ये पूँजीतर्फ रु एक करोड ८९ लाख २५ हजार र चालुतर्फ रु पाँच करोड १२ लाख ८० हजार रहेको छ । त्यस्तै, सशर्त अनुदानमा रु छ करोड १० लाख ७१ हजार, सामाजिक अनुदानमा रु १० करोड रहेको गाउँपालिका उपाध्यक्ष मेङ्खु गुरुङले जानकारी दिनुभयो ।

    सोमध्ये शिक्षामा रु १६ लाख ५० हजार, स्वास्थ्यमा रु ३४ लाख ३१ हजार, सामाजिक विकासमा रु ८४ लाख ५० हजार र आर्थिक विकासमा रु ४८ लाख २५ हजार विनियोजन गरिएको छ ।

    पूर्वाधार विकासमा रु एक करोड ८९ लाख २५ हजार, वातावरण तथा विपद् व्यवस्थापनमा रु ५६ लाख तीनहजार विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष गुरुङले बताउनुभयो ।

    त्यस्तै, संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन रु ९४ लाख ४६ हजार, सेवा र क्षमता विकासमा रु ३८ लाख ८१ हजार, बाटो तथा सडक मर्मत सम्भारका लागि रु एक करोड १३ लाख ५० हजार, सिँचाइ तथा खानेपानी रु २४ लाख ७५ हजार र विद्युत् रु ३७ लाख ५० हजार विनियोजन गरिएको छ ।

    हिमाली जिल्लाको पहिचान यहाँका हिमतालको संरक्षण गर्ने र विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल यसै गाउँपालिकामा पर्ने हुनाले यसको संरक्षणलाई विशेष बजेट ल्याइएको उहाँले बताउनुभयो ।

    लोपोन्मुख जनावर हिमचितुवा, घोरल, नाउर, मृगजस्ता जनावरको संरक्षण गर्ने तथा सूचना तथा सञ्चारलाई पनि यस बजेटले समेटेको उहाँले बताउनुभयो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *