breaking news

    मान्छेका कुरा कति गर्नु ? – बबिता बस्नेत

    September 25th, 2017 | by admin
    मान्छेका कुरा कति गर्नु ? – बबिता बस्नेत
    विचार विश्लेषण
    0

    जहाँ गए पनि प्रायः मानिसकै कुरा गरिन्छ । मान्छेले मान्छेलाई दिएका दुःख, पु¥याएका चोटहरू, मानिसले निम्त्याएका जोखिमहरू, समाजमा व्याप्त बेथितिहरू । मान्छेबाट मान्छेलाई कसरी बचाउने, मानिसले गरेको अन्याय र ज्यादतीबाट मानिसलाई कसरी मुक्त गर्ने ? मान्छेले दिने दुःखबाट कसरी पार पाउने ? धेरैजसो कार्यक्रम र छलफल यस्तै कुरासँग सम्बन्धित हुन्छन् । सशस्त्र द्वन्द्वदेखि घरेलु हिंसा हुँदै मानसिक तथा मनोवैज्ञानिक सन्त्राससम्म मानिसबाट सुरु भएर मानिसमै अन्त्य हुन्छन् । मान्छेबाट मान्छेलाई कसरी जोगाउने भन्ने ठूलो चुनौती विश्वव्यापी रूपमै छ ।

    उत्तर कोरियाका युवा राष्ट्रपतिको ‘माइन्ड’ले निम्त्याउन सक्ने जोखिमबारे विश्लेषण गर्नमा अहिले विश्वका धेरै ‘मास्टर माइन्ड’ व्यस्त छन् । आफ्नै देशको कुरा गर्ने हो भने पनि थुप्रै ऐन, कानुन र नियम मानिससँग सम्बन्धित छन् । मुलुकको नयाँ संरचनाअनुसार, नयाँ–नयाँ कानुन बनिरहेका
    छन् । जे छन् ती मानिसमा केन्द्रित छन् । पशुपक्षीलाई लिएर हामी त्यति धेरै सोच्दैनौँ । नेपालमा पशुअधिकारको कुरा गरिन्छ, तर त्यो दसैँमा सीमित हुन्छ । केहीलाई छोडेर दसैँका बेलामा पशुअधिकारका कुरा गरेर बाँकी एक वर्ष चुपचाप बस्ने पशुअधिकारकर्मी यहाँ छन् ।

    मुलुकका विभिन्न सहरमा मानिसका कुरा भए पनि सुदूरपश्चिमको महेन्द्रनगरमा भने पशुको कुरा खुलेर गर्नुपर्ने बेला भएको रहेछ । जसले जहाँ दुःख या सुख दियो त्यसैको कुरा हुने हो । केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा महेन्द्रनगर जाँदा उहाँका सुरक्षाकर्मीको मुख्य काम निष्फिक्री सडक जाम गरेर बसेका गाईगोरु धपाउनु बनेछ । सडकमा अघिअघि सुरक्षाकर्मी गाईगोरु धपाउने पछिपछि प्रधानमन्त्रीको गाडी गुड्ने दृश्य बडो रोचक थियो रे । यो दृश्य देख्ने केही मानिसले पशु पन्छाइरहेका प्रधामन्त्रीका सुरक्षाकर्मीहरूलाई भनेछन्, ‘तपाईंहरूले यसरी हटाइदिएपछि प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा के समस्या छ भनेर कसरी थाहा पाउनुहुन्छ ? उहाँलाई एकछिन हेर्न दिनुस् न, उहाँले थाहा पाउनु जरुरी छ ।’ कतिले व्यङ्ग्य पनि गरेछन्– यिनले सडकजाम गरे पनि गरून्, भोट दिने होइनन्, के मतलब भनेर सबैले आँखा चिम्लिन्छन् ।

    नेपालको पुरानो योजनाबद्ध सहर महेन्द्रनगर पुग्नुअघि हाइवेदेखि नै सडकभरि गाईगोरु लामबद्ध देखिन्छन् । उनीहरूलाई प्राप्त स्वतन्त्रता गज्जबको छ । जहाँसुकै जान उनीहरू स्वतन्त्र छन् । मुख्य सडक मात्र होइन, सानातिना गल्ली, बसपार्क, मठमन्दिर जताततै हुल बाँधेर हिँडेका या उभिएका गाईवस्तुले सहरको शोभा अव्यवस्थित गौशालामा परिणत गरिदिएको छ । केही वर्षअघिसम्म सडकमा अहिलेझैँ जताततै छाडा गाईवस्तु देखिँदैनथे । सबैले आफ्ना वस्तुभाउको हेरचाह आफँै गर्थे । जसरी नेपालका विभिन्न भागमा किसानले वस्तुभाउ पाल्छन्, तिनलाई खान दिन्छन्, परेदेखि तिनको औषधोपचार गर्छन् । आफूले पालिसकेपछि पशु भए पनि आफ्नै परिवारको सदस्यको रूपमा हेरचाह गर्ने चलन छ । उत्तरदायी नागरिक सबैले यो गर्छन् र गर्नु पनि पर्छ । सभ्य मुलुकमा आफूले घरमा पालेका जनावरलाई रेखदेख गर्ने मात्र होइन उनीहरूलाई मर्निङ र इभिनिङवाकसमेत गराउँछन् । विशेषगरी कुकुर–बिरालाहरू यस्तो सुविधा पाउनेभित्र पर्छन् । सडकमा हिँडाइरहेका बेला उनीहरूले दिसापिसाब गरेमा प्लास्टिकमा पोको पारेर आफैंले त्यसको व्यवस्थापन गर्छन् ।

    पशुपालन गर्नेहरूले आफूले पालेका पशुको हेरचाह आफैँ गर्नु हाम्रो देशको सन्दर्भमा नयाँ या अनौठो कुरा होइन । तर, महेन्द्रनगरमा आफूले पालेका गाईले दूध दिन छोडेपछि सडकमा छोडिने रहेछ । गाईले जन्माएका गोरुहरूको पनि काम नहुने हुँदा सडकतिरै छाडिँदोरहेछ । सबैले त्यसरी सडकमा बेबारिसे रूपमा छोड्दै जाँदा अहिले तिनको सङ्ख्या हुलका हुल बन्न पुगेको हो । सडकमा भैँसी या राँगा भने देखिँदैनन् । राँगा–भैँसीलाई घरकै गोठमा पालिँदोरहेछ, जसरी अरू ठाउँहरूमा पशुपालन गरिन्छ । कारण, जति बूढा र रोगी भए पनि मःमलगायतका परिकारका लागि राँगा–भैँसी सहज रूपमा बिक्री हुँदा रहेछन् ।

    हिन्दू धर्मावलम्बीहरू गाईलाई लक्ष्मी मान्छन् । तिहारमा हामी गाईगोरुको पूजा गर्छौँ । त्यसरी पूजा गरिने पशुहरू कसरी रातारात सडकमा पुगे त ? सुदूरपश्चिम कञ्चनपुरका यी पशुको कथा मान्छेकै स्वार्थसँग जोडिएको छ । विगतमा प्रत्येक दिन ठूलो सङ्ख्यामा भारतीय नाकाबाट गाईगोरुहरू सीमा कटाइन्थे । मुस्लिम समुदायका मानिस गाईवस्तु किन्न महेन्द्रनगर र आसपासका गाउँमा पुग्थे । नरेन्द्र मोदी भारतमा प्रधानमन्त्री भएपछि उनले ठूलो सङ्ख्यामा गाईहरू नेपालबाट भारत लगी काट्ने गरेको सूचना पाए । उनले नेपालबाट गौमातालाई भारतमा लगेर काट्नु गलत ठानी सीमा क्षेत्रमा गाईगोरुको बेचबिखनमा रोक लगाइदिए । भारतीयहरू नेपाल आएर गाई किन्न नसक्ने र नेपालीले सीमा पार गर्न नपाउने भएपछि वृद्ध गाईहरूको सङ्ख्या बढ्दै गयो । यता विगतमा खेत जोत्नमा प्रयोग हुँदै आएका गोरुहरूको भूमिका पनि ट्र्याक्टरले लिइदिँदा गोरुहरू पनि भूमिकाविहीन बने । काम नभएपछि बाच्छो जन्मिएर दूध चुस्न छाडेपछि तिनलाई पनि सडकमा छोड्न थालियो । बाच्छी भए घरमा राख्ने गरिँदोरहेछ, कारण उसले भोलि दूध दिन्छ, बाच्छाले दूध नदिने हुँदा सडकमा छोड्ने । मान्छेमा गरिने लैङ्गिक विभेदको ठीक विपरीत पशुको सवालमा भने बहर (बाच्छा) लाई विभेद गरिँदो रहेछ । यसको काम छैन भन्ने लागेपछि समाजमा कसरी विभेद हुन्छ भन्ने कुराको उदाहरणका रूपमा कञ्चनपुरका सडकमा छोडिने गाईवस्तुलाई लिन सकिन्छ ।

    अलिकति मात्र सोचेर काम गर्ने हो भने ती छाडा गाईवस्तुबाट लिन सक्ने लाभ धेरै छ । तिनलाई एकै ठाउँमा राखेर मल उत्पादन गर्न सकिन्छ । नेपालमा अर्गानिक मलको अभाव हुँदै गएका बेला काम नलाग्ने भनेर सडकमा छोडिएका ती वस्तुहरूले कृषि विकासमा ठूलो योगदान दिन सक्छन । तिनको गहुँत बेचेर स्वामी रामदेवले चमत्कार गरिसके, हामी भने यिनको काम छैन भन्दै सहर दूषित गर्न लागिपरेका छौँ । छाडा चौपायाका कारण महेन्द्रनगरको बसपार्क र सडकहरू पानी परेपछि पूरै गोबरले लिपेजस्तो बन्ने गर्छन् । त्यो गोबर बोटबिरुवा, बालीमा हाल्न पाए के हुन्थ्यो होला ? अन्य सहरमा जनप्रतिनिधिलाई मानिसको व्यवस्थापनको चिन्ता होला, तर महेन्द्रनगर र आसपासका जनप्रतिनिधिले भने अब पशु व्यवस्थापनका लागि कदम चाल्नुपर्नेछ । मानिस कतिसम्म स्वार्थी हुन सक्छ भन्ने कुराको उदाहरणका रूपमा रहेको यो बेथितिको अन्त्यका लागि सम्बन्धित सबै पक्षले काम गर्नुपर्ने हुन्छ । चौपाया पालन गर्नेहरूका लागि निश्चित मापदण्ड तय गर्नुपऱ्यो । छोडिएका चौपायाको सरकारी तवरबाटै व्यवस्थापन हुनुप¥यो । सहर मात्रै ‘प्लानिङ’ भएर के गर्नु जबसम्म हाम्रा प्रवृत्तिहरू छरपष्ट हुन्छन्, योजनाबद्ध सहरले मात्र केही गर्दैन ।
    घटना र विचारबाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *