breaking news

    माओवादी केन्द्र रातो स्टिकर टाँसेको असुरक्षित घर – गंगानारायण श्रेष्ठ, नेता, नयाँ शक्ति

    September 7th, 2017 | by Weekly Nepal
    माओवादी केन्द्र रातो स्टिकर टाँसेको असुरक्षित घर – गंगानारायण श्रेष्ठ, नेता, नयाँ शक्ति
    अन्तरबार्ता
    0

    ० देवेन्द्र पौडेललगायत नेता नयाँ शक्तिका नेता बाबुराम भट्टराईलाई केही थान आरोप लगाएर पार्टीबाट बाहिरिनु भएको छ । आरोपहरूमध्ये एउटा गम्भीर आरोप छ–बाबुराम भट्टराईसँग नयाँ शक्ति बनाउने क्षमता छैन । सत्य यस्तै हो ?

    –आफूले भने जस्तै नभए, नगरेपछि, चित्त नबुझेपछि मानिसले अनेक कुरा गर्छन् । इमान्दारहरूले सत्य बोल्छन् । तर, बेइमानहरूले बाँ¨ो, छलछाम र कपटपूर्ण कुरा गर्छन् । उहाँहरू आफ्ना कुण्ठाहरूलाई लुकाएर बाबुराम भट्टरार्ईमाथि दोषारोपण गरिरहनु भएको छ । यो गलत छ ।

    ० के कारणले हो त त्यत्रा मानिसहरूले नयाँ शक्ति त्यागेको ?

    –वाम लोकतान्त्रिक समुन्नत समाजको अवधारणा मन नपर्दा र चुनावमा अपेक्षित परिणाम नआएकाले उहाँहरू अत्तालिनु भएको हो । आफ्नो अधैर्यता लुकाएर गरिएका र गरिने तर्कहरूको कुनै तुक छैन । जहाँसम्म बाबुराम भट्टराई नेतृत्व गर्न असफल हुनु भयो भन्ने छ, यो पनि सही कुरा होइन । कुनै एक व्यक्ति विशेषबाट पार्टी बन्छ भनेर ठान्नु भ्रम हो । पार्टी त समाजको माग र ऐतिहासिक आवश्यकतालाई बोध गरेर निर्माण गरिए मात्र स्थापित हुन्छ । अहिले हामी सम्बृद्धिको एजेन्डा बोकेर हिँडेका छौं, यो सम्बृद्धिको एजेन्डा हो कि होइन ? यदि हो भने पुराना पार्टीबाट यो आवश्यकता पूरा हुने सम्भावना म त देख्दै देख्दिन“ । साथीहरू जसरी अविचलित ढंगले लाग्नु पर्दथ्यो, त्यसो नगरेर विचलित हुनु भयो । यसमा मलाई दुःख लागेको छ । कम्युनिष्टहरूको पुरातन षड्यन्त्रात्मक कार्यशैली हामीले विगतमा भोग्दै आएको थियौं, त्यसैलाई पुनरावृत्त गराउँदै देवेन्द्रजीलगायत साथीहरू बाहिरिनु भएको हो ।

    ० नयाँ शक्ति निर्माणका लागि समय लाग्छ तर साथीहरूले त्यो बुझेनन् अधैर्य देखिए भन्नु भयो । अब सबै लाखापाखा भइसकेको स्थितिमा यो कसरी सम्भव होला र ?

    –ठूलो पार्टीमा आउने–जाने क्रम चलिरहन्छ । अहिले केही साथीहरू नयाँ शक्ति छोडेर जानु भएको छ, त्यो पनि आउने र जाने प्रक्रियाको निरन्तरता मात्रै हो । त्यसैले एउटा प्रक्रियाकै कारण पार्टी निर्माणमा पूर्णविराम नै लाग्यो भनेर निष्कर्ष निकाल्नु गलत हुन्छ । नयाँ शक्ति पार्टी महाधिवेशन आयोजक समितिले पार्टीलाई जीवन्त राख्न केही निर्णय गरेको छ । यसले नयाँ शक्ति सकियो भन्ने जुन भ्रम छरिएको छ, त्यसलाई व्यवहारिक रुपमा चिरेको छ ।

    ० नयाँ शक्ति बनाउने भनेर काँध थापेका नेताहरू नै धमाधम बाहिरिएपछि प्रश्न त उठ्यो नि होइन र ?

    –विचार र बुझाइ नै अलग भइसकेपछि एउटै बाटो हिँड्न सक्ने सम्भावना नहुँदो रहेछ । हिजो नयाँ शक्ति पार्टी निर्माणमा उहाँहरूले भूमिका खेल्नु भएको सत्य हो । त्यसका लागि उहाँहरू धन्यवादको पात्र हुनुहुन्छ । तर, उहाँहरू बाहिरिनु भयो, अब पार्टी चल्दैन भन्ने कुरा गलत हो । नयाँ शक्ति निर्माण गर्ने ठूलो पंक्ति अझै सुरक्षित छ । नयाँ साथीहरू आउने क्रम पनि उत्तिकै छ ।

    ० पार्टी बनाउने भनेर लागेका मुख्य व्यक्तिहरू नै लाखापाखा हुनु सुखद् कुरा होइन । खासमा भएको भित्री कुरा चाहिँ के हो ?

    –यसमा दुईवटा कुराले काम गरेको छ । पहिलो विचार हो भने दोस्रो साथीहरूको शीघ्र उपलब्धिको अपेक्षा । नयाँ शक्ति पार्टीले नयाँ विचार हुनुपर्छ, पुरानो विचार र वादबाट अब परिवर्तन सम्भव छैन भनेर हामीले वाम लोकतान्त्रिक समाजवादी आफूलाई भन्छौँ । यसबारे हामीबाट अलग भएर गएका साथीहरूमा विमति थियो । उहाँहरूले नयाँ शक्ति वाम हो कि लोकतान्त्रिक हो भन्ने प्रश्न उठाइरहनु भएको थियो । हामीले वाम लोकतान्त्रिक हो, दुवै हो भनेका थियौं । अर्को कुरा स्थानीय चुनाव हो । चुनावबाट अपेक्षित परिणाम ल्याउन सकिएन । यसबाट साथीहरू विचलित हुनुभयो र, बाटो परिवर्तन गर्नुभयो । भएको यत्ति हो ।

    ० तर, पार्टी छाडेकाहरूले छलफल र बहसमा स्वतन्त्रता हुनुपर्ने भए पनि अंकुश लगाइयो भन्ने आरोप लगाउनु भएको छ । तपाईंको पार्टीभित्र छलफल र बहस नै गर्न नपाइने हो ?

    –यो गलत कुरा हो । हाम्रो पार्टीमा राजनीतिक बहस गर्ने विषय लोकतान्त्रिक र व्यवस्थित छ । यति राम्रो राजनीतिक व्यवस्थापन पुराना कुनै पार्टीहरूले गर्न सकेका छैनन् । जहाँसम्म कारबाहीको कुरा छ, हामी कारबाही गर्ने पक्षमा छ“दै थिएनौं । तर, उहाँहरूले एकथोक भनेर अर्कोथोक गर्न थालेपछि प्रक्रिया पुर्याउनका लागि कारबाही गरेका हौं ।

    ० निकै संकटपूर्ण अवस्थामा पुग्नु भएको छ । अब के गर्नुहुन्छ ?

    –वैचारिक, राजनीतिक अस्पष्टता भो भन्ने धेरैको गुनासो छ, अब यसलाई थप प्रष्ट पार्दै अघि बढ्छौं । महाधिवेशनसम्म पुग्दा हामी वैचारिक राजनीतिक स्पष्टता गर्नेछौं । विचारको आधारमा संगठन निर्माण गर्छौं । संगठन निर्माणका लागि चाहिने टिम पनि अब निर्माण गर्छौं । त्यसपछि आफ्ना विचार र कार्यक्रमहरू लिएर जनताको बीचमा जान्छौं ।

    ० प्रचण्डले पटक–पटक जनयुद्धकालीन शक्तिहरूलाई घर फर्किन भनिरहनु भएको छ । अब पुरानै घर फर्किए भएन र ?

    –हामीले त पहिले पनि भनिसकेका हौं–माओवादी केन्द्र रातो स्टिकर टाँसेको असुरक्षित घर हो । अब यो घर सामान्य टालटुल गरेर बस्नलायक हुँदैन । त्यसैले रातो स्टिकर टाँसिएको घरमा फर्किएर ज्यान जोखिममा पार्न हामी चाहन्नौं । बरु तत्काललाई दुःखै भए पनि यही घरमा दुःखजिलो गरेर बस्छौं । केही समय प्लाष्टिकको घरमा बसेपछि जरुर भूकम्प प्रतिरोधी घर बनाउनेछौं । रातो स्टिकर टाँसेको घरमा जोखिम मोलेर फर्किंदैनौं, यसमा सबै स्पष्ट भए हुन्छ ।

    ० साझा विवेकशील पार्टीले पनि तपाईंहरूले जस्तै वैकल्पिक राजनीतिक शक्ति निर्माणको कुरा गर्दैछ । त्यतातिरको तालमेल र एकताको सम्भावना के छ ?

    –तत्काललाई यो सम्भावना मैले देखिरहेको छैन । साझा विवेकशील पार्टीको बारेमा मलाई धेरै टिप्पणी गर्नु त छैन । तर हामीले सम्बृृद्धि ल्याउने हो भने नयाँ शक्तिले अघि सारेको ‘५ स’ अनुसार अघि बढ्नुपर्छ । उहाँहरूले ‘५ स’ मध्ये एउटा ‘स’ मात्रै समाउनु भएको छ । त्यो एउटा ‘स’ भनेको सुशासन र सदाचार हो । यसले मात्रै नेपालमा सम्बृद्धि आउँदैन । सम्बृृद्धि आउनका लागि त हामीले भनेजस्तो ५ स को अवधारणा अनुसार अघि बढ्नुपर्छ । त्यसैले नियत राम्रो हुँदाहुँदै पनि उहाँहरूसँग अघि बढ्न सक्ने अवस्था तत्काललाई छैन । अहिलेलाई म उहाँहरूबारे यति मात्रै टिप्पणी गर्न चाहन्छु ।

    ० अब धमाधम निर्वाचनहरू आउँदैछन् । नयाँ शक्ति पार्टी भिड्छ कि के गर्छ त ?

    –हामी सबैखाले चुनावमा सहभागी हुन्छौं । त्यसकै लागि अब हाम्रा सबै संयन्त्रहरू परिचालन गर्दैछौं ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *