breaking news

    मतदाता शिक्षाः नयाँ संरचनाका कारण जटिल

    March 20th, 2017 | by Weekly Nepal
    मतदाता शिक्षाः नयाँ संरचनाका कारण जटिल
    समाचार
    0

    काठमाडौँ, ७ चैत । सङ्घीयतासहितको संविधानपछि पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा विगतको तुलनामा जटिल देखिएको छ ।

    स्थानीय सरकारको नयाँ संरचना, समावेशी पद र सङ्ख्यासहितको मतपत्रको ढाँचा र यसबारे जनतामा पर्याप्त जानकारी नहुँदा मतदाता शिक्षामा चुनौती देखिएको हो । झन्डै दुई दशकपछि आगामी वैशाख ३१ मा हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारका रुपमा महिला सहभागिता ४० प्रतिशत हुने भएकाले आयोगले महिला केन्द्रित मतदाता शिक्षा कार्यक्रम अघि सार्ने भएको छ ।

    निर्वाचन आयुक्त इला शर्मा भन्नुहुन्छ, “संविधान आएपछि स्थानीय तहको संरचनाबारे बुझ्न हामीहरुलाई पनि समय लागेको थियो भने आम जनतालाई बुझाउन सहज नभएकाले महिला उम्मेदवारलाई लक्ष्य गरेर विशेष मतदाता शिक्षा कार्यक्रम ल्याउँदैछौँ ।”

    निर्वाचनमा समावेशिता तथा निर्वाचन भाग लिने दल र निर्वाचन चिह्न एवम् मतदान प्रक्रियाबारे मतदातालाई शिक्षित तुल्याउन आयोग लागेको छ । स्थानीय तहका गाउँपालिका र नगरपालिकामा अध्यक्ष वा प्रमुख एक, उपाध्यक्ष एवम् उपप्रमुख एक, वडा अध्यक्ष एक, वडा सदस्य दुई तथा दलित महिला एक महिला दुई अनिवार्य हुनेछन् ।

    आयोगले तालिम प्राप्त मतदाता शिक्षा कार्यकर्तालाई घर घरमा पुग्ने गरी खटाउने र एक मतदान केन्द्र एक मतदाता शिक्षा कार्यकर्ताका लागि २१ हजार कर्मचारी परिचालन गर्नेछ । साथै आमसञ्चारमाध्यम एवम् सामाजिक सञ्जालबाट पनि निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देश प्रकाशन तथा प्रसारण गरिने शर्माले बताउनुभयो । सामाजिक सञ्जालमा दोहोरो सञ्चार पनि हुने भएकाले यसको प्रयोगलाई उत्तिकै प्राथमिकता दिइने बताउँदै शर्माले टेलिफोनमा डाउनलोड हुने सफ्टवेयर निर्माण भइरहेको जानकारी दिनुभयो ।

    मतदाता शिक्षाका लागि आवश्यक पर्ने सबै प्रकारका सामग्रीको उत्पादन गर्ने कार्य सुरू गरेको आयोगले नेपालमा बोलिने राष्ट्र भाषामध्ये १७ राष्ट्र भाषामा समेत मतदाता शिक्षा सामग्री तयारीका लागि प्रक्रिया अगाडि बढाएको छ । मतदाता शिक्षा कार्यकर्तालाई प्रशिक्षित गर्नका लागि केन्द्रमा ३० जनालाई मुख्य प्रशिक्षक प्रशिक्षण तालिम दिइसकिएको र प्रशिक्षित ३० जनाले क्षेत्रीयस्तरमा तीन सय ५० जनालाई प्रशिक्षण दिने आयोगको तयारी छ । पछिल्ला प्रशिक्षकले जिल्ला जिल्लामा गएर २१ हजार मतदाता शिक्षा कार्यकर्तालाई तालिम दिएपछि उनीहरूलाई यही चैत २८ देखि एक महिनासम्म घर घरमा खटाइने भएको छ ।

    नेपाल मतदाता अधिकार मञ्चका अध्यक्ष भक्तबहादुर विश्वकर्मा मतदातालाई सूसुचित गर्ने क्रममा आफूहरुले मतपत्र र यसको सही प्रयोगबारे तोकिएको मत केन्द्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा अपाङ्गता मतदातामैत्री सामग्री र केन्द्र बनाउन लाग्ने बताउनुहुन्छ ।

    सात सय ४४ स्थानीय तहका लागि ३६ हजार छ सय ३९ पदमा निर्वाचन गराउने तयारी आयोगको छ । निर्वाचनबाट चार महानगरपालिका, १३ उपमहानगरपालिका र २४६ नगरपालिकाका लागि २६३ जना प्रमुख र उपप्रमुख गरी सात सय २६ जना निर्वाचित हुने छन् । त्यसमा छ हजार छ सय ८० दलित महिलाको प्रतिनिधित्व हुने छ भने अन्य दलित तथा अल्पसङ्ख्यक गरी एक हजार ७५१ प्रतिनिधिसमेत निर्वाचित हुने छन् ।

    प्रकाश सिलवाल

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *