breaking news

    भूमिसुधारका सरुवा कागजमा सीमित, सचिवको अभियानलाई भ्रष्ट कर्मचारीले लत्याए

    March 20th, 2017 | by Weekly Nepal
    भूमिसुधारका सरुवा कागजमा सीमित, सचिवको अभियानलाई भ्रष्ट कर्मचारीले लत्याए
    फिचर
    0

    काठमाडौं । भूमिसुधार तथा ब्यवस्था मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले काठमाडौं उपत्यकामा लगातार तीन बर्ष कार्यरत कर्मचारीलाई उपत्यका बाहिरका जिल्लामा सरुवा गर्न दिएको निर्देशन कागजमा मात्र सीमित भएको छ । सुशासन कायम गराउनका लागि उपत्यकामा लामो अवधि काम गरेका कर्मचारीलाई सरुवा गर्ने सचिव देवकोटाको योजना अनुसार नापी कार्यालयका ५१ जना कर्मचारीको बाहिरी जिल्लामा सरुवा भएको छ । सरुवा भएकाले रमाना पनि बुझिसकेका छन् । तर सरुवा भएका कर्मचारी विगतमा जुन कार्यालयमा कार्यरत थिए, अहिले पनि त्यहीँ काम गर्दैआएका छन् ।

    सरुवा भएको कार्यालयमा महिनामा एक दिनमात्र जाने र हाजिर गर्दै साविककै कार्यालयमा काम गर्दैआएका छन् । उपत्यकाका डिल्लीबजार, चावहिल, कलंकी, भक्तपुर र ललितपुर नापी कार्यालयबाट सरुवा भएका कर्मचारीहरू अहिले पनि तिनै कार्यालयमा नापनक्सा गर्ने काम गर्दैआएका छन् । उनीहरूले कार्यालयमा सेवाग्राहीका नापनक्साका काम सबै गर्ने तर सही दरबन्दी भएको अमिन वा सर्भेक्षकबाट गराउँदैआएका छन् । सरुवा भएका कर्मचारीहरू महिनामा एक दिन खटाएको कार्यालयमा जाने, हाजिर गर्ने र पुन: साविककै कार्यालयमा विगतमा जस्तै कामकाज गरी घुस असुली गरिरहेका छ । दुर्गममा सरुवा भएकाले नम्बर बढ्ने, स्थानीय भत्ता पाउने र साविककै कार्यालयमा काम गर्न पाउने भएकाले सचिव देवकोटाको योजनाले भ्रष्ट कर्मचारीलाई फाइदा पुर्‍याएको छ । उनको निर्देशनअनुसार सरुवा भएका कर्मचारी दर्जाले सानो भए पनि सरकारी जग्गा गैरकानुनी रुपमा दर्ता गर्नेदेखि सेवाग्राहीलाई सास्ती दिएर घुस असुली गरी दसौ करोड रुपैयाँ आर्जन गर्नेहरू नै छन् ।

    डीजी र कार्यालय प्रमुख तैँचुप मैचुप
    १२ बर्षदेखि उपत्यकाका विभिन्न नापी कार्यालयमा कार्यरत सर्भेक्षकहरू २०७३ असोज १४ गते भएको सरुवामा नापी विभागका महानिर्देशक कृष्णराज बीसीलाई घुस दिएर थमौती भएका थिए । ती थमौती भएका सर्भेक्षकहरूमध्ये केही १५ बर्षदेखि उपत्यकाका नापी कार्यालयमा कार्यरत रही सरकारी सार्वजनिक जग्गा गैरकानुनी ब्यक्तिका नाममा दर्ता गर्नेहरू पनि थिए । लामो समय उपत्यकामा कार्यरत कर्मचारीकै कारण सरकारी जग्गा गैरकानूनी रुपमा दर्ता गर्ने क्रम बढेको गुनासोपछि सचिव देवकोटाले यो योजना ल्याएर सुधार गर्न खोजेका थिए । तर उनको सुधार योजनालाई नापीका डनका रुपमा चिनिएका कर्मचारीले असफल पारिदिएका छन् । २०७३ असोज १४ को सरुवामा महानिर्देशक बीसीले काठमाडौं उपत्यकाका कार्यालयमा १५ बर्षदेखि कार्यरत सर्भेक्षकहरूलाई थमौती गर्नका लागि सम्बन्धित कार्यालय प्रमुखमार्फत् घुस लिएका थिए । आफैंले घुस असुली गर्दै महानिर्देशक बीसीलाई बुझाएका कारण खटाएको कार्यालयमा जा भन्ने नैतिक साहस सम्बन्धित कार्यालय प्रमुखसँग नभएका कारण सचिव देवकोटाको निर्देशन अनुसार भएको सरुवा कागजमा मात्र सीमित छ । महानिर्देशक बीसीले सरुवा भएका अमिन सर्भेक्षकहरू साविककै कार्यालयमा काम गरेको थाहा पाएर पनि घुस फिर्ता माग्ने डरले खटाएको कार्यालयमा पठाउन सक्ने अवस्था छैन । एक बर्षसम्म नचलाउने सर्तमा घुस लिएर ३ महिनामै सरुवा गरेपछि महानिर्देशक बीसीसँग रुष्ट छन् । रमाना बुझिसकेका कर्मचारीहरू साविककै कार्यालयमा काम गरेको जानकारी भएर पनि महानिर्देशक बीसीले थाहा नपाएको जस्तो गरेको खबर छ । सरुवा भएका सबै अहिले पनि तत्तत् कार्यालयमा काम गरेको सचिव देवकोटाले अनुगमन गरे फेलापर्ने नापी कार्यालयका एक अधिकारी बताउँछन् ।

    उपत्यकामा १२ बर्षदेखि कार्यरत तर २०७३ असोजको सरुवामा थमौती भई सचिवको निर्देशनमा सरुवा भएका भक्तपुर नापी कार्यालयका सर्भेक्षकहरू उमाकान्त यादव, धर्म ब्यन्जनकार, देवेन्द्र कोइराला, किरण मल्लहरू अहिले पनि तत्तत् कार्यालयमा कार्यरत छन् । ललितपुर नापी कार्यालयमा २० बर्षदेखि कार्यरत सर्वेक्षक बुद्धि थापा, सर्वजीत साह, राजेश केसी, दिलीप गिरी, डिल्ली लावती, सुनिल प्रसाद राजभण्डारी, अशोक साह, निरन्जन थापा लगायत हाजिर अन्यत्र गर्ने तर काम ललितपुरमै गर्दैआएका छन् ।

    डिल्लीबजार नापीका हरिबहादुर रायमाझी, घमन कार्की, चावहिल नापी कार्यालयका इश्वर अर्याल, कोमलराज श्रेष्ठ र टीका बीसी पनि हाजिर अन्यत्र गर्ने तर काम काठमाडौंमा साविककै कार्यालयमा गर्दैआएका छन् । सर्भेक्षक टीका बीसी महानिर्देशक कृष्णराज बीसीका भाइ हुन् । रायमाझी, कार्की, अर्याल, बीसीहरू जागिरे जीवनमा उपत्यका बाहिर कहिल्यै जानु नपर्ने भाग्यमानी कर्मचारीमा पर्दछन् ।

    लामो समय काम गरेका कर्मचारीलाई सरुवा गरी उपत्यकाका कार्यालयमा सुधार ल्याउने सचिव देवकोटाको योजनालाई असफल पार्ने काम महानिर्देशक बीसीले गरेका छन् । उपत्यकाको नापी कार्यालयका एक अधिकारीले भने, सरुवा गरिएका कर्मचारीलाई खटाएको कार्यालयमा नपठाएर महानिर्देशक बीसीले सचिवको आँखामा छारो हालेको आरोप लगाउने गरेका छन् ।

    अवकाश पाएका कर्मचारीलाई जिम्मेवारी
    भूमिसुधार सचिव देवकोटाले २०७३ पुस २४ गते दिएको निर्देशनको ११ नम्बर बुँदामा उल्लेख छ–‘सेवा निवृत्त कर्मचारीलाई कार्यालयमा कामकाज लगाएको बुझिन आएकाले त्यस्ता ब्यक्तिलाई तुरुन्त हटाउने र लेखापढी ब्यवसायीलाई कार्यालय परिसरभित्र लेखापढी गर्न नदिने ।’ तर यो बुँदाको खुलेआम उल्लंघन गर्दै सेवानिवृत्त कर्मचारीलाई कुर्सी टेबुलकै ब्यवस्था सहित कामकाजमा लगाएर अख्तियारको दुरुपयोग गरिएको छ । सेवानिवृत्त कर्मचारीलाई कामकाज लगाउने क्रममा ब्यापक अनियमितता भएको गुनासोपछि सचिव देवकोटाले यस्तो निर्णय गरेका थिए । तर, अहिले पनि विभिन्न कार्यालयमा सेवानिवृत्त कर्मचारीलाई टेबुल कुुर्सीको ब्यवस्था गरी कामकाजमा लगाउने गरिएको उदाहरण ललितपुर नापी कार्यालयमा देख्न सकिन्छ । एक बर्षअघि नापी कार्यालय ललितपुरबाट अवकाश पाएका सर्भेक्षक गंगा कर्णलाई कुर्सी टेबुल सहित कामकाज लगाइएको छ । नापी कार्यालय ललितपुरका प्रमुख बुद्धिमान जैशी र नापी विभागका महानिर्देशक कृष्णराज बीसीलाई घुस बुझाएर अवकाश पाएका सर्भेक्षक कर्ण ललितपुर नापी कार्यालयमा सेवाग्राहीका नापनक्साका काम गर्दैआएका छन् । दरबन्दीका कर्मचारीको भन्दा अवकाश पाएका कर्णको बोलावाला नापी कार्यालय ललितपुरमा चल्ने गरेको छ । कर्ण एक उदाहरण हुन्, अहिले पनि धेरै नापी कार्यालयमा अवकाश पाएका कर्मचारीलाई काममा लगाउने भ्रष्टाचार बढेको समाचार छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *