breaking news

    बहस: पुस २७ राष्ट्र निर्माता दिवसका रुपमा किन नमान्ने ?

    January 5th, 2017 | by Weekly Nepal
    बहस: पुस २७ राष्ट्र निर्माता दिवसका रुपमा किन नमान्ने ?
    अन्तरबार्ता
    1

    (वि.सं. १८०० साल भन्दा अगाडि विश्व मानचित्रमा अहिलेको नेपाल थिएन । त्यतिबेला अहिलेको नेपाल विभिन्न स–साना राज्य रजौटाहरूमा विभक्त थियो । टुक्रा–टुक्रामा विभाजित विभिन्न बाइसे/चौबीसे राज्यहरूमा विभिन्न राजाहरूले शासन गर्ने गर्थे । यही बाइसे/चौबीसे राज्यमा बााडिएको एकीकरण अगाडिको नेपाललाई तत्कालीन गोरखाली राजा पृथ्वीनारायण शाहले एकताबद्ध गर्ने काम गरेका थिए । उनकै एकीकरण अभियानका कारण अहिलेको आधुनिक नेपाल अस्तित्वमा आउन सकेको हो । त्यसैले धेरैले पृथ्वीनारायण शाहको यही योगदानको कदर गर्दै उनलाई राष्ट्र निर्माता र राष्ट्रपिताका रुपमा सम्मान गर्ने गरेका छन् । तर, शाहका प्रशंसकसंगै आलोचकहरू पनि उत्तिकै देखिने गरेका छन् । आलोचकहरूले शाहलाई सामन्तका प्रतीक र अवशेषका रुपमा आलोचना गर्ने गरेका छन् । शाहमाथि भौगोलिक एकीकरण गरेपनि भावनात्मक एकता गर्न कहिल्यै नसकेको भन्दै उनलाई शोषण, दमन, उत्पीडन र भेदभावको बिउ रोपेको आरोप लगाउने गरिएको छ । यही मेसोमा हामीले पृथ्वीनारायण शाहलाई अहिलेको पुस्ताले कसरी बुझ्ने भनेर विभिन्न व्यक्तिहरूसंग प्रतिक्रिया लिने जमर्को गरेका थियौं । प्रस्तुत छ, उनीहरूको भनाइ: सम्पादक)

    ० इतिहास नबुझ्नेले विरोध गरिरहेछन् – मोदनाथ प्रश्रित, नेता, एमाले

    – नेपाल मानदेव र लिच्छवीको पालामा एकीकृत भएको थियो । तर, पछि विभिन्न कारणले टुक्रा–टुक्रा भएर एकीकृत अवस्थामा रहेको देश छिन्नभिन्न भयो, विभिन्न राज्य रजौटाहरूमा विभाजन हुन पुग्यो । कारण, उतिबेला नेपालले कुनै प्रगति हासिल गर्न सकेन ।

    पछि गोरखाका राजा पृथ्वीनारायण शाहले विभिन्न राज्य रजौटामा खण्डित भएर रहेको देशलाई एकीकरण गर्ने अभियानको थालनी गरे । उनकै प्रयासस्वरुप नेपाल एकीकरणको अभियान सुरु भयो र नेपाल अहिलेको स्वरुपमा आउन सफल भयो । उनको यो योगदानलाई सबैले कदर गर्नुपर्छ ।

    यति ठूलो योगदान गर्ने मान्छेलाई सामन्ती भन्ने गरिएको छ । पृथ्वीनारायण शाहलाई यसरी दुत्कार्न जरुरी छैन । उनले एकीकरण गरेर के स्वार्थ पूरा गरेर हामी उनलाई सामन्ती भनेर दुत्कारिरहेका छौं ? एउटा राजाले त्यतिबेलाको समयमा आफ्नो शक्ति लगाएर देशभक्तिको भावनाबाट एकीकरण गर्नु जायज कुरा हो । त्यसैले हामीले पृथ्वीनारायण शाहको सम्मान गर्नुपर्छ । पृथ्वीनारायण शाहलाई विभिन्न जोडकोणबाट विश्लेषण गरेर सामन्ती भन्ने गरिएको छ । यो अज्ञानताको उपज बाहेक केही पनि होइन । इतिहासको अर्थ नबुझ्नेहरूले लगाएको आरोप मात्र हो ।

    पृथ्वीनारायण शाहमाथि भूगोलको एकीकरण गरे तर, भावनात्मक एकीकरण गर्न चुके भन्ने आरोप छ । म के भन्छु भने एउटै मान्छेले सबै कुरा गर्न सक्दैनन् । एउटा व्यक्तिले एकैपटकमा सबै काम गर्न सक्दैनन्, त्यसैले यो काम अब हाम्रो हो । हामीले विकास निर्माणका लागि एकीकरण गर्‍यौं । आज आएर मान्छेहरू फेरि मधेस पहाडको कुरा गर्दैछन् । क्रमश: नेपाल विखण्डित हुने हो कि भन्ने खतरा देखापरेको छ । यस्तो अवस्थामा उनलाई एकताका प्रतिकका रुपमा लिने हो । उनले बनाए, गए । उनको विरोध गर्नुको कुनै अर्थ छैन ।

    पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताका प्रतीकका रुपमा सम्मान गरेर उनले बनाइदिएको एकीकृत नेपाललाई नटुक्रने गरी राज्य सञ्चालन गर्नु नै उनको सम्मान गर्नु हो । राजनीतिक दलहरूले आफ्नो स्वार्थ अनुसार काम गरिरहेका छन् । पृथ्वीनारायण शाहले सबै नेपालीको हित अनुसार काम गरेका थिए । अद्यपि, उनका ठूलो राज्यको राजा बन्ने महत्वकांक्षा थियो । जनताका लागि एक ठाउामा बस्ने घर बनाइदिए, त्यसका लागि हामीले उनको सम्मान गर्नुपर्छ । हामीले पृथ्वीनारायण शाहलाई एकताका प्रतीकका रुपमा सम्मान गर्नुपर्छ भनेर अभियान चलाइरहेका छौं । पृथ्वी जयन्तीका दिन जुलुससहित उनलाई सम्मान गर्ने कार्यक्रम तय गरेका छौं ।
    ० एकीकरण त्यतिबेलाको युगमा प्रगतिशील थियो – मणि थापा, नेता, माओवादी केन्द्र

    – विभिन्न बाइसे/चौबीसे राज्यहरूमा टुक्रिएको नेपाललाई एकीकरण गरेका पृथ्वीनारायण शाहलाई कसरी लिने भन्ने बारे विचार–विमर्श हँुदै आइरहेको छ । मलाई पृथ्वीनारायण शाहको विश्लेषण दुई किसिमले गर्नुपर्छ जस्तो लाग्छ ।

    जुन कालखण्डमा पृथ्वीनारायण शाह जन्मे, त्यो सामन्तकालको मध्यमकाल थियो । त्यतिबेला बेलायती साम्रज्यवाद संसारभरको ठूलो साम्राज्यवादी देश थियो । उसले विश्वमा आफ्नो साम्राज्य फैलाइरहेको थियो । त्यस्तो बेला गोरखाली राजा पृथ्वीनारायण शाहले विभिन्न राज्य रजौटामा विभक्त हालको नेपालाई एक ढिक्का बनाउन एकीकरणको अभियान थालेका थिए । मेरो बिचारमा त्यतिबेलाको समयमा उनले चालेको त्यो कदम प्रगतिशील थियो । उनको त्यतिबेलाको कदम प्रगतिशील थियो भन्दै उनको यो कदको सम्मान गर्न हामी हिच्किचाउनु हँुदैन ।

    तर, उनका कमजोरी पाटाहरू पनि छन् । पृथ्वीनारायण शाहले आफ्नो शासन सञ्चालनमा उत्तिकै कमजोरीहरू पनि गरेका थिए । उनले यहाँका आदिवासी/जनजाति र उनीहरूको संस्कृतिलाई ध्वस्त पारेका थिए । आदिवासी जनजातिहरूको संस्कृतिलाई आन्तरिक शुद्धीकरण गर्नुपर्ने भएपनि उनले त्यसो नगरेर गल्ती गरेका थिए । तर, साम्राज्यवाद विरुद्ध उनले तत्कालीन सयमा जुन कदम चालेका थिए, त्यो भने प्रगतिशील थियो । मलाई पृथ्वीनारायण शाहको योगदानलाई विशेष रुपमा हेर्नुपर्छ जस्तो लाग्दैन । राज्यले इतिहासका कालखण्डमा जे जस्ता प्रगतिशील कदम चालिएका छन्, पृथ्वीनारायणलाई पनि वितगका अन्य प्रगतिशील कदमलाई हेरेजस्तै गरी हेर्नुपर्छ ।

    ० पृथ्वीनारायण राष्ट्रिय एकताका प्रतीक हुन् – वृजेश कुमार गुप्ता, नेता, तमलोपा

    – वि.संं १८०० भन्दा अघि नेपाल विभिन्न बाइसे/चौबीसे राज्यहरूमा विभक्त भएर बसेको थियो । एकातिर अहिलेको नेपाल विभिन्न राज्यमा छरिएर रहेको थियो भने अर्कातिर वृटिस साम्राज्य भारतसम्म आफ्नो साम्राज्य फैलाउादै आइपुगेको थियो । यस्तो बेला पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गरेर जसरी स्वतन्त्र देशको अस्तित्व दिलाए, यो वास्तवमा सह्रानीय कुरा हो । यसलाई हामी सबैले सकारात्मक रुपमा लिनुपर्छ । यसअर्थमा पृथ्वीनारायण शाह राष्ट्रिय एकताका प्रतीक हुनुहुन्छ ।

    तर, उहाँले छरिएर रहेका राज्यहरू जोडेर एकता गर्दा गर्दै केही कमजोरी गर्नुभएको थियो । आदिवासी जनजातिहरूमाथि उहाँले अन्याय गर्नु भएको इतिहास पढ्न पाइन्छ । त्यसैले केही समुदायले सामन्तवादका प्रवर्तकका रुपमा समेत उहाँलाई मान्छन् । इतिहास हेर्दा उहाँलाई दुई कोणबाटै विश्लेषण गर्नु न्यायोचित हुन्छ जस्तो मलाई लाग्छ ।

    हरेक इतिहासको आफ्नै महत्व हुन्छ । इतिहासका विभिन्न कालखण्डमा देश निर्माणका निम्ति योगदान पुर्‍याउनु हुने व्यक्तित्वहरूको जस्तो पृथ्वीनारायण शाहको पनि आफ्नै महत्त्व छ । त्यसैले इतिहासका अन्य महत्वलाई जस्तै गरी उहाँलाई पनि हेरिनुपर्छ । उहाँका सकारात्मक कुरालाई ग्रहण गर्दै देश विकासमा हामी सबै लाग्नुपर्छ ।

    ० पृथ्वीनारायणको नायकी भूमिकालाई सम्मान गरौं – प्रदीप ज्ञवाली , नेता, नेकपा एमाले

    – पृथ्वीनारायण शाहबारे मेरो पार्टी नेकपा एमाले र मेरो एउटै धारणा छ । पृथ्वीनारायण शाहलाई हामीले ऐतिहासिक र सकारात्मक पात्रका रुपमा हेर्ने गरेका छौं । संस्थाका हिसाबले उनी सामन्ती राजतन्त्रका प्रतिनिधि पात्र थिए । तर, इतिहासको त्यो कालखण्डमा पृथ्वीनारायण शाहले विभिन्न टुक्रामा विभक्त राज्यहरू एकीकरणका निम्ति जुन अगुवाई गरे, त्यो साँच्चै सह्रानीय छ ।

    नेपाल एकीकरण नभएको भए यसको अस्तित्व रहिरहन सम्भव थिएन । पृथ्वीनारायण कै एकीकरणका कारण आज नेपाल छ र हामी नेपाली भएर बस्न पाइरहेका छौं । यदि आज पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरिदिएको भए हामी कहाँ र कुन हालतमा हुन्थ्यौं, अनुमान गर्न सकिन्न ।

    कतिपयले पृथ्वीनारायण शाह सामन्ती थिए भन्ने गर्छन् । राजा हुनुको सामन्ती चरित्र या ऐतिहासिक एकीकरणका बेला भएका साना तिना घटनाले रत्तिभर पनि उनको अवमूल्यन गर्दैन । त्यसैले नेपालको इतिहासको ऐतिहासिक र सकारात्मक पात्रको रुपमा उनको योगदानको मूल्यांकन गर्नुपर्छ जस्तो मलाई लाग्छ । यसो भन्दैमा राजतन्त्रलाई समर्थन गर्ने भन्ने भने होइन ।

    इतिहासमा राज्यहरूको निर्माण यसरी नै भएको छ । सामान्यतया राजा तथा सम्राटहरूले एकीकरण गरेर बलियो राष्ट्र निर्माण गरेका छन् । र, ती सबै कुराहरूलाई तत्कालीन ऐतिहासिक सन्दर्भमा सकारात्मक मानिएको छ । हामीले पनि पृथ्वीनारायण शाहले गरेका त्यतिबेलाको नेपाल एकीरणलाई यसरी नै हेर्नुपर्छ । पुस २७ गते उनको जन्मदिनका दिन एकता दिवस मनाउने या नमनाउने, त्यस दिन बिदा दिने या नदिने भन्ने विषय आफ्नो ठाउँमा छ । तर, एकता दिवसको दिन छुट्टी दिने या नदिने भन्ने विषयले मात्र उनको सम्मान या अवमूल्यन हुन्छ जस्तो लाग्दैन । मूल कुरा नेपालको एकीकरणलाई ऐतिहासिक र सकारात्मक कदमका रुपमा लिएर त्यसमा उनले खेलेको नायकीको भूमिकालाई सम्मान गर्ने कुरा महत्वपूर्ण हो ।

    ० पृथ्वीनारायणको अवमूल्यन गर्ने नेपाली होइनन् – दिलनाथ गिरी, नेता, राप्रपा

    – हामी सम्पूर्ण नेपाली अहिले जसरी नेपाली भनेर गर्व गर्न पाइरहेका छौं, त्यसको श्रेय राष्ट्रपिता पृथ्बीनारायण शाहलाई जान्छ । जब नेपाल भन्ने नाम उच्चारण गरिन्छ, त्यहाँ चाहेर या नचाहेर पनि पृथ्वीनारायण शाहको उपस्थिति हुन्छ । यति ठूलो महान एकीकरणका राष्ट्रपिता जसलाई सम्झादा पनि आत्मा गौरवान्वित हुन्छ, यस्तो अतुलनीय व्यक्ति हामीले नेपाली इतिहासमा सायदै पाएको छौं । त्यसैले नेपालीको पहिचान दिने पृथ्वीनारायण शाहको योगदानको सबैले प्रशंसा गर्नुपर्छ । आधुनिक नेपाल निर्माणका निम्ति पृथ्वीनारायणले अथक मिहेनत र परिश्रम गर्नु भएकाले उहााको उच्च सम्मान गर्न कोही पनि हिच्कचाउन जरुरी छैन ।

    अथक मिहेनत र परिश्रमका बाबजुद हामीलाई एउटा स्वतन्त्र नेपाल राष्ट्र दिएर गएका पृथ्वीनारायण शाहलाई अपमान गर्ने एउटा जमात छ, यो भन्दा दुर्भाग्य र विडम्बना अरु केही पनि हुन सक्दैन । आज जसले पृथ्वीनारायणमाथि अपमान गर्छ, त्यसले जनतामाथि नै अपमान गरेको ठहरिनेछ । पृथ्वीनारायण शाहमाथि अपमान जसले गर्छ, त्यो सच्चा नेपाली नै होइन । अर्को शब्दमा भन्दा पृथ्वीनारायण शाह जसले नेपालीको पहिचान दियो, उसैलाई दुत्कार्नु र अपमान गर्नु आफ्नै आमा नचिन्नु हो, आफ्नै आमालाई दुत्कार्नु हो ।

    राष्ट्रको एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहले क्रूरता देखाएको भन्दै कतिपयले आलोचना गर्ने गरेका छन् । होला बाइसे/चौबीसे राज्य एकीकरण गर्ने क्रममा केही मानिस अन्यायमा परे होलान् । युद्ध क्रूर अनि निर्मम हुने भएकाले कमजोरी भए होलान् । संसारका जुनसुकै युद्ध निर्मम र क्रूर नै हुन्छन् । तर, युद्धका बेला भएका यस्ता अभ्यासलाई जोडेर उहााको अवमूल्यन गर्नु अज्ञानता सिवाय केही पनि होइन । एकीकरणका बेला भएका सामान्य दमनका घटनालाई उहााको स्वार्थभन्दा पनि राष्ट्रको स्वार्थका दृष्टिले हेरिनुपर्छ । राष्ट्र हित, राष्ट्रिय गौरव र राष्ट्रिय सम्मानका रुपमा पृथ्वीनारायण शाहले गरेको एकीकरण अभियानलाई फराकिलो सोचका साथ हेरिनुपर्छ ।

    पृथ्वीनारायण शाहले एकीकरण गरेपछि नेपालमा आएर षड्यन्त्रको तानाबाना बुनेका क्रिश्चियनहरूलाई देश निकाला गरेका थिए । त्यसैको प्रतिशोधस्वरुप आज धर्मनिरपेक्षताका अनुयायीहरू उनीमाथि विषबमन गरिरहेका छन् । नेपाली जनतालाई विदेशीको दलालका रुपमा स्थापित गर्न चाहनेहरू यस्तो अभियानको मतियार बनिरहेका छन् । गरीब देशका रुपमा चिनाउन चाहने नेपाल विरोधीले उनी विरोधी भावना विकास गरेर वातावरण दुषित बनाइरहेका छन् । यसमा आमनेपाली थप सचेत हुन जरुरी छ । पृथ्वीनारायण शाहले समावेशी, समानुपातिक सिद्धान्तका आधारमा उतिबेलै देखि राज्य सञ्चालनको अभ्यास गर्दै आइरहेका थिए । उनले देशको एकीकरण नै सबै जात–जातिलाई मिलाएर समावेशी अवधारणा अनुरुप गरेका थिए । सबै जात–जाति, तिनको धर्म र संस्कृतिको रक्षा उनले गरेका थिए । वैदेशिक सम्बन्ध पनि उनले सुविचारित ढंगले गरेका थिए । जसले नेपालाई संवृद्ध र शान्त बनाएको थियो ।

    बरु हामीले अहिले उनको दिव्य उपदेश पद्चाप पछ्याउन नसक्दा दु:ख पाइरहेका छौं । यी सबै कुरा मनन गर्दा पृथ्वीनारायण शाह महान हुन् । नेपाली जनताका निम्ति उनी भगवान हुन् । विश्वका अगाडि जसरी नेपाली भनेर गर्व गरेका छौं, यो उनै पृथ्वीनारायण शाहको देन हो । त्यसैले पृथ्वीनारायण शाहलाई राज्यले अपमान गर्नेभन्दा पनि सम्मान गर्नुपर्छ । उनलाई एकताका प्रतीकका रुपमा मानेर उनले दिएका दिव्य उपदेश अनुरुप अघि बढिएमा मात्रै देश संवृद्धितर्फ अघि बढ्नेछ । अन्यथा नेपाल संधैं पछि परिरहनेछ ।

    ० पृथ्वीनारायण राष्ट्रिय एकताका प्रतीक हुन् – चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा

    – पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माणकर्ता हुन् । उनले नै विभिन्न राज्य/रजौटामा विभक्त रहेको नेपाललाई एकताबद्ध गर्ने काम गरेका थिए । यदि पृथ्वीनारायण शाहले उतिबेला नेपाल एकीकरण नगरेको भए वृटिसहरूले भारतमा सामेल गराएर नेपाल निमिट्यान्न पार्ने थिए । त्यसैले पृथ्वीनारायण शाह राष्ट्रिय एकताका प्रतीक हुन् । हामी सबैले उनको सम्मान गर्नुपर्छ ।

    पृथ्वीनारायण शाह सामन्ती थिए होलान्, उनका छोरा/नातिले नेपाली जनतालाई सुख, शान्ति अनि संवृद्धि दिएनन् होला । तर, अहिलेको नेपाल बन्नुमा पृथ्वीनारायण शाहको ठूलो योगदान रहेको छ । यसको कसैले पनि अवमूल्यन गर्न मिल्दैन । पृथ्वीनारायण शाहले आधुनिक नेपाल बनाउन ठूलो योगदान दिएपनि अहिले उनको अवमूल्यन भइरहेको छ । विशेष गरेर पश्चिमाहरूको योजनामा पृथ्वीनारायण शाहलाई नामेट गर्ने खेल भइरहेको छ जस्तो मलाई लाग्छ । हामी नेपाली यसको पछाडि नलागी बेलैमा सचेत हुन जरुरी छ ।

    राज्यले विगतमा पृथ्वीनारायण शाहलाई सम्मान गर्दै आइरहेको भएपनि अहिले उनलाई दिइँदै आएको सम्मान खोसिएको छ । प्रचण्ड सरकारले जिसस क्राइस्टको जन्मदिनमा छुट्टी दिए पनि आफ्नो देश निर्माण गर्ने पृथ्वीनारायण शाह जस्तो व्यक्तित्वको सम्मान गर्ने जाँगर देखाएको छैन । देशलाई क्षेत्रीय, जातीय, भाषिक आधारमा टुक्राटुक्रा पारेर विभाजन गर्ने षडयन्त्रमा मुलुक फसेको छ । विभिन्न छरिएर रहेका राज्यलाई एकताबद्ध गर्ने पृथ्वीनारायण शाहको सम्मान गरेमा मात्र साँचो अर्थमा नेपालको रक्षा हुन सक्छ ।

    ० साना राज्य एकीकृत गर्ने काम प्रशंसनीय – आर.के मैनाली, नेता, नेकपा एमाले

    – पृथ्वीनारायण शाहको योगदानलाई म दुई किसिमले विश्लेषण गर्छु । पृथ्वीनारायण शाहले एकीकरण गर्नु अघि टुक्रा–टुक्रामा अहिलेको नेपाल विभाजित थियो । बृटिसहरूले इन्डियामा कब्जा जमाउँदै विभिन्न बाइसे चौबीसे राज्यहरूमा विभाजित नेपाललाई आँखा लगाएका थिए । बृहत् वृटिस साम्राज्य कायम गर्ने अभियान वृटिसहरूले चलाइरहेका बेला साना राज्य एकीकरण गर्ने अभियानमा पृथ्वीनारायण शाह लागेका थिए । सायद पृथ्वीनारायण शाहमा त्यतिबेला त्यस्तो सोच नआएको भए मलाई लाग्छ अहिलेको नेपाल जन्मिंदैनथ्यो ।

    त्यतिखेर कुनै दलहरूको अस्तित्व थिएन । यसर्थ उतिबेला एकीकरण कि त साम्राज्यवादी र सामन्तवादी शक्तिले गर्थे । त्यसकारण उनको आन्तरिक शासन प्रणाली हँुदा–हुँदै पनि राज्यविस्तार गर्ने सोच अगाडि सारेकाले त्यसलाई राष्ट्रिय एकीकरण अभियानका रुपमा हामीले बुझ्नुपर्छ ।

    गणतन्त्र आएपछि पृथ्वीनारायण शाहलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । विभिन्न जाति/ जनजातिका मान्छेहरू अस्तित्व नै सके भनिरहेका छन् । यसले विखण्डनवादी सोच बढाएको छ । सिके लाल जस्ता विद्धानहरू पनि पृथ्वीनारायण शाहले एकीकरण गरेर बनाएको नेपालप्रति गर्व गर्दैनन् । गणतन्त्र आएपछि छ यस्तो छ उतिबेला उनले चलाएको शासन मुख्य कुरा हँुदैन ।

    चीनको एकीकरण पनि सामन्तले गरेका हुन् । भारत सुरुमै अहिलेको स्वरुपमा थिएन, त्यसलाई पनि सामन्तीहरूले नै एकीकरण गरेका हुन् । अब त्यतिबेलाको एकीकरण नहुने हो भने अहिलेको चीन र भारत हुने थिएनन् । पृथ्वीनारायण शाहका शासनका कमीकमजोरीको कोणबाट नहेरी राष्ट्रिय एकताको प्रतीक भन्दा पनि राष्ट्रिय एकीकरणका अभियन्ताका रुपमा बुझेर नेपाल राज्यको निर्माणकर्ताको हैसियतमा सम्मान गर्नुपर्छ भन्ने ठान्छु ।

    पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ मा सार्वजनिक बिदा दिने गरिएकोमा गणतन्त्र आएपछि यो बन्द गरिएको छ । तर, अहिलेको प्रचण्ड नेतृत्वको सरकार पुस २७ मा बिदा दिन तयार भएको कुरा बाहिर आएको छ । यदि यस्तो भयो भने गल्ती सच्याउने कुरामा पहल भयो भन्ने ठान्नुपर्छ ।

    ० पृथ्वीनारायण शाह पहिचान विरोधी हुन् – यशोदाकुमारी लामा, दलित जनजाति पार्टी

    – पृथ्वीनारायण शाहले छरिएर रहेका राज्यहरू एकीकरण गरेकाले धेरैले उहाँलाई एकताका प्रतीकका रुपमा पुज्छन् । तर, मलाई उहाँ एकताको प्रतीक नभएर भइराखेको एकता र भातृत्व खलल पार्ने खलनायक हुन् जस्तो लाग्छ । मेरो विचारमा उनी सामन्तका प्रतीक हुन् ।

    पृथ्वीनारायण शाह पहिचान विरोधी हुन् । उनले सबैको पहिचान खोसेर नेपालको एकीकरण गरेका हुन् । यहाँ राई, मगर, नेवार सबैका आ–आफ्नै राज्य थिए, पहिचान दिए । तर, उनले एकीकरणका नाममा सबैको पहिचान खोसे । नेपाललाई एकताबद्ध गरका पृथ्वीनारायण शाहले एकीकरणपछि अन्याय अत्याचारको श्रृंखला नै सञ्चालन गरे । विरोधीको सफाया गर्नुको साथै दमन, शोषणलाई स्थापित गर्ने काम उनले गरे । दलित, वैश्णव, व्राम्हण क्षेत्री भनेर समाजलाई थप विभाजित गर्ने काम पनि यिनैले गरे । त्यसैले पृथ्वीनारायण शाह कुनै पनि हिसाबले सम्मान गर्न लायक छैनन् ।

    अर्को कुरा पृथ्वीनारायण शाह जनताप्रति कहिल्यै केन्द्रित भएनन् । उनले आफू केन्द्रित भएर आफ्नो निहितस्वार्थका लागि काम गरिरहे । उनले धनीलाई उल्टै गरीब बनाइदिए । विभिन्न जात, जाति, समुदायले शासन गरिराखेको ठाउँमा उनले उनीहरूको अधिकार खोसेर एउटै मात्र जात र भाषाको दबदबा कायम गराए । मैलाउ मैखाउको संस्कृति जबर्जस्ती हुलिदिए । त्यसैले पृथ्वीनारायण शाहलाई अहिलेको पुस्ताले सम्मान गर्न कुनै आवश्यकता छैन । बरु पृथ्वीनारायण शाहलाई सामन्तवादका प्रतीकका रुपमा सबैले दुत्कार्नु पर्छ ।

    One Comment

    1. sanu says:

      State at that time was of feudal nature whether it is Bijayapur, Dilpa, Doti, Nuwakot or Gorkha. That is why, PNS is a feudal and others were progressive, it is a strange argument. Till the late period there were several cultural kings in Nepal for the sake of respect and recognition. If we analyse the say ( Char jaat … phulbari … Ghus linya …) of PNS, looks like he was quite generous and democratic too. In this way several kingships were gone but hundreds of languages and cultures are still alive. That is why, Mani Thapa and Yasodha ji are biased. In thee absence of unified state it is hard to save the sovereignty. Then existence of Nepal was in doubt in the context of expansion of East India company. In any country, cultural influence of any ruler is quite normal. But, in case of PNS he did not name even the Gorkha country.It is totally silliness to expect Geneva convention type of code of conduct in war from PNS. Despites weaknesses he is still a great man for real Nepal and Nepali. Sabailai Chetana Bhaya.

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *