breaking news

    फिल्मका लागि तौल घटाउने नेपाली कलाकार

    August 11th, 2017 | by Weekly Nepal
    फिल्मका लागि तौल घटाउने नेपाली कलाकार
    मनोरन्जन
    0

    काठमाडौं । ‘प्रेम गीत २’ बाट सिने नगरीमा डेब्यु गरेकी अभिनेत्री अश्लेषा ठकुरी यतिबेला चर्चामा छिन् । पहिलो सिनेमाबाट पाएको सफलताकै कारण अश्लेषा यतिबेला अन्य सिनेमाको तयारीमा लाग्न उत्साहित भएकी छिन् । सिनेमा रिलिज भएसँगै अश्लेषा आफ्नो शरीर बनाउनमा ध्यान दिईरहेकी छिन् । सिनेमामा सबैका मन पर्ने कलाकार प्रदीप खड्का भएका कारण अश्लेष ओझेल परेकी हुन् की भन्ने पनि धेरैलाई भएको छ । किनकी ‘प्रेमगीत २’ बाट प्रदिपको स्टारडम क्रेज हवात्तै बढेकोे देखियो । अश्लेषाले पनि पहिलो सिनेमाबाट सोचेभन्दा राम्रो प्रतिकृया पाएका कारण खुशी भने पाएकी छिन् । यहि खुशीकै कारण अश्लेषा यतिबेला तौल घटाउन र फिगर बनाउन तिर ध्यान दिएकी छिन् । उनले ‘प्रेम गीत २’ को काम सकाएपछि ७ किलो तौल घटाईसकेकी छिन् । उनले आगामी सिनेमाको लागि यो तयारी गरेको बुझिएको छ । सिने नगरीमा यस अघि पनि अन्य केही कलाकारहरुले सिनेमाको लागि तौल घटाएका छन् ।

    संचिता लुईँटेल

    एकताकाकी चर्चित अनि व्यस्त अभिनेत्री संचिता लुईँटेल निखिल उप्रेतीसँग विवाह गरेपछि सिनेमाबाट टाढिईन् । विवाह पछि दुई सन्तानकी आमा बनेपछि संचिता सुत्केरी अवस्थामा खाएको खानाकै कारण मोटाएर ८० किलोसम्म पुगिन् । तर उनले छोराछोरी हुर्किएपछि भने सिनेमामा कमब्याक गर्नकै लागि तौल घटाईन् । आमा बनेपछि सिनेमा ‘राधा’ मार्फत मुख्य अभिनेत्रीका रुपमा सिनेमामा फर्किएकी संचिताले सिनेमाकै लागि २८ किलो तौल घटाईन् जुन तौल घटाउन त्यति सहज भने थिएन ।

    संचिताले तौल घटाउनका लागि चिल्लो र फ्राई खाना बन्द गरेकी थिईन भने दिनमा ८ गिलास पानी र दैनिक व्यायाम गर्नु उनको फिटनेसको राज हो । सिनेमा ‘राधा’ मार्फत मुख्य अभिनेत्रीको रुपमा फर्किएकी संचिताले त्यसअघि ‘नाई नभन्नु ल ३’ मा विशेष भूमिका निर्वाह गरेकी थिईन् । हाल भने उनी सिनेमा ‘लिला’को प्रमोशनमा व्यस्त छिन् ।

    आर्यन सिग्देल

    तौल घटाउन असाध्यै गाह्रो मान्छन् आर्यन । गत वर्ष उनले तौल घटाउन नसकेको भन्दै उनलाई सम्झाउनकै लागि निर्देशक दिनेश राउतले ८ किलो तौल घटाएको कुरा चर्चामा आएको थियो । तर आर्यनले तीन वर्ष अघि सिनेमा ‘अलबिदा’ का लागि ७ किलो तौल घटाएका थिए । सिनेमामा मुस्लिम डिएसपीको भूमिकामा भएका आर्यनले सिनेमामा आकर्षक र पात्र सुहाउँदो देखिनकै लागि तौल घटाएका हुन् । कार्तिक ३ गते रिलिज हुने तयारीमा रहेको सिनेमा रुद्र प्रियामा पनि आर्यन पहिलेको तुलनामा दुब्लो देखिएका छन् । तर उनले कति तौल घटाएका हुन् या हैनन् त्यसको आधिकारिक जानकारी भने छैन । आर्यनले दश वर्ष अघि सिनेमा ‘किस्मत’बाट सिने नगरीमा डेब्यु गरेका हुन् ।

    अनुप विक्रम शाही

    अभिनेता अनुप विक्रम शाहीले सिनेमा ‘कमलेको विहे’को लागि ११ किलो तौल घटाएका छन् । रिलिजको क्रममा रहेको यस सिनेमामा अनुप गाउँले पात्र कमलेको भूमिकामा छन् । यहि पात्रमा फिट देखिनका लागि उनले यो मिहिनेत गरेका हुन् । सिनेमाको कथाको माग अनुसार नै खानपिनमा विशेष ध्यान दिएर अनुपले तौल घटाएका थिए । अनुपले, ठमेल डट कम, हँसिया किङ लगायतका सिनेमामा काम गरेका छन् । उनलाई सिनेमामा हिरो भन्दा पनि दर्शकले भिलेनको रुपमा रुचाएको पाईन्छ । यहि कारण पनि कतिले त उनलाई ह्याण्डसम भिलेन पनि भन्ने गरेका छन् ।

    ऋचा शर्मा

    अभिनेत्री ऋचा शर्मा सिनेमा ‘भिजा गर्ल’का लागि ८ किलो तौल घटाएर उदाहरण बनेकी थिईन् । किनकी त्यसबखत सिनेमाका लागि भनेर तौल घटाउन अघि तम्सिने अभिनेत्री बिरलै थिए । यहि कारण पनि ऋचाको यो काम त्यतिबेला अपवाद नै बनेको थियो । सिनेमामा अनुबन्धित भएपछि उनले ५९ किलोको शरीरलाई ५२ किलोको बनाएकी थिईन् ।

    पछि फेरि मोटाएकी ऋचालाई सार्वजनिक ठाउँमा जाँदा लगाएको पहिरन पनि नसुहाएको टिप्पणी धेरैले गर्न थालेका थिए । सिनेमा ‘लुट २’ भन्दा अघि ऋचा मोटी थिईन् । तर उनले ‘लुट २’ को तयारी गर्दै फेरि ४ किलो तौल घटाईन् । ६२ केजी भएकी ऋचा तौल घटाएर ५८ किलो पुगेकी थिईन् ।

    केकी अधिकारी

    केकी अधिकारीसँग सिनेमाको लागि तौल घटाएको र बढाएको दुवै अनुभव छ । केकीले गत वर्ष मात्रै सिनेमा ‘ऐश्वर्या’का लागि पाँच किलो तौल घटाएकी थिईन् । सिनेमाको चरित्रमा एस एल सी दिएको युवती जस्तो देखिनु पर्ने भएका कारण उनले तौल घटाएकी थिईन् । नियमित योगा र जुम्बा गर्नुका साथै खानामा कन्ट्रोल गरेर उनले तौल घटाएको हामीलाई बताएकी थिईन् । त्यस्तै केकीले सिनेमा ‘बितेका पल’का लागि पनि केही किलो तौल घटाएकी थिईन् । उता सिनेमा ‘मसान’का लागि केकीले केही तौल बढाएकी थिईन् । हाल केकी सिनेमा ‘हुर्रे’को छायाकंनको तयारीमा जुटेकी छिन् ।

    वर्षा राउत

    पछिल्लो समयमा अभिनेत्री वर्षा राउतलाई मोटी सुन्दरीको रुपमा लिईन्छ । खाई रहनुपर्ने बानी भएका कारण वर्षालाई तौल घटाउन साह्रै गाह्रो पर्छ । ‘नाई नभन्नु ल ४’ बाट सिने नगरीमा डेब्यु गरेकी अभिनेत्री वर्षाले त्यसपछि ‘छक्का पञ्जा’ र जात्रामा काम गरिन् । उनका दुवै सिनेमा सफल भए । यी सिनेमाहरुको सफलता पछि उनले सिनेमा ‘मेरो पैसा खोई’मा काम शुरु गरिन् । यहि सिनेमाको लागि उनले पाँच किलो तौल घटाउनु पर्ने थियो । जसको लागि उनले वर्क आउट पनि गरिन् । वर्क आउट पछि वर्षाको केही तौल त घट्यो तर सिनेमाको काम बीचमै रोकियो । निर्देशक र निर्माबीच विवाद भएपछि सिनेमाको काम रोकिएको थियो । हाल भने वर्षा सिनेमा ‘छक्का पञ्जा २’ को काम सकाएर अस्ट्रेलिया भ्रमणमा छिन् ।

    रीमा विश्वकर्मा

    पछिल्लो समय नेपाल आईडलको प्रस्तोताको रुपमा काम गरेर चर्चामा आएकी अभिनेत्री रीमा विश्वकर्मासँग पनि सिनेमाको लागि तौल घटाएको अनुभव छ । रीमाले सिनेमा ‘उफ यो मनले गर्नु गर्यो’को लागि ६ किलो तौल घटाएकी हुन् । सुरेश चन्दको निर्देशन रहेको यस सिनेमामा रीमा मुख्य अभिनेत्री छिन् भने अभिनेता यशराज मुख्य अभिनेताको रुपमा । सिनेमा ‘स्वर’बाट डेब्यु गरेकी रीमा विश्वकर्माले त्यसपछि स्केप, ऋतु, बाटो मुनीको फूल २, भाले फाईट लगायतका सिनेमाहरुमा काम गरेकी छिन् । रीमाले सिनेमामा भन्दा बढी सफलता मोडलिङमा पाएकी छिन् । उनको कलाकारिता पनि मोडलिङबाटै गरेकी थिईन् ।

    सुरज पाण्डे

    ‘लभ लभ लभ’बाट डेब्यु गरेका अभिनेता सुरज पाण्डेले पनि सिनेमाको लागि ३२ किलो तौल घटाएका छन् । सिनेमा ‘लभ लभ लभ’मा काम गर्ने पक्का भएपछि सुरजले तौल घटाउन सुरु गरेका थिए । सिनेमाको मुख्य अभिनेता त्यसमाथि पनि सुन्दर अभिनेत्रीको पछि लाग्ने पात्रको रुपमा काम गर्नुपर्ने भएका कारण आफूले तौल घटाएको सुरजले बताएका थिए । सुरजले तीन महिनामै ३२ किलो तौल घटाएका    थिए । १ सय १२ किलोका सुरज सिनेमा ‘लभ लभ लभ’को समयमा ८० किलोका थिए । उनले तौल घटाउनको लागि कार्डियो हाईडेन्सिटी वर्कआउट फलो गरेका थिए भने खानामा कन्ट्रोल गरेका थिए । त्यसबखत उनले चिल्लो, मैदा, गुलियो र कार्बोहाईडे्रडयुक्त खानाहरु बरेमा थिए भने उसिनेको कुखुराको मासु, फलफूलसँगै शाकाहारी खानामा जोड दिएका थिए ।

    फर्सीनेटवर्कबाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *