breaking news

    प्रमुख दलहरूबाटै मधेसीमाथि विभेद भइरहेको छ – प्रा. लालबाबु यादव, नेता, नेकपा एमाले

    March 16th, 2017 | by Weekly Nepal
    प्रमुख दलहरूबाटै मधेसीमाथि विभेद भइरहेको छ – प्रा. लालबाबु यादव, नेता, नेकपा एमाले
    अन्तरबार्ता
    1

    0 मेची–महाकाली अभियान अन्तर्गत एमाले मधेसमा झरेपछि मधेशमा गरिएको निषेधको राजनीतिलाई कसरी हुर्नु भएको छ ?

    –  लोकतान्त्रिक प्रक्रिया र पद्धतिमा हरेक राजनीतिक दल आफ्नो सिद्धान्त, विचार, योजना, र कार्यक्रम जनतामाझ लैजान स्वतन्त्र    हुन्छन् । अर्को कुरा, लोकतान्त्रिक प्रक्रियामा निषेधको राजनीति हुँदैन, हुनुहुँदैन । विचारको राजनीति हुन्छ र हुनु पर्छ । त्यसैले एमाले लोकतान्त्रिक मूल्य, मान्यता र प्रक्रिया आत्मसात गरेर मधेस गएको हो । लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार गतिविधि सञ्चालन गर्दा बन्देज र निषेधको राजनीति गर्ने अनि उल्टै बलिरहेको आगोमा घ्यू थप्ने काम भयो भन्ने आरोप लगाउने ? यो कुनै तर्क नै होइन ।

    0 संसद्मा मधेसका एजेन्डालाई अघि बढ्न नदिएर निषेधको राजनीति त तपाईंको पार्टी एमालेले पो गर्दै आइरहेको छ होइन ? मधेसी जनताले त्यसैको जवाफ आफ्नै आंगनबाट फर्काएका पो हुन् कि ?

    – एमालेले कसैलाई निषेध गरेको छैन । लोकतान्त्रिक विधि र प्रक्रिया अनुरुप संसद्मा आफ्नो असहमति जनाउँदा त्यसलाई निषेध भन्न मिल्दैन । संसद्लाई घेरेर अहिंसात्मक आन्दोलन एमालेले गरेको हो, जुन शैली अपनाउन मधेसीलगायत अन्य दल पनि स्वतन्त्र छन् । खासमा हामी मधेसी दलले पनि हामीले जस्तै शान्तिपूर्ण रुपमा आफ्ना कुरा राखुन् भन्ने चाहन्छौं । तर, उहाँहरू केपी ओलीलाई कालोझण्डा देखाउन पाउने अधिकार उपयोग गर्न छाडेर किन ढुंगा–मुढा गरिरहनु भएको छ ? हामीले बुझ्न सकेका छैनौं ।

    0 मधेसमा असन्तुष्टि छ भन्ने जान्दा–जान्दै त्यहीं ठाउँमा अभियान लिएर जानु त तपाईंहरूको कमजोरी होइन र ? मधेसको माग सम्बोधन गरेर अलि साम्य भएपछि गएको भए के बिग्रन्थ्यो र ?

    –  मधेसी मोर्चाको माग सम्बोधन भएन भनेर मानिसहरू भनिरहेका छन् । यसमा पनि एमाले मधेसीप्रति उदासीन भयो भन्ने धेरैको आरोप छ । यो गलत आरोप हो । वास्तवमा मधेसका चासोलाई मधेसकेन्द्रित दलहरूले उठाएकै छैनन् । मधेसको वास्तविक मागसंग मेल नै नखाने कुरा गरेर उनीहरू उधुम मच्चाइरहेका छन् । जनतालाई संविधान र एमालेबारे भए–नभएका कुरा गरेर भड्काइरहेका छन् । यो कुरा बुझाउन मधेस जानु जरुरी थियो, त्यसैले एमाले मधेस झर्‍यो ।

    0 मधेसकेन्द्रित दलले त्यहाँका जनताको माग उठाएका छैनन् भन्नु भयो । उसो भए मधेसी जनताको वास्तविक चासो र सरोकारचाहिं के कुरामा छ जस्तो लाग्छ ?

    –  हुन त म मधेसकै हुँ । मधेसकै भए पनि मधेसी जनताको पछिल्लो मनोविज्ञान र चासो के छ भनेर तीन महिना रिसर्च गरेको थिएँ । यो रिसर्चमा मैले मधेसी जनताको मुख्य सरोकार तीन विषयमा पाएँ । ती तीन विषय हुन् –पहिचान, पहँुच र प्रतिनिधित्व । अहिले मधेसी दलले राखेको मागको सम्बन्धमा उनीहरूलाई सरोकार छैन, यी तीन कुरा नपाएको गुनासो छ ।

    0 मधेसीले खोजेको वास्तविक ‘पहिचान’ के हो जस्तो लाग्छ ?

    – काठमाडौं वा भनौ राजधानीमा अनेक किसिमले हेप्नेदेखि लिएर सडकमा मजदूरी गरेर खाने हाम्रा दाजु–भाइको ढक तराजु फालिदिने गर्दा मधेसी पहिचान खोजिरहेका छन् । मधेसीहरू नेपालका रैथाने हुन्, यिनीहरू नेपालका कुनाकाप्चामा पुगेर विभिन्न ब्यवसाय, मजदूरी गरेर खाने सबै मानिस ‘इन्डियन’ र ‘भैया’ होइनन् भन्ने कुरा सबै नेपालीले बुझुन् भन्ने चाहन्छन् । हाम्रै देशका मधेसी हुन् कि भारतीय मजदूर, अहिले पनि हेर्नुस्, अंगुर र तरकारी बेच्ने मजदूरलाई मान्छेप्रति गरिने व्यवहार गरिंदैन । राज्यको दायित्व भनेको कमजोर नागरिकलाई सुरक्षा दिनु, आत्मसम्मान दिनु हो । तर, राज्य यी सबै कुरा हेरेको हेरै गरिरहेको छ । मधेसी जनता आफ्नो देशमा समान ब्यवहार, आत्मसम्मानसहितको पहिचान, पहुँच र प्रतिनिधित्व चाहन्छन् ।

    0 मधेसीको भावनमा चोट पुर्‍याउने र अपमान गर्नेमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली नै अग्रपंक्तिमा देखिनुहुन्छ नि ?

    प्रा.लालबाबु यादव –हो, हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मधेसीलाई लक्ष्य गरेर यदाकदा आक्रोस पोख्नुहुन्छ । यो हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कमजोरी हो । मान्छे भएपछि गल्ती हुन्छ । त्यसैले हामीले उहाँलाई त्यस्ता मधेसीको भावनमा चोट पुर्‍याउने शब्द नबोल्न सुझाव पनि दिंदै आइरहेका छौं । अध्यक्ष केपी शर्मा ओलीले पनि आफूले गल्ती गरेको रियलाइजेसन (अनुभूति) गर्नु भएको    छ । तर, खेदको कुरा के भने उहाँले सकारात्मक रुपमा प्रयोग गरेका शब्दहरूलाई पनि अतिरञ्जित पारेर बढी नै मधेसविरोधी नेताको रुपमा उभ्याउन खोजिएको छ । वास्तवमा उहाँ समकालीन नेताहरूमा सबैभन्दा बढी मधेसको हित चाहने नेता हुनुहुन्छ । उहाँको लोकप्रियताले अत्तालिएकाहरूले उहाँले मधेसको पक्षमा बोलेका कुरा मिनिमाइज गरेर अलोकप्रिय बनाउन चालबाजी गरिरहेका छन् ।

    0 केपी ओली अन्य नेताभन्दा बढी मधेसवादी नेता हुन् भन्ने तपाईंको तर्कले मान्छेहरू हाँस्लान् कि ?

    – ओली मधेसको कतिसम्म हित चाहनु हुन्छ भन्ने हेर्न त उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा मधेस क्षेत्रका लागि छट्ट्याएका बजेटहरू नै पर्याप्त उदाहरण छन् । मधेसको विकासमा चिन्ता गर्दै अघि सारिएको नयाँ योजना र त्यसका लागि छुट्ट्याइएको अर्बौं बजेटले ओली मधेसको वास्तविक हित चाहने नेता हुन् भन्ने कुराको पुष्टि गर्दैन र ?

    0 मधेसको असन्तुष्टि पहिचान, पहँुच र प्रतिनिधित्वमा मात्रै छ कि अरु विषयमा पनि छ ?

    – मधेसी जनताको मुख्य असन्तुष्टि यही तीन कुरामा छ । मलाई जनताहरूले प्रश्न गर्छन् – राजदूत, न्यायाधीशलगायत राज्यले गर्ने नियुक्तिमा किन मधेसी समुदाय पर्दैनन् ? मधेसबाट पहाडी मूलकालाई जिताउँछौं तर निर्वाचनमा पहाडबाट मधेसी किन जित्दैनन् ? हरेक पार्टी, क्षेत्रमा भइरहेको मधेसीको कमजोर सहभागिताबारे प्रश्न गर्दै मधेसीले पहाड र मधेसलाई जोड्न चाहे पनि पहाडीले जोडेनन् भन्ने ठूलो गुनासो मधेसीको छ ।

    0 मधेसी जनता राष्ट्रवादी हुन्, यसमा शंका गरिनु अपराध हो । तर, मधेसका नेताहरू सबैको साझा नबनेकाले पो यस्तो भएको हो कि ?

     

    –उपेन्द्र यादवजी त आफ्नो पार्टी मधेसको मात्रै नभएर राष्ट्रिय पार्टी नै हो भनिरहनु भएको छ । उहाँका लेखाई, बोलाईमा पनि जनजाति, दलित, पिछडिएका कर्णालीका आवाज उठाइएको हुन्छ । तर, जनताले किन स्वीकारिरहेका छैनन् त ? प्रश्न त स्वभाविक रुपमा उठेको छ  नि !

    0 मधेसीमाथि विभेद भएको सुनिन्छ, विभेदको मूल जरोचाहिं कहाँ छ त ?

    – प्रमुख दलहरूबाटै मधेसीमाथि विभेद भइरहेको छ । हेर्नुस् न, कांग्रेस, एमाले, माओवादी कसैले पनि निर्वाचनदेखि हरेक कुरामा मधेसीको सहभागितालाई कमजोर बनाउँदै लगेका छन् । यसले मधेसमाथि विभेद भएको देखाउँदैन र ?

    0 मधेसी दलले उठाएका मुद्दामा मधेसी जनताको चासो छैन भन्नु भयो । खासमा संविधानको विरोधमा त्यतिधेरै जनलहर कहाँबाट उर्लिरहेको छ ?

    – हेर्नुस्, मधेसमा एमाले अहिले निकै लोकप्रिय छ । यो कुरा मधेसकेन्द्रित दलका साथै कांग्रेस/माओवादीलाई राम्ररी थाहा छ । त्यसैले मधेसवादी दल र कांग्रेस/माओवादी कसरी हुन्छ, एमालेको मधेसमा चुलिंदो लोकप्रियतालाई खुम्च्याउन चाहन्छन् । त्यसैले यी तीनै पक्ष मिलेर मधेसमा एमालेविरोधी गतिविधि बढाइरहेका छन् । त्यही कारण त आन्दोलनमा कांग्रेसका सक्रिय सदस्यहरू पक्राउ परिरहेका छन्  नि .

    0 एमालेले फेरि आफ्नो मेची–महाकाली अभियान सुरु गरेको छ । कतिपयले यसले रक्तपात मच्चाउने बताइरहेका छन् । यसमा तपाईंको धारणा के छ ?

    – एमाले मधेस जरुर जानुपर्छ, नजाने होइन । तर, एमालेले अहिलेकै अवस्थामा मेची–महाकाली अभियान मधेसमा लैजानु उपयुक्त हुँदैन । मधेस जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसी जनताको नाममा एउटा सम्बोधन दिएर उहाँबारे मधेसमा फैलाइएको भ्रम   चिर्नुपर्छ । एमाले अध्यक्ष ओली मधेसको वास्तविक हित चाहने मान्छे हुनुहुन्छ, उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा ल्याएको बजेट र मधेसका लागि ल्याइएका राम्रा योजनाहरूबाट पनि यसको पुष्टि गराउनु भएको छ । तर, जनताले यो कुरा बुझेकै छैनन् । म ठोकुवाको साथ भन्न सक्छु, ओलीले यो यथार्थता आफ्नो सम्बोधनमार्फत जनतालाई बुझाउने हो भने मधेसमा अहिले देखिएको असन्तुष्टि र आन्दोलन ५० प्रतिशत त्यत्तिकै समाप्त भएर जान्छ ।

    0 तपाईंसंग मधेसको आगो निभाउने यति राम्रो सूत्र रहेछ । आफ्नो पार्टी अध्यक्षलाई किन भन्नु भएन त ?

    – होइन, मैले केपी ओली सरलाई बारम्बार राष्ट्रको नाममा सम्बोधन गर्नुस्, यसले तपाईंप्रतिको भ्रम मात्रै होइन, अहिलेको असन्तुष्टि पनि हल हुन्छ भनेर भनेको छु ।

    0 तपाईंले अध्यक्ष ओलीलाई यस्तो सुझाव दिंदा उहाँले के भन्नु भयो त ?

    – उहाँले म मिलाउँछु भन्नु भएको छ । यदि उहाँले राष्ट्रको नाममा सम्बोधन गर्दै मधेसीलाई आफ्नो कुरा प्रष्टसंग राख्ने हो भने अनि ओली मधेसमा सर्वाधिक लोकप्रिय नेता हुनुहुनेछ । नेपालको सार्वभौमसत्ता बचाउन उहाँले गरेका कुरा त्यहाँका जनताले बुझे भने तिनै मधेसी जनताले एमाले अध्यक्ष ओलीको अभिनन्दन गर्नेछन् ।

    0 एमाले अध्यक्ष ओलीले यो कुरा किन नबुझ्नु भएकै होला त ?

    – अब हामीले भन्दा राम्रो कुरा गर्नुभयो म गर्छु भन्नु हुन्छ । अब त्यसो भनेर पनि किन मधेसी जनताको नाममा सम्बोधन गर्नु भएको छैन, त्यो अब उहांसंगै बुझ्नुपर्छ ।

    0 तपाईं मधेसका अधिकांश जिल्ला घुमेर फर्किनु भएको छ । के पाउनु भयो मधेसमा एमालेको अवस्था ?

    –मैले अघि नै भनें नि मधेसमा एमालेको अवस्था अत्यन्तै सुदृढ छ । एमालेको अवस्था मधेसमा सुदृढ भएकैले अहिले मधेस अशान्त छ ।

    0 अब स्थानीय तहको निर्वाचन हुँदैछ । मधेसमा एमालेको पोजिसन के होला त ?

    – यसपटक निर्वाचन भयो भने मधेसमा एमाले पहिलो हुनेछ । यसमा कसैले द्विविधा नपाले हुन्छ ।

    0 मधेसी जनताले गणतान्त्रिक संविधान उनीहरूले पाएको अधिकार बारेमा अझै बुझेका छैनन् हो ?

    – मधेसमा नयाँ संविधानप्रति भ्रम छरिएकाले हामीले जति बुझाउनु पर्ने हो त्यति सकिएको छैन ।

    0 मधेसी जनता संविधान नै नबुझी कसैको दवाव र लहडकै भरमामा सडकमा आएका हुन् जस्तो लाग्छ तपाईलाई ?

    – मधेसीको आत्मसम्मान, पहिचान र स्वाभिमानमा चोट लागेको छ । त्यसैले त्यहाँ असन्तुष्टि छ ।

    0 मधेसी मोर्चाले संविधानका विभिन्न प्रावधानमा संशोधनको माग गर्दै आइरहेको छ । यो आवश्यक छ कि छैन ?

    – संविधान संशोधनका लागि जुन कुरा अगाडि सारिएको छ, वास्तवमा यो जनताको माग नै होइन । उदेकलाग्दो कुरा के छ भने जुन माग जनताको हो, त्यो मधेसीका नेता हौं भन्नेहरूले उठाइरहेकै छैनन् । अर्को कुरा संविधान संशोधनबारे मधेसी दलहरू नै रनभुल्लमा छन् । उनीहरू आफैं अस्पष्ट छन् । कहिले के भन्छन् त कहिले के भन्छन् । संविधान संशोधन गर्नका लागि त पहिले मधेसकेन्द्रित दलहरू प्रष्ट हुनु पर्‍यो नि †

    0 मधेसी जनताले चाहँदै नचाहेका कुरा संशोधन गर्नु पर्‍यो भनेर मधेसी दलका केही नेताहरू मात्र किन अघि सरिरहेका होलान् त ?

    – यो त मलाई होइन, मधेसी मोर्चा केन्द्रित दलका नेताहरूलाई नै सोध्न पाए राम्रो हुन्थ्यो ।

    0 यी त समस्या भए । अब वर्तमान समस्या समाधानको सूत्र के हुन् त ?

    – आमाको पनि आमा हो देश । नेपाल रह्यो भने मात्र हामी मधेसी हौं कि पहाडे रहन्छौं, नेपाल नरहे कोही पनि हुँदैनौं । यो सत्य बुझेर सबै राजनीतिक दल तथा नेता अघि बढ्ने हो भने अहिलेको समस्या समाधान हुन्छ । अर्को कुरा सबै दलले के गर्दा मधेसी र मधेसको हित हुन्छ भनेर साझा धारणा तय गर्न अब ढिलाई भइसकेको छ । साझा धारणा बनाएर मधेसबारे गर्नुपर्ने निर्णय गरियो भने सबै ठीक हुन्छ ।

    0 देश निर्वाचनमा होमिएको छ, अहिलेकै अवस्थामा मधेसमा निर्वाचन हुन सक्ला त ?

    – डेमेक्रोसी अलवेज डिपेन्डस अन डिबेट, डिस्कोर्स एण्ड डाइलग । वार्ता गर्ने हो भने हरेक कुरा समाधान हुन्छ, मधेसीको समस्या समाधान नहुने कुरा के छ र ?

    0 मधेसमा बारबार राजनीतिक आन्दोलन भइराख्छ, तर सधैं अस्थिर भइराख्छ । यस्तो किन भइरहेको होला ?

    – जर्मनका सुरक्षाविद्ले लेखेका थिए –कुनै पनि देशले आफूलाई सुरक्षित राख्ने हो भने उसले आफ्नो छिमेकीलाई असुरक्षित राख्नुपर्छ । भूराजनीतिको मान्यताले पनि केही हदमा मधेस अस्थिर बनाउन काम गरेको होला । अर्को कुरा आजभन्दा ५ हजार वर्षअघि तुलसीदासले रामायणमा लेखेका कुरालाई पनि हामीले पछ्याउन अझै सकेका छैनौं । तुलसीदासले रामायणमा लेखेका थिए, कुलको स्वार्थका लागि व्यक्तिगत, समाजको स्वार्थका लागि कुलको स्वार्थ छाड्नु पर्छ र राष्ट्रको स्वार्थका लागि जातीय, क्षेत्रीय स्वार्थ त्याग्नुपर्छ । तर, हामीले ५ हजार वर्षअघिको यही चिन्तनलाइ पनि पछ्याउन सकेनौं । महाभारतको लडाईंपूर्व कृष्णले दुर्योधनलाई द्वन्द्वनगर द्वन्द्वले तिमी र हस्तिनापुर दुवै रहँदैन भनेर सम्झाएका थिए । तर, दुर्योधनले आफूले सबै कुरा जानेको दाबी गर्दै आफूले राम्रो काम गर्न नसक्ने र नराम्रो कुरा गर्नबाट रोक्न नसक्ने बताउँदै द्वन्द्व सिर्जना गराए । दुर्योधनको यही प्रवृत्ति सबै नेपाली नेतामा देखियो र समस्या आइलाग्यो ।

    0 स्थिरता हुन छिमेकी अस्थिर हुनुपर्ने कुरा गर्नुभयो, भारतले यही सूत्र फलो गर्दा नेपालले दु:ख पाएको हो त ?

    – मसंग यसको कुनै प्रमाण छैन, त्यसैले मैले कसरी भारतलाई गाली गर्नु । तर, नेताहरूले दुई तीनवटा गल्ती गरेका छन् । सबैभन्दा ठूलो गल्ती नागरिकतामा भएको छ । नागरिकताको कारणले पनि अहिलेको समस्या केही पेचिलो बनेको छ ।

    One Comment

    1. Romraj sharma says:

      थुक्क मधेशवादी भनाउदा नेताहरु हो !!! एउटा मधेशिले तिमीहरुलाई के भनी रहेको छ? तिमीहरुका माग भनेका कस्ता रहेछन? है कोइ सुन्ने वाला ? नेपाली तो समाजह मे नहीं आती होगी , हिन्दी तो तुम्हारी प्रिय मात्रिभासा तो समझ पाओगे न !! इसे पुरा पढ्ने पर लगता है मधेशी नेता नेपाल के और मधेश के स्वार्थ के खिलाफ गरीब मधेसियो का जान ले रहे हैँ । कुछ कहना है ?

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *