breaking news

    प्रचण्ड त यमराज जस्तै लाग्यो, नरकमा पुगें कि जस्तो भयो – रामचन्द्र भट्टराई, सांस्कृतिककर्मी तथा वाम बुद्धिजीवी

    March 26th, 2017 | by Weekly Nepal
    प्रचण्ड त यमराज जस्तै लाग्यो, नरकमा पुगें कि जस्तो भयो  – रामचन्द्र भट्टराई, सांस्कृतिककर्मी तथा वाम बुद्धिजीवी
    अन्तरबार्ता
    1

    (२०२६ सालमा पुष्पलाल नेतृत्वको कम्युनिष्ट पार्टीको संगठित सदस्यता लिएपछि रामचन्द्र भट्टराईले कहिल्यै थकाई मारेनन् , जनतालाई अधिकार सम्पन्न बनाउन निरन्तर आफूलाई ताजा र जागै राखिरहे । पञ्चायतकालीन कालरात्रिको समेत परवाह नगरी क्रान्तिको मसाल बोकेर उनी गाउँ–बस्ती डुलिरहे । लामो समय एमालेमा आवद्ध रहेका भट्टराई जनता अधिकार सम्पन्न हुने आशमा केही समय माओवादी, नयाँ शक्तिलगायत पार्टीमा आवद्ध भए पनि भर्खरै पुरानो घर एमालेमा फर्किएका छन् । भन्छन्, ‘प्रचण्ड माओवादी र बाबुरामको नयाँ शक्तिले जनताको पक्षमा केही गर्छन् कि भनेर साथ दिए पनि यिनले पनि केही गर्ने देखिएन र एमालेमै फर्कें ।’ प्रस्तुत छ, ७२ वर्षे बयोबृद्ध कम्युनिष्ट नेता भट्टराईसँग उनको राजनीतिक यात्रा, कम्युनिष्ट आन्दोलनलगायत विषयमा केन्द्रित रहेर गरिएको कुराकानी: सम्पादक)

    0 मातृ घर एमालेबाट माओवादीमा प्रवेश गर्नु भएको थियो । माओवादीपछि नयाँ शक्ति पार्टी रोज्नु भयो । त्यही नयाँ शक्ति पनि छाड्नु भएछ होइन ?

    – बाबुराम भट्टराईले अघि सार्नु भएको आर्थिक संवृद्धिलगायतको नारा सान्दर्भिक थियो । वास्तवमा राजनीतिक परिवर्तन भइसकेकाले अब देशलाई डोहोर्‍याउने भनेकै आर्थिक संवृद्धितिर हो । अर्को कुरा, मदन भण्डारीले भने जस्तै बाबुरामजीले पनि माक्र्सवादको जडसूत्रवादबाट मुक्त भएर यसको सिर्जनात्मक प्रयोग गरौं भन्नु भएको थियो । यो जायज कुरा थियो । त्यसैले भट्टराईले अघि सारेको विचारलाई समर्थन गर्दै म नयाँ शक्ति निर्माण अभियान सुरु भएदेखि नै नयाँ राजनीतिक शक्ति निर्माण गर्नुपर्छ भनेर लागेको थिएँ । यसको म केन्द्रीय संरक्षक पनि थिएँ । तर, बाबुरामजीले गर्नु भएको कुरा राम्रो भएपनि नयाँ शक्ति पार्टीको गति–मति राम्रो देखिनँ । गति–मति राम्रो नभएकाले गरिखाला जस्तो लागेन र छाडिदिएँ ।

    0 यति छिट्टै बाबुरामप्रति मोहभंग चाहिं केले गरायो ?

    – बाबुरामजीले नारा त राम्रो ल्याउनु भयो तर पार्टी ठूलो बनाउने नाममा जस्ता मान्छे र समूहसंग पनि हात बढाउन थाल्नुभयो । हुँदाहुँदा उहाँ त्यत्रो नाकाबन्दी गरेर जनतालाई दु:ख दिने उपेन्द्र यावदसंग हात मिलाउन पुग्नुभयो । नारा एउटा, काम अर्को गर्न थालेपछि के गर्न खोज्नु भएको हो भनेर रनभुल्लमा परियो । कुन अन्धकार जंगलमा पसियो भनेजस्तो भयो ।

    0 बाबुरामजीसँग यो विषयमा कुरा गर्नु भएन त ?

    – एक–दुईपटक यस्तो ढुलुमुले शैलीले पार्टी बन्दैन भनेर कुरा पनि राखेको हुँ । उहाँले सुधारौंला पनि भन्नु भएको थियो । तर, झन्भन्दा झन् रनभुल्लमा पर्दै गएपछि गरिखाला जस्तो लागेन र छाडिदिएँ । नछोडुञ्जेल पखालेको मूला जस्तो र छोडेसँगै गद्दार खत्तम भन्ने पक्षमा म छैन । उहाँको ठूलो योगदान छ । विचार पनि खराब छैन । तर, समस्या विचारलाई व्यवहारमा लागू गर्ने कुरामा देखियो । नयाँ शक्ति बनाउने भने पनि नयाँ बोतलमा पुरानै रक्सी भनेजस्तो भयो । अर्को कुरा माओवादीमा जुन रोग थियो, त्यही रोग नयाँ शक्ति पार्टीमा पनि हुल बाँधेर पस्यो । यसले पार्टी निर्माणमा नकारात्मक भूमिका खेल्यो ।

    0 यसलाई करेक्सन गरेर अघि बढेको भए हुन्थ्यो होला नि त ?

    – त्यसको पहल त केन्द्रीय संयोजकले गर्नुपर्‍यो नि † उहाँ आफैं ढल्मलाउन थालेपछि कसरी करेक्सन हुन्छ ?

    0 पुराना पार्टीबाट जनता वाक्क–दिक्क भइरहेका बेला बाबुरामले गठन गरेको नयाँ शक्ति पार्टीबाट मानिसहरूमा नयाँ आशाको सञ्चार गराएको थियो । तपाईंहरूजस्ता आशालाग्दा अनुहारहरूको सहभागिताले जनता थप उत्साहित बनेका थिए । तर, आशालाग्दा अनुहारहरू एकपछि अर्को छाड्दै जान थालेका छन्, यसको अर्थ नयाँ शक्ति निर्माण त्यति सहज रहेनछ भन्ने हो ?

    – मैले भनिहालेँ नि विचार ठीक छ, तर विचारलाई व्यवहारमा उतार्ने तौर–तरिका भएन । व्यवहारमा उतार्ने त कार्यकर्ताले हो । त्यहाँ पुरानै माओवादीका कार्यकर्ताले उही रोग लिएर आउँदा व्यवहार उस्तै देखियो । फलस्वरुप नयाँ शक्ति बनाउने भनेर विभिन्न पार्टी क्षेत्रबाट आएकाहरू पार लाग्दैन भनेर छाड्दै गएका छन् ।

    0 अब बाबुरामको नयाँ शक्तिको भविष्य के होला ?

    –बाबुरामजी प्रधानमन्त्री भइसकेको अन्तर्राष्ट्रिय लेबलको विद्वान मान्छे हो । व्यक्तिगत रुपमा उहाँ एउटा उचाईमा हुनुहुन्छ, त्यो उचाईबाट उहाँलाई कसैले तल झार्न सक्दैन । तर, उहाँको पार्टीले बहुमत ल्याएर सरकार बनाउने कुरा बहुत गाह्रो छ, सम्भव छैन ।

    0 ठूला राजनीतिक दलहरूले देशलाई निकास दिने हैसियत गुमाएको भन्दै नयाँ–नयाँ राजनीतिक शक्ति आइरहेका छन् । यिनीहरूको भविष्यचाहिँ के होला नि ?

    – यी बर्खे च्याउझैं उम्रेका पार्टीको केही खैरात छैन । रविन्द्र मिश्र, मुमारामहरूले पार्टी खोल्नु बेकार छ । मुमारामलगायत मसँग रबिन्द्र मिश्रको पार्टीमा जान पर्‍यो भन्दै केही समयअघि आएका थिए । मैले तिमीहरूको पार्टीको तुक छैन भनेर पठाइदिएँ । मधेसी पनि मिले मात्रै हो, नत्र खैरात छैन । हेर्नुस्, नेपालमा जति पार्टी नै देखिए पनि नेपाली कांग्रेस र एमाले जस्ता वामपन्थी पार्टी मात्रै गरिखाने पार्टी हुन् । यी शक्तिको अस्तित्व रहन्छ । बाँकी सबै आउँछन्, जान्छन् ।

    0 भनेपछि अबका केही वर्ष यिनै पुराना ढर्राका राजनीतिक शक्तिको हातमा डाडुपन्यु रहने भयो ?

    – सबै पार्टीमा राम्रा/नराम्रा मान्छे छन् । एमालेभित्र पनि सबै पखालेका मूला छैनन् । यहाँभित्र पनि बिकृति/बिसंगति छन् । त्यही भएर एमालेभन्दा एमाओवादी ठीक हुन्छ कि भनेर गएको हुँ । केही देलान् र खान पाइएला भनेर गएको होइन । सांसद् त मलाई एमालेले बनाएकै थिए नि † म विचारका आधारमा एमाओवादीमा गएको हुँ । त्यसैले अब सबै पार्टीमा भएका राम्रा मान्छेहरू मिलेर देश बनाउनु पर्छ । वामपन्थीबीचको एकता र ध्रुवीकरणलाई जोड दिनुपर्छ ।

    0 नौतिर मुख फर्काएका वामशक्तिबीच ध्रुवीकरणको सम्भावना देख्नुहुन्छ ?

    – नौतिर मुख फर्काएका त नेताहरूले हो । पद र महत्वकांक्षाले यस्तो भएको हो । तर, कार्यकर्ता एकताको पक्षमा नै छन् । अब पुरानाले हुँदैन, नयाँ पुस्ता आउनुपर्छ । नयाँ पुस्ताको बीचमा ध्रुवीकरण भएर जानुपर्छ । पुराना पात झर्छ र नयाँपात पलाउँछ । माक्र्सवादी ब्राम्हण बनेर अलग–अलग क्रान्तिको खिचडी पकाएर खाने दिन अब गए । अब सबै वामबीच सके सिद्धान्तनिष्ठ एकता नभए कार्यगत एकता गरेर जानुपर्छ ।

    0 यसको नेतृत्व कसले गर्ने त ?

    – हिजो एमाओवादीले त्यसको नेतृत्व गर्न सक्थ्यो, तर यो पार्टी चुक्यो । अब वाम ध्रुवीकरणको नेतृत्व एमालेले गर्छ र गर्नुपर्छ । त्यही भएर नै म एमालेमा फर्केको हुँ ।

    0 साँची तपाईं एमाओवादीमा चाहिँ किन लाग्नु भयो ?

    – मोहन वैद्य र बाबुरामसँग मेरो सुरुदेखि नै चिनजान थियो । बाबुराम र मोहन वैद्यसँग घुलमिल भएका कारण तिनको अनुहार हेरेर माओवादीमा लागेँ । तर, प्रचण्ड नेता नभएर माओवादीका राजा रहेछन् ।

    0 एमओवादीमा चाहिँ तपाईंलाई के जिम्मेवारी दिएका थिए नि ?

    – केन्द्रीय सल्लाहकारको जिम्मेवारी दिएका थिए ।

    0 त्यसमा चित्त बुझेन अनि छाड्नु भयो ?

    – पुराणमा रौरब नरकको चर्चा गरिएको छ । मलाई माओवादीमा आएपछि पुराणमा वर्णित त्यही रौरब नरकमा आएँ कि कहाँ आएँ भनेजस्तो भयो । लेख्दिए हुन्छ, प्रचण्ड मलाई यमराजजस्तो लाग्यो † प्रचण्ड र उनको पार्टीको कार्यशैली मन नपरेपछि लौ त भनेर छाडिदिएँ । त्यसपछि बाबुरामले गर्छन् कि भनेर लागेँ तर नयाँ बोतलमा पुरानै रक्सी भनेजस्तो भयो ।

    0 अब प्रचण्ड माओवादीको भविष्य के होला त ?

    – विचरा † यसको भूगोलमा केही छैन । दारा, नंग्रा फुस्केको बूढो बाघको जस्तै हालत छ प्रचण्ड माओवादीको ।

    0 विगतमा एमाले मनपरेन, अहिले किन मन पर्‍यो नि ?

    – म पुष्पलालको पार्टीमा २०२६ सालमा संगठित भएको हुँ । पुष्पलालले सशस्त्र संघर्ष गर्ने भनेका थिए । यहीबीचमा झापामा सशस्त्र संघर्ष सुरु भयो । मुक्ति मोर्चा ग्रुप भन्ने थियो । जीवराज आश्रित, मदन भण्डारी, मोदनाथ प्रश्रित, मलगायत त्यो ग्रुपमा थियौं । २०३४ सालमा सम्मेलन भएर माले गठन भयो । पुष्पलालको पार्टीभन्दा यो पार्टी क्रान्तिकारी भनेर हामी यता आएका हौं । हामी एमालेमा लागिरहेकै बेला जनयुद्ध सुरु भयो । यसले सामन्ती संस्थाको जराजरा गाउँबाट काटेर राजसंस्थालाई अन्त्य गराएकै हो, यसमा कुनै हिच्किचावट गर्नुपर्ने कारण छैन । माओवादीले जतिसुकै गल्ती गरे पनि जनयुद्ध नभएको भए यति चाँडो राजसंस्था ढल्ने थिएन । उसैको योगदानले राजतन्त्र ढल्यो । माओवादीको त्यो बलिदानीपूर्ण संघर्षले मलाई आकर्षित गर्‍यो । अब केही गर्छ भने यही माओवादीले नै गर्छ भन्ने लाग्यो । माओवादीलाई उत्कृष्ट र एमालेलाई निकृष्ट भनेर मैले पार्टी परिवर्तन गरेको होइन । एमालेले त मलाई सांसद बनाएर सम्मान गरेकै थियो । एमालेलाई आलोचना नगरीकन भावनात्मक रुपमा बलिदानको गाथालाई सम्झेर , शहीदहरूको योगदानलाई सम्झेर यसैबाट तिनको सपना साकार हुन्छ भन्ने ठानेर नै माओवादीमा गएको हुँ ।

    0 संविधानसभाको एजेन्डालाई समर्थन गर्दा एमालेका नेताहरूबाट त अनेक भुक्तमान खेप्नु भयो नि होइन ?

    – युद्ध चलिरहेका बेला माओवादीबाट एउटा वक्तव्य आयो । उक्त वक्तव्यमा भनिएको थियो–मुलुक संविधानसभामा जान्छ भने हामी शान्ति प्रक्रियामा आउँछौं । त्यतिखेर राजाबाट प्रतिनिधिसभा भंग भैसकेको थियो भने राष्ट्रियसभा मात्रै बाँकी थिएँ । राष्ट्रियसभा सदस्यको हैसियतले मलाई रुपन्देही उद्योग वाणिज्य संघको हलमा आयोजना गरिएको एक कार्यक्रममा बोल्न लगाइएको थियो । त्यो कार्यक्रममा मैले संविधानसभा एजेन्डा माओवादीको पेवा नभएर यो २००७ सालदेखि नै उठेको नारा हो । यदि संविधानसभामा मुलुक गए देशमा शान्ति आउँछ भने एमालेलगायत देशका सबै शक्ति यसका लागि तयार हुनुपर्छ भनेर बोलेको थिएँ । त्यतिबेला संविधानसभाको पक्षमा बोल्दा त ठाडै माओवादी भइन्थ्यो । मैले यस्तो के बोलेको थिएँ एमाले पार्टीभित्र त नौ रिक्टर स्केलको भूकम्प नै गयो । पार्टीले मलाई तुरुन्तै स्पष्टीकरण सोध्दै भन्यो – पार्टी नीतिविपरीत किन संविधानसभा बारे बोलेको ?

    तँ माओवादी भइस् भन्न थालियो । आफ्नो प्रतिरक्षामा मैले भनेँ – सात सालमा संविधानसभा कुरा उठेको थियो । के ती अब माओवादी भए त ? २०१४ सालमा कांग्रेसले संविधानसभाको माग गर्दै भद्र आन्दोलन गरेको थियो, के ती माओवादी भए ? २०४७ सालको निर्वाचनमा नेकपा मसालले संविधानसभा निर्वाचनको कुरा गरेको थियो, के ती माओवादी भए ? संविधानसभाको कुरा गर्दा कोही माओवादी हुँदैन भनेर मैले त्यसको प्रतिवाद गरेँ । तर, एमालेमा मलाई ‘तँ माओवादी भइस्’ भन्दै बोल्नै दिइएन । मेरो कुरामा नाकाबन्दी गर्ने, बाटामा भेट हुँदा मुन्टो बटारेर हिँड्ने गर्न थाले । एमालेबाट यस्तै अपमान खेपिरहेका बेला उता माओवादीबाट भने मलाई बोलावट भइरहेको थियो । हुन पनि सारा चहल पहल नै माओवादीको भैरहेको थियो । एक किसिमले देश नै माओवादीमय भइरहेको थियो । मलाई के थाहा ? माओवादीमा यस्ता कुहिएका मान्छे पनि छन् भन्ने ? म त माओवादीमा पूर्ण विश्वस्त भएर माओवादीबाटै देश र जनताको मुक्ति हुने हिसाब–किताब निकाले होमिएँ ।

    0 अहिले एमालेका नेताहरूले बोलाएर फर्कनु भयो कि बाबुरामको नयाँ शक्ति पार्टी शक्तिहीन भएर ?

    – एमालेका नेताहरूले त पहिलेदेखि नै मलाई बोलाइरहेका थिए । ‘तैंले त्यहाँ गएर सम्मानित भएर बसेको भए हामीलाई शान्ति हुन्थ्यो, खुसी लाग्थ्यो, तर, त्यहाँ गएर दु:ख मात्र पाइस्, उपेक्षित भइस्’ भनेर चिन्ता गरिरहनु हुन्थ्यो । परिवार नै परिवर्तनको पक्षमा लागेको (बूढिया २०४६ सालको आन्दोलनमा पाल्पा जेलमा थिइन्, बहुदल आएपछि छुटेर आएकी हुन्, पुलिसको कुटाइले अहिले पनि खुट्टा खोच्चाएर हिँड्छिन्) १४ वर्षसम्म जनसांस्कृतिक महासंघको महासचिव भएर सांस्कृतिक आन्दोलन परिचालन गरेको निट एण्ड क्लिन मान्छे उपेक्षित हुनुपरेकाले सबैजसो नेताले एमालेमै आउनुस भन्नु भएको थियो ।

    0 एमालेबाट माओवादीमा लागेका अरुको अवस्था पनि तपाईंकै जस्तो त होला नि हगि ?

    – म गएँ भनेर कतिपय एमालेका साथीहरू माओवादीमा लागे । तर, उनीहरूलाई माओवादीमा आएसँगै घर न घाटको बनाइयो । हामी जनयुद्ध लडेको, तिमीहरू पछि खान आएका हौं भनेर होच्याउने काम भयो । माओवादीभित्र उपेक्षित भएपछि कतिपय साथीहरूले मलाई फोन गरेर भन्नुहुन्थ्यो–तपाईं आउनु भयो भनेर आइयो तर, यहाँ त टिकीखान नसकिने पो भइयो । मैले वेट एण्ड सी भनेर सान्त्वना दिँदै कतिपयलाई थुम्थुमाउने प्रयास गरेको थिएँ । तर कति उतिबेलै फर्किए । बाँकी बसेका केही साथीहरू पनि अब ढिलो चाँडो यतै एमालेमै फर्किन्छन् ।

    0 वर्तमान देशको राजनीतिको कसरी विश्लेषण गर्नुहुन्छ ?

    – ९० प्रतिशतभन्दा बढी मतले संविधान जारी भएको छ, यही नै ठूलो कुरा हो । यद्यपि, केही मधेसवादी नेताहरू संविधानप्रति असहमति जनाएर ताण्डव देखाइरहेका छन् । यो मधेसी जनताको आवाज नभएर २–४ जना मधेसी नेताको चुरीफुरी मात्रै हो । आखिर संविधान कार्यान्वयन हुन्छ । संविधान कार्यान्व्यनको पहिलो चरण स्थानीय तहको निर्वाचन हो । त्यो हुँदैछ । मधेसी नेताहरू साँच्चिकै देशभक्त राष्ट्रवादी नेपाली हुन् भने देशमा संकट निम्त्याउने काम गर्नु हुन्न । उनीहरूलाई पनि दोस्रो दर्जाका नागरिक हुन् भनेर हेप्ने खसआर्य अहंकारबाट मुक्त हुनुपर्छ । उनीहरूका जायज कुरा सम्बोधन गरेर लान सकियो भने आन्तरिक राष्ट्रियता बलियो हुन्छ । आन्तरिक राष्ट्रियता बलियो भयो भने बाह्य राष्ट्रियता बलियो हुन्छ । र, मुलुक आर्थिक विकास र संवृद्धितिर अघि जान्छ ।

    0 मधेसमा संविधानमा देखिएको असतुष्टिलाई २–४ जनाको असन्तुष्टि भन्नु भयो । तर जनता त मधेसमा उर्लिएका छन् त ?

    रामचन्द्र भट्टराई–हेर्नुस् तपाईंले केही कुरा गरेर आन्दोलन गर्नु भयो भने तपाईंका पछि मान्छे लाग्छन्, मेरा पछि पनि लाग्छन् । निर्णायक रुपमा जनताले साथ दिनु पर्‍यो नि । ९० प्रतिशत जनताले पारित गरेको संविधान मान्दिन भनेर जलाउनु लोकतन्त्र हो ? यो लाजतन्त्र हो । यो लिढेढिपी भयो । संघीयता उनीहरूकै लागि ल्याइएको हो । अहिले उनीहरूले नै बखेडा झिक्न मिल्छ ?

    0 लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा हुन्छ । पछाडि फर्किएर हेर्दा के लाग्छ ?

    – राजनीतिक दृष्टिकोणले मुलुकले गुणात्मक फड्को नै मारेको छ । हिजो हामीलाई राजतन्त्र जालाजस्तो नै लाग्दैनथ्यो । तर, सामन्तवादको राजतन्त्र ढलेर गणतन्त्र आएको छ । जुन अनुपातमा राजनीतिक परिवर्तन भयो, त्यो अनुपातमा आर्थिक, सामाजिक सांस्कृतिक परिवर्तन भने हुन सकेको छैन । मुलुक अर्थतन्त्रमा एकपछि अर्को परनिर्भर बन्दै गइरहेको छ । राजनीतिक परिवर्तन भएको छ, अब आर्थिक विकासतर्फ सबैले ध्यान पुर्‍याउनु पर्छ ।

    One Comment

    1. Rajani says:

      स्ठानिय निकायको चुनाव भएन भने अब राजामा दाम चडाएर जानुको विकल्प छैन भन्नेहरुको कमी छैन। तपाईंको विचारमा यस्को नेत्रित्व एमालेले लिन सक्ला? किन भने उस्को अनुभवपनि छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *