breaking news

    पैसा छ र ? – बबिता बस्नेत

    May 15th, 2017 | by Weekly Nepal
    पैसा छ र ? – बबिता बस्नेत
    विचार विश्लेषण
    0

    राजनीति र पैसाबीचको सम्बन्ध यति धेरै बढिसकेको रहेछ भन्ने कुरा गाउँका राजनीतिकर्मीहरूले अहिले थाहा पाइरहेका छन । विगत २० वर्षमा यो मुलुकमा धेरै कुरा भयो, व्यवस्था बदलियो, समय फेरियो । मानिस उही छन्, तर प्रवृत्ति बदलियो । स्थानीय निर्वाचन नहुँदा गाउँ र सहरमा नेतृत्वको प्रतिस्पर्धा मात्र रोकिएन, विकास पनि रोकियो । आफ्नो गाउँका लागि छुट्टिएको बजेट गाउँलेले राम्ररी जानकारी नै नपाई फर्किए गयो । कति बजेट कर्मचारीले जे–जे भने र जे–जे गरे त्यतै गयो । खातामा धेरै कुरा मिल्यो, गाउँमा केही मिलेन । समयको यो लामो अन्तरालपछि जब स्थानीय निर्वाचनको घोषणा भयो मानिसमा एकप्रकारको लहर छायो । ‘अब चुनाव लड्ने’ यो सोच यति धेरैको मनमा आयो कि मिल्ने भए सबै उम्मेदवार नै हुने थिए होला । प्रजातन्त्र सुदृढीकरणका निम्ति निर्वाचनमा उत्साहपूर्ण सहभागिता धेरै राम्रो सूचक हो । यसरी जुर्मुराउनेहरूमध्ये कतिपयको उत्साहको पारो त्यतिबेला स्वाट्टै घट्यो जब आफ्नै पार्टी सम्बद्ध कतिपयले सोधे, ‘चुनावमा उठ्ने त भन्दैछौ, तर तिमीसँग पैसा छ र ?’ पैसा र चुनावका बीच के सम्बन्ध छ भन्ने कुराको जानकारी दिँदै त्यस्ता व्यक्तिहरूले भने– अहिले त पैसाबिना के चुनाव जितिन्छ र ? उठ्नका लागि नै पैसा चाहिन्छ । टिकट पाउनलाई नै पैसा चाहिन्छ । तिम्रो घरगोठ हेर्दा पैसा जुटाउन सक्लाउ जस्तो लाग्दैन । यस्ता कुराहरू महिलालाई पनि आए, पुरुषलाई पनि आए ।

    हामीले बाहिरबाट झट्ट हेर्दा महिलालाई निर्वाचन लड्न गाह्रो छ भन्ने लागे पनि त्यस्ता पुरुषलाई पनि गाह्रो छ जो छक्कापञ्जा कम जान्दछन् । इमानदार मानिस राजनीतिमा लाग्दैनन् कि झैँ गरी राजनीतिकर्मीको तेजोबध गर्ने काम एकातिर भएको छ भने अर्कोतिर इमानदारहरूको बोली बिक्न पनि गाह्रो छ । गाउँमा मोटर पुग्ने बाटो चाहिएको छ, हवाईजहाज बस्ने एयरपोर्ट बनाइदिन्छु भन्नेहरूका पछि मानिस दौडिन्छन् । किन दौडिन्छन् भने त्यसप्रकारका हावादारी कुरा गर्नेले हरेक कुरामा भीडलाई आफूतिर आकर्षित गर्न सक्छ । तर, अहिले भीडलाई आकर्षित गर्नेभन्दा गाउँ र सहरलाई स्वच्छ, हराभरा र सौहार्दपूर्ण बनाउने नेतृत्व चाहिएको छ । भीडलाई आकर्षित गर्नका लागि अरूलाई जथाभावी शब्द बोल्ने, नकारात्मक कुराबाट सुरु गरेर नकारात्मक पाटोमै आफ्नो भाषण अन्त्य गर्ने मानिस अब राजनीतिबाट अलग हुनुपर्छ । उनीहरू आफैँ अलग हुँदैनन्, नागरिकले भोट नदिएर त्यस्ताहरूलाई पन्छाउन सक्नुपर्छ । अरूलाई होच्याएर आफू अग्लिन चाहने, बोलेको कति दिनसम्म पनि नकारात्मक प्रभाव छोड्न सक्ने क्षमता भएकाहरूलाई भोट दिनेबारेमा नसोचेकै राम्रो । अरूलाई सम्मान गर्न नजान्ने या नसक्नेले आफूलाई इज्जत गर्ला भनेर सोच्नुहँुदैन । नयाँ अनुहारका नाममा अहिले यस्तै देखिएको छ । सकारात्मक सोच र व्यवहार अब राजनीतिकर्मीहरूका लागि पहिलो सर्त बन्नुपर्छ ।

    तिमी÷तपाईसँग पैसा छ र ? भन्नेहरूको प्रश्नलाई पार लाउँदै स्थानीय निर्वाचनको पहिलो चरणमा ४९ हजार ३ सय ३७ जना उम्मेदवार मैदानमा खडा भएका छन् । ३४ जिल्लामा हुन लागेको निर्वाचनका लागि विभिन्न आकारप्रकार र रङरूपका मानिस मत माग्न व्यस्त छन् । कति मानिसले भनिरहेका छन्, अहिले जसको माहौल भए पनि अन्तिममा पैसाले निर्धारण गर्ने हो । तर, पैसा नै अन्तिम फ्याक्टर हो भन्ने कुरालाई अब मतदाताले सही मान्छन् जस्तो लाग्दैन । अहिलेका मतदाता आफ्नो गाउँठाउँप्रति सचेत छन्, नभए पनि हुन आवश्यक छ । हो, घरदैलोमा मत माग्दै जाँदा पानी या चिया खान केही पैसा चाहिएला । पर्चा, पम्प्लेट, यातायातका लागि चाहिएला । पैसा नै नचाहिने भन्ने होइन, तर कसले कति र कुन प्रयोजनका लागि पैसा खर्च गरिरहेको छ भन्ने कुराको अनुगमन अब नागरिक आफैँले गर्नुपर्छ । पैसाको प्रभावमा पारेर मत लिनेहरूले भोलि आफू ओहोदामा पुगेपछि आफ्नो पदलाई पैसाका लागि दुरुपयोग गर्नुपर्ने हुन्छ । कसैले पैसा खर्च गरेर कुनै ठाउँमा पुगेको हुन्छ भने उसले सो ठाउँमा बसेर पहिला खर्च भएको पैसा उठाउनतिर लाग्छ नै । जब कसैले आफ्नो खर्च उठाउनमै ध्यान दिन्छ भने उसले गाउँ या सहरको विकासका लागि कसरी सोच्न सक्छ ? त्यसैले पैसा र राजनीतिबीचको यो अन्तरसम्बन्धलाई मतदाताले अब बुझ्नुपर्छ ।

    अबको जमाना स्मार्ट नीति, कार्यक्रम र तिनको कार्यान्वयनको हो । मतदाताले उम्मेदवारलाई ‘यसले कति पैसा खर्च गर्ला’ भनेर सोच्ने होइन, तपाईसँग आफ्नो गाउँ या सहर बनाउने भिजन, योजना र कार्यक्रम के छ ? तिनको कार्यान्वयन कसरी गर्नुहुन्छ ? भनेर सोध्ने हो । सपना देख्ने मान्छेले नै त्यसलाई कसरी पूरा गर्ने ? भन्नेबारेमा सोच्छ, जसले सपना नै देख्दैन उसले त्यसलाई कसरी पूरा गर्ने भनेर सोच्ने कुरै भएन । स्थानीय निर्वाचनमा सपना देख्ने मान्छे चाहिएको छ ।

    हो, पैसाले मानिसको जीवनका हरेक चरणमा पाइलापाइलामा अर्थ राख्छ । आफूसँग पैसा हुँदा र नहुँदा हाम्रो बोल्ने, हिँड्ने, कुरा गर्ने शैलीमै फरक पर्छ । तर, अर्काले चुनाव जित्ने स्वार्थमा बाँडेको अलिकति पैसाले कति दिन टर्छ ? मतदाताले अब यसरी सोच्नु आवश्यक छ । चुनावमा पैसा बाँड्ने या पैसाले प्रभाव पार्न खोज्ने होइन, सर्वसाधारणलाई पैसा कमाउने र आत्मनिर्भर बनाउनका लागि काम गर्ने मान्छे चाहिएको छ । पैसा र राजनीतिबीचको सम्बन्धका कारण राष्ट्रिय राजनीति निकै धमिलो भइसकेको छ ।

    मृत्युपश्चात् पैसामै जल्नेझैँ गरी सम्पति जम्मा पार्न चाहनेले गर्दा जताततै भ्रष्टाचारले यसरी प्रश्रय पाएको छ कि पैसाबिना कुनै कामनै नहुने अवस्था छ । कर्मचारीहरू पैसाबिना काम नगर्ने र त्यसो गर्दा उनीहरूमाथि कुनै कारबाही नहुने कारण राजनीतिक स्तरमा मौलाउदो पैसामोह नै हो । यूपीका मुख्यमन्त्री योगी आदित्यनाथले यो सबै बुझेर सबैभन्दा पहिला कर्मचारीबाट कारबाहीको सुरुवात गरे । कर्मचारीलाई कारबाही गर्न नेतृत्व स्वच्छ हुनुपर्छ । आफू सफा भए मात्र अरूको दाग देखाउन सजिलो हुन्छ नत्र दागमाथि दाग थप्दै जाने हो । स्थानीय निकायमा लामो समयसम्म निर्वाचन नभएका कारण धेरै नै छरपष्ट भएको छ । दागहरू पखालिनै गाह्रो हुने गरी पुरानो बनेका छन् । यत्तिका वर्ष कट्कटिएको दाग सफा गर्नका लागि नेतृत्व आफू स्वच्छ हुन आवश्यक छ । स्थानीय तहमा पनि राजनीतिको माथिल्लो तहझैँ पैसाको बलले कामहरू हुन थाल्यो भने सर्वसाधारणको सपना धुलाम्य हुनेछ । त्यसैले पैसा खर्च गर्ने होइन भिजन देखाउने, सपना देख्ने र त्यसको कार्यान्वयनमा अडिग रहने मानिसलाई जिताऔँ । नागरिकले आफ्नो देश बनाउने सबैभन्दा ठूलो अस्त्र र अवसरका रूपमा स्थानीय निर्वाचनमा मतको प्रयोग गरौँ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *