breaking news

    पिलाउनेको क्या बदनामी भो ! – बबिता बस्नेत

    August 28th, 2017 | by Weekly Nepal
    पिलाउनेको क्या बदनामी भो ! – बबिता बस्नेत
    विचार विश्लेषण
    0

    नेपाल पत्रकार महासङ्घको गत हप्ता सम्पन्न महाधिवेशनको बन्दसत्रमा बुटवलकी पत्रकार इन्दिरा अर्यालले प्रस्ताव राखिन्– पत्रकारहरूको सार्वजनिक कार्यक्रममा मदिरा निषेध गरियोस् । केही तालीहरू बजे, तर यो प्रस्तावलाई सम्बोधनसमेत गरिएन । सभाले पारित गरेको १९बुँदे भावी रणनीतिमा यो प्रस्ताव परेको भए के हुन्थ्यो होला ? पत्रकार महासङ्घको इतिहासमा नयाँ कुरा हुने त पक्का थियो नै, पत्रकारहरू आफूले आफैँलाई बाँध्न सचेत छन् भन्ने सन्देश पनि जाने थियो । पत्रकार र मदिरालाई अहिले जसरी एक–अर्काका पूरकझैँ गरी चर्चा गर्ने गरिएको छ त्यसप्रकारको दृष्टिकोण बदल्नलाई पनि शायद मद्दत पुग्ने थियो । त्यसो त प्रस्ताव पारित गर्दैमा दृष्टिकोण बदलिने होइन, दृष्टिकोण बदल्नका लागि हाम्रा सोच, व्यवहारहरू बदलिन आवश्यक हुन्छ ।

    खाने, पिउने, लाउनेजस्ता कुराहरू मानिसका नितान्त व्यक्तिगत कुरा हुन् । घरमा कसले के खान्छ, पिउँछ या लाउँछ भन्ने कुराले सम्बन्धित व्यक्तिबाहेक अरूलाई अर्थ राख्दैन । निजी जमघटमा मानिस आफ्नै प्रकारले रमाइरहेका हुन्छन् । कोही नाचेर, कोही हाँसेर, कोही गीत गाएर, जोक, सायरी साँझका निजी सत्रहरूमा कसले के गर्छ त्यसको पनि मतलब हुँदैन । एक्लै बसेर मदिरामा रमाउनेहरू पनि होलान्, दिनभरिको थकान मेट्नका लागि आनन्दले बसेर एक कप कालो चिया पिउन पाउँदा जिन्दगी बाँचेको अनुभूति गर्नेहरू पनि होलान् । निजी जीवनमा कसले कति बेला के गर्छ सरोकारको विषय भएन । तर, सार्वजनिक ठाउँहरूमा कसले के खायो, कसरी प्रस्तुत भयो भन्ने कुराले भने महत्व राख्छ । निजी तवरमा गरिएका कामहरू जब सार्वजनिक रूपमा व्यक्त गरिन्छ, ती सार्वजनिक बन्न पुग्छन् । हिजोआज निजी जीवनमा गरिएका कुराहरूलाई सार्वजनिक गर्दै सकेसम्म अरूलाई होच्याएर आफू अग्लिन चाहनेहरूको सङ्ख्या पनि बढ्दै गएको देखिन्छ । ‘मैले प्रधानमन्त्री फलानालाई यस्तो भनिदिएँ, सँगै बसेर ड्रिंक्स गरियो’ भनेर पुस्तकमै लेख्ने अवकाश प्राप्त जर्नेलहरूदेखि काजुसँग महँगो रक्सी खाइयो, थरीथरीका काजु, पेस्ता र महँगो रक्सी खुवाउने हैसियत यिनको कसरी बन्यो भनेर लेख्ने लेखकसम्म । मानिसले मदिरा नपिउँदा हुन त विश्वमा यति धेरै मदिराको खपत के हुन्थ्यो होला र ?

    जतिसुकै ट्याक्स बढाउन, बेच्न निषेध गरुन् मदिरा चलेकै छ । एउटा भनाइ नै छ, दूध बेच्ने मान्छेले ढोकाढोका चहार्नुपर्छ, मदिरा खोज्दै मानिस पसलमा पुग्छन् । मदिराका नाममा अनेक कविता, सायरी, जोक र गीतहरू बनेका छन् । यसको अर्थ विभिन्न तह, तप्काका मानिसले मदिरा सेवन गर्छन् । मदिरा छुँदै नछुनेहरू पनि सबै तह र तप्कामा छन्, उनीहरूको चर्चा हुने कुरै भएन । मदिरा सेवन गर्नेहरूमध्ये पनि पत्रकारको चर्चा विशेष रूपमा हुने गरेको छ । पत्रकारभन्दा बढी नै मापसे गर्ने पेसा व्यवसायी पनि होलान्, तर ‘पत्रकार’ भनेपछि चाहिँ नखाने कोही नै हुँदैनन्झैँ गरी छवि बनाइएको छ । यसप्रकारको छवि निर्माणमा पत्रकार स्वयम्को हात छ । ठाउँ–कुठाउँ ‘म त पत्रकार पो हो त’ भन्दै हिँड्ने, सार्वजनिक स्थानमा ढल्ने गरी पिइदिने । ठिकै खानेहरूले पनि आफू भएको पार्टीमा ड्रिंक्स त हुनैपर्छ नि जस्तो गरिदिने, ड्रिंक्सबिनाका साँझका कार्यक्रम र पार्टीलाई श्राद्ध पार्टीको संज्ञा दिने र कार्यक्रम नै नसकी हिँडिदिने । यस्तो व्यवहारले धेरैलाई साँझमा पत्रकारलाई बोलाउँदा मदिरा अनिवार्य राख्नैपर्छ भन्ने बनाइदिएको छ । यस्तो व्यवहार गर्ने पत्रकारको सङ्ख्या ठूलो छैन, तर नराम्रा कुराको प्रचार धेरै हुने हुँदा सबै पत्रकार उस्तै हुन्झैँ गरी सन्देश प्रवाहित भएको छ । मदिरा पिउनै नहुने भन्ने होइन, पिएपछिको रूपान्तारित व्यवहारले बद्नामी बढाएको हो ।

    हुँदैहुँदै पारिवारिक समारोहहरूमा समेत ल… पत्रकार भएर पनि ड्रिंक्स नगर्ने ? भन्न थालिएको छ । यो पङ्क्तिकारलाई दुईवटा कुराले कहिलेकाहीँ हीनताबोध महसुस गराएको छ । पहिलो, नखाई बस्दा पत्रकार भएर पनि ड्रिंक्स नगर्ने ? अलिअलि सोसियल त हुनुपर्छ नि भन्ने । सोसियल हुन खोज्दा ‘पत्रकार हो नखाने कुरै भएन नि’ भनिदिने । वास्तविकता त के हो भने पत्रकारितासँग मदिराको कुनै सम्बन्ध छैन । दोस्रो, समानताको कुरा गर्दै महिला अधिकारको वकालत गर्ने अनि ड्रिंक्स गर्न हिच्किचाउने ? भन्ने एउटा जमात छ । मानौँ, मदिरामा रमाउनु समानताको सूचक हो । महिला अधिकारको अर्थ कतिपय पुरुषजस्तै हुनु होइन । सबै पुरुष मदिरामा रमाउँदैनन्, सबै महिलाले मदिरा पिउँदैनन् भन्ने होइन, खान हुँदैन भन्ने मान्यता पनि होइन । खाने, लाउने भन्ने कुरा नितान्त व्यक्तिगत कुरा हो महिला अधिकार, समानता र मदिराबीच कुनै सम्बन्ध छैन । सार्वजनिक र निजी के–कति हो भन्ने कुराको निर्धारण व्यक्ति आफैँले गर्नुपर्छ । मानिसले आफ्नो जिन्दगीको आचारसंहिता आफैँ बनाउने हो । पत्रकारिता क्षेत्रको कुरा गर्दा आफू र आफ्नो पेसाप्रति सजग पत्रकारहरूको सङ्ख्या ठूलो छ, यो बढ्दो क्रममा छ ।

    शिव परियारले गाएको एउटा गीत छ, पिउने म पिलाउनेको क्या बद्नामी भो । कतिपय अवस्थामा पत्रकारहरूलाई पिलाउनेको अवस्था त्यस्तै छ । खानेले गर्वका साथ भन्ने, खुवाउने लज्जित हुनुपर्ने । यसै हप्ता पत्रकारको महाधिवेशनमा त्यस्तै भयो । कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार पाउनुभएका पत्रकार विजयकुमार पाण्डेले आफ्नो मन्तव्यको अन्तिममा सगौरव भन्नुभो– कुनै दिन शेरबहादुर दाइको हातबाट मधुरस लिएको थिएँ, आज पुरस्कार पाएँ…, हल पररर… तालीले गुञ्जियो । कार्यक्रमको प्रमुख अतिथिका रूपमा मञ्चको बीचमा बस्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले अप्ठ्यारो मानेर वर्तिरपर्तिर हेर्नु भो । उहाँको असहजता अनुहारभरि छरिएको थियो । पिउने विजयकुमारलाई हलले प्रतिक्रिया दियो, वाउ विजयकुमार….गज्जब !! पिलाउने नेता देउवा हीनताबोध गर्नुपर्ने अवस्थामा पुग्नुभो । केहीछिनपछि मिडियामा हेडलाइन आयो, कुनै दिन शेरबहादुरको हातबाट सोमरस (उहाँले मधुरस भन्नुभएको थियो) पिएको थिएँ… विजयकुमार । पिउनेको अभिव्यक्ति नाम सुवासका रूपमा सर्वत्र फैलियो, पिलाउनेलाई करिबकरिब अपराधीकै रूपमा उडाइयो । गीतले वास्तविकताको रूप लियो, पिउने म पिलाउनेको क्या बद्नामी भो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *