breaking news

    पानीको शुद्धताको आधारमा नीलो, हरियो र पहेंलो स्टिकर प्रणाली सुरु

    April 19th, 2017 | by Weekly Nepal
    पानीको शुद्धताको आधारमा नीलो, हरियो र पहेंलो स्टिकर प्रणाली सुरु
    समाचार
    0

    काठमाडौँ, ६ बैशाख । सरकारले काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्ने पानी ट्यांकरले अनिवार्य रूपमा स्टिकर टाँस्नुपर्ने व्यवस्था गरेको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको गुुणस्तरका आधारमा ट्यांकरमा स्टिकर टाँस्नेछ । खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार बोर्डले मंगलबारबाटै उपत्यकाभित्र खानेपानी ढुवानी गर्ने ट्यांकरमा स्टिकर टाँस्ने काम सुरु गरिसकेको छ ।

    उपत्यकामा दैनिक सात सय ट्यांकर सञ्चालन
    उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार उपत्यकाभित्र खानेपानी वितरणका लागि दैनिक सात सयको संख्यामा ट्यांकर सञ्चालन हुँदै आएका छन् । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले नागरिकलाई शुद्ध पानी उपलब्ध गराउने उद्देश्यले स्टिकर टाँस्ने व्यवस्था गरिएको बताए । ‘जनस्वास्थ्यमाथि कसैले पनि खेलवाड नगरोस् भन्ने उद्देश्य हो । यसो गरिँदा सर्वसाधारणले शुद्ध खानेपानी पाउँछन् । स्टिकर टाँस्न अटेर गर्नेलाई कारबाही गर्छौ । यो नियम अब काडाइका साथ लागू हुन्छ,’ मन्त्री शाहीले भने ।

    मन्त्री शाहीले ट्यांकरबाट वितरण हुने पानीको गुणस्तर परीक्षण हुन नसक्दा जनस्वास्थ्यमाथि गम्भीर खेलवाड भएको र सर्वसाधारणसँग जथावाभी मूल्य लिएको जनगुनासो आएपछि यसको उचित व्यवस्थापन र मूल्यमा एकरूपता ल्याउन स्टिकर टाँस्ने व्यवस्था लागू गरिएको बताए । ‘ट्यांकरमा भएको पानीको गुणस्तर र शुद्धताको आधारमा स्टिकर टाँसिने छ । अबदेखि स्टिकर हेरेर मात्र ट्यांकरको पानी प्रयोग गर्नुपर्छ,’ उनले भने ।

    मन्त्रालयका अनुसार बोर्डले पानी बोक्ने ट्यांकरमा पानीको परीक्षण गरेर त्यसको शुद्धताको आधारमा नीलो, पहेंलो र हरियो स्टिकर लगाएर प्रमाणित गरिदिन्छ । स्टिकर नभएको ट्यांकर प्रयोग गरेको भेटिए बोर्डले तुरुन्त कारबाही गर्न सक्ने छ ।

    अबदेखि ट्यांकरहरूले सञ्चालन अनुमति लिनुपर्ने
    खानेपानी बोक्ने ट्यांकरहरूले अबदेखि अनिवार्य रूपमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग अनुमति लिनुपर्ने व्यवस्था लागू गरिएको छ । उपत्यकामा सञ्चालन हुने सात सय पानी ट्यांकरमध्ये अधिकांशले अनुमति लिएका छैनन् । मन्त्रालयका अनुसार बोर्डसँग अनुमति नलिई कुनै पनि ट्यांकर सञ्चालन गर्न पाइने छैन ।

    पानीको शुद्धताको आधारमा नीलो, हरियो र पहेंलो स्टिकर
    खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार पानीको शुद्धताका आधारमा फिजिकल, केमिकल र माइक्रोबाइलोजिकल तीनै हिसाबले उपयुक्त पानी भएको ट्यांकरलाई नीलो स्टिकर दिइनेछ । यो पानी सीधै पिउन सकिन्छ । पानीको परीक्षण गर्दा फिजिकल र केमिकल मात्र मिलेको, तर माइक्रोबाइलोजिकलको मात्रा कम छ भने त्यस्ता ट्यांकरलाई पहेँलो स्टिकर दिइनेछ । पहेंँलो स्टिकर भएको पानी उमालेर खान मात्र मिल्छ । यस्तो पानी नउमाली खाए स्वास्थ्यमा समस्या देखिन सक्छ । यस्तो पानी पिउनेबाहेक अन्य कामका लागि भने प्रयोग गर्न   सकिन्छ ।

    माइक्रोबाइलोजिकलको हिसाबले उपयुक्त रहेको, तर फिजिकल र केमिकलको हिसाबले उपयुक्त नभएको पानीको ट्यांकरलाई हरियो स्टिकर दिइन्छ । त्यो हातमुख धुन र शरीर सफा गर्न तथा भान्सामा प्रयोग गर्न सकिन्छ ।
    आजको नयाँ पत्रिकामा खबर छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *