breaking news

    नेपाल यसरी पर्दैछ खतरनाक एम्बुसमा – राजकुमार रेग्मी

    January 5th, 2017 | by Weekly Nepal
    नेपाल यसरी पर्दैछ खतरनाक एम्बुसमा – राजकुमार रेग्मी
    विचार विश्लेषण
    0

    अलिकति पनि भ्रममा नपरे हुन्छ– अहिलेको राजनीतिक संकटको मुख्य कारण संविधान संशोधन र चुनाव घोषणा गर्ने योजना पटक्कै होइन । कतिपयले ठान्ने गरेका छन्– केही शीर्ष नेता र पार्टीले कुनै कोठामा बसेर सहमति गरेमा संकट मोचन हुन्छ । यो त झन हुँदैहोइन, अहिले जे गतिरोध देखिएको छ, संकटको हाँगाविंगा मात्र हो । कोठे सहमतिले एकदुई विषयमा गतिरोध फुक्न सक्ला तर संकट मोचन असम्भव छ । नेपालको मुख्य संकट नेपालीकरण गरिएका विदेशी एजेण्डा हुन् । त्यस्ता एजेण्डाले नेपालको दीर्घकालीन भविष्य र अस्तित्व खतरामा छ ।

    राजनीतिक गतिरोध र संकटलाई फरक ढंगबाट बुझिनुपर्छ । गतिरोध अस्थायी अवस्था हो, गतिरोध र समस्याहरूको समष्टि रुपनै संकट हो । केही विषयमा गतिरोध हटेमा संकट हट्छ भन्ने छैन । राजनीतिक संकटको चुरो पहिल्याइएन र त्यसलाई समाधान गरिएन भने यस्तो गतिरोध बारम्बार हुनेछ र संकट झनझन बढ्नेछ ।

    पहिलो संविधानसभाको अन्तिम बेलातिर धेरैलाई लागेको थियो– नेताहरूले रातारात सहमति गर्छन्, संविधान बन्छ । किनभने त्यसअघि बारम्बार त्यसै गरिएको थियो । त्यस्तै खाले सहमतिले संविधान निर्माण हुन्छ अथवा संविधानसभा विघटनबाट जोगिन्छ भन्ने ठानियो । मध्यरातका सहमति गतिरोध फुकाउनका लागि मात्र थियो । बाहिरबाट हेर्दा गतिरोध फुकाउने काम तर भित्रभित्रै चाहिं संकटको आयाम विस्तार गर्ने काम गरिएको थियो । त्यस्ता कोठे सहमति गरेर संकटको आयाम यति विस्तृत बनाइयो कि संविधान नै नबनी संविधानसभा विघटन भयो । त्यसबेला प्रधानमन्त्री पदमा डा. बाबुराम भट्टराई थिए, उनी कुनै हालतमा संविधान बन्न दिने पक्षमा थिएनन्, संविधानसभा विघटन गर्न गिद्दले सिनु ढुके झैं ढुकेर बसेका थिए । पछिल्लो संविधानसभाबाट संविधान बन्न नदिन उनीबाट निर्वाह गरिएको खलनायकत्व र ‘२४ घन्टे धम्की’ले पनि यो कुरा पुष्टि गर्छ । त्यसपछि पनि बाबुराम संविधान भत्काउन लागिपरेका छन् ।

    संविधानसभा विघटन गतिरोध थियो कि संकट ? बास्तवमा त्यो संकट थियो । त्यस्तो संकट दोस्रो पटक पनि ल्यान खोजिएको थियो तर असफल भए, बाबुराम जस्ता पात्रहरूले प्रयास गरेकै हुन् तर सकेनन् ।

    बाबुरामजस्ता पात्रहरू अनेक पार्टीमा, अनेक गौंडा, देउराली र भञ्ज्याङमा राखिएका छन् । तिनले ऐन मौकामा मुलुकलाई एम्बुसमा पारेर परायाको सेवा गरेको देखिएकै हो र देखिंदै पनि छ । विगतमा मुलुकलाई अनेक ठाउँमा चुकाइएको छ, फसाइएको छ । संविधानमा अनेक छिद्र बनाइएको छ । सकेसम्म छिद्र टालेरै संविधान जारी गरिएको हो तर केही खर्ब रुपैयाँ खर्चेर स्थापित गरिएका विभिन्न घातक एजेण्डा संविधानमा अनेक ठाउँमा छिराइएको छ । त्यस्ता घातक एजेण्डाले आगामी दिनमा मुलुकलाई बारम्बार समस्यामा पार्नेछ । अब पनि एकपछि अर्काे घातक एजेण्डा ल्याइने र गतिरोध सिर्जना गरिने दृष्टिगोचर हुन्छ । बारबार आउने समस्या गतिरोध हुन् भने समस्या नै समस्याको जन्जालमा फसाएर नेपाललाई तहसनहस पार्ने योजना चाहिं संकट हो । नक्कली गतिरोध सिर्जना गरेर त्यसको आडमा सक्कली संकट विस्तार गर्दै लगिएको छ ।

    नेपालको संकट नेताहरूको नालायकीमा मात्र खोज्ने हो भने जरामा पुग्न सकिंदैन । नेपालको भूराजनीतिक अवस्थिति नै नेपालको संकटको मुख्य जरा हो, बाँकी त हाँगाविगा हुन् । नेपालको टाउकोमा संविधानसभा थोपरिनुमा भूराजनीतिको जाल थियो भन्ने बल्ल प्रष्ट हँुदैछ । भारत सहित नेपालमा चलखेल गर्ने देशहरूले आआफ्ना देशमा जनतालाई जात अनुसारको अधिकार दिन नपर्ने तर नेपालमा चाहिं दिनै पर्ने, अढाइ करोडजति (संविधानसभा सुरु हुँदा) जनसंख्या भएको नेपालमा एक प्रतिशतसम्म जनसंख्या भएका सबैलाई प्रदेश दिनुपर्नेलगायतका एजेण्डा बोकाइयो । नेपालमा वैदेशिक आप्रवासन बढाउने, आप्रवासीलाई ध्यानमा राखेर एजेण्डा स्थापित गर्दै जाने खेल रचना गरियो । भारतीय आप्रवासीसंग मिल्दाजुल्दा समुदायलाई एक ढिका बनाउने बाँकी नेपालीलाई चाहिं अनेक जातथरमा फुटाउने प्रयत्न गरियो ।

    यस्ता प्रयत्न गरेर विभिन्न अन्तराष्ट्रिय शक्तिहरूले विभिन्न स्वार्थ हासिल गर्न खोजिरहेका छन् । नेपाललाई मैदान बनाएर विदेशी शक्तिहरूले खेलिरहेका छन् । हेर्दा बाहिर नेपाली शक्ति देखिन्छन् तर पर्दा पछाडि विदेशी छन् । बाहिरबाट हेर्दा कांग्रेस र एमालेको विवाद देखिन्छ, माओवादी र मधेसीको मिलाप देखिन्छ तर भित्र मिलाउने र फुटाउने शक्ति अर्कै छन् । विदेशी शक्तिहरूले सुनियोजित तरिकाले विभिन्न शक्तिहरूलाई एउटा एउटा एजेण्डा बोकाइदिएका छन् । विदेशीले आफ्ना एजेण्डालाई नेपालीकरण गराएका छन् । हामी भ्रममा छौं– कतिपय एजेण्डा हाम्रै नेपाली हो भनेर । तर, त्यस्ता एजेण्डा अर्बौैं रुपैयाँ लगानी गरेर नेपालीकरण गरिएको छ । यहाँका नेता विभिन्न एजेण्डामा आपसमा लड्भिड् गर्छन् तर तिनले जान अन्जानमै विदेशीको सेवा गरिरहेका हुन्छन् ।

    नेपाली कच्चा पदार्थ विदेश लगिन्छ, त्यहाँका कारखानाले सामान बनाएर नेपाल निर्यात गर्छन् । सामानमा चाहिं ‘मेड इन’ कुनै देश लेखिएको हुन्छ तर एजेण्डामा चाहिं ‘मेड इन’ लुकाएर नेपालमै बनेजस्तो भ्रम सिर्जना गरिन्छ । यसलाई अझ अर्काे रुपमा पनि भन्न सकिन्छ– नेपाली जनताको चाहना र आकांक्षा कता जाँदैछ भन्ने पहिचान गरिन्छ अनि त्यस्ता पवित्र चाहनामा विष घोलिन्छ । प्रजातन्त्र नेपाली जनताको चाहना थियो र परिवर्तन भयो, गणतन्त्र नराम्रो होइन तर गणतन्त्रमा विषतन्त्र घोल्ने काम गरियो ।

    संविधान संशोधन कुनै आपत्तिको विषय होइन । संविधान ताम्रपत्र होइन, एकपटक होइन बारम्बार संशोधन गर्न सकिन्छ तर संविधान संशोधन गरे पनि बर्वादी नगरे पनि बर्वादी भन्ने अवस्था सिर्जना गरिएको छ । संविधान संशोधन गरेपछि भारत र मधेसी मोर्चाले केके माग तेर्साएर निहुँ खोज्छन् भन्ने अग्रिम थाहा भइसकेको छ । जसो गरे पनि समस्या बढाउने, समस्याका लागि विभिन्न पात्रहरू खडा गरेर तयारी हालतमा राख्ने अनि नेपाललाई अप्ठ्यारो पार्ने जुन दुष्चक्र छ, यो दुष्चक्र नतोडेसम्म बारम्बार आउने गतिरोध समाधानलाई नै संकट मोचन भन्ने भ्रममा पटक्कै पर्न हुन्न । किनभने गतिरोध फुकाउने नाममा नेपाललाई झन खतरनाक एम्बुसमा पार्दै लैजाने प्रयत्न    देखिन्छ ।

    (आठैप्रहर डटकममा १६ पुस २०७३ मा प्रकाशित लेख समय सान्दर्भिक ठानेर सम्पादन सहित यहाँ प्रस्तुत गरिएको हो)

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *