breaking news

    नेपाली राजनीति र संविधान – शरदराज गौतम

    August 7th, 2017 | by Weekly Nepal
    नेपाली राजनीति र संविधान – शरदराज गौतम
    साहित्य
    0

    २०७४ माघ ७ गतेको ऐंठनमा परेको नेपाली राजनीति र संविधान
    यसका ठिमाहा सन्तानहरूको आन्तरिक बिलखबन्दको शिकार भएको छ ।
    आन्तरिक अलमल सबैसित उत्तिक्कै छ–उन्नाईस बीस मात्रै हो ।
    फरक कति मात्रै हो भने, कोई जितको उन्मादमा छ
    कोई हारको दलदलमा ।
    संघीयता र गणतन्त्रको मसिहा घोषणा गर्ने माओवादी केन्द्र
    आफ्नो विघटनको आन्तरिक छलफलमा झरेको छ ।
    तातो हावा छल्न स्यालहरू दुलोको सिंयाल खोज्छन ।
    माओवादीहरू यतिखेर स्याल अवतरणमा सिंयाल खोज्दाछन् ।
    र, यसका प्राधिकार प्रचण्ड कार्यकारी प्रमुखको चुनावको ‘गाडी बान्ता’ गरिराख्या छन् ।
    कसैले नपत्याए पछि डूम नियति भोग्ने भूस्याहा जस्तो ।
    मधेश मसिहा घोषणा गर्ने मधेशवादीहरू
    दलको सुत्केरो छल्न पनि संशोधनको कन्दनि बाट्न व्यस्त छन ।
    जन्मिने पार्टीको न्वारान गर्ने पंडित पनि फेला नपरेको हालत छ, तिनको ।
    लैनचौरले जजमानि छोड्दा ‘हरामी’ भएको छ, राजपा ।
    नेपाली काँग्रेसको औंलाको काप कापमा हजुरबाउले खाएको मासु भातको गन्ध छ ।
    निर्दलीय व्यवस्थामा ‘आउट पोस्ट’ कब्जा गरेको नियति जस्तै छ, तिनको आजको अवस्था ।
    न भूतो न भबिष्यतिः ।
    एमाले देख्दा संगठित, चरित्रवान र भरपर्दो देखिन्छ ।
    तर उसको ‘वडाहाकिमपना’ले न सिङ्गो संविधान बोक्न सक्छ, न नेपाली राजनीति नै ।
    जडौरी ओभरकोट लाएको ध्वाँसे मान्छे जस्तो ।
    राप्रपाको स्थिति शेर्पाले बाहुन सराद्धे गरे जस्तो छ ।
    जसोजसो बाहुन उसै उसै स्वाहा ।
    समकालीन नेपाली राजनीतिका ठिमाहा सन्तान जम्माजम्मी यति नै हुन
    र, यति नै हुन, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको मलामी पनि ।
    कोही पनि जवाफदेही हुन चाहँदैनन् ।
    चुनावलाई लिएर सबैथरिमा मतभेद र आशंका छ ।
    ती सबका सब हालावादी हुन, भन्दिन म ।
    तर सबका सब चुनाव भयो भने पनि
    सघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनैतिक र संवैधानिक अवस्था
    चलायमान भयो भनेर भन्न सकिने छैन ।
    यो परिवन्द र बिलखबन्द चलिनै रहनेछ ।
    जस जसले समृद्धिलाई पहिलो एजेन्डा बनाएका छन, तिनको समृद्धि हुनेछ ।
    र, जसजसले सघीयतालाई पहिलो बनाएका छन, तिनको संघीय स्वरुप डव्वल हुनेछ ।
    सबैथरिमा भूँई मान्छेको अवस्था बस छुटेको यात्रु जस्तै हुनेछ
    आर्को आउने हो कि होइन थाहा छैन, पुगिने हो कि होइन पत्तो छैन ।
    माघ ७ गते लाई ‘चकमा’ बनाईदो छ ।
    तर यी सबै छाडेर,
    यदि माघ ७ गतेलाई काल्पनिक समय रेखा मानि दियो भने पनि
    जम्माजम्मी हुन सक्ने भनेको
    नेपाली काँग्रेस सरकारमा रहिरहनु
    माओवादी केन्द्र तेल मसाज गरिरहनु
    राजपा सुत्केरो झोल सुक्र्याइ रहनु
    राप्रपा हिन्दूत्वको अलख जगाई रहनु
    र, एमाले सबैलाई हियाउदै ‘वडाहाकिम’ भइरहनुको निरन्तरता मात्रै हुनेछ ।
    त्योभन्दा बढ्ता क्यै हुने छैन ।
    भूँई मान्छे फेरि पनि ठिमाहा सन्तानको भागबण्डा तुरुपमा अलमल्याईने छन ।
    संविधानसित बग्रेल्ती ‘चकमा’ विकल्प हुनेछन ।
    मलामीहरूको अबिर जात्राको आयोजना हुनेछ ।
    र, सुत्केरो परेकाहरूको यज्ञ टीका पनि ।
    सबैले छोडदा र सबैसित छोडिंदा
    उत्कृष्ट संविधान ‘हरामीको दर्जामा ओर्लिएको हुनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *