breaking news

    ‘दुई छिमेकीभन्दा पछि परिरहनु खतरनाक’ – अमेरिकी अर्थशास्त्री प्राध्यापक जेफ्री स्याक्स

    December 26th, 2016 | by Weekly Nepal
    ‘दुई छिमेकीभन्दा पछि परिरहनु खतरनाक’ – अमेरिकी अर्थशास्त्री प्राध्यापक जेफ्री स्याक्स
    अन्तरबार्ता
    0

    (अमेरिकाका प्रतिष्ठित अर्थशास्त्री प्राध्यापक जेफ्री स्याक्स गरीबी निवारणका एकजना विज्ञ र अभियानकर्मीका रुपमा चिनिन्छन् । दिगो विकास लक्ष्यका लागि राष्ट्र संघका महासचिवका विशेष सल्लाहकार समेत रहेका स्याक्स छोटो समयका लागि काठमाण्डू आएका क्रममा उनलाई बीबीसी सम्वाददाता सञ्जय ढकालले भेटेर कुराकानी गरेका थिए । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश)

    ० प्राध्यापक स्याक्स तपाईं सन् १९९४ मा यहाँ आउनु भएको थियो र अब २०१६ मा आइपुग्नुभएको छ । यो अवधिमा तुलनात्मक रुपमा के फरक वा सुधार पाउनुभयो ?

    –नेपालले गत २० वर्षमा गरेको प्रगतिले म खुशी छु । साथै म आगामी २० वर्षमा नेपालले अझ तीव्र विकास गर्नेछ भन्ने आशा राख्दछु । केही उपलब्धिबारे आाफैले हेरेर वा सुनेर मैले अब दिगो विकास तीव्र पार्न के गर्न सकिन्छ भनेर यस पटक छलफल गरेको छु ।

    ० विगतमा भूपरिवेष्टित हुनु बेफाइदा भनिन्थ्यो । तर, अचेल दुई छिमेक चीन र भारतको तीव्र विकासले अवसर दिन्छ भनिन्छ । यी दुई बीच चेपिएको नेपालले हालसम्म त्यस्तो कुनै फाइदा लिन सकेको देखिन्न । किन होला ?

    –नेपालका दुई छिमेकी विश्वकै तीव्रतम विकास गरिरहेका विशाल देश भएपनि मलाई लाग्दैन नेपालले सक्ने जति वा गर्नुपर्ने जति काम यस दिशामा गर्न सकेको छ । यी दुई विशाल देशसंग कामकारवाही गर्नु निश्चय पनि जटिल कार्य हो । नेपालका सामु विशाल बजार तथा विशाल अवसर छन् किनभने चीन र भारत दुवैको अर्थतन्त्रप्रति वर्ष सात प्रतिशतका दरले बढ्दैछ । तर, नेपालले आफ्नो अर्थतन्त्र त्यति धेरै दरमा वृद्धि गर्न सकेको छैन । त्यसो किन भयो भने जुन ठूला लगानी हुनुपर्दथ्यो ती भएनन्, उदाहरणका लागि जलविद्युतका क्षेत्रमा एक पुस्ता भन्दा बढी समय अगाडिदेखि चर्चा भएका ठूलठूला विस्तारका योजना कार्यान्वयन भएका छैनन् । त्यसैले ठूला लगानी हुने हो भने नेपालले अहिलेको भन्दा तीव्र विकास गर्न सक्छ ।

    ० तपाईंले खनिज इन्धनमा आधारित २० औ शताब्दीको विकासको मोडेल अब धान्न सकिंदैन, हरित अर्थतन्त्र आवश्यक छ भन्ने गर्नुभएको छ । नेपाल जस्तो एउटा विकासोन्मुख देश, जोसंग हरित अर्थतन्त्रका लागि चाहिने प्रविधि र खर्च सहज उपलब्ध छैन, उसका लागि अब के विकल्प रहन्छन् ?

    –वास्तवमा नेपाल त हरित अर्थतन्त्रबाट फाइदा लिन एकदमै उपयुक्त परिस्थितिमा छ । ऊसंग जलविद्युतको विशाल सम्भावना छ । यो भनेको हरित, सफा अनि कार्बन रहित उर्जा हो । यदि नेपालले धेरै जलविद्युत उत्पादन गर्ने हो भने, त्यसमध्य केही निर्यात गर्ने हो भने अनि विद्युतलाई घरेलु यातायात प्रणालीमा प्रयोग गर्ने हो भने उसको हावापानी स्वच्छ हुनुका साथै अर्थतन्त्रपनि हरित र थप प्रभावशाली हुनेछ ।

    ० तपाईंले खासगरी भूगोल र देशको विकासमा त्यसको भूमिका बारे अफ्रिकी देशहरूको अध्ययन गर्नुभएको छ । नेपाल पनि भूपरिवेष्टित तथा अतिकम विकसित मुलुकको एउटा विशिष्टै उदाहरण मानिन्छ जहाँ जातीय विविधता, द्वन्द्व र असमानता सबै छन् । तपाईंको अन्तर्राष्ट्रिय अनुभव नेपालले कस्तो आर्थिक विकासको मोडल पछ्याउनुपर्ला भन्ने लाग्छ ?

    –भूपरिवेष्टित भएकै कारण नेपालका सबै पक्ष चाहे इतिहास होस् वा संस्कृति वा अर्थतन्त्रमा प्रभाव परेका छन् । तर, अहिले सबभन्दा उल्लेखनीय पक्ष के छ भने नेपालका दुवै छिमेकी तीव्र गतिमा वृद्धि भइरहेका अर्थतन्त्र हुन् । नेपाल चीन वा भारत दुवैभन्दा गरीब छ । यसको अर्थ हो नेपालले यी दुवै देशमा आफ्ना लागि बजार भेट्टाउन सक्छ । मेरो दृष्टिकोणमा यो नेपालका लागि अवसर मात्र होइन आवश्यकता नै हो ताकि उसले छिटो विकास गरी दुई छिमेकीभन्दा धेरै पछाडी नपरोस् । किन भने, त्यसो भयो भने यो देशका लागि वास्तवमै खतरा उत्पन्न हुन्छन् ।

    ० तपाईं सन् ८० ताका निकै परम्परावादी अनि आर्थिक अनुशासनका कट्टर हिमायती अर्थशास्त्री मानिनु हुन्थ्यो । तर अहिले आएर झण्डै झण्डै मानवतावादी जस्तो देखिनु, सुनिनु हुन्छ । तपाईंमा आएको यस परिवर्तनबारे केही बताइदिनोस् ?

    –यो कुनै व्यक्तिगत परिवर्तन होइन । मैले त जस्तो समस्या देख्छु सोही अनुसार विश्लेषण गर्ने गर्छु । सन् ८० को अन्ततिर जब मैले पूर्वी युरोपेली देशहरूको बारेमा काम गरें त्यतिखेरको उनीहरू कम्युनिष्ट शासन शैलीबाट बाहिरिने प्रयत्न गर्दै थिए । त्यो शासन निकै खराब सावित भएको थियो त्यसैले उनीहरूलाई बजारमा सुधारको आवश्यकता थियो । त्यतिखेर उनीहरूलाई त्यही चाहिन्थ्यो । जब म अफ्रिकामा काम गर्दै थिएँ, त्यतिबेला रोगहरूको नियन्त्रण सबभन्दा मूल विषय थियो । त्यसैले मैले त्यसैमा ध्यान दिएँ ं। नेपाललाई हेर्दा मेरो विचारमा सबभन्दा प्रमुख समस्या भौतिक संरचनाहरूको छ । त्यसमा उर्जा, सडक, सञ्चार तथा गुणस्तरीय सामाजिक सेवाहरू पर्छन् । त्यसैले राम्रो अर्थतन्त्र भनेको आफूसामुको समस्या बुझ्नु हो । अन्य देशमा अन्य समयमा देखिएका समस्या बुझिरहनु होइन ।
    ( बीबीसी नेपाली सेवाबाट)

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *