breaking news

    डाक्टर सा’ब ! ‘कौडीको भाउमा जग्गा हडप्ने सपना नदेखे हुन्छ’

    April 20th, 2017 | by Weekly Nepal
    डाक्टर सा’ब ! ‘कौडीको भाउमा जग्गा हडप्ने सपना नदेखे हुन्छ’
    फिचर
    0

    काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले घर जग्गामा गर्ने लगानीमा कटौती गरेपछि कौडीको भाउमा भिर पाखो किनेर घडेरी बनाई सुनको भाउमा बेच्न पल्केकाहरु यतिखेर निराश बनेका छन् । त्यसैले पनि केही समय यता जग्गाको कारोबार पहिले जस्तो फस्टाउन सकेको छैन ।

    कतै खेतीयोग्य जमिन प्लटिङ गर्ने त कतै पाखो भत्काएर घडेरी भन्दै विक्री वितरण गर्ने कार्य बढेपछि सरकारले पनि त्यसलाई कम गर्ने उपाय खोजिरहेको छ । मनग्गे आम्दानी हुने भएपछि जग्गा व्यापारीहरुले प्लटिङ गरेर घडेरीको रुपमा जग्गा टुक्रा बनाई विक्री गर्दै आएका छन् । जग्गाको व्यापारबाट राम्रो आम्दानी हुने देखेपछि अधिकांश जग्गा व्यापारमा लागेका छन् ।

    यसरी जग्गालाई माध्यम बनाएर धन कमाउनकै लागि मनिसहरु कतिसम्म गिर्छन् भन्ने कुरा पछिल्लो समय नेपाल सरकारका पूर्व एआईजी डा. गोविन्द थापा र आफूलाई उद्योगी बताउने कन्छा थापाले ताल्छिखेलमा बनाएको घरबाट नै पुष्टि हुन्छ । चैत २० गते आइतबार ताल्छिखेल–उमामहेश्वर सडक उपभोक्ता सरोकार समूहले पत्रकार सम्मेलनको आयोजना गरेपछि यो विषय बाहिर आएको हो । थापाद्धयले सार्वजनिक बाटो नै बन्द गराएर घर बनाएका छन् । जसका कारण सरितादेवी बुढाथोकीलगायत धेरै जग्गाधनी त्यसको मारमा परेका छन् ।

    के हो यथार्थ ?

    नेपाल प्रहरीका पूर्व एआईजी डा. गोविन्द थापा र उद्योगपति कान्छा थापाले ललितपुरको ताल्छिखेल हुँदै उमामहेश्वर मन्दिरतर्फ जाने ६ मिटरको सरकारी बाटो बदनियतपूर्वक थुनेर निर्माण कार्य गरेको भन्दै पीडित समूहले पत्रकार सम्मेलनको आयोजना ग-यो । पूर्व एआईजी थापाले बाटो नै बन्द गराएर घरको गेट बनाउँदा बुढाथोकीको ३० आना क्षेत्रफलमा फैलिएको जग्गामा जान नमिल्ने भएको छ ।

    बुढाथोकीको मात्र नभइ त्यस वरपर रहेका जग्गामा जाने समेत बाटो बन्द भएको छ । थापाद्धयको कानुन विपरितको उक्त कार्यले गर्दा ललितपूर उपमहानगरपालिका १४ का कित्ता नं ५८१, ५८२, २९१, २९२, २९३ र ४७ का जग्गाधनी प्रत्यक्ष प्रभावित भएका छन् । उपभोक्ता मञ्चका अनुसार पूर्व एआईजी थापको उक्त कानुन विपरितको कार्यका लागि नगर विकास कार्यान्वयन समिति ललितपुरले समेत साथ दिएको छ ।

    ५ महिनाको फरकमा समितिकोे वैठकले विना पर्याप्त कानुनी आधार दुई फरक निर्णय गरेको थियो । २०५९ साल पुस महिनामा कि.नं. २१९ का जग्गाधनी पूर्व एआइजी डा. थापाले उक्त १५० मिटर लामो बाटोले आफूलाई मर्का परेको भन्दै बाटोे रद्द गर्न नगर विकास कार्यान्वयन समिति ललितपुर समक्ष निवेदन दिएका थिए ।

    २०६७ फागुन २० गते बसेको २९५ औं बैठकले बाटो रद्द गर्दा नेटवर्कमा असर पर्न सक्ने भन्दै बाटो रद्द नगर्ने निर्णय गरेको थियो । यसरी नगर विकासले बाटो रद्द गर्दा नेटवर्कमा असर पर्ने फैसला गर्दा डा. थापाले बाटो थुनेर घर बनाईसकेका थिए भने गाडी पार्किङ स्थल पनि बनिसकेको थियो ।

    तर, सोे निर्णयको ५ महिनापछि २०६८ श्रावण ८ गते प्रस्तावित बाटोमा नक्सा पास नगरी घर निर्माण गरेको भन्दै थापालाई २५ हजार जरिवाना गरेर बाटो रद्द गर्ने निर्णय भयो । अचम्म लाग्दो कुरा के छ भने समितिले निर्णय गर्दा आधार मानेको दुवै प्राविधिक प्रतिवेदन तयार गर्ने इञ्जिनियर एकै छन् भने निर्णयमा सही गर्ने पदाधिकारी पनि उही छन् । नगर विकासका इन्जिनियर पुर्णबहादुर महर्जन र अमिन ईन्द्रबहादुर श्रेष्ठको सहयोगमा कान्छा थापा र गोविन्द थापाले २०६७ फागुनको निर्णय उल्टाउँदै २०६८ साउन पहिलो साता बाटो रद्द गर्ने निर्णय गराउन सफल भएका थिए ।

    एकतर्फी बाटो रद्द गर्ने नयाँ निर्णय गर्दा एकातिर पूरानो निर्णय उल्लेख गरिएको छैन भने अर्कातर्फ प्रभावित हुने÷हुनसक्ने पक्षमाझ सार्वजनिक सुनुवाइ वा परम्परागत सर्जमिन नगरिएको सरितादेवी बुढाथोकीका श्रीमान कुलबहादुर बुढाथोकी बताउँछन् । ‘पूर्व एआईजी थापाले वरपरका कसैलाई पनि बाटो चाहिंदैन भन्ने फाइल तयार गराई हामीलाई कुनै जानकारी नगराई बाटो बन्द गराउन सफल भएका छन्, उनी छिमेकी मात्र नभई मेरो आफन्त समेत पर्छन् तर, उनैले हामीलाई अप्ठेरो हुने काम गरे ।’ बाटो रद्द गर्दा समेत सार्वजनिक सूचना जारी गरिएको छैन । खोली सकेको बाटो बन्द गरे नगर विकासले नागरिकको बिना अवरोध हिँडडुल गर्न पाउने अधिकार हनन गरेको बुढाथोकी दावी गर्छन् ।

    १५० मिटर लामो उक्त बाटो ६५ मिटर पक्की बनाई सकिएको छ भने बाँकी बाटो बनाउनका लागि बुढाथोकीलगायत उपभोक्ताहरु त्यहाँ पुग्दा थापाले बाटो बन्द भएको भन्दै फाइल देखाएपछि उनीहरु अचम्ममा परेका थिए । ‘हामी रुखहरु काटेर बाटो निर्माणको अन्तिम चरणमा पुगिसकेको अवस्थामा उहाँहरु(डा. थापा) आएर यो बाटो त बन्द छ भनेर फाइल देखाउनु भयो । त्यसपछि हामी मालपोत कार्यालय ललितपुर पुग्दा फाइल नै भेटिएन । पछि पो थाहा भयो फाइल त हाकिमको दराजमा राखिएको रहेछ ।’ सरितादेवी बुढाथोकीका श्रीमान कुलबहादुर बुढाथोकीले गुनासो पोखे ।

    ताल्छिखेलबाट नख्खिपोटतर्फ जाँदा आधाभन्दा बढी खोलिसेकोको बाटो अहिले गोविन्द थापाको गेटमा पुगेर टुंगिन्छ । पश्चिमतर्फ भने ह्युम पाईप उद्योगी कान्छा थापाले सरकारी बाटोमा पर्खाल लगाईदिएका छन् । पश्चिमतिर रहेको कित्ता नं. २०६ र २०७ मा फैलिएको घर जग्गा कान्छा थापाको स्वामित्वमा रहेको छ । २०४५ सालमा नगर विकास प्राधिकरणले गोरेटो बाटोलाई जिएलडी (गाईडेड लेन डेभलपमेन्ट) कोरेको थियो । ताल्छिखेलबाट नखिपोट निस्कने उक्त जिएलडी सडक सरकारी मापदण्ड अनुसार पछि ८ मिटरको कायम भएको हो ।

    विवाद सर्वोच्चमा

    नगर विकास समिति, मालपोत कार्यालयले कुनै आफूलाई न्याय दिने छाँटकाँट नदेखेपछि आफ्नो जग्गामा जाने बाटो नै बन्द भयो भन्दै कुलबहादुर बुढाथोकी सदियारसहित सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका छन् । गोविन्द थापा भन्दा पनि सरकारले नै आवश्यक देखेर जनताका लागि भनेर निर्माण गरिएको उक्त बाटो आधा बनिसकेको अवस्थामा दुई/चार जनाले आग्रह गर्दैमा बन्द गराउन मिल्छ ? भन्ने प्रश्न गर्दै आफू सर्वोच्च पुगेको बुढाथोकी बताउँछन् । धेरै लामो पर्खाइ (झण्डै तीन वर्ष) पछि यहि बैशाख २५ गते उक्त मुद्दाको पेशी तोकिएको बुढाथोकी बताउँछन् । उनी भन्छन्–‘राज्यले न्याय दिनेछ भन्नेमा हामी विश्वस्त छौं ।’

    जग्गा नदिंदा बाटो बन्द

    नाताले आफन्त पर्ने पूर्व एआईजी गोविन्द थापाले उक्त जग्गा किन्नका लागि माग्दा आफूले नदिएकाले नै बाटो बन्द गराएको बुढाथोकी बताउँछन् । ‘डाक्टर सा’बले बाटो कब्जा गरेर कौडीको भाउमा मेरो जग्गा किनेर करोडपति बन्ने सपना देख्नु भएको रहेछ । मैले जग्गा दिन्न भनेपछि बाटोमा नै घर बनाउनु भयो । म अझै पनि भन्छु मेरो उहाँसँग कुनै पनि दुस्मनी छैन । मैले सर्वोच्चमा हालेको रिटमा पनि सरकारले नै बाटो राख्नुपर्छ भनेर पछि आधा निर्माण भइसकेको बाटो किन बन्द गरायो भन्ने उल्लेख गरेको छु । आफन्त भएर सहयोग गर्नुपर्नेमा मेरै जग्गा हडप्नका लागि डाक्टर सा’बले यस्तो हर्कत अपनाउनु भयो ।’

    ‘म डाक्टर सा’बलाई के चांहि भन्छु भने बाटो बन्द गराएर कौडीको भाउमा मेरो जग्गा हडप्ने सपना नदेखे हुन्छ । म मर्न तयार छु, तर जग्गा उहाँलाई दिन्न । मेरो मृत्यु पछि पनि छोराहरुले उहाँलाई त्यो जग्गा दिने छैनन् ।’–बुढाथोकीले थपे । आफूले मुद्दा मामिलामा जाने भन्दा पनि बाटो बराबरको जग्गा दिन्छु, बाटो बन्द नगर्दिनुस् भनेर आग्रह गर्दा समेत थापाले नमानेको उनी बताउँछन् ।

    बुढाथोकी भन्छन्–‘धनकै लागि मानिसहरु यतिसम्म गिर्छन भन्ने मैले सोचेको पनि थिइन् । म त आफ्नो दुःख गरेर आफ्नै परिश्रमबाट बाँचीरहेको छु । गुल्मिको एउटा गाउँमा जन्मिएको म आफू र आफ्नो परिवारको लािग ४५ वर्षदेखि विदेशी भूमीमा काम गरिरहेको छु । म पनि विदेशतिर र दुई भाइ छोराहरु पनि विदेशमा नै भएकाले यहाँ हामीमाथि अन्याय भएको हो ।’ तर, अब न्याय पाउनेमा ढुक्क छु । व्रिटिस रिटायर्ड लाहुरे कुलबहादुर बुढाथोकी अहिले हङकङमा कार्यरत छन् । ‘विदेशमा दुःख गरेर कमाएको पैसाले जोडेको सम्पत्तिमाथि अर्कैको आँखा लाग्दा जो कोहिलाई पनि नराम्रो त लागिहाल्छ नि होइन र ?’ बुढाथोकी प्रश्न गर्छन् ।

    यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *