breaking news

    ज्योतिषी कार्य सेवा हो, व्यवसाय होइन – पण्डित ईश्वरी प्रसाद रिजाल

    August 7th, 2017 | by Weekly Nepal
    ज्योतिषी कार्य सेवा हो, व्यवसाय होइन – पण्डित ईश्वरी प्रसाद रिजाल
    अन्तरबार्ता
    0

    बुटवलको तिलोत्तमा नगरपालिकाको साविक ११ हाल वडा नं. ८ मा रहेको मणिग्राम भन्ने स्थानमा ज्यो. शिरोमणि गंगाधर रिजाल उपाध्यायले आज भन्दा झण्डै २६ वर्ष अगाडिबाट आफ्नै पैतृक सम्पतिबाट दश कठ्ठा जग्गा किनेर हिन्दू परम्परा अनुसारको धार्मिक अनुष्ठान स्थान निर्माण गर्नुभएको छ । उक्त धार्मिक अनुष्ठान स्थानमा जो कोहीलाई पनि सहजै आवात जावात गर्ने व्यवस्था मिलाइएको छ । हिन्दूधर्म अनुसार विविध धार्मिक अनुष्ठान कार्य गरिने उक्त स्थानमा सधैँ जस्तो भिडभाड नै भइरहन्छ । स्याङ्जाको आफ्नो पुख्र्र्र्याैली कार्यलाई निरन्तरता दिँदै आउनुभएका ज्यो. शिरोमणि गंगाधर रिजाल उपाध्यायको दैनिकी निकै व्यस्त देखिन्छ । उहाँको दैनिक कार्यतालिका अनुसार बिहान चार बजेदेखि बेलुकी नौं बजेसम्म व्यस्त रहने ज्योतिष शिरोमणि उपाध्यायले सर्वसाधारणदेखि राजनीतिक तहका उच्च व्यक्ति र प्रशासन क्षेत्रका उच्च तहमा रहेका जो कोहीको पनि भाग्यरेखा भूत, वर्तमान र भविष्य चिना हेरेर सिधै बताइदिने गर्नुहुन्छ । भूत, वर्तमान र भविष्य बताइदिने ज्योतिष शिरोमणि गंगाधर उपाध्यायबाट चिना देखाउन आउने जो कोही पनि खुशी हुँदै जाने गर्दछन् । नेपालको विभिन्न स्थान मात्र नभएर भारतको विभिन्न स्थानहरुबाट मानिसहरु आफ्नो भविष्यरेखा देखाउन र हिन्दू धर्म परम्पराअनुसार विभिन्न धार्मिक अनुष्ठान विधि गराएर फर्कने गर्दछन् । यिनै विषयमा केन्द्रीत रहेर गंगेस्वरधामको बारेमा ज्यो. शिरोमणि गंगाधर रिजाल उपाध्यायका कान्छा सुपुत्र पण्डित ईश्वरी प्रसाद रिजालसँग गरिएको कुराकानीको सम्पादित अंशः

    ० गंगेश्वरधामको सुरुवाती कसरी भयो ?

    – यो गंगेस्वरधाम हाम्रो बुबा गंगाधर रिजालज्यूबाट २०४८ साल मंसिरबाट सुरु भएको हो । पहिला हामी स्याङ्जा माइटारीमा बस्थ्यौं । स्याङजा माइटारीमा हाम्रो घर र मन्दिरसँगै थियो । त्यहाँ शिवजीकै पूजापाठ गरिन्थ्यो । त्यसपछि २०४५ मंसिर महिनामा जब हामी बुटवल आइपुग्यौं उहाँले सपनामा जुन ठाउँमा अहिले मन्दिर छ त्यो ठाउँमा भगवान उत्पति भएको देख्नुभयो रे त्यसपछि उहाँकै परिकल्पना अनुसार २०४८ सालमा यो मन्दिर निर्माण गरी यो धामको सुरु भएको हो ।

    ० बुबालाई सपनामा गंगेश्वरधाम भन्ने नाम कसरी आयो त ?

    – बुबाको नाम गंगाधर र बुबाले सपनामा पनि शिवजीले नै गंगेश्वर नाम राख्नुपर्छ भनेर दिक्षा दिनु भएको हो ।
    तपाइहरुले एउटा धार्मिक क्षेत्र जस्तो गरि पूजापाठ गर्नुभएको छ, यो जग्गा जमिन कसरी प्राप्त भयो ?
    हाम्रो बुबा स्याङ्जामा हुँदाखेरी नै यो जग्गा जमिनहरु हाम्रो हजुरबुबाले आमाको बुबाबाट किन्नु भएको हो । यो बुबाको पैतृक सम्पति हो । यो जग्गा जमिन मन्दिरको कम्पाउण्ड गरेर छ कठ्ठा छ ।

    ० धार्मिक स्थल पनि पैतृक सम्पति मै बनाउन मिल्छ र ?

    – धार्मिक स्थल भनेपनि अहिले आफ्नै मन्दिर र गुठी बनाएका छौं । बुबाले मन्दिरको नाममा अलग १० कठ्ठा गुठी पनि राखिदिनु भएको छ ।

    ० यो धार्मिक स्थलमा सबै परिवार नै लाग्नु भएको जस्तो देखिन्छ नि ?

    – होइन, यस धार्मिक स्थलमा चाँही अहिले म कान्छा छोरा मात्र लागिपरेको हुँ । अरु कोही पनि परिवारका सदस्य लाग्नु भएको छैन । मेरा पिता गंगाधर रिजालको कान्छो सुपुत्र म ईश्वरी प्रसाद रिजाल हँु । यस धार्मिक स्थलको पूरा हेरचाह गर्ने गरेको छु ।

    ० यो धार्मिक स्थल÷एक किसिमको हिन्दु धर्मको प्रचारको लागि हो ?

    – हो, खास गरेर बौद्धिक सनातन हिन्दू धर्ममा अहिले अफवाह फैलाइएको छ । हाम्रो हिन्दुधर्मभित्र अनेक किसिमका हाँगाहरु छन् । कसैले के धर्म, कसैले के धर्म भनेर फाटो पारेका छन् । कोही ठूलो, कोही सानो, कोही माथि, कोही तल भनेर अलग अलग धर्मको हाँगो फैलाएको हुनाले हामीले परम्परा अनुसार हाम्रो बाबु, बाजेदेखि चल्दै आएको बौद्धिक सनातन धर्मलाई नै राम्रोसँग अगाडि लानुपर्छ भनेर त्यसैलाई आत्मसाथ गरेर हामी लागिरहेका छौं । हाम्रो हजुरबुबा बालकृष्ण रिजाल उहाँ पनि ज्योतिष भएका कारण मेरा बुबा पनि त्यही ज्योतिष कार्य गर्दै आउनुभएको हो ।

    ० पुर्खौली घर स्याङ्जा छोड्नुपर्ने कारण केही छ की ?

    – हाम्रो बुबाले स्याङ्जामा जडिबुटीद्वारा अलिअलि औषधी गर्नुहुन्थ्यो । उहाँले आफ्नै गाउँघरमा उपलब्ध जडिबुटीद्वारा नै उपचार विधी अपनाउनु भएको थियो । त्यसबाट राम्रो पनि भएको थियो । धेरैले राम्रो अनुभव र सफल उपचारबाट उहाँले गरेर धेरै रोगहरु पनि निको भएका थिए । गर्दागर्दै त्यहाँको प्रशासनका हाकिम सि.डि.ओ रघुकान्त भण्डारी र दिनबन्धु भन्ने त्यहाँका निर्वाचित जिल्ला प्रमुख हुनुहुन्थ्यो उहाँहरुले चाँही व्यक्तिगत रिसिविका कारण दबाब दिन थाल्नुभयो । हामीले त्यस्तो गर्न गर्न पाइदैन भनेर प्रतिपाद ग¥यौं तर उहाँहरुले मान्नु भएन । त्यसपछि हामीले त्यो ठाउँनै छोडेर यतातिर आइयो ।

    ० पञ्चायत कालमा पनि उहाँलाई जेल पु¥याइएको थियो भनिन्छ नि हो ?

    – पञ्चायत कालमा पनि जेलनेल गराइएको थियो । त्यसको विस्तृत विवरणबारे मलाई खासै जानकारी छैन् । त्यतीबेला म सायद सानै थिए कि । त्यसपछिको कुरामा २०४५ मा रघुकान्त भण्डारीले जिल्ला प्रमुखको मिलोमतोमा केही पैसा खानको लागि उहाँलाई बन्देज लगाउनुभयो र त्यसपछि मैले पैसा पनि दिन्न र यो काम पनि गर्दिन भनेर छोडदिनु भएको हो ।

    ० यति सानो कुरामा आफ्नो गाउँथलो छोडेर यहाँ आएर धार्मिक अनुष्ठानको विकास गर्नुभयो नि किन ?

    – त्यहाँ आफ्नो घर पनि थिएन, अर्कैको घरमा हामी भाडामा बसेका थियौं । आफ्नो घर पनि थिएन, पछि सबै घर, जग्गा, जमिन यहीं नै   किनियो ।

    ० यहाँको बुबा शिरोमणी गंगाधर रिजाल चिना हेर्नेदेखि लिएर ज्योतिष शास्त्र कति वर्षदेखि गर्दै आउनु भएको हो ?

    – हाम्रो बुबाले आफ्नो उमेरको १६ वर्षदेखि नै यो काम गर्न थाल्नु भएको हो । उहाँले ज्यातिष विद्या नै अध्ययन गर्नुभएको हो । पर्वतको काभ्रेभन्ज्याङ भन्ने ठाउँमा गीता अध्ययन गर्नुभएको थियो । ज्योतिष विद्या चाँही उहाँले आफ्नै बुबासँग सिक्नु भएको हो । उहाँले करिब करिब ६५ वर्षदेखि ज्यातिष सेवा गर्दै आउनु भएको छ ।

    ० यो गंगेस्वरधाममा विभिन्न धार्मिक अनुष्ठान विधिअनुसार पूजापाठ हुने गरेको रहेछ व्यवस्थापन कसरी गर्नु भएको छ ?

    – पूजाको व्यवस्था भक्तजनहरुको इच्छा अनुसार उहाँहरुले समय दिनुभयो भने कुन पूजा गर्ने, कस्तो पुजा गर्ने भन्नुहुन्छ त्यही किसिमले हामी पूजाको व्यवस्थापन गर्दछौं । यहाँ धेरै किसिमको पूजाहरु हुन्छन् । सत्रुद्री, पाँच दिनको पूजा सत्चण्डीको पूजाका साथै एक दिनको लघुरुद्री पनि हुन्छ । शान्ति, स्वःस्ति, विवाह, ब्रतबन्ध लगायत शुभकार्य हुने गर्दछ ।

    ० यस्तो पूजाआजाको व्यस्थापन गर्नलाई खर्चको व्यवस्था कसरी मिलाउनु भएको छ ?

    – कर्ताहरुबाटनै हामी पूजाको पैसा लिन्छौ, त्यसबाट नै मिलिराखेको छ । पण्डितहरुले प्रत्येक दिनको पूजामा जतिवटा पूजा भयो त्यति वटा पूजाको नै दक्षिणा पाउनु हुन्छ । यसमा खर्च नियमित अथवा मासिक भन्ने हुँदैन । जतिवटा भयो त्यति पूजाको दक्षिणा पाउनुहुन्छ । त्यसरी नै कर्ताहरुबाट लिएको पैसाबाट नै व्यवस्थापन गर्ने गरेका छौं । यसमा मासिक खर्च पनि हुँदैन, आम्दानी पनि हुँदैन । जति पूजा हुन्छ, त्यही दिनको लागि मात्र हुन्छ । आम्दानीको लागि भए पण्डित अझै कम राख्थ्यौं तर थोरै पण्डितबाट खर्च कम गरेर आम्दानी धेरै गथ्र्यौं होला । त्यसकारण आजको पूजा आजकै खर्च भोलीको पूजा भोली नै । म यस कार्यक्षेत्रमा लागेको १३÷१४ वर्ष भइसक्यो यहाँको व्यवस्थापन सबै मैले हेरिरहेको छु ।

    ० बुबाले ८२ वर्ष हुँदासम्म पनि चिना हेर्ने गर्नुभएको रहेछ, सधैँ भिडभाडले तपाईंहरुलाई दिक्क लाग्दैन ?

    – हामीलाई त दिक्क लाग्दैन । जब यहाँ भिडभाड कम हुन्छ, त्यतिबेला बरु दिक्क लाग्छ । भिडभाड हुँदा रमाइलो लाग्छ । मान्छेहरु टाढा टाढादेखि आउनुहुन्छ । पोखरा, काठमाडौं लगायत विभिन्न स्थानहरुबाट आउने गर्नुहुन्छ । तर, भर्खरै भएको स्थानीय निर्वाचनको बेलामा भने कमै भयो । हामीलाई त यस्तै वातावरणमा हुर्किएर होकी रमाइलो लाग्छ, एकदिन भिड नहुँदा पनि अल्छि लाग्छ । प्रायजसो उहाँ ४ बजे बिहानै उठ्नुहुन्छ । प्रत्येक दिन त्यसभन्दा ढिलो कहिल्यै हुँदैन । त्यसपछि उहाँ उठेर नुहाइधुवाँइ गरिसकेपछि सानो सन्ध्या गरेर लगभग १ घण्टा बिहानमा मर्निङ्गवाक गर्नुहुन्छ । फर्केर आएपछि थोरै जलपान गरेर जप, तप, ध्यान, पुजा पाठमा लागेर उहाँको पूजापाठ २ बजे सकिन्छ २ बजेपछि खाना खाएर उहाँ सेवातिर लाग्नु हुन्छ । साँढे २ बजे पछि सेवामा लाग्नुहुन्छ र ढिलोमा ९ बजे सम्म सेवा गरि रहनु हुन्छ ।

    ० त्यति धेरै मान्छेहरु नेपालको कहाँ कहाँबाट आउँछन् ?

    – नेपालको पूर्व मेचिदेखि पश्चिमको महाकालीसम्म यता हाम्रो बाग्लुङ, म्याग्दी, जोमसोमदेखि लिएर र भारतको धेरै ठाउँबाट आउनुहुन्छ । कलकता, बङ्गाल, केरेला र धेरै बिहारको उत्तर प्रदेशको ठाउँबाट आउनुहुन्छ नियमित आउने क्रम सधै यस्तै हो ।

    ० अन्य धर्म मान्नेले यस्तो गर्न पाइदैन भनेर आरोप लगाउँदैनन् ?

    – अहिलेसम्म कसैले त्यस्तो आरोप लगाउनु भएको छैन । हामीले त्रिस्चियनहरुको पनि पूजा लगाई दिएका छौं । त्रिस्चियनहरुले विदेशबाट नै हिन्दु धर्मको पुजा गर्ने भनेर उनीहरु नआइकन उनीहरुको पुजा गराइ दिने गरेका छौं । उनीहरु नै हामी हिन्दु धर्म मान्छौं भनेपछि हामीले मान्नु प¥यो नि । हिन्दु धर्म अनुसारको पूजा लगाइ दिनु भनेपछि हामीले उनीहरुको अपमान गर्न हुँदैन नी । मुस्लिम जातको मान्छेको समेत हामीले पूजा लगाइदियौं । भारतको लखनउका एकजना मुस्लिमको हामीले ४ पटकसम्म पूजा गराई दियौं । उनले हिन्दु धर्ममा नै चिना बनाए र त्यसपछि उनले फेरी आफ्नो छोरीको राम्रो होस् भनेर पूजा लगाए, उनी मन्दिर भित्र जादैन थिए । उनीहरु बाहिरै बस्दथे, उनीहरुको नामबाट भित्र हामीले पूजा गरायौं ।

    ० पण्डितहरु धेरै जना हुनुहुन्छ तपाइले भन्नुभयो दक्षिणा पाउनुहुन्छ, मासिक तलब पनि पाउनुहुन्छ ?

    – उहाँहरुले मासिक तलब पाउनुहुन्न । पूजा भएन भने उहाँहरु आउनुहुन्न । नियमित पण्डित जी हुनुहुन्छ । बिहान बेलुका सन्ध्या वन्दना गर्ने उहाँहरु मात्र आउनुहुन्छ । प्राय पूजा भइरहन्छ । पूजा नहुँदाको दिन अरु पण्डितजीहरु आउनुहुन्न ।

    ० मणिग्राममा भएको यो गंगेश्वरधाम बुटवल लगायत सबै ठाउँमा प्रचार नभएको हो की तपाईले प्रचार गर्न नचाहनु भएको हो ?

    – मेरा बुबा बुटवलको मणिग्राम आउँदाको बखतमा शिवलिङ्गलाई यहाँ पूजा गर्ने चलन नै थिएन । यो ठाउँमा शिवलिङ्गलाई मसानको रुपमा लिइन्थ्यो । २०६५ सालमा म सानै थिए १२÷१३ वर्षको थिए त्यो बेलाको अनुभव के छ भने काठमाडौंको एक मुख्य व्यक्तिले पशुपति नाथको स्वरुपको पाँच मुखे कालो शिवलिङ्ग दिनुभएको थियो । स्याङ्जामा पनि हामी त्यही शिवलिङ्ग पूजा गथ्यौं । जब हामी बसाइ सरेर यहाँ आइसकेपछि बुबाले त्यही शिवलिङ्गलाई यही कोठामा राखेर पूजा गर्नुहुन्थ्यो र हेराउन पनि हुन्थ्यो । अहिले यहाँका मान्छेहरु धर्ममा एकदम लागि परेका छन् । तिनै मान्छेले ठूला ठूला मन्दिर बनाएका छन् । शिवलिङ्गलाई नजानेर मसान पूजियो भन्थे । बुबाले ब्युत लगाउनुहुन्थ्यो । सानैदेखि कहिल्यै छोड्नु भएन ब्युत लाउन । उहाँलाई चाँही भाँडोमा खरानी धसेर बसेको छ भन्थे । शिवजीको पूजा रुद्री भनेको त यहाँ थाहा नै थिएन । सत्यनारायण पूजा मात्रै यहाँ लगाइन्थ्यो । लाखबति, बाल्ने भजनकृतन गर्ने त्यति थिएन । जब बुबा आइसकेपछि रुद्री गर्नुपर्छ, शिवको पूजा गर्नुपर्छ शिवजीको पूजा नगरी केही सफल हुँदैन भनिसकेपछि त्यसपछि बल्ल रुद्री सुरु भएको हो । शिवजीको मन्दिर यहाँ कहिं पनि थिएन । सिद्धबाबा भनेको पूरानो नै भयो । त्यसपछि अहिले जति पनि बनेका छन् शिव मन्दिर पहिले कहिं पनि थिएनन् । जब यहाँ शिव मन्दिर बन्यो त्यहाँ चाहीँ मसान पुज्छ भन्थे, अहिले भने शिव मन्दिर जहाँतहिँ बनाएका छन् । रुपन्देहीमा जति रुद्री कहिँ पनि हुँदैन । बुबाले नै रुद्रीलाई चिनाउनु भएको हो । प्रचार भन्ने कुरो हामीले नचाहेको हो । प्रचार गरेर पेशा बनाउनु हाम्रो उद्देश्य होइन । म व्यवसायी होइन सेवाग्राही हो ।

    ० यहाँले बुबाको सेखापछि यस्तो काम गर्ने सोंच राख्नु भएको हो ?

    – ज्योतिष विद्या पढ्न त धेरै पढेका हुन्छन् । पढेर ज्यातिषमा पि.एच.डि पनि गरेका छन् । तिनले पनि नसक्ने छन् । बुबाले भगवान शिवकै ध्यान गर्नुभएको छ । बुबालाइ भगवानले शक्ति दिएका छन् । त्यो शक्ति कतिको आउँछ हेर्नुपर्छ । चिना बनाउँछु, चिना हेर्छु । अहिलेसम्म १ लाखको हाराहारी चिना बनाइयो होला । हिन्दुधर्म बढेको हो कि होइन भन्दा पनि कमाउने उद्देश्यले पनि धेरै प्रचार गरिएको छ । हाम्रो त्यस्तो उद्देश्य पनि होइन । भगवानलाई स्वच्छा मनले आराधना गर्नुपर्छ । हाम्रो हिन्दु धर्ममा विकृति पनि बढेको छ । हाम्रो त बौद्धिक सनातन धर्म हो, फेरी हामीले बेदहरु पढ्ने, बेदको प्रचार गर्ने, रुद्रीको प्रचार गर्ने भन्दा पनि हिन्दु संस्कारको प्रचार गर्नुपर्छ । जबकी अहिले निस्केका हाँगाहरु हिन्दु धर्ममा पलाएका छन् । यी हाँगाहरुले गर्दा हिन्दु धर्ममा बाधा पु¥याएको छ । धेरै हाँगाहरुले गर्दा मानिसहरुमा अलमल परेको होकी भन्ने मलाई लाग्छ । हिन्दु धर्म अनुसार गरिने अनुष्ठानहरु वैधिक विधि अनुसार गर्नुपर्छ । अहिले भए गरेका धर्मको प्रचार भन्दा पनि पैसामुखी छ । कहिलेकाही सुन्ने गरेको छ धान्यचल महायज्ञ गराएर धेरैधेरै रकम तान्न लगाइन्छ । त्यसले राम्रा गर्दैन भन्ने लाग्छ । शुद्ध हिन्दुधर्म वैदिक विधि अनुसार आफ्नो आफ्नो गच्छेअनुसार गर्ने हो ।

      प्रस्ताेता : दामोदर प्रसाद दवाडी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *