breaking news

    खेलकुदमा कांग्रेसी मन्त्री ल्याउन दौडधुप

    July 14th, 2017 | by Weekly Nepal
    खेलकुदमा कांग्रेसी मन्त्री ल्याउन दौडधुप
    फिचर
    0

    काठमाडौं । यतिबेला राष्ट्रिय खेलकुद परिषदमा युवा तथा खेलकुद मन्त्री को बन्नेहोला भन्ने जिज्ञासाले खुबै पिरोलेको छ । त्यसैले त परिषदका कर्मचारीहरू आजभोलि कामै नगरी तलब खाएर बसेका छन् । उनीहरू जुन दलको मन्त्री आउँछ त्यही दलको भजन गाउनु पर्छ भन्दै तम्तयार भएर बसिरहेको चर्चा खेलाडीहरूबीच हुने गरेको छ । स्रोतका अनुसार, परिषदमा सबैभन्दा बढी चिन्ता त सदस्यसचिव केशवकुमार विष्टलाई भएको छ । एमालेका नेता पुरुषोत्तम पौडेलले सदस्यसचिव बनाएका विष्टले अहिलेसम्म माओवादी निकटका मन्त्री मात्र बेहोरेका छन् । त्यसैले पनि नेकपा एमाले निकटका विष्टलाई खासै समस्या परेन ।

    जसरी माओवादी कार्यकर्ता युवराज लामा सदस्यसचिव भएका बेलामा एमालेको मन्त्री हुँदा फरक पर्दैनथ्यो त्यस्तै हुन्थ्यो विष्टलाई माओवादी मन्त्री खासै समस्याको रुपमा देखा परेनन् ।

    तर अहिले परिस्थिति बदलिने देखिएको छ । २५ वर्ष भइसकेछ कांग्रेसले खेलकुद मन्त्रालय नसम्हालेको । कतिपय कांग्रेसीहरू त नेपालमा खेलकुद मन्त्रालय छ र भनेजस्तो गर्छन् । त्यसैले त कांग्रेसी खेलकर्मीहरू निराशा ब्यक्त गर्ने गर्दछन् । परिषदका कांग्रेसी कर्मचारी त खेलकुद मन्त्री कांग्रेसको कहिल्यै आउने होइन क्यारे भन्दै सदस्यसचिव विष्टका अगाडि लम्पसार पनि पर्दै आएको चर्चा पनि राखेपमा हुने गरेको छ ।

    तर परिषदका केही कांग्रेसी कर्मचारी भने यसपटक खेलकुद मन्त्रालय कांग्रेसकै हुनुपर्ने कुरामा जोड दिएर लागिरहेको खबर छ । केही कर्मचारी त कांग्रेसका नेताहरूको घरघरमा धाएर दवाव दिन थालेका छन् । युवाको बागडोर र देशको झण्डा विश्वमा फैलाउने खेलाडीको पक्षमा कांग्रेस लाग्नुपर्ने भन्दै उनीहरूले धमाधम कांग्रेसी नेताहरूलाई झक्झक्याइरहेको स्रँेतले बताएको छ ।

    राखेप स्रोतका अनुसार, कर्मचारीको एक हुल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न गइसकेको छ । उनीहरूले खेलकुद र खेलाडीका बारेमा देउवालाई सहमत समेत गराएर फर्किएको बताइन्छ । प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार, देउवाले आफ्नो क्षेत्रकै वीरबहादुर बलायर (भक्तबहादुर बलायरका भाइ)लाई खेलकुद मन्त्रालय जिम्मा लगाउन खोजेको बुझिएको छ ।

    कांग्रेसी खेलकर्मीहरू धमाधम नेताहरूको ढोकामा जाने क्रममा नेता खुमबहादुर खड्काको घरमासमेत पुगेको बताइन्छ । त्यसैगरी रामचन्द्र पौडेल समक्षसमेत खेलकुद मन्त्रालय लिने सम्बन्धमा छलफल भएको स्रोत बताउँछ । तर पौडेल पक्ष मन्त्री नै नपाइरहँदा अब खेलकुद भागमा लिएर के खानु के कमाउनु ? भन्ने मनस्थितिमा रहेको बताइन्छ ।

    माओवादी केन्द्र पनि आफनो भागमा पर्ने मन्त्रालयमा एउटा खेलकुद पनि हुने भन्दै उपयुक्त पात्र खोजीमा रहेको स्रोत बताउँछ । माओवादी पार्टीमात्र ड्यासिङ भए पनि व्यक्ति भने ड्यासिङ भेटिन नसकेको भन्दै खेलकुद लिने कि नलिने भन्नेमा अन्योल रहेको स्रोतको दाबी छ । माओवादीले अब आफ्नो पार्टीबाट खेलकुद मन्त्रालयमा पठाउनु परे अलि ड्यासिङ पात्र मात्र पठाउने सोचमा रहेको बताइन्छ ।

    खेलकुद परिषदमा जो आए पनि एमालेको आउनेवाला छैन । त्यसैले पनि परिषद सदस्यसचिव विष्टको टाउको दुख्न सुरु भएको बताइन्छ । अब कांग्रेसकै मन्त्री आए कसरी हल्लाउलान् त्यो भने कौतुहलताको विषय छ । किन कि परिषदका केही बोर्ड सदस्यहरू विष्टप्रति रुष्ट छन् । कांग्रेसकै मन्त्री ल्याउन सफल भने राखेपका कांग्रेस भनेर चिनिएका कर्मचारीहरूको चुरीफुरी बढ्ने छ भने सदस्यसचिव विष्ट र कांग्रेस भनिएका कर्मचारीबीचको द्वन्द्व भने चर्किएर जाने छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *