breaking news

    खेतान समूहको अन्य उत्पादन बिक्रीमा रोक ! तीन करोड नौ लाख लिएर फरार

    April 20th, 2017 | by Weekly Nepal
    खेतान समूहको अन्य उत्पादन बिक्रीमा रोक ! तीन करोड नौ लाख लिएर फरार
    फिचर
    0

    काठमाडौं। खेतान समूह सञ्चालन गरेको हिमालयन स्न्याक्स एण्ड नुडल्स प्रालि तथा मायोज हम्टीडम्टी चिज बल्स उद्योग बन्द भएपछि सामान वितरक व्यवसायीहरु व्यापारका लागि राखेको बैंक ग्यारेन्टीमार्फतको पैसा लिएर खेतान समूहका सदस्यहरु फरार भएको पाइएको छ।

    कम्पनीबाट वितरकसम्म पुगिसकेको र म्याद गुज्रिएको सामान फिर्ता समेत नलिई खेतान समूहका सदस्यहरु राजेन्द्र खेतान, प्रेमप्रकाश खेतान, चन्द्रप्रकाश खेतान सम्पर्कविहीन भएको वितरक व्यवसायीहरुले आरोप लगाएका छन्।

    उक्त कम्पनीका लागि वितरक व्यवसायीहरुको बैंक ग्यारेन्टी राखिएको जमानत रकम तीन करोड नौ लाख रुपैयाँ रहेको थियो। कम्पनीलाई सम्पूर्ण व्यवसायीहरुले तिर्न बाँकी रकम करिब २१ लाख रुपैयाँ मात्रै थियो।

    उक्त रकमको हिसाबकिताब नगरी खेतान समूहले सबै जमानत रकम लिएर वितरकहरुसँग सम्पर्कविहीन भएको आरोप लगाइएको छ। राजधानीमा बुधबार नेपाल वितरक महासंघले एक कार्यक्रम गरी वितरकहरुलाई खेतान समूहले ठगेको गुनासो गरेको हो।

    महासंघले वितरक व्यवसायीहरुले हिसाबकिताब गर्न चाहे पनि खेतान समूहका सदस्यहरु भागीभागी हिँड्ने गरेको बताइएको हो। ठूलो व्यावसायिक घराना भएकाले साना व्यवसायीलाई हेपेको महासंघका निर्वतमान अध्यक्ष एसपी ढकालले बताए।उनले आफूहरु उक्त कम्पनीहरुको सामानको एकएक पैसा हिसाब गर्न तयार रहेको भए पनि खेतान समूहका सदस्यहरु बढी पैसा पाएको कारण सम्पर्कमा आउन नचाहेको बताए।

    वितरक व्यवसायीले जमानत राखेको रकम चलाउँदा कुनै पनि सूचना नदिएको उनको भनाइ थियो । वितरक भनेको कम्पनी र उपभोक्तबीचको पुल भएको तर पनि खेतान समूहले हेपाहा प्रवृत्ति देखाएको बताए।

    कार्यक्रममा उक्त समस्या समाधान समितिका सदस्यसचिव दुर्गाराज श्रेष्ठले उद्योग बन्द हुनुअगाडि उत्पादन गरेका गुणस्तरहीन सामानहरु वितरकको गोदाममा पठाइएको आरोप लगाए।

    उक्त सामानहरु फिर्ता लैजान बाँकी छ। सोको हिसाबकिताब मिलान गर्न पटक–पटक आग्रह गर्दा पनि कम्पनीका आधिकारिक व्यक्तिहरु हिसाब मिलान गरी लेनदेन राफसाफ गर्नको लागि सम्पर्कमा नआई एकतर्फी रुपले कम्पनीलाई वितरक प्रतिष्ठानहरुले उपलब्ध गराइएको बैंक ग्यारेन्टी रकम आफूखुसी सम्बन्धित बैंकहरुसँग माग गरी अधिकांश भुक्तानी लिएको महासंघले जनाएको छ।

    कार्यक्रममा समस्या समाधान समितिका अध्यक्ष कृष्ण घिमिरेले समस्या समाधानका लागि वितरकले हदैसम्मको लचकता अपनाए पनि उद्योगीहरुले दादागिरी देखाउन थालेकाले कानुनी बाटो अपनाउने निर्णय गरेको जानकारी दिए। महासंघले सरकारलाई पनि उक्त समस्याको बारेमा जानकारी गराउँदा समाधानका लागि पहल नगरेको गुनासो गरेको छ। उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई उक्त समस्याको बारेमा जानकारी गराउँदासमेत समाधानको पहल नभएको महासंघको भनाइ छ। महासंघले खेतान समूहले उक्त हिसाबकिताब राफसाफ नगराएको खेतान समूहको अन्य उत्पादनहरुसमेत बिक्रीवितरण नगर्ने बताएको छ। महासंघले चैत ७ गते सातदिने म्यादसहित हिसाब मिलानका निम्ति पत्राचार गरेको भए पनि कम्पनीले कुनै पनि प्रतिक्रिया नदिएको महासंघले जनाएको छ।
    आर्थिक दैनिकले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *