breaking news

    के हो हँ अन्धराष्ट्रवाद–उग्रराष्ट्रवाद ? – युवराज पाण्डे

    August 1st, 2017 | by Weekly Nepal
    के हो हँ अन्धराष्ट्रवाद–उग्रराष्ट्रवाद ? – युवराज पाण्डे
    विचार विश्लेषण
    0

    नेपालमा अहिले राष्ट्रवाद शब्द पहिले पहिलेभन्दा पनि बढी प्रचलनमा आएको हो कि जस्तो महसुस हुन्छ । अहिले भर्खरै सम्पन्न भएको निर्वाचनमा एमालेले सबैभन्दा बढी स्थानमा विजय प्राप्त गर्नुको प्रमुख कारण एमालेले उठाएको राष्ट्रवादको मुद्दा हो भन्ने कुरामा एमाले पक्षका र एमालेका विपक्षका धेरैजसो राजनीतिक विश्लेषकहरू सहमत देखिन्छन् । एमालेले आफूले उठाएको राष्ट्रवाद र राष्ट्रियताको मुद्दालाई जनताले ठीक ठानेको हुनाले आफूले धेरै ठाउँमा विजय प्राप्त गर्ने सफलता पाएको दाबी गर्छ भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र समेतका एमालेको विपक्षमा रहेका धेरैजसो दलहरूले एमालेले उठाउँदै आएको राष्ट्रवाद र राष्ट्रियताको मुद्दालाई उग्र राष्ट्रवादको संज्ञा समेत दिँदै आएको पाइन्छ ।यसले गर्दा स्वभाविक रुपले राष्ट्रवाद र उग्र राष्ट्रवादमा के अन्तर छ भन्ने कुरामा समेत जिज्ञासा उत्पन्न    हुन्छ ।

    राष्ट्रवाद शब्द राष्ट्र र वाद दुई शब्द मिलेर बनेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान बृहत् शब्दकोषले जनता, सरकार र सार्वभौमसत्तासम्पन्न भएको कुनै देश वा मुलुकलाई राष्ट्रको रुपमा परिभाषित गरेको छ । सो शब्दकोषले तत्वदर्शीहरूले निश्चित गरेको कुनै विशिष्ट कुराको मत वा सिद्धान्त भनी वादलाई परिभाषित गरेको छ । वाद शब्दले विचारलाई जनाउँछ । राष्ट्र र वाद शब्दका अर्थहरूलाई मिसाउने हो भने राष्ट्र र राष्ट्रियताप्रतिको विशेष भक्ति भावनालाई राष्ट्रवाद भनेको छ । यसरी मानिसले आफ्नो राष्ट्रलाई मायाँ गर्ने र राष्ट्रलाई नोक्सान हुने काम कसैले पनि गर्नुहुँदैन भन्ने मान्यतालाई नै राष्ट्रवाद भनिन्छ ।

    उग्र भन्ने शब्द र राष्ट्रवाद भन्ने शब्द मिलेर उग्र राष्ट्रवाद भन्ने शब्दको निर्माण भएको देखिन्छ । त्यसैगरी ‘अन्ध’ शब्द र राष्ट्रवाद शब्द मिलेर अन्ध राष्ट्रवाद शब्दको निर्माण भएको छ । नेपाली वृहत् शब्दकोषले उग्र शब्दले डरलाग्दो, तीव्र, सहजै शान्त नहुने, कडा, चर्काे, ज्यादा आदि अर्थ दिन्छ भनि उल्लेख गरेको छ । त्यसैगरी ‘अन्ध’ शब्दले अन्धो वा विवेक नभएको वा मनपरी गर्ने भन्ने अर्थ दिन्छ । यसरी हेर्दा उग्र र राष्ट्रवाद शब्दका अर्थहरू एकै ठाउँ राखेर उग्र राष्ट्रवाद भन्ने शब्दको अर्थ खोज्यौं भने यस शब्दबाट डरलाग्दो वा चर्काे वा कडा राष्ट्रवाद भन्ने अर्थ निस्कन्छ ।

    देशलाई मायाँ गर्ने कुरा वा देशप्रतिको भक्तिभावको कुरालाई डरलाग्दो वा चर्काे र डर नलाग्दो वा नरम खालको भनेर वर्गीकरण गर्न त्यति स्वभाविक र मिल्दो हुँदैन । राष्ट्रप्रतिको भक्तिभाव वा प्रेम जतिसुकै बढी भएपनि त्यसलाई चर्काे वा डरलाग्दो भनियो भने त्यसले अन्ततोगत्वा मानिसमा राष्ट्रप्रतिको प्रेम र निष्ठा पनि थोरै वा अलिकति मात्रै हुनुपर्ने रहेछ कि भन्ने गलत निष्कर्षमा पुर्याउँछ । संसारका सबै धर्म र संस्कृतिले राष्ट्रप्रेमलाई सर्वाेपरि महत्व दिएका छन् र अत्यन्त ठूलो धर्म वा कर्तव्यको रुपमा लिएका छन् ।

    सनातन हिन्दू धर्म र संस्कृतिले पनि ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भनेर जन्म भूमिलाई स्वर्ग जस्तो हो भनेर उल्लेख गरेको   छ । मानव जातिको इतिहासमा देशको स्वाधीनता रक्षाको निम्ति हजारौं लाखौं मानिसहरूले आफ्नो बलिदान गरेका छन् । आफ्नो राष्ट्रको रक्षाको निम्ति बलिदान गर्ने ती महान व्यक्तिहरूलाई राष्ट्रप्रति प्रेम नभएका मानिसहरूले मात्रै उग्र राष्ट्रवादी भन्न सक्छन्–राष्ट्रलाई मायाँ गर्ने कसैले पनि आफ्नो राष्ट्रलाई मायाँ गर्ने अरु कसैलाई उग्र राष्ट्रवादी भन्न सक्दैनन् । त्यसैगरी अन्ध शब्दलाई राष्ट्रवादसित जोडर अन्ध राष्ट्रवाद शब्दको निर्माण गर्ने प्रयत्नलाई पनि जायज मान्न सकिदैन ।

    राष्ट्रलाई मायाँ गर्ने मान्छेले मनपरी गर्छ वा त्यसको विवेक हुँदैन भन्ने कुरा राष्ट्रलाई मायाँ गर्ने अर्काे मान्छेले कल्पना पनि गर्न नसक्ने कुरा हो । अंग्रेजीमा अल्ट्रा नेशनलिज्म शब्दले दिने अर्थ र नेपालीमा उग्रराष्ट्रवाद शब्दले दिने अर्थ एउटै हो । आजभन्दा सयौं बर्ष अगाडि एउटा राष्ट्रले आफ्नो राज्य विस्तारको निम्ति अर्काे राष्ट्रमाथि आक्रमण गरेर आप्mनो राज्यमा गाभ्ने प्रयत्न समेत मानिसहरूले गर्थे । यसरी आफ्नो राष्ट्रको विस्तारको निम्ति अर्काे राष्ट्रमाथि नियन्त्रण गर्न अग्रसर हुन जरुरी देख्ने मान्यतालाई उग्र वा अन्ध राष्ट्रवादको संज्ञा दिन मिल्ने देखिए पनि वर्तमान नेपालमा कुनै राजनीतिक दल र शक्तिले यस्तो मान्यता अंगालेको देखिदैन । त्यसैले नेपाली समाजमा एउटा पक्षले वा व्यक्तिले आफूलाई मन नपरेको आधारमा अर्काे पक्षलाई अन्ध राष्ट्रवादी वा उग्र राष्ट्रवादीको संज्ञा दिन्छ भने त्यस्तो कार्यलाई नै अविवेकपूर्ण मान्नुपर्ने हुन्छ ।

    अहिले मध्ययुगमा जस्तो एउटा राज्यमा एक दुई हजार वा दुई चार हजार मात्रै जनसंख्या हुन्छ भन्ने कल्पना सामान्यतः गरिदैन । चीन र भारत जस्ता मुलुकमा एउटै मुलुकमा एक अर्बभन्दा बढी मानिस छन् । चीन र भारतलाई दुई स्वतन्त्र राष्ट्रको रुपमा संसारले स्वीकारेको छ । ती दुवै देशमा सयौं जातजाति, समुदाय वा रक्त समूहका मानिसहरू रहेका छन् । त्यसैले वर्तमान विश्वमा जात र समुदायलाई राष्ट्र र राष्ट्रियताको संज्ञा दिने प्रयत्न पनि बौद्धिक विलासको काम मात्रै हुन जाने देखिन्छ । हामी वर्तमानमा छौं र हामीले वर्तमानको वास्तविकतालाई स्वीकार गर्नु पर्दछ । हो अहिले पनि संसारका कतिपय ठूला र शक्तिशाली देशहरूले साना र कमजोर मुलुकमाथि आफ्नो नियन्त्रण गर्न खोजेको देखिन्छ । त्यस्ता मुलुकको त्यस्तो प्रयत्नलाई उग्रराष्ट्रवादी प्रयत्न वा अन्ध राष्ट्रवादी प्रयत्न भन्न पनि जायजै होला । तर, नेपालमा नेपालीलाई मायाँ गर्ने कसैले पनि अर्काे मुलुकमाथि नियन्त्रण गर्ने सपना देखेको पाइँदैन ।

    नेपालको स्वतन्त्र अस्तित्व कायम रहिरहनुपर्छ भन्ने मान्यता राख्ने र कुनै एउटा मुलुकको इच्छा र निर्देशन अनुसार नचलेर स्वतन्त्र हिसाबले चल्नुपर्छ भन्ने मान्यतालाई उग्रराष्ट्रवादी र अन्धराष्ट्रवादी मान्यता दिन मिल्दैन । नेपालसँग आत्मनिर्णयको अधिकार हुनुपर्छ भन्ने मान्यता राष्ट्रवादी मान्यता हो, अन्धराष्ट्रवादी वा उग्र राष्ट्रवादी मान्यता होइन । त्यसैले नेपाली समाजमा उग्रराष्ट्रवाद वा अन्धराष्ट्रवाद राष्ट्रिय राजनीतिक रुपमा चर्चा र प्रभाव रहेका कुनै पनि दललाई आरोपित गर्नु आवश्यक र उपयुक्त हुने देखिदैन । मानिसहरूले आफ्ना विरोधीको आलोचना गर्न र आफ्ना कमजोरीहरूको ढाकछोप गर्नको निम्ति मात्र यी शब्द प्रयोग गरेको पाइन्छ । यसरी आफ्ना कमजोरीहरू लुकाउनको निम्ति अरुको आलोचना गर्नका निम्ति यी शब्दको प्रयोग गर्ने काम आफैंमा विवेकपूर्ण देखिदैन ।

    नेपालमा अहिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कतिपय नेता तथा समर्थकहरूले एमालेको आलोचना गर्नका निम्ति यस शब्दको प्रयोग गरेको समेत सुनिन्छ । अर्कातिर नेपाल मजदूर किसान पार्टीका नेता नारायणमान बिजुक्छे समेतका कतिपय नेपाली नेताहरूले एमालेलाई राष्ट्रवादी पार्टी स्वीकार गर्न पनि सकेको पाइँदैन । एमालेले नेपाल र नेपालीमाथि विदेशी पक्षबाट भएका कतिपय हस्तक्षेप, अतिक्रमण र अनुचित तथा अमर्यादिन व्यवहार र दबाबको विरोध गर्न हच्केको वा नसकेका उदाहरणहरू पनि फेल पार्न सकिन्छ । त्यस्ता कतिपय उदाहरणलाई आधार बनाउने हो भने पछिल्लो समयमा आएर ठूला दल मध्येमा राष्ट्रको पक्षमा दह्रो अडान राखेको मानेर जनताले बढी मत दिएको मानिएको एमाले अहिलेसम्म राष्ट्रवादी हुने प्रयत्नमा रहेको र राष्ट्रको पक्षमा एमालेजति बोल्न पनि संकोच मान्ने गरेका अरु कतिपय पार्टीको तुलनामा राष्ट्रवादी मानिएको पार्टीको रुपमा परिचित पार्टी बनेको देखिन्छ ।

    अर्कातिर राष्ट्रिय प्रजातन्त्र पार्टीजस्ता कतिपय पार्टीले राष्ट्रवादलाई चुनावको नाराको रुपमा मात्रै प्रयोग गरेको देखिन्छ । महाराजा महेन्द्र समेतका नेपालका कतिपय महाराजाहरूले राष्ट्रको पक्षमा गरेका कतिपय कार्यहरूबाट नेपाली समाजले राजतन्त्रलाई तुलनात्मक रुपले राष्ट्रवादी शक्ति मान्दै आएका छन् र राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्रकालमा राजतन्त्रको पक्षमा उभिएका र अहिले राप्रपामा आवद्ध भएका नेताहरूले त्यसै आधारमा आफ्नो पार्टीलाई राष्ट्रवादी पार्टीको रुपमा चिनाउँदै पनि छन्, तापनि राष्ट्रिय प्रजातन्त्र पार्टीले पछिल्लो समयमा गरेका निर्णयहरूलाई आधार बनाएर जनताले राप्रपालाई राष्ट्रवादी शक्ति भनेर भन्ने आधार अझै बनेको देखिदैन । बरु राप्रपाले समेत विदेशी शक्तिले नेपालमाथि प्रत्यक्षरुपले हस्तक्षेप गर्दा मौनता साँध्ने काममा पछि परेको देखिन्छ । त्यसैले नेपालका मूलधारका राजनीतिक पार्टीहरू कुनैलाई पनि उग्रराष्ट्रवादी वा अन्धराष्ट्रवादी भन्न मिल्ने देखिदैन । उल्टो राष्ट्रवादी भन्न मिल्ने नेता र पार्टी समेत खोज्नुपर्ने अवस्था छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *