breaking news

    के हो श्राद्ध ? कृष्णप्रसाद कोर्इराला

    September 6th, 2017 | by Weekly Nepal
    के हो श्राद्ध ? कृष्णप्रसाद कोर्इराला
    धर्मदशर्न / जिवन शैली
    0

    सनातन हिन्दू संस्कारमा चान्द्रमास आश्विन महिनाको पूर्वार्द्धको पूरै पन्ध्र दिनलाई पितृपक्ष भनी उक्त अवसरमा दिवङ्गत भएका आफन्तको श्राद्ध गर्ने परम्परा छ । दिनगणनामा एउटा सामान्य पक्ष पन्ध्र दिनको हुने गर्दछ, तथापि यस अवधिलाई सामान्य जनबोलीमा सोह्रश्राद्ध भन्ने गरिन्छ ।

    कसैले भाद्रशुक्ल पूर्णिमा समेेतको गन्ती गर्ने र कसैले आश्विन शुक्लपक्षको प्रतिपदाका दिन गरिने मातामह श्राद्धलाई पनि गणना गरेर यसलाई सोह्रवटा श्राद्धको समूहको संयुक्त नाम हो भनी प्रमाणित पनि गरिन्छ । तर भाद्र पूर्णिमा पितृपक्षमा नपर्ने र पितृ विसर्जनको भोलिपल्ट पर्ने मातामह श्राद्धले पनि पितृपक्षको सीमारेखा नाघ्ने भएकाले समग्रमा पितृपक्षलाई मात्र सोह्रश्राद्ध मान्ने चलन पनि छ । दिनकै लेखाजोखा गर्ने हो भने पितृपक्षका सबै पन्ध्र दिनमा पनि कुनै कुनै दिन श्राद्ध गर्नु हुँदैन भन्ने मत पनि भेटिन्छ, उदाहरणका लागि मघा तिथि परेका दिन श्राद्ध गरेको खण्डमा जेठो छोरो वा अन्य छोराहरूले कष्ट ब्यहोर्नु पर्दछ (मघायां पिण्ड दानेन ज्येष्ठ पुत्रो हनिष्यति) भनी आफूले श्राद्ध गर्ने तिथि नै परे पनि बरु अन्य अनुकूल तिथिमा सारेर भए पनि उक्त दिन श्राद्ध गरिंदैन । त्यस्तै चतुर्दशी तिथिका दिन अकालमा मरेकाहरूको श्राद्ध गर्न छुट्याइएको तिथि भएकाले यस दिन पनि सामान्य श्राद्ध गर्नु हुँदैन भनिन्छ, अनि नवमीका दिन मृत महिलाहरूको मात्र श्राद्ध गर्ने हो भनी यस दिन पनि श्राद्ध गर्न आनाकानी गर्ने चलन छ ।

    उता वेलावेलामा तिथिक्षय भइदिनाले कहिलेकाँही एउटा पक्ष चौध वा तेह्र दिनमा खुम्चिन पुग्छ र श्राद्धको सङ्ख्यामा कमी आउँछ । त्यसैले मुखले सोह्रश्राद्ध भने पनि वास्तवमा सोह्रश्राद्धमा श्राद्ध गरिने दिन सोह्र वटा पुग्दैनन् । जे होस् सोह्रश्राद्धको प्राविधिक विषय जेजस्तो भए पनि सोह्रश्राद्धको एउटा समग्र पक्ष त्यस्तो समयावधि हो, जसमा हिन्दू संस्कृतिका अनुयायीहरूले एकसाथ आआफ्ना मृत परिजनलाई स्मरण, पूजा र श्रद्धाभाव अर्पण गर्दछन् ।

    ‘श्रत्सत्यं दधाति यया क्रियया सा श्रद्धा श्रद्धया यत्क्रियते तच्छ्राद्धम्’ अर्थात् श्राद्ध भनेको नै श्रद्धा हो । आफ्ना दिवङ्गत पितृहरूको उद्धार, उनीहरूप्रतिको समर्पणभाव र उनीहरूप्रतिको दयाभाव हो, श्राद्ध । आफ्ना पिता, माता र पुर्खाविना मानवले आफ्नो अस्तित्वको कल्पना गर्न सक्दैन । वास्तवमा तिनै मातापिता वा पूर्वजहरूको सद्भावना, प्रेरणा, लाडप्यार, लालनपालन, शिक्षादीक्षा र उचित मार्गदर्शनको प्रबन्ध भएरै व्यक्तिले वर्तमानको जीवन र सुखसुविधा सिर्जना गरेको हुन्छ, उन्नतिप्रगतिको पथमा अघि बढिरहेको हुन्छ । मातापितालाई शास्त्रले देवसरह पूज्य र आदरणीय मानेको त छँदैछ, आधुनिक विज्ञानले पनि मातापितालाई जीवनको पहिलो पाठशालाको पहिलो आधिकारिक गुरु भनी स्वीकारेको पाइन्छ । तिनै मातापिता र अग्रजहरूको विशेषज्ञ सेवा पाएकाले नै व्यक्तिविशेष डाक्टर, वकिल, इन्जिनियर, पत्रकार, लेखक, साहित्यकार, प्रशासक, नेता आदि उच्च वर्ग वा अन्य पहुँचमा पुग्न सक्षम हुन्छन् अनि तिनको सारा पदप्रतिष्ठा र जीवनचक्र सञ्चालन भइरहेको हुन्छ । इतिहास र पूर्वजको संस्मरणविना भूत, वर्तमान र भविष्यको अवस्थिति र समुन्नत सुखको कल्पना निरर्थक हुन्छ । पौराणिक मान्यतानुरूप दिवङ्गत पितृहरूले भवसागरका चौरासी लाख योनिमध्ये कुनै न कुनै योनिका रूपमा देह धारण गरेका हुन्छन् र तत्तत् योनिका उचित खाद्यपदार्थ पाएर सबैका आआफ्ना दिवङ्गत पितृहरू तृप्त हुन्छन् भनिन्छ र भवसागरको चक्र पार गरी मुक्ति प्राप्त गरी देवत्वमा पुगेका पितृहरूले पनि आफ्ना सन्ततिबाट केही न केही पाइन्छ कि भनी आशा गरेका हुन्छन् भन्ने मान्यता पनि छ । त्यसैले हाम्रो परम्परा र संस्कृतिले आआफ्ना पूर्वजको कुनै न कुनै ढङ्गले स्मरण गर्नु अनिवार्य मान्दै आएको छ । युग, परिस्थिति, समय र स्थानमा व्यापक परिवर्तन आएको छ भनी आफ्नो अनुकूलता र प्रतिकूलतालाई मात्र ख्याल गरी आफ्ना पुर्खा, पूर्वज र पितृहरूप्रति गरिने कर्मको लोप गर्नु सरासर गलत हो, अतः सोह्रश्राद्ध र अन्य मरणतिथिमा आफ्नो गच्छेअनुसार पितृदेवताको उपासना गर्नै पर्ने हुन्छ । यस आलेखमा श्राद्ध तथा यसका प्रकार, प्रक्रिया र अङ्गका बारेमा प्रकाश पार्ने प्रयास गरिएको छ ।

    श्राद्ध : परिचय र परिभाषा
    श्राद्ध आफ्ना मृत पूर्वजहरू प्रति गरिने श्रद्धाको प्रतीक हो । पितृहरूलाई लक्षित गरी विधिपूर्वक जुन कर्म श्रद्धापूर्वक सम्पन्न गरिन्छ, त्यसैलाई ‘श्राद्ध’ भन्ने गरिन्छ । सनातन संस्कृतिमा प्रत्येक शुभ कर्मको प्रारम्भमा माता-पिता र पूर्वजहरूलाई आदर, सम्मान, प्रणामादि गर्नु परम कर्तव्य मानिन्छ । पूर्वजहरूको वंशपरम्पराका कारणले नै हामीले यो जीवनको अस्तित्व ग्रहण गर्न पाएका छौं अनि जीवनको अनुभूति र आनन्दको भोग गर्न पाएका छौं ।

    हाम्रो सनातन धर्ममा मन्त्रद्रष्टा ऋषिहरूले वर्षभरिका विभिन्न पक्षमध्ये एउटा पक्षलाई पितृपक्ष भनी उल्लेख गरे, अनि उक्त पक्षको आगमन हुँदा हामी आफ्ना दिवङ्गत पितृ तथा दिव्य पितृहरूलाई श्राद्ध र तर्पणादि कर्म र तिनको उद्धारका निमित्त विभिन्न धर्मकर्म सम्पन्न गर्ने गर्दछौं । यी र यस्तै तरिकाले दिवङ्गत मृतात्माको तुष्टि र उद्धारका लागि गरिएका हरेक प्रयासलाई नै ‘श्राद्ध’ भन्ने गरिन्छ । ‘श्राद्ध’ शब्दको निर्माण ‘श्रद्धा’ शब्दबाट भएको हो, यस शब्दमा ‘अङ्’ प्रत्यय लागेर श्राद्ध शब्दको रचना हुन्छ । यसको सामान्य अर्थ हुन्छ – ‘आस्तिक बुद्धि । ‘श्रत्सत्यं दधाति यया क्रियया सा श्रद्धा’ अर्थात् जसमा सत्य प्रतिष्ठित छ, त्यही श्रद्धा हो ।

    छान्दोग्योपनिषद्को सातौं प्रकरणको १९ औं र २० औं मन्त्रमा श्रद्धा शब्दका दुई वटा विशेषताको उल्लेख गरिएको छ – मनुष्यको हृदयमा उत्पन्न हुने निष्ठा र आस्तिक बुद्धिको उद्बोधन वा मनन गराउनु । श्रद्धापूर्वक सम्पन्न गरिने जुनसुकै काम श्राद्ध हो (‘श्रद्धार्थमिदं श्राद्धम्’, ‘श्रद्धया कृतं सम्पादितमिदम्’, ‘श्रद्धया दीयते यस्मात् तच्छ्राद्धम्’, ‘श्रद्धया इदं श्राद्धम्’ वा ‘श्रद्धया पितृन् उद्दिश्य विधिना क्रियते यत्कर्म तच्छ्राद्धम्’)।

    ब्रह्मपुराणले श्राद्ध शब्दको परिभाषा उल्लेख गर्दै भनेको छ – देशे काले च पात्रे च श्रद्धया विधिना च यत् । पितृनुद्दिश्य विप्रेभ्यो दत्तं श्राद्धमुदाहृतम् ॥ यसको अर्थ हुन्छ ‘जुन कुरो उचित काल, पात्र एवं स्थानअनुसार उचित (शास्त्रानुमोदित) विधिद्वारा पितृलाई लक्ष्यित गरी श्रद्धापूर्वक ब्राह्मणहरूलाई दान गरिन्छ, त्यसैलाई श्राद्ध भनिन्छ’ ।

    यस्तै परिभाषा मिताक्षरामा पनि लेखिएको छ – श्राद्धं नाम वेदवोधितपात्रम्भनपूर्वकप्रमीतपित्रादिदेवतोद्देश्यको द्रव्यत्यागविशेष: अर्थात् ‘पितृहरूलाई उद्देश्य राखी तिनको कल्याणका लागि श्रद्धापूर्वक कुनै वस्तुको वा तत्सम्बद्ध कुनै द्रव्यको त्यागलाई श्राद्ध भनिन्छ ।

    कल्पतरुले पनि श्राद्धलाई चिनाउने प्रयास गर्दै लेखेको छ – ‘एतेन पितृनुद्दिश्य द्रव्योत्यागो ब्राह्मणस्वीकरणपर्यन्तं श्राद्धस्वरूपं प्रधानम्।’ यसको अर्थ हुन्छ, पितृलाई उद्देश्य गरी यज्ञीय वस्तुको त्याग र ब्राह्मणहरूद्वारा स्वीकार गर्ने प्रक्रिया नै प्रधान श्राद्धस्वरूप हो ।

    सारांशमा पितृहरूको माया, सम्झना, दयाभाव र उद्धारको कामनाले गरिने समस्त कर्म नै आमरूपमा श्राद्ध शब्दको अर्थ हो ।

    श्राद्धका प्रकार :
    श्राद्ध विभिन्न किसिमका हुन्छन् – नित्यं नैमित्तिकं काम्यं वृध्दिश्राध्दं तथैव च । पार्वणञ्चेति मनुना श्राध्दं पञ्चविधं स्मृतम् । तिनको परिचय यस प्रकार छ :-

    १) नित्य श्राद्ध : दिनैपिच्छे सन्ध्यावन्दनका समयमा आफ्ना देवपितृ र मनुष्य पितृहरूलाई लक्ष्यित गरी प्रदान गरिने तर्पण र पूजा नित्य श्राद्ध हो । यस श्राद्धमा सामान्य पूजासामाग्री, तिल र शुद्ध जलको मात्र प्रयोग गरिन्छ । यसमा विश्वदेव ब्राह्मणको स्थापना र पिण्डदान गरिरहनु पर्दैन ।

    २) नैमित्तिक श्राद्ध : अन्त्येष्टि अन्तर्गतको दशगात्र कर्म, वार्षिक पर्यन्तको और्द्ध्वदैहिक कर्म, एकोद्दिष्ट श्राद्ध, एकोपार्वण श्राद्ध आदि नैमित्तिक श्राद्ध हुन् । एउटा सौर वर्ष जम्मा ३६५ दिनको हुने गर्दछ । एक सौर वर्ष पितृलोकको एक दिन हुन्छ । त्यसैले हाम्रो पूरा एक वर्षको समयावधि पितृहरूको एक दिन हो । त्यसैले दिनदिनै पुत्रसन्ततिबाट तर्पणपिण्ड प्राप्त गरी उनीहरूको आत्मा तृप्त हुने गर्दछ भन्ने विश्वासअनुरूप हरेक वर्ष दिवङ्गत भएको तिथि समातेर हामी निष्ठापूर्वक श्राद्ध गर्दछौं । यसमा एक जना पितृको मात्र उद्देश्य राखी कर्म सम्पादन गरिने भएकाले यसलाई एकोद्दिष्ट श्राद्ध भन्ने गरिन्छ । पितृपक्षको समय, अमावस्या, सङ्क्रान्ति वा अन्य कुनै पर्वका दिन एकोद्दिष्ट श्राद्ध परेमा त्यसलाई एकोपार्वण भन्ने गरिन्छ । यसमा पनि विश्वदेव ब्राह्मणको स्थापना गरिरहनु पर्दैन ।

    देवकर्ममा भावना प्रधान हुन्छ, जसले जसरी जान्दछ, त्यसरी नै भक्तिभाव र पुकारा गर्दा देवता प्रसन्न हुने गर्दछन् । तर पितृभावमा वाक्यशुद्धिलाई अनिवार्य मानिन्छ । त्यसैले श्राद्धमा वचन, विभक्ति , कारक, पुरुष सबै संस्कृत व्याकरणको परिधिभित्र मिलेको हुनुपर्दछ । यसको अर्थ हो, आफूले प्रदान गरेको वस्तु प्राप्त गर्न वाक्य शुद्धि हुनु जरुरी हुन्छ, अन्यथा कर्म निष्फल हुन्छ । सामान्यतया एकोद्दिष्ट श्राद्ध मध्याह्न कालमा र एकोपार्वण श्राद्ध अपराह्न कालमा गर्ने नियम छ ।

    ३) आभ्युदयिक श्राद्ध : मरेको तिथिमा मात्र होइन, घरमा शुभकर्म हुँदा पनि श्राद्ध गर्ने गरिन्छ । सप्ताह, पुराणश्रवण, विवाह, व्रतबन्ध, चूडाकर्म (छेवर), लघुरुद्री लगायतका ठूलठूला कर्म गर्नुअघि पितृको समेत पूजा गर्ने प्रचलन छ, त्यसरी पितृलाई सम्झिई गरिने श्राद्धलाई आभ्युदयिक वा बृद्धि श्राद्ध भन्ने गरिन्छ । नान्दीमुखी यस्तै किसिमको श्राद्ध हो । यस्तो श्राद्धमा श्राद्धका सबै विधानको सम्पादन गरे पनि पिण्डदान गर्नुपर्दैन । देवतालाई दाता र पितृलाई हर्ता मान्ने गरिन्छ, आफ्नो कूलमा कुनै राम्रो कर्मको संयोग जुरेको अवसर पारी पितृहरू पनि केही पाउने आशा गर्दछन् भन्ने मान्यता छ । त्यसैले यस्तो अवसरमा बृद्धि श्राद्ध गर्ने गरिएको हो । यो श्राद्ध दिनको प्रातःकाल अर्थात् बिहानको समयमा गर्नुपर्दछ ।

    ४) काम्य श्राद्ध : कामना विशेषले गरिने वा पुण्यक्षेत्र वा तीर्थमा गई गरिने श्राद्धलाई काम्य श्राद्ध भन्ने गरिन्छ । यसलाई तीर्थश्राद्ध मात्र पनि भन्ने गरिन्छ । गृहस्थीहरूको लागि तीर्थश्राद्ध एकदमै जरुरी छ । जीवनकालमा एक पटक वा सके पटकपटक औंसी वा अन्य कुनै पावनतिथि पारेर पितृहरूको उद्धारको कामना राखी विभिन्न तीर्थस्थल मानिएका क्षेत्रमा पुगी क्षमता र सामर्थ्यले भ्याएसम्म प्रत्येक सन्ततिले श्राद्ध गर्नुपर्ने नियम छ । ती तीर्थहरूमा गङ्गा, यमुना, सरस्वतीको संगमस्थल प्रयागक्षेत्र, त्रिवेणीधाम, अयोध्या, मथुरा, काशी, अवन्तिका, पुरी, द्वारावती, गोदावरी गङ्गोत्तरी, यमुनोत्तरी, गया, पुनपुन, हरिद्वार, ऋषिकेश, बद्रीनाथ धाम, केदारनाथ, ठूला र पवित्र मानिने विभिन्न नदीका घाट, गोकर्ण, उत्तर गया, आर्यघाट, बराह क्षेत्र, कागवेनी क्षेत्र, देवघाटलगायत आदि पर्दछन् । विभिन्न तीर्थहरूको श्राद्धसमापन गरी अन्त्यमा बद्रीनाथ धाममा रहेको ब्रह्म कपालमा श्राद्ध गरेमा पितृहरूको सायुज्यमुक्ति हुन्छ र उनीहरू तृप्त हुन्छन् भन्ने मान्यता छ । सन्ततिले दिएको जलाञ्जली र पिण्डदानले पितृहरू तृप्त भई तिनले सन्तति र वंशजलाई आशीर्वादस्वरूप आयुष्य, धन, कीर्ति, सुख, भोग, यश, सम्मानलगायत आत्मोन्नतिको मार्ग प्रदान गर्दछन् । (आयुः प्रजां धनं विद्यां स्वर्ग मोक्षं सुखानि च । प्रयच्छन्ति तथा राज्यं पितरः श्राद्ध तर्पिताः) । तीर्थश्राद्ध गर्दा सामान्यतया जौको पिण्ड दिइन्छ, तर बद्रीनाथमा ब्रह्मकपाली श्राद्धमा भातको पिण्ड बनाई पितृलाई चढाउने प्रचलन छ ।

    ५) पार्वण श्राद्ध : सूर्य कन्या राशि र उत्तराफाल्गुनी नक्षत्रमा भएको वेला गरिने श्राद्ध पार्वण श्राद्ध हो । यसलाई महालय श्राद्ध र नेपाली जनबोलीमा सोह्र श्राद्ध पनि भन्ने गरिन्छ । दिवङ्गत सबै पितृहरूको उद्देश्य राखेर पिण्डदान गर्ने महापर्व सोह्रश्राद्ध हो । सूर्य कन्याराशिमा प्रवेश गर्दा यो पर्व हुन्छ भने कन्याराशिमा सूर्य सरेको वखत दिवंगत पितृहरूलाई पिण्डदान नगर्ने पुत्रहरू पापी हुन्, कृतघ्न हुन् भनेर बताइएको छ :-

    ‘सूर्ये कन्यागते श्राद्धं यो न कूर्यात् गृहाश्रमी । धनपुत्रा : कुतस्तस्य पितृनिश्वास पीडनात् ।।’ (गृहस्थी भएर आश्विनको पितृपक्षमा श्राद्ध नगर्नेका लागि उसका धन र सम्पत्ति, वैभव तथा उसका सन्तति निरर्थक हुन्छन्)

    कन्या राशि र उत्तराफाल्गुनी नक्षत्रमा विचरण गरेको समयमा भुवनभास्कर सूर्य र दिव्यपितृका प्रमुख अर्यमाको भेट हुन्छ । अर्यमाका साथमा समस्त मनुष्यपितृ मानिने हाम्रा मृत पूर्वजहरू पनि सूर्यको समीपमा पुग्दछन् ।सूर्यका साथमा असोज महिनाको कृष्णपक्षभरि ती पितृगणले पृथ्वीलोकको भ्रमण गर्दछन् र यस समयमा उनीहरूले आफ्ना वंशजहरूबाट तर्पण र पिण्डको आकाङ्क्षा राखेका हुन्छन् ।

    त्यसरी आशावादी बनेका पितृहरूलाई तिनका वंशजले श्राद्धादि कर्म नगर्दा पितृहरूको श्वासप्रश्वास रोकिन्छ र उनीहरूलाई पीडा हुन्छ । त्यसरी पीडित बन्न पुगेका पितृले सन्ततिलाई सराप्दछन् । त्यसैले तिनलाई पार्वण श्राद्ध गरी सन्तुष्ट र तृप्त तुल्याउने परम्परा छ ।

    आश्विन कृष्णपक्षको १५ दिनको समयभित्र जहिले श्राद्ध गरे पनि हुन्छ, तर आफ्ना दिवङ्गत बाबु, बाजे र बराजुको तिथि लिई श्राद्ध गर्नु उचित हुन्छ । सूतक, जुठो वा अन्य विघ्नबाधा परेमा पञ्चमी, अष्टमी, एकादशी, द्वादशी वा औंसीमा गर्नुपर्छ । रोकिएकोले नगर्ने भन्ने होइन, यो १५ दिन नै रोकिएमा आश्विन शुक्ल पक्षको प्रतिपदादेखि पञ्चमीसम्म उनमासिक जुराउन प्रयोग गरिने सूत्र प्रयोग गरी गर्न सकिन्छ । त्यसमा पनि विघ्न आएमा लक्ष्मीपूजाको औंसीमा गर्ने गरेको पनि पाइन्छ । लक्ष्मीपूजाका दिन पनि महालय श्राद्ध गर्न सकिएन भने मंसिर लाग्ने सङ्क्रान्तिभित्र कुनै दिन जुराएर यो श्राद्ध गर्ने विधान छ । यो श्राद्ध दिनको उत्तरार्द्ध अर्थात् अपराह्न कालमा गर्नुपर्ने विधान छ ।

    महालय श्राद्धमा खासगरी स्वाहा स्वधा दुबैको आह्वान गरिन्छ । यस श्राद्धमा देवऋषि (विश्वदेव ब्राह्मण) र पितृऋषि (पितृब्राह्मण) को स्थापना गरी स्वाहा र स्वधा दुबै मन्त्रले पूजा गरिन्छ । एकातिर जनै सव्य गरेर साहिँली औंलाले पूजा गरिन्छ भने अर्कोतिर अपसव्य गरी चोरी औंलाले पूजा गरिन्छ । दिवङ्गत बाबुपट्टिका तीनपुस्ता र मावलीपट्टिका तीन पुस्ताका लागि छ वटा पिण्ड दिने चलन छ । कतैकतै आफूले तर्पण गर्ने सबै मृत पितृहरूका लागि छुट्टाछुट्टै पिण्ड पनि दिने गरिन्छ । कसैकसैले पुगे पनि नपुगे पनि सोह्र वटा पिण्डदान गरेको पनि देखिन्छ । हुन त परम्परा र चलनको कुरो हो, तर वास्तवमा छ वटा पिण्ड दिनु नै विधानसम्मत र उचित हुन्छ ।

    श्राद्धमा पिण्डदान :
    श्राद्ध सम्पादन गर्नका लागि दूध र चामल मिलाएर पकाएको तिलमिश्रित डल्लोलाई पिण्ड भन्ने चलन छ । पिण्डको सामान्य अर्थ शरीर हो । पिण्डदान गर्नाले पितृहरू प्रसन्न हुन्छन् भन्ने एउटा पारम्परिक विश्वास र आस्था छ । प्रत्येक पुस्तामा आफ्नो मातृकुल र पितृकुलको समन्वित ‘गुणसूत्र’ विद्यमान रहेको हुन्छ ।

    चामल र दूधबाट बनाइएको पिण्डमा बाबु, बाजे र बराजु (पिता, पितामह र प्रपितामह) को प्रतीक हुन्छ भन्ने मान्यता छ । यो प्रतीकात्मक पिण्डमा जुनजुन व्यक्तिको गुणसूत्र (जीन्स) श्राद्धकर्म गर्ने व्यक्तिको शरीरमा विद्यमान हुन्छ, तिनको तृप्तिका लागि पिण्डदान गर्ने परम्परा छ । पिण्डदान गरिसकेपछि यसलाई जलप्रवाहमा सेलाउने, गाईलाई खान दिने वा कागलाई दिनुपर्ने विधान छ, तर त्यसरी सेलाउनुअघि श्राद्धकर्ता आफूस्वयंले पनि उक्त पिण्ड सुँघेर पिण्डको आस्वादन गर्नुपर्दछ । हाम्रो सामाजिक परम्परामा सुँघ्नुलाई पनि जुठो हालेसरह मानिन्छ । त्यसैले श्राद्धकर्ताले पिण्डदानपूर्व नै आफ्ना मृत पितृहरूको सान्निध्यतालाई आफूस्वयंले अनुभूति गर्न पाअोस् भनी पिण्ड सुँघ्ने विधान तैयार भए झैं लाग्दछ ।

    श्राद्धकर्ताको पत्नीको हातवाट तयार गरिएको पिण्डदान गर्नाले एक वर्षसम्म पितृहरू खुसी रहने बताइएको छ । त्यसैले कुलाचारअनुसार विवाह गरेर सोअनुसार सन्तति प्राप्त गर्नुपर्ने बताइएको हो । उहिले त्रेतायुगमा स्वयं श्रीरामले वनवासमा आफ्ना पिता दशरथको देहान्तको खबर सुनेर वालुवाकै भए पनि सरसामान सीताबाट तयार पारी पिण्डदान गर्दा स्वयं दशरथ उपस्थित भई आफूले तृप्ति पाएको प्रसङ्ग बताइएको छ । मूलकुरा विश्वास र धारणाको हो । हाम्रो सभ्यता विश्वासमै अडेको छ र विश्वासकै कारण सूर्य, चन्द्र, धर्ती, आकाश, आदि सबै अडिएका देखिन्छन् ।

    श्राद्धको भाषा :
    सनातन परम्परामा श्राद्ध सम्पन्न गर्न प्रयोग गरिने भाषा संस्कृत हो । संस्कृत भाषाका वैदिक मन्त्र र लौकिक संस्कृतमा तैयार पारिएको निर्देशनादिबाट श्राद्धकर्म सम्पन्न गरिन्छ । श्राद्धमा वचनशुद्धि अर्थात् भाषाशुद्धिको ठूलो महत्त्व छ । देव उपासनामा भावना प्रधान हुन्छ भने पितृ उपासनामा भाषा प्रमुख हुन्छ । त्यसैले श्राद्ध सम्पन्न गर्ने ब्राह्मण सदाचारी, नैष्ठिक, आडम्बरविहीन, व्याकरणको ज्ञाता र विनम्र हुनु अनिवार्य छ । सामान्यतया श्राद्ध गर्दा विभक्ति प्रयोग गर्दा आसनका लागि षष्ठी विभक्ति प्रयोग गरिन्छ भने आह्वानमा द्वितीया विभक्ति र अन्नदानमा चतुर्थी विभक्ति लागेका भएका वचनको प्रयोग गरिन्छ ।

    तर्पण :
    तृप् धातुबाट निर्मित तर्पण शब्दको अर्थ पितृहरूका निमित्त लक्ष्यित गरी जलाञ्जली दिई तृप्त तुल्याउनु भन्ने हो । जौ, तिल, कुशादि हातमा लिई प्रतिज्ञा गरी जलदान गर्ने काम नै तर्पण हो । श्राद्धकर्ताले श्राद्ध गर्न निश्चय गरिएको दिनभन्दा एक दिन अघिदेखि नै एकभक्तिमा नङकेशादि काटी शुद्ध चित्त भई एक छाकमात्र सात्विक भोजन ग्रहण गरी एकभक्तिमा बसेर श्राद्धको दिन सर्वप्रथम तर्पण दिने प्रचलन छ ।

    ‘पुं’ नामक नरकबाट तार्ने हुनाले छोरालाई पुत्र भनिएको हो । लालना, पालना र कर्मका खातिर बाबु र आमाले गरेको अथक प्रयास र तिनले लगाएको गुन तिर्न र उऋण हुन वर्षभरि मरेका पितृहरूका नाममा गरिने तर्पण नै हो । खासगरी ब्रह्मपुराण, नारदपुराण, भविष्यपुराण, हेमाद्रि, मनुस्मृति याज्ञवल्क्य स्मृति आदि र अन्यसंहितामा बताइएबमोजिम एउटा नैष्ठिक गृहस्थीले प्रातः सन्ध्यावन्दनका क्रममा हरेक दिन देवता, ऋषि र मृत पूर्वजलाई सम्बोधन गरी तर्पण दिनु वाञ्छनीय छ ।

    तर युगजन्य वर्तमान व्यस्ततालाई विचार गर्ने हो भने प्रायः धेरैले प्रतिदिन तर्पण दिएको देखिंदैन । त्यसैले हिजोआज श्राद्धकै दिन मुख्य श्राद्धकर्मअघि वा पछि पारी तर्पण दिने प्रचलन चलेको देखिन्छ ।

    तर्पण दिंदा सर्वप्रथम

    ॐ ब्रह्मा तृप्यताम् । ॐ विष्णुस्तृप्यताम् । ॐ रुद्रस्तृप्यताम् । ॐ प्रजापतिस्तृप्यताम् । ॐ देवास्तृप्यन्ताम् । ॐ छन्दांसि तृप्यन्ताम् । ॐ वेदास्तृप्यन्ताम् । ॐ ऋषयस्तृप्यन्ताम् । ॐ पुराणाचार्यास्तृप्यन्ताम् । ॐ गन्धर्वास्तृप्यन्ताम् । ॐ इतराचार्यास्तृप्यन्ताम् । ॐ संवत्सरः सावयवस्तृप्यताम् । ॐ देव्यस्तृप्यन्ताम् । ॐ अप्सरसस्तृप्यन्ताम् । ॐ देवानुगास्तृप्यन्ताम् । ॐ नागास्तृप्यन्ताम् । ॐ सागरास्तृप्यन्ताम् । ॐ पर्वतास्तृप्यन्ताम् । ॐ सरितस्तृप्यन्ताम् । ॐ मनुष्यास्तृप्यन्ताम् ।    ॐ यक्षास्तृप्यन्ताम् । ॐ रक्षांसि तृप्यन्ताम् । ॐ पिशाचास्तृप्यन्ताम् । ॐ सुपर्णास्तृप्यन्ताम् । ॐ भूतानि तृप्यन्ताम् ।  ॐ पशवस्तृप्यन्ताम् । ॐ वनस्पतयस्तृप्यन्ताम् । ॐ ओषधयस्तृप्यन्ताम् । ॐ भूतग्रामश्चतुर्विधस्तृप्यताम् । ॐ मरीचिस्तृप्यताम् । ॐ अत्रिस्तृप्यताम् । ॐ अङ्गिरास्तृप्यताम् । ॐ पुलस्त्यस्तृप्यताम् । ॐ पुलहस्तृप्यताम् । ॐ क्रतुस्तृप्यताम् । ॐ वसिष्ठस्तृप्यताम् । ॐ प्रचेतास्तृप्यताम् । ॐ भृगुस्तृप्यताम् । ॐ

    नारदस्तृप्यताम् आदि मन्त्रको उच्चारण गर्दै ब्रह्मादि देवताहरू र ऋषिगणलाई जनै सव्य पारी (जनै देब्रे काँधमा राखी) पूर्व फर्केर जलदान गरिन्छ । त्यसपछि जनैलाई मालाजस्तो बनाई (कण्ठीसूत्र बनाएर) ॐ सनकस्तृप्यताम् । ॐ सनन्दनस्तृप्यता । ॐ सनातनस्तृप्यताम् । ॐ कपिलस्तृप्यताम् । ॐ आसुरिस्तृप्यताम् । ॐ वोढुस्तृप्यताम् । ॐ पञ्चशिखस्तृप्यताम् –आदि मन्त्रलाई प्रत्येको दुई पटक उच्चारण गरी दुईदुई पटक दिव्यमनुष्यहरूलाई जलदान गरिन्छ ।

    अन्तिममा अपसव्य भएर (दाहिने काँधमा जनै भिरेर) खगौतोमा मोटक र तिलराखी ॐ कव्यवाडनलस्तृप्यताम् इदं सतिलं जलं गङ्गाजलं वा) तस्मै स्वधा नम: ॥ ॐ सोमस्तृप्यताम् इदं सतिलं जलं गङ्गाजलं वा) तस्मै स्वधा नम: ॥ ॐ यमस्तृप्यताम् इदं सतिलं जलं गङ्गाजलं वा) तस्मै स्वधा नम: ॥ ॐ अर्यमा तृप्यताम् इदं सतिलं जलं गङ्गाजलं वा) तस्मै स्वधा नम: ॥ ॐ अग्निष्वात्ता: पितरस्तृप्यन्ताम् इदं सतिलं जलं गङ्गाजलं वा) तेभ्य: स्वधा नम: ॥ ॐ सोमपा: पितरस्तृप्यन्ताम् इदं सतिलं जलं गङ्गाजलं वा) तेभ्य: स्वधा नम:॥ ॐ बर्हिषद: पितरस्तृप्यन्ताम् इदं सतिलं जलं गङ्गाजलं वा) तेभ्य: स्वधा नम: आदि मन्त्रको तीनतीन पटक उच्चारण गर्दै दिव्यपितृहरू प्रत्येकलाई तीनतीन पटक तर्पण गरिन्छ ।

    दिव्यपितृपछि यमराजलाई पुनः छुट्टै तर्पण गर्नुपर्छ । यमराजलाई पनि दिव्यपितृसरह ॐ यमाय नम: । ॐ धर्मराजाय नम: । ॐ मृत्यवे नम: । ॐ अन्तकाय नम: । ॐ वैवस्वताय नमः । ॐ कालाय नम: । ॐ सर्वभूतक्षयाय नम: । ॐ औदुम्बराय नम: । ॐ दध्नाय नम: । ॐ नीलाय नम: । ॐ परमेष्ठिने नम: । ॐ वृकोदराय नम: । ॐ चित्राय नम: । ॐ चित्रगुप्ताय नम: भनी १४ किसिमका यमलाई प्रत्येकलाई तीनतीन पटक तर्पण गर्नुपर्छ ।

    त्यसपछिमात्र आफ्ना पितापुर्खा, मावली, बन्धुबान्धवलगायत सबै दिवङ्गतहरूको पालो आउँछ । तिनलाई पनि प्रत्येकको नाम र गोत्रको उच्चारण गर्दै तीनतीन पटक तर्पण गर्ने विधान छ । सन्तति नभएर पिण्ड पानी नपाउनेहरूका लागि पछाडि कुनै नयाँ कपडा वा लगाई राखेको जनैलाई जलमा चोबेर छुट्टै तर्पण गरिन्छ । पिशाचहरूले खान पाउने जल भनेको स्नान गर्दा लगाएको कपडा निचोरेको जल भन्ने आहान छ । पछि सूर्यलाई अर्घ्य दिई दशै दिशा नमस्कारपश्चात् तर्पणको विधि पूरा हुन्छ ।

    ब्राह्मण भोजन :
    ब्राह्मण भोजन पनि श्राद्धको विशिष्ट अङ्ग हो । श्राद्धको समाप्तिमा ब्राह्मणलाई तृप्त र सन्तुष्ट हुन्जेल पक्व खाद्यसामाग्री खान दिनु नै ब्राह्मणभोजन हो । त्यस्तै अर्को एक छाक खान पुग्ने अपक्व खाद्यपदार्थ सिधाका रूपमा छुट्टै प्रदान गर्ने चलन पनि छ । ब्राह्मण भोजनमा ब्राह्मणले खाएको खाद्यादिको पौष्टिकता सिधै पितृहरूले प्राप्त गर्दछन् भन्ने मान्यता छ ।

    सृष्टिको आदिकालमा विराटपुरुषको मुखबाट अग्निको उत्पत्ति भएको थियो (मुखादग्निरजायत) भनी वेदमा उल्लेख गरिएको छ । त्यस्तै विराटपुरुषको मुखभागलाई ब्राह्मणको स्थान (ब्राह्मणोस्य मुखमासीद्) भनी वेदमा नै तोकिएको छ । यसरी वैदिक वाङ्मयमा ब्राह्मण र अग्निलाई समान दर्जा प्रदान गरिएको छ । अग्निका माध्यमबाट स्वर्गलोकमा भएका देवताहरूले हव्यपदार्थ ग्रहण गर्दछन् भने ब्राह्मणका माध्यमबाट पितृलोकमा रहेका पितृहरूले काव्य ग्रहण गर्ने गर्दछन् भन्ने शास्त्रीय मान्यता छ । हवन गरी समर्पण गरिएको वस्तु हव्य हो भने पूजाश्राद्धादि गरी समर्पण गरिएको वस्तु वा पदार्थलाई काव्य भन्ने गरिन्छ । अतः भौतिक आगोमा हव्यसामाग्री हवन गर्नु र ब्राह्मणको जठराग्निमा कव्यपदार्थ पुर्याउनु यी दुबै समान काम हुन् । यसरी अग्नि र ब्राह्मणमा तात्विक समानता सिद्ध हुन्छ ।

    यसरी साङ्गोपाङ्ग विधिको पालना गरी पितृयज्ञ सम्पादन गर्न सकिन्छ । सोह्रश्राद्धपछि शक्ति उपासनाको महापर्व बडादशैं सुरु हुने भएकाले र यो नेपाली समाजको विशिष्ट पर्व मानिने हुँदा पनि पितृपक्षमा आफूले गर्ने श्राद्ध गरी पितृहरूलाई सन्तुष्ट तुल्याउनु पर्दछ भन्ने मान्यता पनि छ । कथंकदाचित् सोह्रश्राद्धमा पितृकर्म गरी जमरे औंसीका दिन पितृविसर्जन गर्न पाइएन भने त्यस वर्ष घरमा जमरा राख्नु हुँदैन र महाष्टमी वा महानवमीमा बलि दिनु हुँदैन, नत्र दोष लाग्छ भन्ने भनाइ पनि छ । त्यसैले पनि पितृपक्षमा श्राद्ध अनिवार्य कर्म जत्तिकै भएको हो । अस्तु ।

    पुर्बेलीन्युजबाट साभार

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *