breaking news

    किन मौलायो ‘बाख्राकाने’ संस्कृति ?– लक्ष्मीकान्त पौडेल

    January 9th, 2017 | by Weekly Nepal
    किन मौलायो ‘बाख्राकाने’ संस्कृति ?– लक्ष्मीकान्त पौडेल
    विचार विश्लेषण
    0

    हामीले समयसमयमा आन्दोलन ग¥यौँ । ती आन्दोलनबाट उपलब्धिहरू पनि भए । राणाशासन फालियो । पञ्चायती तानाशाही व्यवस्था फालेर राजालाई संवैधानिक बनाउने काम भयो । प्रजातन्त्रलाई लोकतन्त्रले ०६३ सालको आन्दोलनले प्रतिस्थापित ग¥यो र हामी अहिले लोकतान्त्रिक गणतन्त्रमा छौँ । यति दु्रतगतिमा राजनीतिक परिवर्तन विश्वका कमै देशमा भएका होलान् ।

    राजनीतिक परिवर्तनहरू पmगत राजनीतिज्ञहरूका रूप बदल्नका लागि जस्तो देखिन पुगे जुन राम्रो होइन, न त उनीहरूले भन्ने नयाँनयाँ सिद्धान्तहरू केवल जनताले सुन्नका लागि हो । राजनीतिक परिवर्तन समाजको आर्थिक परिवर्तनका लागि हुनुपर्छ । हरेक राजनीतिक परिवर्तनसँगै विकास हुनुपर्छ । विकासको फल गरिब जनताले राम्रोसँग उपभोग गर्न पाउनुपर्छ । जनताको जीवनस्तर उठ्नुपर्छ । गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, राम्रो पर्यावरण आजका आवश्यकता हुन् । त्यस क्षेत्रमा हाम्रो बलबुताले केही काम हुन सकेको छैन । हामीले गरेका कुनै पनि साना विकासका काम पनि आफ्नो स्रोतको आधारमा भएका छैनन् । हामी विदेशीको भरमा विकास गर्दछौँ । त्यो विकासमा पनि भ्रष्टाचार गरेर कमाउने र काम भने नराम्रो गर्ने गरेको आरोप आउने गर्दछ ।
    हामीलाई सहयोग गर्ने देशहरूमध्ये धेरै त हामीसँगै विकास भएका र कति त हामीभन्दा पनि पछि विकास भएका छन् । भारत र चीन हामीसँगै विकास भएका देश हुन् । दक्षिण कोरिया हामीभन्दा पनि पछाडि विकास भएको हो । हामी उनीहरूसमेतको सहयोगमा बाँचेका छौँ भन्दा हुन्छ । उनीहरूको आर्थिक सहयोग र उनीहरूले दिएको रोजगारीबाट घरघरमा जीवन धान्ने काम भएको छ । के हामी यसैमा गर्व गर्ने ? छोराछोरी दक्षिण कोरियामा काम गर्न जान पाउने भए । त्यसैमा हामी दङ्ग छौँ । के विदेशले काम र विकास गर्न पैसा दिएकै भरमा हामी बाँच्ने हो ?

    अहिलेको यो अहम् सवालको उत्तर खोज्नुपर्दछ । हामीले गर्व गर्ने विषय के हो र हामी गर्व केमा गरिरहेका छौँ भन्ने पनि ध्यान दिन आवश्यक भएको छ । अर्थमन्त्रीमध्ये कुन अर्थमन्त्रीले विदेशबाट बढी पैसा सहयोग, ऋण आदिको रूपमा ल्याउन सक्दछ, त्यो राम्रो र क्षमतावान भन्नुपर्ने बाध्यता छ । वास्तवमा तत्कालको समय र समस्यामा अर्थमन्त्रीले त्यो गर्नु बाध्यात्मक उपयुक्त काम पनि हो । तर, समाधान होइन । पाकिस्तानकी पूर्वप्रधानमन्त्री स्वर्गीय बेनजिर भुट्टोले विदेशी सहयोगलाई पेनकिलर भनेकी थिइन् । त्यो सहयोग पाइन्जेल राम्रो हुन्छ, दर्द पनि हुँदैन । तर, अर्काको भर पर्ने बानी बढेकोले सहयोग पाउन छोडेपछि आत्मनिर्भरतामा ह्रास आएको महसुस हुन्छ । त्यसले गर्दा पछि बाँच्नै गाह्रो हुन्छ ।

    आजका मितिमा नेपाललाई विदेशले सहयोग नगरे मुद्रास्फीति आकासिन्छ । विकास ठप्प हुन्छ । कर्मचारीको तलब दिन पैसा हुँदैन । स्थानीय निकायलाई पैसा दिन सकिँदैन । सामाजिक सुरक्षामा पर्ने वृद्धभत्ता, एकल महिला आदिले पाउने भत्ता आदि ठप्प हुन्छन् । हामीसँग मल किन्नेसमेत पैसा पुग्दैन । अभावले गर्दा चोरी, डकैती, लुटपाट, अशान्ति मच्चिन्छ । त्यतिबेला देश गृहयुद्धमा जान सक्छ । ज्यान जोगाउन आतुर मानिसको राष्ट्रियता क्षिण हुन्छ । उनीहरू जसले ज्यान बचाउँछ उसैको पछि लाग्छन् । यस सन्दर्भलाई समयमा नै ध्यान नदिएर देशको सम्बन्धमा सचेत नहुने हो भने हामी जुन समयमा पनि अप्ठ्यारोमा पर्न सक्छौँ । यो देशको राजस्वबाट उठ्ने रकम लगभग रु. ५ खर्ब ५० अर्ब मात्र हो । विकासबाहेकका अन्य नगरिनहुने खर्च अहिले ७ खर्ब ५० अर्बजति छ । विदेशले सहयोग नगरेमा नभइनहुने २ खर्ब कहाँबाट ल्याउने ? त्यसको उत्तर त महँगी, मुद्रास्फीति र परिणाम अराजकता नै हुन्छ ।

    जनपद प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बेरोगजारीले गर्दा अपराध बढ्ने हँुदा चाडपर्वमा प्रहरी अझ सक्रिय हुनुपर्ने बताएका रहेछन् । उनको प्राविधिक भनाइ अत्यन्त राम्रो हो । तर, अपराध घटाउन त रोजगारी र आम्दानी चाहिने रहेछ र जनताका न्यूनतम आवश्यकता पूरा हुनुपर्ने रहेछ भन्ने त हामीले बुझ्ने नै विषय भयो । हुन पनि चोरी, डाँकाजस्ता अपराधमध्ये अधिकतम आर्थिक अभावका कारणले वा आर्थिक अभावकै कारणले परिवारले राम्रो शिक्षा दिन नसकेकाले हुने गर्दछन् ।

    राज्यले जनताका लागि रोजगारीमूलक पेसामा अभिप्रेरित गर्न लगानी लगाउन आवश्यक भएको छ । देशमा के किन्नका लागि पैसा बिदेसिन्छ भन्ने हेरेर त्यही उत्पादन गर्ने प्रकृतिको रोजगारीमा प्रोत्साहित गर्नु अपरिहार्य भएको छ । अर्थात्, विदेशिने पैसा रोक्नका निम्ति कुन रोजगारीको पहल गर्नु उपयुक्त हुन्छ भन्नेमा ध्यान दिनैपर्छ । यी तथ्यमा पहलकदमी लिन सक्ने हो भने लाखौँ रोजगारी यसै देशमा सिर्जना गर्न सकिन्छ । हाल विदेशबाट कागती मात्र अर्बौं रुपैयाँको आयात हुन्छ । केरा, स्याउजस्ता नेपालमा उत्पादन सजिलैसँग हुन सक्ने वस्तुमा नै खर्बौं पैसा बिदेसिएको छ ।

    वास्तवमा हामी ‘बाख्राकाने’ संस्कृति विकास गरिरहेका छौँ । अर्थात् देशमा कुनै एनजीओले बाख्रापालनलाई प्रोत्साहन गर्न बाख्राको कानमा ट्याग लगाएर किसानलाई वितरण गरेको रहेछ । बाख्रा अचानक मरेमा अर्को बाख्रा दिने व्यवस्था पनि रहेछ । त्यसका लागि मरेको बाख्राको कानको ट्याग देखाउनुपर्ने रहेछ । एकजना किसानले एनजीओलाई ठग्ने क्रममा बाख्रो काटेर मासु र रक्सी खाने र कान लग्दै कहिले भीरबाट बाख्रो लड्यो भन्ने, कहिले खोलाले बगायो भन्ने, कहिले बिरामी भएर म¥यो भन्ने आदि गर्दै बाख्रा लाने गर्दोरहेछ । यस्तो काम अरूले पनि गर्दारहेछन् । उनले एनजीओलाई ठगे कि आफैँ ठगिए भन्ने सवाल महत्वपूर्ण छ । उनी काम नगर्ने भएकाले सबैभन्दा पहिला उनी नै ठगिए, एनजीओले सहयोग नगरेमा पनि उनमा काम नगर्ने बानी बस्यो । उनले एनजीओलाई त सीधै ठगे । त्यो बाख्रो अर्कोलाई मिल्दथ्यो, त्यसैले अर्कोलाई पनि ठगे । ठग्ने उनको प्रवृत्ति बन्यो, जसले गर्दा समाजलाई पनि ठग्छन् र त्यो सामाजिक चरित्र बनेमा ठगेर खाने काम संस्कृति नै बन्दछ । त्यसपछि समाज बर्बादीतिर जान्छ ।

    विदेशी सहयोग र ऋण लिएर कम दुःख गरेर वा दुःख नगरी खाने प्रवृत्ति पनि बाख्राकाने प्रवृत्तिमा पर्न सक्दछ । जनतालाई विकास र समानताको पूरकको रूपमा आन्तरिक स्रोतको परिचालनमा आधारित स्वरोजगारीलाई प्रेरित गर्न र प्रधानता दिन आवश्यक छ । राज्यले दलको आधारमा जनतालाई सस्तो राजनीति गरेर फुटाउने, चर्का पूरा नहुने कुरा गरेर सजिलोसँग पैसा कमाउने अल्छी बनाउने काम नगरी सही धरातलको आधारमा राजनीति गर्न आवश्यक हुन्छ । माहत्मा गान्धीले भनेका छन् कि श्रमविहीन सम्पत्ति र सिद्धान्तविहीन राजनीति पाप हुन् । अहिलेको राजनीतिको सिद्धान्त सत्ता र सजिलोसँग सम्पत्ति कमाउने भएको छ । श्रम नगरी कमाउने ठूलो बन्ने गरेका छन् । यसको अन्त्य आवश्यक छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *