breaking news

    कांग्रेस, एमालेभन्दा पनि हामी बढी बिग्रेका छौं – मातृका यादव, नेता, नेकपा माओवादी केन्द्र

    December 9th, 2016 | by Weekly Nepal
    कांग्रेस, एमालेभन्दा पनि हामी बढी बिग्रेका छौं – मातृका यादव, नेता, नेकपा माओवादी केन्द्र
    अन्तरबार्ता
    0

    (मातृका यादव नेकपा माओवादी केन्द्रका ‘हार्डलाइनर’ नेता हुन् । प्रचण्डको नेतृत्वप्रति चर्को असन्तुष्टि जनाउँदै छुट्टै माओवादी पार्टी निर्माण गरेपनि उनी केही महिनादेखि प्रचण्ड नेतृत्वको माओवादीमा सक्रिय छन् । संविधान कार्यान्वयनका लागि संशोधन आवश्यक भएको मत प्रकट गर्ने नेता यादवसंग संसद्मा दर्ता गरिएको संविधान संशोधन विधेयक, सरकारको कामकारबाहीलगायत विषयमा केन्द्रित रहेर गरेका लामो कुराकानीको सम्पादित अंश: सम्पादक)

    ० सरकारले दलहरूको विरोधकै बीच व्यवस्थापिका संसद्मा संविधान संशोधन विधेयक पेस गरेको छ । यसलाई कसरी लिनुभएको छ ?

    –देश अहिले संविधानकै कारण बन्धक मात्रै छैन, विभाजित पनि छ । देशलाई यो सकसबाट मुक्त गराएर निकास दिन जायज कुराहरू सम्बोधन गर्नुबाहेक हामीसंग अरु विकल्प छैन । तर, हामीले चाहेका सबै कुराहरू सम्बोधन गर्न सकिने अवस्था पनि अहिले छैन । हामीले भनेका सबै विषयहरू प्राप्त गर्न त छलफल होइन, क्रान्ति नै गर्नुपर्छ । त्यसैले ‘कम्प्रमाइज’ गरेर अधिकतम् कुराहरू राख्दै संशोधन प्रस्ताव पेश गरिएको छ । देश निकासका लागि ल्याइएको यो संशोधन प्रस्तावलाई सकारात्मक कदमका रुपमा ग्रहण गर्दै सबैले सहयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

    ० देशलाई निकास दिन र एकताबद्ध गर्न संविधान संशोधन प्रस्ताव दर्ता गरेको त भन्नु भयो, तर देश त यो प्रस्तावसंगै थप विभाजन र विग्रहतर्फ जाने संकेतहरू देखिंदैछन् नि त ?

    –संविधान संशोधन प्रस्तावले कलह सिर्जना गरेको होइन, कलह त संशोधन नगरेकाले भएको हो । कसैलाई देश शान्त छ भन्ने लाग्न सक्छ, तर देश त कलहमै थियो । भएका कलहलाई शान्त पार्न प्रस्ताव आएको हो । अहिले संशोधन प्रस्ताव दर्ता गरेसंगै कलह सतहमा आएका छन् । यस्ता कलह एकपटक सतहमा आउँछन् ।

    ० किन यस्तो कलह भएको होला नि ?

    –एकथरीलाई हामीले जे–जे गर्‍र्यौं ठीकै छ, पेलेरै गरिन्छ भन्ने थियो भने अर्काथरीलाई केही पाएनौं भन्ने लागिरहेको थियो । अधिकारविहीनहरू नयाँ संविधानले हामीलाई केही पनि दिएन भनिरहेका छन् भने शासकीय चिन्तन बोकेका मण्डले राष्ट्रवादीहरू सबै चिज दियौं भनिरहेका छन् । यो चिच्याहट स्वभाविक हो । यसलाई अन्यथा ठानिनु हुँदैन । सही ढंगले यसलाई व्यवस्थापन गर्नुपर्छ ।

    ० आफूलाई क्रान्तिकारी अनि प्रगतिशील पार्टी भएको दावी गर्ने तपाईंकै पाटी माओवादी केन्द्रभित्रै पनि त संविधान संशोधन प्रस्तावप्रति असहमति जाहेर भएर छरपस्ट भएका छन् नि त ?

    –माओवादीभित्र पनि सबै प्रकारका चिन्तन छन् । एमालेभित्र पनि यो प्रस्ताव ठीक छ, पास गर्नुपर्छ भन्ने छ । हाम्रो पार्टीमा पनि बेठीक भो भन्ने हुनसक्छ । तर, हाम्रो पार्टीको पोलिटब्युरो बैठकबाट निर्णय गरेरै संविधान संशोधन प्रस्ताव पेश गर्ने निर्णय भएको हो । असन्तुष्टि राख्ने स्वतन्त्रता सबैसंग छ । साथीहरूले असन्तुष्टि राख्नुलाई म अन्यथा ठान्दिनँ, स्वभाविक नै ठान्छु ।

    ० चौतर्फी विरोध हुँदाहुँदै केका लागि संशोधन प्रयास गरिंदैछ भन्ने प्रश्न उठेको छ नि ?

    –तपाईं विरोध मात्रै देख्नुहुन्छ, सहमति किन देख्नुहुन्न ? सहमति पनि त छ नि † एमालेले संविधान संशोधन गरेर समस्याको हल हुन्छ भने गरौं भनेकै छ । संशोधन भन्ने अनि दोहोरो चरित्र देखाएर गर्न हँुदैन भन्नु त भएन नि ? संशोधन प्रस्तावमा सबैका चासोहरू समेटिएका छैनन्, मधेसी दलका पनि असन्तुष्टिहरू छन् । तर सबैले चित्त बुझाएर समस्याको समाधान खोज्नुपर्छ । आफ्नो कुण्ठा पोख्न कसैले पनि देशलाई सकसमा पारेर अर्घेल्याइँ गर्न हँुदैन ।

    ० एमालेलगायत विपक्ष दलहरूले यो संविधान संशोधन प्रस्ताव कसैको डिजाइनमा आयो भनिरहनु भएको छ, यथार्थ के हो ?

    –यो त सबै वाहियात कुरा हो । कोसी, गण्डकी र महाकालीमा सुटकेस बोकेर हिंड्नेहरू अहिले बडो राष्ट्रवादी भएका छन् । एमाले र कांग्रेसले मिलाएर बनाएको प्रस्ताव हो यो, यसमा अझै नवलपुर छाडिएको छ । त्यसैले आफूले ल्याउँदा देशभक्त हुने, कसैको इशारामा नहुने । अरुले ल्याउँदा राष्ट्र र इशारामा ल्याइएको हुने ? जो आफैं अरुको इशारामा नाच्न अभ्यस्त छन्, तिनलाई अरु पनि आफूजस्तै हुन भन्ने लाग्छ । साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ भनेजस्तै दलाली गर्ने ईतिहास भएका दलहरूलाई यस्तो लाग्नु स्वभाविक हो ।

    ० विगतमा गरेको आफ्नै प्रस्तावविरुद्ध एमाले किन खडा भएको होला ?

    –यो मधेस र मधेसी जनतालाई हेर्ने एमालेको दृष्टिदोषको उपज हो । यही कारण मधेसी, जनजातिहरूलाई अधिकार दिने कुरा गर्दा विरोध भइरहेको छ ।

    ० संशोधन प्रस्तावसंगै एमाले आन्दोलनको मूडमा देखिएको छ । उसले छलफलको बटमलाइन’ नै संशोधन विधेयक फिर्तालाई बनाएको छ । यस्तो सम्भावना कति छ ?

    –हामीले नयाँ जनवादी क्रान्ति सम्पन्न नगरेसम्म पछाडि नहटन्े, सम्झौता नगर्ने भनेका थियौं । तर, भएन नि त † २०४७ सालको संविधान विश्वकै उत्कृष्ट संविधान हो, यसको अक्षरश: पालना गर्नुपर्छ भन्ने एमाले पछि परिवर्तनको पक्षमा आयो कि आएन ? संघीयता मान्दिनँ भन्ने कांग्रेस/एमाले राजतन्त्र फाल्न त गए नि † त्यसैले अहिले एमालेले के बोल्छ भन्ने कुरा ठूलो भएन । ऊ पछि परिवर्तनकै पक्षमा उभिने छ ।

    ० संशोधन पास गर्नका लागि दुई तिहाई चाहिन्छ । एमालेलगायत दलहरू विरोधमा छन् । दुई तिहाई कसरी पुर्‍यउनु हुन्छ त ?

    –एमालेलगायत सबै पार्टीमा सकारात्मक सोच राख्ने मान्छेहरू छन् । सबै जना संविधान कार्यान्वयन गर्नुपर्छ भन्ने लाइनमै हुनुहुन्छ । संविधान कार्यान्वयनको कुरा गर्ने एमालेले संविधान कार्यान्वयन नगर्ने पक्षमा आफूलाई उभ्याउँछ भन्ने मलाई लाग्दैन । यसर्थ एमालेले अधिकार नदिए देश टुक्रिन्छ, दिएर कहीँ पनि टुक्रिएको छैन भन्ने स्मरण गर्दै संशोधन प्रस्तावमा साथ दिनुपर्छ, जनतालाई अधिकार दिने कुरामा मन खुम्च्याउनु हुँदैन ।

    ० कथंकदाचित यो असफल भयो भने यसको असर कस्तो देखिएला ?

    –हामी नकारात्मक पाटोतिर जाँदै नजाऊ । कथंकदाचित संविधान संशोधन विधेयक संसद्बाट पास भएन भने संविधान कार्यन्वयन हुँदैन, देशै असफल हुन्छ । देशलाई असफल बनाएर कोही अघि बढ्न सक्छ ? त्यसैले मधेसवादी र एमालेले यसलाई गम्भीरतापूर्वक सोच्नु पर्छ । असन्तुष्टि भएका विषय चुनावको एजेन्डा बनाएर चुनावमा लगेर देशलाई अगाडि जानबाट नरोक्दा उनीहरूको पनि कल्याण हुन्छ जस्तो मलाई लाग्छ ।

    ० प्रसंग बदलौं, अहिले देशमा प्रचण्ड नेतृत्वको सरकार छ । सरकारको कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

    –अहिलेको संरचना प्रतिक्रियावादी संरचना हो । सरकारमा जानेहरूको मनसाय राम्रो भएर मात्रै यस्तो संरचनामा चाहे अनुरुप काम गर्न नसकिंदो रहेछ । कमरेड प्रचण्डले सुरुदेखि नै केही गर्न खोजे पनि खोजे जस्तो भएको छैन । भूकम्पपीडितलाई राहत दिनेलगायत विषयमा राम्रा निर्णय त उहाँले गर्नुभएको छ तर कार्यान्वयनले गति लिन सकेको छैन । अहिलेको सरकारको मुख्य काम संविधानलई सर्वस्वीकार्य बनाएर कार्यान्वयन तर्फ लैजाने हो । उहाँले त्यसकै लागि संविधान संशोधन प्रस्ताव अगाडि बढाएर आफ्नो कर्तव्य पूरा गर्नु भएको छ । असहज परिस्थितिका बीच उहाँले संविधान संशोधन प्रस्ताव अघि बढाएर यसलाई सर्वस्वीकार्य बनाउने प्रयत्न गर्नु भएको छ, यो सरकारको ठूलो सफलता हो भन्ने मेरो ठम्याई छ ।

    ० अहिलेको सरकारलाई १०० पूर्णांङ्कमा तपाईं कति नम्बर दिनु हुन्छ ?

    –यसको बारेमा हामीले समीक्षा गरिसकेका छैनौं । तर, मुख्य काममा सरकार सफल भएको छ । हामी त परीक्षार्थी हौं, नम्बर दिने काम परीक्षा दिनेले दिन मिलेन । यो आम जनताले दिने हो । समग्रमा सरकारले जनताको हितमा काम गरेको छ । लोडसेडिङलगायत समस्यामा पनि सरकारले राम्रो काम गरेको छ । बिग्रेका देशहरूसंगको सम्बन्ध पनि सरकारले सुधारेको छ । सुशासन कायममा पनि सरकार सफल भएको छ ।

    ० बालुवाटार कत्तिको जानुहुन्छ ?

    –बालुवाटार आवश्यकता अनुसार जानै पर्छ । कहिले बैठक हुन्छ, कहिले सरसल्लाह हुन्छ । पार्टीको जिम्मेवार सिपाही भएकाले आवश्यकता अनुसार जान्छु । तर, धाउने भने गरेको छैन ।

    ० सुझाव पनि दिनुहुन्छ कि ?

    –दिन्छु, किन नदिनु ? प्रचण्ड कमरेडले हामीलाई बोलाएर सुझाव माग्नुहुन्छ,, हामी दिन्छौं । कतिपय कुरा उहाँलाई जानकारी हुँदैन, त्यस्ता विषयमा हामीले स्पष्ट पार्ने गरेका छौं ।

    ० प्रचण्डले निष्ठा, मूल्य र इमानको राजनीति गर्ने क्रान्तिकारीहरूलाई त्यति स्पेश दिएका छैनन् । उनी स्वार्थीहरूको घेराबन्दीमा छन् भन्ने गुनासो सुनिन्छ । के सत्य यस्तै हो ?

    –पार्टीभित्र पनि विभिन्न किसिमका घेरा हुन्छन् । आफूलाई देशभक्त बताउने र प्रचण्डलाई राष्ट्रघाती बताउने मान्छेहरू हाम्रै पार्टीभित्र   छन् । प्रचण्ड कामरेड रुपान्तरण भएर अगाडि बढ्नु पर्छ भन्ने हाम्रो तप्का पनि छ । यो समूहबीच स्वभाविक रुपमा टकराव छ । आफ्नो स्वार्थ पूरा गर्न ठूल–ठूला भ्रष्टाचारी उहाँलाई घेरा हाल्न जाँदा हुन् नि त ? उहाँले कुनलाई सही ठान्नुहुन्छ त्यो उहाँमा निर्भर हुन्छन् । तर, हामीले दिएको सुझाव या त्यस्ता मानिसले दिएको सुझावमा त अन्तर होला नि ? यो उहाँले पक्कै पनि महसुस गर्नु भएकै छ । अब दिइएका सुझाव उहाँले कति ग्रहण गर्नु भयो भन्ने कुरा परिणामले देखाउने कुरा हो । स्वागतयोग्य कुरा उहाँ यो उमेरमा पनि खट्टिएर लाग्नु भएको छ । दुर्भाग्य, उपलब्धि हासिल गर्न टिम राम्रो हुनु पर्ने भए पनि यसले साथ दिएको छैन । उहाँ खटिने तर अरु फाइदा उठाउने प्रवृत्तिले प्रचड चाहेको कुरा गर्न सक्नु हुन्न । मैले सुरुदेखि नै सकारात्मक सोच बनाएर उहाँलाई सहयोग गर्नुपर्छ भनिरहेको छु ।

    ० हिजो प्रचण्डलाई धारे हात लगाएर पार्टीबाट बाहिरिनु भएको तपाईं फेरि प्रचण्ड नेतृत्वकै पार्टीमा फर्कनु भएको छ । अहिले त पार्टीमा समस्या छै नि होइन ?

    –खासगरी हाम्रो पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओवाद (मालेमावाद) हो । तर, अहिले हामी मालेमावादी सिद्धान्तमा फिटिक्कै चलेका छैनौं । हाम्रो एकता हुँदा १३ बँुदे सम्झौता भएको थियो, तर सम्झौता अनुरुप हामी हिंडेका छैनौं । माओवादी केन्द्र थुप्रै गैरमाक्र्सवादी प्रवृत्तिबाट ग्रसित छ । नीतिगत रुपमा नभए पनि हामी जनताप्रति समर्पित हुने पुरानो बचन बद्धताबाट डाइभर्ट भएका छौं । कांग्रेस, एमाले, पूर्वपञ्चहरूको पार्टी राप्रपाबारे कमेन्ट गर्न चाहन्नँ तर यी पार्टीभन्दा पनि हामी बिग्रेका छौं भन्ने अनुभूति मलाई भइरहेको छ । देशलाई कसरी बनाउने भन्दा पनि कसरी पद पाउने, आफू कसरी बन्ने, कुस्ता सम्पत्ति कसरी कमाउने भन्नेमा साथीहरूको ध्यान छ । समग्रमा भन्दा हामी मालेवादी छौं तर व्यवहारमा छैनौं ।

    ० यस्तो लठाभद्र भएको पार्टीले के गरिखाला त उसो भए ?

    –यो पार्टी बनेन भने देश र जनताकै भविष्य नै हुँदैन । चुनौतीबीच आशावादी भएर रुपान्तरण हुन सक्छौं भनेर नै आएका हौं । ‘रिस्क’ लिएरै हामी एकता प्रक्रियामा आएका हौं । हामी नेता बिग्रिए पनि जनता तथा कार्यकर्ता परिवर्तन र क्रान्तिकै पक्षमा छन् । न्यूनपूँजीवादी चिन्तनलाई हटाएर अघि बढ्यौं भने पार्टी बन्छ । माओवादी केन्द्रले गरिखानेमा त्यति धेरै शंका गर्नुपर्ने अवस्था छैन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *