breaking news

    कहिलेसम्म चल्छ यो नांगो लुटतन्त्र ? – कमल कोइराला

    March 19th, 2017 | by Weekly Nepal
    कहिलेसम्म चल्छ यो नांगो लुटतन्त्र ? – कमल कोइराला
    विचार विश्लेषण
    0

    २०७३ फागुन २३ गते सोमबार एमालेको सभास्थललाई सुरक्षा प्रदान गरी तैनाथ प्रहरीहरूमाथि आक्रमण गर्न गुलेली ताकीताकी ढुंगामुढा गर्दै, लाठी लिँदै गर्दा प्रहरीले आत्मसुरक्षाका लागि चलाएको गोलीले पाँच जनाको मृत्यु भयो । कार्यक्रम सकिएपछि गरिएको हमलाबाट स्पष्ट हुन्छ यो योजनाबद्ध ढंगले हिंसा भड्काउन गरिएको आक्रमण थियो । कार्यक्रमस्थलमा सबै नेताहरूको सम्बोधन सकिइसकेको थियो ।

    तीन पूर्वप्रधानमन्त्रीहरू र अन्य शीर्ष एमालेका नेताहरू त्यहाँ थिए । विभत्स अप्रिय दुर्घटना गराउने ‘कु–प्रयास’ स्थानीय प्रशासन र प्रहरीले मौकैमा कुशलतापूर्वक भूमिका निर्वाह गरी त्यस षडयन्त्रलाई विफल पारे ।

    मौकामै बुद्धि पुर्‍याई ठूलो र पछिसम्म धेरै चर्चित रहनसक्ने नराम्रो दुर्घटना हुन पाएन । टीकापुरमा पहिले नै बुद्धि पुर्‍याउन नसक्दा एसएसपी लक्ष्मण न्यौपाने सहित इन्स्पेक्टर तथा प्रहरी जवानहरूले ज्यान गुमाउन पर्‍यो र एक अबोध दुधे बालक समेतको संहार भएको थियो । त्यसको केही बर्ष अघि वि.सं.२०६३ चैत ७ गते २७ माओवादी युवायुवतीहरूलाई लखेटी लखेटी हत्या गरिएको थियो ।

    तर, सप्तरी राजविराजमा टीकापुर प्रहरी संहार र गौरसंहार दोहोरिन पाएन । शीर्ष राजनीतिक नेता र कार्यकर्ताहरूको पनि हिंस्रक आक्रमणकारीहरूबाट रक्षा गर्ने काम भयो । जनधनको नोक्सान र संहार हुन नदिने प्रशासक र प्रहरी अधिकृतहरूलाई प्रमोशन र सम्मान, तक्मा प्रदान गर्नुसाटो कुनै प्रकारको जाँचबुझ नगरी फिर्ता बोलाइयो । साधुलाई सुली र चोरलाई चौतारोको उखान चरितार्थ गरियो ।

    सत्य हो या किंवदन्ती हो धेरै पुरानो समयमा पूर्वी नेपालको कुनै राज्यमा हाडभंग राजा र भांडभंग मन्त्री थिए रे । जो यस्तै यस्तै उट्पट्याङ शासन गर्दथे । अहिलेका सत्ताधारी नेताहरूले समानुपातिक भन्दै कमसेकम दुई दर्जन सेठ साहुकारहरूलाई करोडौं गोज्याउँदै सांसद पद बेचबिखन गर्दै आएको तथ्य नेपाली जनता समक्ष छ । अब आएर विदेशमा सम्पूर्ण राष्ट्र र जनताको प्रतिनिधित्व गर्ने राजदूत पद पनि वर्तमान नेताहरूले बेचबिखन र डाक बढाबढ लिलामीमा चढाइसके ।

    म्यानपावर कम्पनीका, राम्रो ख्याति नभएका मालिक मालिक्नीलाई उनीहरूले मानव तस्करी गर्ने देशमै नियुक्त गर्दा राष्ट्रिय स्वार्थ र देशको इज्जतको रक्षा हुन्छ कि व्यक्तिगत नाफा आर्जनका लागि हुने पदको दुरुपयोगबाट राष्ट्रको अहित र बेइज्जती दुवै हुन्छ ? हालै राजदूतमा नियुक्त दुई म्यानपावरका मालिकलाई ठूलो हो–हल्ला चलेपछि सरकारले नाम फिर्ता लिएको थियो तर हिन्दीमा चोरी और सिनाजोरी वा नेपालीमा जो चोर उसकै ठूलो स्वर चरितार्थ भयो । एकजना भ्रष्टाचारका निर्भिक संचालन गर्दै लुटको सम्पत्ति सोहोर्दै आएका नेताले फेरि प्रचण्डलाई उनैलाई नियुक्त गर्न लगाएको साह्रै भद्दा राजनीतिको दृश्य जनता समक्ष छर्लङ्ग छ ।

    देशमा प्रजातन्त्रको विकास नहोस्, जनताले कुनै तहमा पनि आफूले आफ्नै माझबाट आफूले निर्वाचन गरेका प्रतिनिधिहरूमार्फत शासनको चाहना गरेका छन् । तर, जातीय घृणावादी फासिस्टहरू नेपालमा प्रजातन्त्रको स्थापना हुने सम्भावनालाई नै निमोठ्ने घोषणा गरिसकेका छन् । वर्तमान सत्ताधारीहरू पनि जनताले मत हाल्ने निर्वाचन हुन नपाओस् र दुई दशकदेखिको नांगो भागवण्डातन्त्र र लुटखसौटतन्त्र चलिरहोस् भनि भित्रभित्रै षड्यन्त्ररत रहेको कुरा पत्रकारहरूले लेख्न र जनताले भन्न थालिसकेका छन् ।

    भारतमा नबिराईकन हरेक पाँच बर्षमा लोकसभाको चुनाव हुन्छ । भारतमा सन् १९५२ देखि आम निर्वाचन चलेकोचल्यै छन् । कहिलेकाहीं कुनै दलको बहुमत पुग्न नसके बरु झन चाडैं लोकसभा भंग गरी मध्यावधि चुनाव भएका छन् । भारतको त्रुटीपूर्ण प्रजातन्त्र पनि प्रजातन्त्र मानिन्छ तर नेपालको वर्तमान वर्णसंकरतन्त्रलाई डेमोक्रेसी नमानी अन्तर्राष्ट्रिय रुपले शासन प्रणालीको वर्गीकरण गर्नेहरूले हाइब्रिड रिजिम मात्र मान्दछन् । कहिले स्थापित हुन्छ फेरि नेपालमा प्रजातन्त्र ? कहिले शुरु हुन थाल्ने हो अनिर्वाचित नांगो लुटतन्त्रको अन्त ?

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *