breaking news

    ए मठाधीशहरू हो ! सुन्न सक्छौं मेरो कथा–ब्यथा ! – अमृता लम्साल

    December 31st, 2016 | by Weekly Nepal
    ए मठाधीशहरू हो ! सुन्न सक्छौं मेरो कथा–ब्यथा ! – अमृता लम्साल
    विचार विश्लेषण
    0

    यो पटक नितान्त व्यक्तिगत कुरा, जुन कुरालाई समाजका ‘कथित मठाधीश’हरूले कहिल्यै व्यक्तिगत रहन नदिने भए, त्यसैले सार्वजनिक गर्दैछु । डेढ वर्ष अगाडि अमेरिकाबाट फर्किंदा, ३ बेडरुमको घरमा भएको अटाइ/नअटाइ राखिएको सामान लाखापाखा लगाउने सन्दर्भमा एउटा अनन्य मित्रलाई सानो ‘फेक टिभि’ उपहार दिन चाहें । त्यो ४/५ ईन्चको टेलिभिजन जस्तो देखिने वस्तु साँच्चैको टेलिभिजन थिएन, एक प्रकारको उपकरण थियो, जसको प्रयोग, घर छाडेर कतै जानु पर्दा बिजुलीको पावर प्वाइन्टमा जोडेर हिंडिन्थ्यो ।

    त्यसबाट रातको अँध्यारोमा निस्कने किरणहरू कोठा भित्र टेलिभिजन खोल्दा निस्कने किरण जस्तै हुन्थ्यो । त्यसको प्रयोग गर्नुको कारण, यदि घरमा चोरी गर्न आएभने, त्यो घर रित्तो रहेनछ वा त्यहाँ मान्छे रहेछन् भनेर झुक्याउनु थियो । तर, उपहार दिन लागिएको व्यक्तिले दिएको उपहार लिनुभन्दा पहिले मलाई प्रश्न राख्नुभयो, ‘किन मलाई दिएको, नेपालमा चाहिन्न ?’

    मेरो जवाफ थियो,‘नेपालमा, मेरो घर र मेरो व्यक्तिगत जीवनको चासो, मलाई भन्दा धेरै अरुलाई हुन्छ । मेरो घरमा को आयो वा गयो भन्ने कुराको लेखाजोखा उनीहरूले गरिदिन्छन्, त्यसैले यसको जरुरत छैन ।’ मेरो जवाफमा, उहाँ रमाइलो मानेर हाँस्नुभएको थियो । गत हप्ताको एउटा प्रसंगले फेरि यही कुराको स्मरण गरायो । त्यसैले यो लेख लेख्न बाध्य बनायो । कसैले मलाई सोध्यो,‘तंैले त घर बेचेर सबै पैसा लिएर हिंडेको रे त †’

    मलाई सोध्ने मानिससंग मेरो कुनै गुनासो छैन तर मैले पटक पटक मेरो पछाडि वा अगाडि यो सन्दर्भको सवाल र जवाफबाट मुक्ति पाउने बाटो खोज्नै पर्ने भयो र यो लेखलाई माध्यम बनाउँदैछु । बनाउनै पर्ने किन पनि भयो भने, मलाई भित्रैबाट मायाँ र स्नेह गर्ने मानिसहरू, जो मलाई चोट नपुगोस् भनेर प्रश्न सोध्न पनि सक्तैनन् तर उनीहरूको मनमा पनि यो कुरा सवाल बनेर बसेको छ ।

    घटना २०५७ चैत्र ३१ गतेको हो, म, आफ्नो स्थापित भइसकेको पेशा, घरबार र सार्वजनिक जीवनलाई पूर्णरुपमा त्यागेर १३ वर्षको छोरा सहित अमेरिका उडें । जहाँ मेरी छोरी पहिल्यै गइसकेकी थिइन् । जानुभन्दा पहिले मैले, मेरो नाममा रहेको घर बेचेको पनि हो । तर मैले, त्यो घर बेचेको पैसाबाट एक रुपैयाँ मात्रै पनि लिएको प्रमाण दिने मानिसलाई म चुनौती नै दिन्छु । हुन त, त्यतिबेलै पनि, मलाई ‘घर बेचेर, त्यो पैसा लिएर नेवार ब्वाईफ्रेन्डसंग गएको रे †’ भनेर हल्ला पनि चलाइयो, त्यो हल्ला मेरो माइतीलगायतका आफन्तहरूको कानमा समेत पुग्यो । त्यतिबेला, ममा आत्मविश्वासको यति कमी थियो कि, यस्ता आरोपहरू सुनेर केही गर्न नसकेकोमा म हतास भएर घ्वाँ घ्वाँ रुन्थें । कतिलाई जवाफ दिनु वा स्पष्टिकरण दिनु भनेर हरबखत चिन्तित हुन्थें । तर, यो स्थितिबाट मेरो नाबालिग छोराले उद्धार गर्‍यो । एकदिन उसले मलाई सम्झायो, ‘माँ, तिमीलाई मैले र अनुपमाले (मेरो छोरी) केही नभनि भएन ? हामीलाई थाहा छैन र यो कुरा ?’
    त्यसपछि मेरो आँखा खुल्यो, ‘हो त नि, मेरो छोरी र छोरा बाहेकलाई यो कुरा किन थाहा हुन पर्‍यो ?’

    तर, म फेरि सार्वजनिक जीवनमा आएकी छु र यो प्रश्नले मलाई फेरि पछ्याउन थालेको छ । हुन त, कतिपय आफन्तलाई पनि मैले यो कुरा नलेखे हुन्थ्यो भन्ने लाग्छ, किन कि, यसले उहाँहरूको ‘कथित सामाजिक स्तर’मा दाग र धब्बा लाग्छ भन्ने डर रहन्छ । तर, मलाई अब त्यस्ता कुराहरूमा मतलब छैन, मैले जीवनको आधाभन्दा बढी समय अरुको सरोकारलाई ध्यानमा राखेर, आफू तिलतिल जले पनि अरुलाई खुशी बनाउन खर्च गरें । मैले जीवनका धेरै क्षणहरूमा यो महसुस गरेकी छु, जसलाई, मेरो कुराले ‘आफ्नो ईज्जत जाने’ डर रहन्छ, उहाँहरूलाई मैले भोगेको मानसिक पीडा, त्यो पीडाले कहिलेकाहीँ जीवन नै रित्याउन पाएहुन्थ्यो भन्ने अबस्थासम्म पुगेको कुरामा कहिले मतलब भएन र अब होला भन्ने आशा पनि छैन । मैले कहिल्यै, उहाँहरूबाट, सहानुभूतिका दुई शब्द सुनेकी छैन, मेरो घाउमा मल्हम लगाउन खोजेको अनुभूत गरेकी छैन । त्यसैले पनि, अब, म, जति बाँच्छु, आफ्नो खुशीमा बाँच्न चाहन्छु ।

    ल सुन्नुस्, मेरो विवाह २०३५ सालमा बानेश्वरको बाँस्कोटा परिवारमा भएको थियो । मैले जागिर खान थालेको वा घरबाहिर काम गर्न थालेको, २०४१ असोजदेखि नै हो, मेरो पहिलो जागिर, नेपाल राष्ट्रबौकको ‘सहायक’पदबाट भएको हो ।

    आजसम्म, मैले त्यो परिवारसंग कुनै सम्पत्ति वा एक रुपैयाँ आशसम्म दावी गरेकी छैन । मेरो छोरी र छोराले पनि केही लिएका छैनन् । मेरो छोरालाई हुर्काउने र पढाउने खर्च, उसले कमाउन नसक्दासम्म मैले नै गरेकी हुँ । मेरो छोराले १६ वर्षको उमेरदेखि स्कूल जाँदै र स्कूल पछिको समय काम गरेर हुर्किएको हो । यदि कसैलाई यी कुराहरू विश्वास लाग्दैन भने मेरो श्रद्धेय ससुरा (म सम्बन्ध बिच्छेद नै गरेर बसेपनि उहाँप्रति मेरो मनमा अगाध श्रद्धा र मान कायमै छ) स्वर्गीय सुब्बा होमप्रसाद बाँस्कोटाको १० सन्तानमध्ये कम्तीमा पनि सबैको एक एकजना र कसैको पुरै परिवार बानेश्वरलगायतका स्थानहरूमा जीवितै हुनुहुन्छ, सम्पर्क गरेर सोध्नुभए हुन्छ । यदि कसैलाई निश्चित ठेगाना नै चाहियो भने पनि पुरै ठेगाना उपलब्ध गराउन तयार छु । काठमाडौं, धेरै ठूलो छैन । चाहिएमा सजिलै भेट्न सक्नुहुन्छ ।

    जहाँसम्म म बसेको स्थान पनि त्यही पैसाले किनेको हो भन्ने भ्रम कसैलाई छ भने, उहाँहरूलाई म भन्न चाहन्छु, म बसेको स्थान मेरो आमाले दिनुभएको हो । हाम्रो बाबुआमाको ५ सन्तान छोरीहरू मात्र छौं र त्यही ५ मध्ये म पनि एक भएकीले, ममिले दिनुभएको हो । त्यसैले कागले कान लग्यो भने, कान छाम्नुभन्दा पहिले कागको पछि नलाग्नुहोला ।

    यदि तपाईहरूमाथि कसैले अपमानित हुने कुरा गर्दा जति तपाईहरूलाई सुन्न गाह्रो हुन्छ, त्यसै गरी मलाई पनि अपमानले दिएको घाउ गहिरो हुन्छ । मैले र मेरो छोराले अमेरिका गए पश्चात कति दु:ख गर्‍यौ र भोग्यौं भन्ने कुरा तपाईहरूले अनुमान गर्न सक्नुहुन्न । त्यतिबेला अमेरिका बस्ने मेरा बहिनीहरूले मलाई आर्थिक, मानसिक र भौतिक मद्दत नगरेको भए, हामी आमा छोराको स्थिति के कस्तो हुन्थ्यो, यहाँहरूले अनुमान पनि लगाउन सक्नुहुन्न ।

    तर, पनि हामीले अहिलेसम्म कसैसंग हात पसारेर, कसैलाई मारेर, कोहीमाथि अन्याय गरेर, चोरेर, ढाँटेर, घुस खाएर बाँचेको छैनौ । बरु, आफूले कानूनसम्मत तरिकाले पाउनु पर्ने हकसमेत छाडिदिएका छौं । म, मर्दा पनि सुनको तामदान चढेर जान्न, न त म सुनको चामल नै चपाउँछु, त्यसैले मसंग धन हँुदा पनि सन्तुष्ट छु, नहुँदा पनि रोइलो गर्दिन ।

    त्यतिबेलै पनि, यहाँ छुट्टै बस्दा ममाथि मात्रै होइन, मेरो छोरामाथि समेत, यो समाजका ‘कथित मठाधीश’हरूले गर्ने टिकाटिप्पणी झेल्न सक्छु भन्ने मनस्थिति बनाउन नसकेरै अमेरिका पलायन भएकी थिएँ । त्यसो गर्दा पनि ममाथि उहाँहरू बर्बर भएर प्रस्तुत हुन छाड्नु भएन । मैले उतैहँुदा पनि धेरै पटक अपमानजनक कुराहरू पटक पटक सुनिरहनु पर्‍यो ।

    आज त्यो घर बेचिएको १६ वर्ष भन्दा बढी भैसक्दा समेत ममाथि ‘घर बेचेर पैसा लिएर अमेरिका उडेकी’ भन्ने आरोप लगाइरहनु कति जायज छ ? अब पनि कसैलाई शंका छ भने मेरो ईमेल वा फेसबुकको मेसेन्जरमा सम्पर्क गर्नुहोला, म यहाँहरूलाई सम्बन्धित परिवारको ठेगाना, नजिकको ब्यक्तिको सम्पर्क नम्बर सबै उपलब्ध गराइदिनेछु । तर ‘…..पछाडि मेरो कुरो काटेर’ वा अगाडि नै आएर नपत्याएको अनुहार देखाएर मेरो परिश्रमको खिल्ली उडाउने र अपमान गर्ने काम नगरिदिनुहोला ।

    यहाँहरूलाई यो पनि सोधौं ? मैले जीवनमा कति संघर्ष गरेकी छु र कष्ट भोगेकी छु, अनुमान लगाउन सक्नुहुन्छ ? सक्नुहुन्न भने, मलाई अनावश्यक कुराहरूमा आरोपित गरेर अपमान गर्ने अधिकार यहाँहरूलाई कसले दियो ?

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *