breaking news

    एमालेलाई चुनावमा हराउन देउवाको भारत भ्रमण – हिरण्यलाल श्रेष्ठ, परराष्ट्रविद्

    September 6th, 2017 | by Weekly Nepal
    एमालेलाई चुनावमा हराउन देउवाको भारत भ्रमण – हिरण्यलाल श्रेष्ठ, परराष्ट्रविद्
    अन्तरबार्ता
    0

    (हिरण्यलाल श्रेष्ठ नेपालको अन्तर्राष्ट्रिय खासगरी नेपाल, भारत र चीन मामला सम्बन्धी एक सुपरिचित विज्ञ हुन् । सोभियत रुसका राजदूत भई कूटनीति क्षत्रमा समेत योगदान पुर्याएका श्रेष्ठका अन्तर्राष्ट्रिय मामलासम्बन्धी पुस्तक र संग्रहका साथै कैयन लेखहरू प्रकाशित छन् । कूटनीतिमा घुमाउरो भाषा प्रयोग गरिन्छ । तर श्रेष्ठ मनमा लागेका विचार नलुकाई व्यक्त गर्छन् । नेपालले छिमेकी देशलाई चिढ्याएर भन्दा पनि सन्तुलनमा राखेर उनीहरूको विकास र प्रगतिबाट लाभ लिनसक्नुपर्ने मत श्रेष्ठको छ । नेपाली नेताहरू प्रधानमन्त्री हुनेबित्तिकै भारत भ्रमणमा निस्कने परम्पराका कडा आलोचक श्रेष्ठसंग प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक भारत भ्रमण(२०७४ भदौ ७ गते)को भारत भ्रमण र नेपाली कूटनीतिबारे केन्द्रित रहेर कुराकानी गरेका छौं । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः सम्पादक)

    ० प्रधानमन्त्री शेरबहादुर देउवा भर्खरै सकाएको भारत भ्रमणलाई तपाईंले कसरी लिनुभएको छ ?

    –प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई केलाउने हो भने यो मिश्रित रह्यो । दुई तिहाई पुर्याएर संविधान संशोधन गर्छु भन्ने जुन अभिव्यक्ति प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले व्यक्त गर्नु भयो, त्यो अनुचित छ । नितान्त आन्तरिक मामिलामा यसरी भारतसँग मलाई दुई तिहाई पुर्याइदेऊ भन्नु अशोभनीय कुरा हो ।

    ० आफ्नो संविधानबारे बोल्दा प्रधानमन्त्री शेरबहादुर देउवाले के भन्नु पर्दथ्यो त ?

    –यसरी आफ्नो आन्तरिक संविधानबारे बोल्नेले भन्न सक्नुपर्दथ्यो ‘तिमीहरूकोमा पनि गोर्खाल्यान्डको समस्या छ, हामी नेपाली संविधान संशोधन गरेर गोर्खाल्यान्ड दिएको हेर्न चाहन्छौं ।’ संविधानमा आफ्नो हस्तक्षेपकारी संशोधनका कुराहरू घुसाउन दबाब नदेऊ भनेर भारतलाई भन्नु पर्ने ठाउँमा त्यसो नगरेर संविधान संशोधन गर्ने प्रतिवद्धता प्रधानमन्त्रीज्यूले गर्नु भएको छ, यो गलत छ ।

    ० प्रधानमन्त्री शेरबहादुर देउवाको यो भ्रमणको सबल पक्ष हो चाहिं के ठान्नु हुन्छ नि ?

    –भारतको कूटनीतिक सहयोगद्वारा मधेसवादी दलहरूलाई चुनावमा सहभागी गराउन सक्नु भ्रमणको सबल पक्ष हो । दोक्लाम विवादमा नेपाललाई भारतले तान्न खोजे पनि तटस्थ नै रह्यो । नेपालले साथ दिएको भए त्यहाँका सञ्चार माध्यमहरूले झ्याली पिट्ने थिए । तर, नेपाल तटस्थ बसेको कुरालाई प्रष्ट नपारेर भारतीय पक्षले यो विषयमा कुरै नभएको धारणा बाहिर ल्याएको छ । देउवाले यसमा निकै राम्रो भूमिका खेल्नु भयो भन्ने मेरो ठम्याइ हो ।

    ० प्रधानमन्त्रीस्तरमा केही महिनाअघि मात्रै भारत भ्रमण भएको थियो । तत्कालै यति छिटो भारतको औपचारिक भ्रमण गरिहाल्न आवश्यक थियो कि थिएन ?

    –प्रधानमन्त्री हुनेबित्तिकै भारत भ्रमणमा गइहाल्ने मानसिकता हाम्रा दल, तिनका नेता र त्यही पार्टीबाट प्रधानमन्त्री बन्नेहरूमा छ । यो गलत मनसिकता हो । सामान्यतया दुई देशबीच छलफलका लागि कुनै नयाँ विषय देखापरेमा र दूरगामी महत्वका विषयमा कुराकानी गर्न परेमा उच्चस्तरीय छलफल गर्ने गरिन्छ । नेपाल र भारत नजिकको दूरीमा रहेकाले आवश्यकता निर्धारण गरेर भ्रमण गर्न सकिन्थ्यो । तर, प्रधानमन्त्री हुनेबित्तिकै भारत भ्रमणमा गइहाल्ने परम्परा हाम्रोमा जबर्जस्त स्थापित भइसकेको छ । यो परम्परालाई देउवाजीले पनि अनुसरण गरेर भारत जानु भयो । यो गलत छ । तथापि, कर्मचारीले सुक्ष्म व्यवस्थापन गर्ने कुप्रचलनको ठाउँमा उच्चस्तरीय प्रधानमन्त्रीस्तरमा आफ्ना कुरा राख्ने काम हुनु नराम्रो होइन । यो राजनीतिक संवाद कर्मचारीको माइक्रोम्यानेजमेन्टभन्दा माथि भएकाले सकारात्मक छ ।

    ० नेपालको तर्फबाट बारबार भ्रमण गरिराख्ने तर भारतलगायत मुलुकबाट त्योस्तरको भ्रमण नहुने, यसले कूटनीतिमा गलत अर्थ राख्दैन   र ?

    – यसले कूटनीतिमा पक्कै गलत राख्छ । उच्चस्तरमा हुने यस्ता भ्रमणहरू एकतर्फी मात्रै हुँदा गलत अर्थ राख्ने भएकाले दुवैतिरबाट हुनु राम्रो मानिन्छ । तर, हाम्रोमा यसखाले गम्भीरता कसैमा देखिँदैन । आउँदा दिनहरूमा कूटनीतिमा देखिएका यस्ता विकृतिहरूलाई हल गर्नुपर्छ ।

    ० प्रधानमन्त्रीस्तरमा हुने विदेश भ्रमण अन्य देशहरूमा पनि यसरी नै हुन्छ कि हाम्रोमा मात्रै देखापरेको हो ?

    –अन्तर्राष्ट्रिय प्रचलनको कुरा गर्नुहुन्छ भने सम्बन्धको प्रकृति हेरेर प्रधानमन्त्रीस्तरीय भ्रमणहरू हुने गर्छन् । तर, हाम्रोमा प्रधानमन्त्री हुनेबित्तिकै ओहोदाको प्रमाणपत्र बुझाउन राजदूत गए जसरी भ्रमणमा जाने चलन छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा चीन भ्रमणमा गएकै विषयलाई हेरौं । प्रचण्ड भारत पहिले जाने परम्परा तोडेर चीन गएपछि भारत रिसाएको थियो । सम्बन्ध नै बिग्रिएला जस्तो भएपछि रिसाएको भारतलाई सफ्ट बनाउन प्रचण्डले स्पष्टीकरण दिदै भन्नु परेको थियो–‘ओलम्पिक उद्घाटन समारोहमा चीन गएको हुँ, राजनीतिक भ्रमण गरेर गएको होइन ।’ मेरो पहिलो राजनीतिक भ्रमण भारतकै हुन्छ ।’ प्रधानमन्त्री भएको प्रमाणपत्र भारतलाई बुझाउन हो र ? पहिलोपटक भारतकै भ्रमणमा गर्नलाई ? तर, यो परम्परा अद्यपि कायम छ । यसलाई तोड्नुपर्छ । आवश्यकता अनुसार जुनसुकै बेला छिमेकको देश जानसक्ने गरी अबका दिनमा सम्बन्ध विकास गर्नुपर्छ ।

    ० पहिलो विदेश भ्रमण भारतकै गर्नुको पछाडि केले काम गरेको होला ?

    –यो नेपाली नेताहरूको लघुताभाष हो । यो खोटपूर्ण कुरा छ, यसलाई सच्याउनु पर्छ । मैले भने नि जुन देशसँग अत्यावश्यक काम छ, समस्या छ, पहिले त्यही देशको भ्रमण गर्नुपर्छ ।

    ० प्रधानमन्त्री भएपछि आफ्नो सत्ताको आयु लम्ब्याउन भारत जाने गर्छन् भनिन्छ । सत्य यस्तै हो कि यसलाई अलि बढी विकृत पारिएको हो ?

    –अलिअलि जवाफ त तपाईंको प्रश्नमा पनि छ । भारतबाट आशीर्वाद लिएर आएपछि कुर्सी सुरक्षित हुन्छ भन्ने अनुभूतिका लागि भारत जाने चलन छ । तथापि, देउवाले गरेको भ्रमणका उद्देश्य भने मिश्रित थिए । बाढीले तराईमा तहस–नहस भएका बेला भारत भ्रमण गर्नुलाई धेरै नकारात्मक रुपमा हेर्नु हुँदैन । यो कुरा यसपटक नेपालले राख्यो । यो राम्रो छ ।

    ० तराई डुबानको कुरा त उठ्यो, तर यो औपचारिकता जस्तो मात्रै भयो भन्ने विश्लेषण पनि भइरहेका छन् नि ?

    –तराई डुबान समाधान गर्न संयुक्त कमिटी बनेको छ । तर समाधान भएको छैन । यसलाई निरन्तर पछ्याएर समाधान निकाल्नु पर्छ । अन्तर्राष्ट्रिय कानून विपरीत बनाइएका बाँधहरूबाट नेपालीले भोग्नु परेका दुःख र कहरहरूलाई सदाका लागि अन्त्य गर्नुपर्छ ।
    बाढीले डुबाएपछि केही स्थानमा जनताले नै प्रतिरोध गरेका छन् । तिलाठीका जनताले भारतीय बाँध नै भत्काइदिए । तर मधेसमा यति ठूलो डुबान हुँदा समेत मधेसी जनताको अधिकारको कुरा गर्नेहरू त्यहाँका जनता मानवीय संकटमा पर्दा एक वचन बोलेका छैनन् । मलाई विश्वास छ, असोज २ गते हुन गइरहेको तेस्रो चरणको निर्वाचनमा मधेसी जनताले मधेसवादी दल हौं भनौदाहरूलाई उचित जवाफ दिनेछन् ।

    ० भ्रमणकै बारेमा केही कुरा गरौं । नेपालमा प्रधानमन्त्री फेरिए पिच्छे विशेष गरेर भारत र चीनको भ्रमण हुन्छ । यस्तो भ्रमण नेपाली पक्षकै चाहनामा हुन्छ कि जमर्को उतैबाट धेरै हुन्छ ?

    –नेपालमा जब प्रधानमन्त्रीले शपथ लिन्छन्, त्यसको केही मिनेटमै हाम्रा छिमेकी देशहरूले टेलिफोन गरेर बधाइ दिन तछाड–मछाड    गर्छन् । बधाइ मात्रै दिँदैनन् आफ्नो देशको भ्रमण गर्नका लागि निम्ता टक्र्याउँछन् । यसपालि नेपालको प्रधानमन्त्री आफ्नो देशमा लैजान भारत अलि बढी उत्सुक थियो । भारतमा नेपाली प्रधानमन्त्रीलाई बोलाएर उसले दोक्लाममा सके तान्ने, नसके धारणा बुझ्ने योजना बनाएको थियो । भारत र नेपाल दुवैको चाहना मिलेकाले यसपटक प्रधानमन्त्रीको भ्रमण भएको हो । यसअघि पनि दुवै देशको चाहना अनुरुप नै प्रधानमन्त्रीस्तरको भ्रमण भएका थिए ।
    ० प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमण यसअघिका प्रधानमन्त्रीकै निरन्तरता हो कि केही भिन्नता पनि देख्नु हुन्छ ?

    –प्रधानमन्त्रीको हैसियतमा धेरै प्रधानमन्त्रीले भारत भ्रमण गरिसक्नु भएको छ । पछिल्ला दुई प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको भ्रमणको तुलनामा यसपटक प्रधानमन्त्री शेरबहादुर देउवालाई सजिलो भएको मैले महसुस गरेको छु । ओलीजीलाई त नाकाबन्दीका कारण भारत भ्रमणमा जानै सकस परेको थियो । हटाऊ भनेर हटाउनु पनि भयो, बन्दरगाहको सुविधा लिन सक्नु भयो । प्रचण्डजीले नेपाल र भारतको एउटै परराष्ट्र नीति हुने व्यहोराको संयुक्त वक्तव्यमा हस्ताक्षर गरेपछि उहाँको आलोचना भएको थियो । तर, उहाँले यो गल्ती चीनसँग ओबीओआर सम्झौता गरेर सच्याउनु भयो । भारतसँग बिग्रिएको सम्बन्धलाई सुधार्नु उहाँको अर्को सफलता थियो । देउवाजीलाई अघिल्ला प्रधानमन्त्रीहरूले गरिदिएको सुधारले सजिलो भएको छ । पहिलेको तुलनामा विश्वास आर्जन अलि बढी नै भएजस्तो मलाई लागेको छ । वामपन्थी पार्टीका प्रधानमन्त्रीलाई रिसिभ गर्दाभन्दा प्रजातान्त्रिक पार्टीको तर्फबाट प्रधानमन्त्री बनेका देउवालाई प्रधानमन्त्रीका रुपमा पाउँदा भारतलाई सजिलो महसुस भएको छ । पहिलेको तुलनामा बढी विश्वास, सद्भाव आर्जन भएको छ । अब यसले देशलाई कति फाइदा पुर्याउँछ, व्यवहार र कार्यान्वयको पाटोले आउँदा दिनमा देखाउने नै छ ।

    ० भारतसंग उठाउनै पर्ने सबै विषय यसपालि उठे कि उठेनन् ?

    –वर्तमान सरकार चुनावी सरकार भएकाले दूरगामी महत्वका सम्झौता गर्न यसलाई छुट थिएन । यसले त्यस्ता सम्झौता पनि गरेन । तर, पुराना सम्झौता कार्यान्वयनका लागि भारतीय पक्षलाई यसले झक्झक्याउन सक्थ्यो । केही हदसम्म प्रधानमन्त्री देउवाले पुराना सम्झौता कार्यान्वयनका लागि भूमिका पनि खेलेका छन् । भूकम्पको बेला भारतले दिएको सहयोगको वचन पूरा गर्न सम्झाएका छन् । लागू औषध नियन्त्रण गर्ने र मेची पुल बनाउने कुरा नेपाल पक्षले राखेको छ । यो सकारात्मक कुरा हो ।

    ० भ्रमणमा चुकेका विषय पनि छन् कि ?

    –हो, भ्रमणमा चुकेका विषय पनि केही छन् । प्रधानमन्त्री देउवाले कालापानीमा तैनाथ भारतीय सेनाका बारेमा बोल्नुपर्दथ्यो । तर, उनले भारतीय सेना फर्काउनु पर्छ भनेर एकवचन पनि भन्न सकेनन् । यो उनको कमजोरी हो । डुबानको समयलाई ठोस रुपमा टुंग्याउन प्रधानमन्त्री देउवाले जोड गर्नुपर्ने आवश्यकता यसपटक देखिएको थियो । आमजनताले पनि देउवाबाट यसको दीर्घकालीन समाधानको लागि प्रयास हुने अपेक्षा गरेका थिए । तर, देउवाले यो विषय उठाउन त उठाए, तर समाधान नै निकाल्ने गरी उठाउन सकेनन् । देउवाले अलि बढी जोड दिएर यी विषय उठाएको भए उनको भ्रमण उपलब्धिपूर्ण बन्ने थियो ।

    केही कुरा देउवाले उपलब्धि हासिल गरेका छन् भने केही कुरामा चुकेका छन् । मैले सुरुमै भनेँ संविधान संशोधनको विवादास्पद कुरा राखेर उहाँले गलत गर्नु भएको छ । त्यसैले देउवाको यो भ्रमणलाई केही उपलब्धि र केही कमजोरीको मिश्रित भ्रमण मान्न सकिन्छ ।

    ० देउवाले भारतमा गएर संविधान संशोधन गर्छु भनेपछि यसको चौतर्फी आलोचना भइरहेको छ । खासमा देउवालाई संविधान संशोधनको वचन भारतमै पुगेर व्यक्त गर्न केले प्रेरित गरेको होला ?

    –देउवाले भारतमा गएर अनावश्यक रुपमा संविधान संशोधन गर्छु भनेर बोल्नुमा दुई कुराले काम गरेको छ । पहिलो, स्थानीय तहको दुई चरणमा भएको निर्वाचनमा माओवादी केन्द्रसँग मिल्दासमेत कांग्रेसले एमालेलाई पछि पार्न सकेन । एमाले एक्लैले कांग्रेसलाई पछि पार्यो । हुन पनि कांग्रेस–एमालेलाई भरतपुर काण्ड नदोहोर्याई जित्न कठिन छ । त्यसका लागि देउवा नेतृत्वको पार्टी नेपाली कांग्रेसले मधेसी दललाई पनि निर्वाचनमा सहभागी गराउन चाहेको छ । त्यसैले देउवाले एमालेलाई हराउन ‘मधेसवादी विना एमालेलाई चुनावमा हराउन सकिएन, उनीहरूलाई मिलाइदेऊ’ भनेर भारतको भ्रमण गरेका हुन् । बहुमतमा आउन सजिलो हुने भएकाले एकातिर यस्तो सौदाबाजी गरेको देखिन्छ भने अर्कोतिर मधेसवादीहरूलाई पनि समेट्ने असलनियत देउवाको भ्रमणमा देखिन्छ । त्यसैले भ्रमणको उपलब्धि जस्तै उद्देश्य पनि मिश्रित किसिमको छ ।

    ० खासमा भारत नेपालमा के चाहन्छ ?

    –भारत नेपालमा आफ्नो प्रभाव र प्रभुत्वको विस्तार चाहन्छ, भुटानीकरण गर्न चाहन्छ । तर, गएको तीनवटै सरकारले भारतलाई नेपालको विकासमा साझेदारी गर्न दबाब बढाइरहेका छन् । ठोसरुपमा रेलवे लाइनहरू ल्याउने कुरा अहिले उठिरहेका छन् । ओवीओआरमा नेपाल गएपछि चीन र भारतबीचमा कनेक्टिभीटी बढाउने कुरामा प्रतिष्पर्धा चलेको छ । र, यो प्रतिष्पर्धाले अबको १० वर्षभित्रमा भारत र चीनको रेल काठमाडौंमा आइपुग्दैछ । भारत चीनभन्दा अगाडि काठमाडौं आइपुग्न प्रतिष्पर्धामा लागेको छ । यो प्रतिष्पर्धा सकारात्मक हुँदैछ ।

    ० चीन र भारत कसका लागि नेपाल बढी संवेदनशील र महत्वपूर्ण छन् ?

    –दुवैका लागि नेपाल महत्वपूर्ण छ । हाम्रो लागि पनि दुवैको महत्व छ । समनिकटता र सन्तुलनको नीति अपनाउनै पर्छ । दुवैको सम्बन्ध पनि पहिलेको तुलनामा विकास भएको छ । त्रिदेशीय सहयोगको सम्भावना पनि हुनसक्छ ।

    ० नेपालमा एउटा पक्षसँग लपक्क मिलेर अर्कोलाई चिढ्याउने कूटनीति लामो समयदेखि प्रचलनमा छ । अब नेपालको कूटनीति कस्तो हुनपर्ला ?

    –नेपालले अब कुनै एक पक्षसँग नलागी सन्तुलनकारी कूटनीति अपनाएर दुवैतिरबाट फाइदा लिनुपर्छ । भारत र चीनबाहेकका मुलुकहरूसँग पनि नेपालले सन्तुलनकारी कूटनीति अपनाएर लाभ लिन लाग्नुपर्छ । अहिलेको आवश्यकता यही हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *