breaking news

    आर्यनको इन्ट्री भएपछि रेखाले गरिन् र्पण र सुदर्शनलाई आउट !

    May 17th, 2017 | by Weekly Nepal
    आर्यनको इन्ट्री भएपछि रेखाले  गरिन् र्पण र सुदर्शनलाई आउट !
    मनोरन्जन
    0

    काठमाडौं । झण्डै ७ वर्षपछि नायिका रेखा थापा र नायक आर्यन सिग्देललाई दर्शकहरुले एकसाथ ठूलो पर्दामा देख्न पाउँदैछन् । ‘कसले चोर्यो मेरो मन’ पछि एकअर्काको मुख समेत हेर्न नचाहने आर्यन र रेखा फेरी एकपटक सारा दुश्मनी भुलेर फिल्म ‘रुद्र प्रिया’ मा देखिँदैछन् । फिल्म ‘किस्मत’ बाट नेपाली रजतपटमा भित्रिएका आर्यन अहिले आफ्नो स्टारडम बचाउने फिल्मको खोजीमा छन् भने नायिका रेखा पनि खस्कदै गएको आफ्नो स्टारडम जोगाउने धाउन्नमा छिन् । यसैले पनि यी दुईको मिलन भएको खबरले सिनेबजार यतिबेला राम्रै गर्माएको छ ।

    केही दिन अगाडि अंकमाल गर्दै बर्षौसम्मको शीतयुद्ध अन्त्य गरेका रेखा र आर्यन एकसाथ पर्दामा देखिन लाग्नु दर्शकहरुलाई पक्कै पनि खुशीको खबर हो । यो जोडीलाई दर्शकहरुले ‘किस्मत’ पछि ‘हिफाजत’ र ‘कसले चोर्यो मेरो मन’ मा निकै रुचाएका थिए । एकसाथ अभिनय गरेका तीन फिल्म नै हिट सावित हुँदा रेखा र आर्यनको जोडीलाई दर्शकहरुले फेरी पर्दामा हेर्न नचाएका थिएनन् तर दुवैमा ‘नम्बर वान म हुँ’ भन्ने घमण्डले गएको सात बर्षसम्म यो पूरा हुन पाएको थिएन । बजारमा भाइरल भएको खबरलाई आधार मान्ने हो भने रेखा र आर्यनले आगामी दिनमा एकसाथ कुनै पनि फिल्म नखेल्ने निर्णयमा समेत पुगेका थिए तर कमजोर बन्दै गएको स्टारडम जोगाउन सायद उनीहरुले मिल्नुको विकल्प भेटेनन् । जेठ ४ गतेबाट रेखा र आर्यन अभिनित फिल्म ‘रुद्र प्रिया’ को छायांकन सुरु हुँदैछ ।

    फिल्ममा आर्यन फाइनल हुनु अगाडि रेखा स्वयले मिडियामा आधिकारीक जानकारी दिएकी थिइन् कि ‘रुद्र प्रिया’ मा अर्पण थापा र सुदर्शन थापा मुख्य भूमिकामा रहनेछन् । तर, फिल्ममा आर्यनको इन्ट्री भएपछि रेखाले अर्पण र सुदर्शनलाई आउट गरेकी छन् । सुदर्शन थापा आफ्नो निर्देशनमा बनेको फिल्म ‘म यस्तो गीत गाउँछु’ को रिलिजको तयारीमा रहेका कारण ‘रुद्र प्रिया’ लाई समय दिन नसक्ने भन्दै बाहिरिएका छन् भने अर्पण आफ्नो निर्देशन र अभिनयमा तयार भएको फिल्म ‘आधा लभ’ को रिलिज नजिकिँदै गएका कारण ‘रुद्र प्रिया’ बाट हात झिकेको खबर छ । रेखाको कुरा सुन्ने हो भने फिल्म ‘रुद्र प्रिया’ को कथा नायक आर्यन सिग्देललाई नै सोचेर तयार पारिएको थियो । करीब ६ महिनादेखि आर्यनसँग यो फिल्मको विषयमा कुरा पनि भैरहेको थियो तर आर्यन रेखासँग एकसाथ फिल्म गर्न तयार थिएनन् । यसैबीच रेखाले फिल्ममा अर्पण र सुदर्शनलाई लिड रोलमा फाइनल गरिन् । तर, फिल्मका निर्माता रमेश पौडेलले भने आर्यनलाई मनाउन छाडेनन् । अन्ततः आर्यन पनि रेखासँग फिल्म खेल्न राजी भए ।

    आर्यनले फिल्म खेल्न तयार भएपछि सुदर्शनले आपसी सहमतीमै रेखासँग विदा मागेका थिए भने अर्पण भने अझै पनि काम गर्न सक्ने संभावना रहेको स्रोत बताउँछ । ‘रुद्र प्रिया’ लाई ‘माला’ फिल्मका निर्देशक सुदीप भूपाल सिंहले निर्देशन गर्दैछन् । यो फिल्म रेखा थापाको ब्यानर रेखा फिल्मसबाट निर्माण हुन लागेको हो । ‘रुद्र प्रिया’ पछि दर्शकहरुले आर्यन र रेखाको जोडीलाई ‘कसले चोर्यो मेरो मन फेरी’ मा पनि देख्न सक्ने संभावना प्रवल छ किनकी रेखाले यो फिल्मको पनि घोषणा गरिसकेकी छिन् । रेखाको तयारी अनुसार, ‘रुद्र प्रिया’ हलमा लागेपछि ‘कसले चोर्यो मेरो मन फेरी’ को छायांकन आरम्भ हुनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *