breaking news

    अरनिको डेन्टल केयर सेन्टरद्वारा कर छली

    December 7th, 2015 | by Weekly Nepal
    अरनिको डेन्टल केयर सेन्टरद्वारा कर छली
    अर्थ
    0

    भक्तपुर, २१ मङ्सिर । दाँतसम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने बोर्ड राखेर मध्यपुरथिमि नगरपालिका शङ्खधर चोकमा अवैध रुपमा सञ्चालित छ अरनिको डेन्टल केयर सेन्टर ।

    यसले दन्त उपचार गर्ने मापदण्ड पूरा गरेको छ कि छैन, यहाँ दाँतसम्बन्धी चिकित्सकको व्यवस्था छ कि छैन ? भन्नेसम्म पनि नियमन निकायलाई थाहा छैन । यो त उदाहरण मात्रै हो, जिल्लामा यसरी गैरकानुनी रुपमा १०० भन्दा बढी दाँतको उपचारसम्बन्धी क्लिनिक एवम् अस्पताल निर्बाध रुपमा सञ्चालन भइरहेका छन् ।

    नियमानुसार २५ श्ययाभन्दा तलको अस्पताल वा क्लिनिक सञ्चालनका लागि भौतिक पूर्वाधार सबै पूरा गरेर जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमतिमा मात्रै सञ्चालन गर्न पाइन्छ । तर जिल्लाको विशेषगरी सहरी क्षेत्रको चोक र गल्लीमा निर्बाध रुपमा यस्ता क्लिनिक सञ्चालन भइरहेका जिल्ला जनस्वाथ्य कार्यालयको भनाइ छ ।

    कार्यालयमा दर्ता भएर सञ्चालनमा आएका केही क्लिनकले पनि हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रक्रिया पूरा गरेका छैनन् । सूचना जारी गर्दा पनि दर्ता र नवीकरण गर्न नआउने गरेको कार्यालयकै गुनासो छ । २०७० सालको स्वास्थ्य निर्देशिकाले २५ श्ययासम्मको अस्पताल वा क्लिनिक सञ्चालनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले दर्ता गर्ने कानुनी व्यवस्था भए पनि कार्यालयले समेत नियमित अनुगमन गरेर कारबाही गर्न नसक्दा च्याउ उम्रे जस्तै जथाभावी रुपमा उपचार केन्द्र, क्लिनिक र अस्पताल निर्बाध सञ्चालन भइरहेका छन् ।

    जिल्ला जनस्वास्थ्य कार्यालयका डेन्टल विभागका जनस्वास्थ्य अधिकृत उमेशप्रसाद धौभडेल भक्तपुरमा १०० भन्दा बढी दाँतका उपचार गर्ने क्लिनिक र अस्पताल गैरकानुनी रुपमा सञ्चालन भएको स्वीकार्नुहुन्छ । उहाँ भन्नुहुन्छ—“जिल्लाका अधिकांश डेन्टल क्लिनिक, उपचार केन्द्र वा डेन्टल अस्पताल गैरकानुनी रुपमा सञ्चालनमा छन्, दर्ता नगरी जथाभावी दाँतको उपचार गर्दा मानव जीवन जोखिममा पर्ने भए पनि दर्ताका लागि आउँदैनन्, दर्ता भएका पनि नवीकरण गर्दैनन्् ।”

    अवैध रुपमा यस्ता क्लिनिक कति सञ्चालित छन् भन्ने यथार्थ तथ्याङ्कसमेत जनस्वास्थ्य कार्यालयसँग छ्रैन । कार्यालयमा जुनसुकै कार्यालय प्रमुख आए पनि अनुगमन गर्ने र कारबाही गर्ने काममा चासो नदिँदा यस्ता स्वास्थ्य क्लिनिक जथाभावी सञ्चालनमा आएको जनगुनासो रहेको छ । जनस्वास्थ्य कार्यालयका कर्मचारीको यस्ता वैध क्लिनिकसँग साँठगाँठ रहेकै कारण अनुगमन र कारबाही नभएको गुनासो पनि रहेको छ ।

    “विगतका वर्षमा अनुगमन गरेका पनि हौँ, दर्ता र नवीकरण गर भनेका पनि हौँ तर सञ्चालकहरु टेर्दैनन्, कार्यालयलाई कारबाही गर्ने अधिकार भए पनि गैरकानुनी रुपमा सञ्चालित यस्ता संस्थाहरु बन्द गर्ने अधिकार छैन, त्यसैले समस्या परेको हो” अधिकृत धौभडेलले भन्नुभयो ।

    गैरकानुनी रुपमा सञ्चालित यस्तो संस्थालाई तत्काल बन्द गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयसँग भए पनि जनस्वास्थ्य कार्यालय र प्रशासनबीच समन्वय नहुँदा अनुगमन, कारबाही र बन्द गर्ने कार्य हुन नसक्दा अवैध दाँतका उपचार गर्ने निकाय सञ्चालनमा आएका हुन् । कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा सातवटा मात्रै डेन्टल अस्पताल एवम् क्लिनिक सञ्चालनमा छन् तर नवीकरण भने दुई वटाले मात्रै गरेका छन् ।

    दन्त विज्ञ एवम् चिकित्सक मनोहरि काफ्लेले सिटिइभिटीको तीनवर्षे डेन्टल हाइजिन पास गरेकाले पनि यस्ता क्लिनिक खोल्न पाउने व्यवस्था भएपछि अवैध क्लिनिक सञ्चालनमा आएको बताउनुहुन्छ । “अवैध रुपमा निर्बाध चलेका यस्ता क्लिनिक एवम् दाँत उपचार गर्ने निकायले मानव जीवनसँग खेलवाड गरे पनि कारबाहीका लागि चासो नदिन दुर्भाग्य नै हो” उहाँले भन्नुभयो । जनस्वास्थ्य कार्यालयले अनुगमनलाई नियमित गर्न सकेको छैन न त कारबाही नै गर्न सकेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *